रणनीतिक महत्त्वको स्थान ‘मकवानपुरगढी’ {फोटोफिचर}

दिपा पौड्याल
५ पुष २०८१ १२:५७

काठमाडौं। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल हो मकवानपुर गढी । मकवानपुरगढी नेपालका लागि सधै रणनीतिक महत्त्वको स्थान हो।

मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो केही समयपछि पुरानो गोरख गुल्म समेत स्थापना गरेका थिए।

मकवानपुरगढी हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। निलो आकाश मुनि हरिया डाँडामा दरबारको भग्नाबशेष देख्न सकिन्छ। हेटौंडा नजिकैको मकवानपुरगढीलाई पर्खालले घेरिएको छ । त्यसको बीचमा दरबार र गढीका भग्नावशेष छन् । प्रवेशद्वारको भित्र वंश गोपालको मन्दिर पनि रहेको छ।

मकवानपुर स्वतन्त्र राज्य थियो । त्यसको राजधानी मकवानपुरगढी रहेको थियो । त्यहाँ इसं १२५८ मा राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा भए।

गढीलाई राजधानी बनाएर सेन वंशका सात पुस्ताले शासन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् । उनलाई नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहले पराजित गरेका थिए । ऐतिहासिक यस क्षेत्रमा दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ घुम्न र अवलोकन गर्न आउने गर्दछन्।

मकवानपुर गढीको अर्को रोचक किंवदन्ती पनि छ । मकवानपुरगढी भित्र वंश गोपालको मन्दिर रहेको छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । त्यसबारे अनौठो किंवदन्ती छ । भनिन्छ एक बिहान भगवानको पाउभरी तोरीका फूल टाँसिएको देखे । पुजारी सशंकित भए । उनले चियोचर्चो गरे । भगवान् कृष्ण त्यहाँबाट राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा रहेछन् । त्यसैले भगवान् मन्दिर छाडेर जाँदा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखे!

मन्दिर मुन्तिर गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे । तिनताका चितवनमा तोरी खेती हुन्थ्यो । उनी त्यहाँसम्म पुगेर आउँथे भन्ने किंवदन्ती रहेको पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *