त्रिवि मैदानमा फ्लडलाइट र प्याराफिट : प्रधानमन्त्रीले काम सुरु भइसक्यो भनेको डेढ महिनापछि टेन्डर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र प्याराफिट निर्माणको काम सुरु भइसक्यो भनेर घोषणा गरेको डेढ महिनापछि अहिले बल्ल त्यस प्रयोजनको लागि टेन्डर आह्वान गरिँदैछ ।
टेन्डरबाट निर्माण कम्पनी छनोटको प्रक्रिया अझै बाँकी नै छ । निर्माण कम्पनी छनोट भएपछि मात्रै त्यो कम्पनीले काम सुरु गर्नेछ । प्रधानमन्त्रीले भने गएको कात्तिकको पहिलो साता नै सरकारका सय दिनका काम सार्वजनिक गर्दै त्रिवि मैदानमा काम सुरु भइसकेको दावी गरेका थिए ।
प्रक्रिया हेर्दा भने उनी प्रधानमन्त्री पदबाटै बाहिरिँदा समेत काम सुरु हुन गाह्रो छ । प्रधानमन्त्री स्वयंले केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने कुरा पटक पटक बताइसकेका छन् । ओलीले प्रधानमन्त्री पद छाड्ने बेला आउँदासम्म निर्माण कम्पनी नै छनोट नहुन पनि सक्छ किनकि यसअघि ३ पटकसम्म टेन्डर आह्वान गरिए पनि आवेदन दिने निर्माण कम्पनी सबै अयोग्य ठहरिएर टेन्डर रद्द भएका थिए ।
किर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट निर्माणका लागि पहिलो पटक २०८० को बैशाखमा डेन्डर आह्वान गरिएको थियो । ५ कम्पनीले आवेदन दिएकोमा मूल्यांकन समितिले सबैलाई अयोग्य ठहर गरिदियो । त्यसपछि २०८० कै साउनमा अर्को पटक टेन्डर आह्वान गरियो । ५ कम्पनीले आवेदन दिएकोमा कात्तिकमा तीमध्ये एउटा कम्पनी छनोट भयो ।
कम्पनी छनोट गरिएपछि छनोट नभएका अन्य ५ कम्पनीले कम्पनी छनोटमा पूर्वाग्रहको आरोप लगाउँदै सार्वजनिक खरिद अनुगमन कार्यालयमा निवेदन दिए । कार्यालयले पुनः मूल्यांकनको निर्देशन दियो । ठेक्का पाएको कम्पनी कार्यालयविरुद्ध उच्च अदालत गयो । तर, अदालतले टेन्डर रद्द गर्न आदेश दिएपछि निर्माणको काम रोकियो ।
त्यसपछि २०८१ को बैशाखमा तेस्रो पटक टेन्डर आह्वान गरिएको थियो । यसपटक ४ निर्माण कम्पनीले बोलपत्र पेश गरेको भए पनि कुनै कम्पनी छनोट हुन सकेनन् । मूल्यांकनमा सबै कम्पनी अयोग्य ठहर भएका थिए । तेस्रो पटक टेन्डर आह्वान गर्दा पनि निर्माण कम्पनी छनोट हुन नसकेपछि अहिले चौथो पटक टेन्डर आह्वान गरिएको हो । अहिले निवेदन दिने समयसीमा माघ ६ गतेसम्म राखिएको छ ।
उता प्रधानमन्त्री भने फ्लडलाइट र प्याराफिट निर्माणको काममा प्रक्रिया भन्दा होहल्ला बढी गर्छन् । उनले गएको कात्तिकको पहिलो साता नै निर्माणको काम सुरु भइसकेको भन्दै यसलाई सरकारका सय दिनका काममा समावेश गरेका थिए । वास्तविकतामा भने त्यतिबेला निर्माणको लागि ठेक्का पनि दिइएको थिएन ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेटमा फ्लडलाइट निर्माणका लागि छुट्याएको १० करोड बजेट फिर्ता भएको थियो । आर्थिक वर्ष २०८१–८२ को बजेटमा पनि फ्लडलाइट निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । टेन्डर भने पुसको तेस्रो साता मात्रै आश्वान गरिँदैछ ।
उता प्रधानमन्त्री भने एकातिर काम सुरु भइसकेको दावी गर्छन् । अर्कोतिर उनको मन्त्रिपरिषदले गएको असार मसान्तका दिन बसेको बैठकबाट ३०० दिनभित्र फ्लडलाइट र प्याफिट निर्माणको काम पूरा गर्ने निर्णय गरेको थियो । निर्णय गरेको ६ महिनापछि अहिले बल्ल टेन्टर आह्वान हुँदैछ । अहिले मागिएको आवेदनबाटै कम्पनी छानिएको अवस्थामा पनि कम्पनी छानिँदासम्म प्रधानमन्त्रीले तोकेको ३०० दिनको समय सकिने अवस्था छ ।
Facebook Comment