लघुकथा : पार्टीको दिगो विकास
‘सस्टेनेबल डेभलपमेन्ट अर्थाद् दिगो विकास। हाम्रो पार्टीको अबको कार्यदिशा यही हुनुपर्छ।’
केन्द्रीय समितिका बोलाइएका सीमित सदस्यहरूका बीचमा अध्यक्षज्यूले भन्नुभयो।
‘पार्टी हितका लागि अब हामीले दिगो विकासको नीतिलाई अवलम्बन गर्नै पर्छ।’ अध्यक्षज्यूले थप्नु भयो।
दिगो विकासलाई नवीकरणीय ऊर्जासँग गाँसेर बुझ्दै आएका केही सदस्य पार्टीका सन्दर्भमा यो कसरी लागू हुन्छ भन्ने नबुझेर अलमल्ल देखिए। त्यस्तै अवस्था दिगो विकासलाई भावी पुस्ताको ख्याल गर्दै स्रोतहरूको विवेकपूर्ण उपयोग गर्नुसँग गाँस्ने सदस्यहरूको पनि थियो।
अध्यक्षज्यूले यो अलमलको अवस्थालाई चिरेर भन्नुभयो- ‘भावी चुनावहरूमा हाम्रो पार्टीको जीतलाई सुनिश्चित गर्न आधार दह्रो बनाउनु पर्छ। त्यसका लागि हामीले सार्वजनिक पदमा बढीभन्दा बढी पार्टीसमर्थकलाई घुसाउनु पर्छ, कार्यकर्तालाई नीतिनियमको सामान्य ख्याल राख्दै बढीभन्दा बढी कमाउन अवसर र प्रोत्साहन दिनुपर्छ। शक्तिकेन्द्रमा आफ्ना मान्छे पुर्याउनु पर्छ। काम गर्छ तर हाम्रो मान्छे होइन भने त्यो कसरी राम्रो हुन्छ? त्यसलाई हटाउनु पर्छ र त्यहाँ हाम्रो मान्छे पु¥याउनु पर्छ। आयोग र समिति बनाउनु पर्यो भने आफ्ना तजबिजका व्यक्ति राखेर बनाउनु पर्छ।’
केही रोकिएर अध्यक्षज्यूले फेरि भन्नु भयो-‘यसको औचित्य र परिणाम देखिदैआउने छ। कुरा बुझ्नु भयो?’
बुझेका कुरा र बुझाउन खोजिएका कुराका बीचको द्धन्द्धमा कुनै सदस्यको मुखबाट अनायास फुस्कियो-‘हँ!’
‘के भन्नु भो?’
‘बुझें भनेको।’
अध्यक्षज्यू सन्तुष्ट देखिनुभयो।
Facebook Comment