अमेरिका जाने लोभमा इन्जिनियर ठानेर सहचालकसँग बिहे
धनगढी । नेपालीमा ठूलो अमेरिका मोह छ। धेरैमा अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने चाहना छ। तर, त्यही चाहनाले कहिलेकाहिँ विचल्ली पारिदिँदो रहेछ।
कञ्चनपुरमा त्यस्तै अनौठो घटना घटेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक युवती इन्जिनियर ठानेर गाडी सहचालकको प्रेमजालमा पर्छिन्।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरकी ३१ वर्षीया ठकुल्ला थरकी युवतीबीच सामाजिक सञ्जालमा गहिरो गफ हुन्छ। त्यही गफका क्रममा मालीले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा लगाइदिने भन्दै प्रेम जालमा पार्छन्।
युवती पनि अमेरिका जाने सोचका साथ युवकसँग नक्कली बिहे गर्न राजी हुन्छिन्। युवकले आफू अविवाहित भएको बताउँछन्। अमेरिकाको भिसा रहेकाले चाडो विवाह गर्न युवतीलाई माली प्रेरित गर्न थाल्छन्।
उनीहरू करीब तीन महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणतको चाजोपाजो मिलाउँछन्। घरपरिवारलाई विश्वासमा लिने योजना बनाउँछन्।
मालीका भिनाजु नाता पर्ने जनकबहादुर धामीको युवतीको परिवारसँग राम्रो सम्बन्ध हुन्छ। त्यो कुरा मालिले थाहा पाउँछन्। भिनाजु नाता पर्ने धामीलाई युवतीको परिवारसँग भेट गराएर हात माग्न पठाउँछन्।
मालीको घरमा श्रीमती भएकाले कसैलाई केही कुरा थाहा हुँदैन। मालीले बुवा–आमासहित परिवारका अन्य सदस्य पनि नक्कली खडा गर्छन्।
धामीले युवतीको परिवारमा माली इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले केही दिनमा उड्ने बताउँछन्। विवाह गरेर दुलहीलाई पनि उतै लैजाने भनेपछि युवतीका सोझा बुवाआमा पनि पत्याउँछन्।
उनीहरू मालीको योजना मुताविक नै छोरीको कन्यादान गरिदिन तयार हुन्छन्। र, परिवारका सीमित सदस्यसहित २३ मंसिरमा महेन्द्रनगरको चेतन होटलमा विवाह सम्पन्न हुन्छ। विवाहमा मालीका तर्फबाट धामीसहित ५/७ जना साथीभाइ मात्र सहभागी भएका थिए।
काकाको स्वास्थ्य अवस्था निकै जटिल भएकाले दुःखद खबर आउन सक्ने चेतावनी पनि मालीले युवतीका परिवारलाई दिएका हुन्छन्।
विवाह सकेर दुलहीलाई लिएर धनगढी आएका माली २५ मंसिरमा डडेल्धुरा जाँदै थिए। त्यतिबेला युवती पक्षले सामाजिक सञ्जाल फेसबुक र टिकटमा दुवै जनाको विवाहका भिडियो अपलोड गर्दै बधाई दिइरहेका थिए।
टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीले देख्छिन्। त्यसपछिमात्र यो घटनाको वास्तविक रहस्य बाहिर आउँछ। टिकटकमा श्रीमानले अर्को विवाह गरेको थाहा पाएपछि उनकी श्रीमतीले टिकटकमै माली आफ्नो श्रीमान भएको बताउँछिन्।
मालीको पहिलो श्रीमती टिकटकमा आएपछि दोस्रो श्रीमतीका परिवारका सदस्य अचम्ममा पर्छन्। सोधीखोजी गर्दा माली साँच्चिकै विवाहित भएको पत्ता लाग्छ। त्यसपछि यो घटना प्रहरीकोमा पुग्छ।
त्यसपछि प्रहरी मालीलाई डोटीको बुडरबाट पक्राउ गर्न सफल हुन्छ। प्रहरीले मालीसँगै नक्कली बुवा बनेर युवती पक्षसँग कुराकानी धामीलाई समेत पक्राउ गर्छ। यतिबेला दुवै जना प्रहरी हिरासतमा छन्। र, उनीहरूमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment