टाइम स्क्वायरको टहकको टाँचा
मेरो वर्तमान अमेरिकाको टेक्सस राज्यमा बितिरहेको छ। वर्तमान मेरो चाहना नहुन सक्छ। तर मेरो चाहना हुनु र नहुनुले केही फरक पर्दैन मेरो वर्तमानलाई। त्यसैले पनि वर्तमान यथार्थ हो। यही वर्तमानीय यथार्थमा छु म। वर्तमानमा मेरा सीमाहरू छन्।
परिवन्दहरू छन्। लाग्छ मलाई म कतै वर्तमानको घेराबन्दीमा छु। नजरबन्दीमा छु। तर मन कुनै सीमा मान्न तयार छैन। कुनै परिवन्दमा बाँधिन जान्दैन ऊ। उडिरहन्छ। फगत उडिरहन्छ।
मनको यही उडानसँग मेरा घुमन्ते रहरहरू जब्बर भएर आउँछन्। उफानहरू खहरेको छालझैँ उर्लन्छन्। र समयको नियतिमा पुगेर सेलाउँछन्। किनकि रहरको परिपूर्ति संयोगीय हुन्छ। आकस्मिक हुन्छ।
हुनत घुम्नु रहर मात्र होइन, एउटा संस्कृति पनि हो। स्वभाव पनि हो। आफ्नो बनीबनाउ अभ्यस्त जीवनलाई छाडी कुम्लोकुटुरो बोकेर हिँड्नु पनि जोखिमकै काम हो। यात्रा भन्नु यस्तै जोखिमका बीचको रमाइलो अनुभूति हो।
यसो भएकाले आफू सुतिरहेको ओछ्यान, घुर्यान र स्वादिलो भोजनलाई नै जीवनको सर्वोपरी ध्येय तथा ऐश्वर्य ठान्ने मान्छेका प्रवृत्ति यात्राका बाधक हुन्। तर मलाई त आफू सुतिरहेको ओछ्यान, घुर्यान र घरको भोजनको त्यत्रो विधि सुर्ता लाग्दैन। एक पल्टको जुनी हो यार आँखाको रहरे विष त संयोग मिलेसम्म मार्नु नै पर्छ भन्ने लाग्छ।
त्यसो त अमेरिकामा छुट्टै संस्कृति छ घुमाइको। नेपालमा जस्तो सात पुस्तालाई सम्पत्ति कमाउने सामाजिक संस्कृति छैन अमेरिकामा। आर्जन आफ्नो जुनीलाई मात्र हो भन्ने विचारलाई प्रधान मानिन्छ। त्यसैले केही चलेन भने पनि घरनजिकैको पर्यटकीय स्थलमा सपरिवार पुगेर दिन बिताइदिन्छन्। र रमाउँछन्।
लङ विकेन्ड अर्थात सोमबार बिदा पर्नेबित्तिकै मान्छे घुम्न निस्किहाल्छन्। प्रायः अमेरिकनहरू प्राकृतिक गन्तव्य मन पराउँछन्। खोला, नदी, पहाड, झर्ना तथा अन्य प्राकृतिक स्थानमा गइहाल्छन्।
त्यसो त अमेरिकनहरूको प्रचलन सबै घरमा पकाएर खाने छैन। होटलमा गएर खाने कुरालाई पनि उनीहरू मनोरञ्जनका रूपमा लिन्छन्। त्यसैले सहर पर्यटन पनि उनीहरूको पनि प्रधान गन्तव्य नै हो।
तर मेरो नेपाल बस्दा र अमेरिका बस्दाको पर्यटन चेत भने फरक छ। मलाई नेपालमा प्राकृतिक सौन्दर्य मन पर्छ। हिमाल हाँसेकोमा म मनमनै हाँसिरहेको हुन्छु। पहाड फुलेकोमा म पनि फुलिरहन्छु र तराईका धानका पहेँल्याम्म बालासँग लहसिन्छु। घुमन्तेको लागि प्रिय बस्तु नै हो प्रकृति।
मलाई अमेरिकाका पहाड, नदी, ताल, झर्नाको प्राकृतिक सौन्दर्यले मन नलोभ्याउने कुरा होइन। तर जब म आफ्नै देश नेपालका अग्र्यानिक तथा प्राकृतिक खोला, नदी पहाड र जङ्गललाई सम्झन्छु मलाई अमेरिकाका पहाडहरू मनदेखि नै फिका लाग्छन्। त्यो बेला म ठ्याक्कै मनाङको चामेलाई सम्झन्छु र टोपी खस्ने भिरपहाडलाई मानक बनाएर अन्तका पहाड हेर्छु।
घलेगाउँबाट देखिने हिमालको श्वेत दृश्यलाई उभ्याएर अमेरिकाका हिउँपहाड हेर्छु। किनकिन ती पहाड फिका लाग्छन् मलाई। त्यसमाथि यातायात तथा सुबिधा पुराइदिएपछि सुगम त हुने नै भयो। तर सुगमतामा कृत्रिमता देखिँदो रहेछ प्रकृति। त्यसैले म अमेरिकाको अग्लाअग्ला भवन भएको डाउनटाउन तथा मान्छेकृत सभ्यतालाई हेर्न रुचाउँछु। मान्छेले बनाएका तिलस्मी चर्तिकला हेरेर पौरखिलो मान्छेको चेतको कल्पना गर्छु।
मान्छेले प्रकृतिलाई जितेर कसरी त्यो अग्लो र अचम्मको सभ्यताको सृष्टि गर्यो होला भन्ने मेरा मनमा आइहाल्छ। त्यो सभ्यताको निर्माण गर्न कस्तो समाजशास्त्रीय सोच आयो होला ? इतिहासको जगेर्ना गर्ने कस्तो विचार पक्ष होला ? भनी म कल्पना गरिरहन्छु। यही कल्पना मात्र पनि मेरा लागि रोमाञ्चक बनिदिन्छ। रञ्जक बनिदिन्छ।
कस्तो होला मान्छेको ज्याद्रो जात ? समुद्रमा सहर बसाइदिन्छ। पहरामा रेल कुदाइदिन्छ। भुईँमुनि ठूलाठूला सहरको निर्माण गराइदिन्छ। अनि म मान्छेले बनाएको संरचनामा मान्छेभित्रको मान्छे खोजिरहन्छु। मान्छेभित्रको हृदय खोजिरहन्छु। मान्छेत्व खोजिरहन्छु। त्यस कारण अमेरिकामा आइपुग्दा म सहर मन पराउँछु।
सहर घुम्ने रहर गर्छु। त्यसो त रहर गरेर मात्र हिँडिहाल्न कहाँ पाइन्छ र ? घुम्नका लागि थैलीले सँघारमा उभिएर बाटो छेक्छ। थैली बाँधेपछि पनि संयोग चाहिन्छ। आकस्मिकता आइलाग्नु पर्छ। अझ हामी नेपालीलाई त ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ चाहिन्छ। नत्र त खनखनी पैसा गनेर खोला हेर्न को पो जाओस् र ?
मलाई न्युयोर्कको टाइम स्क्वायर घुम्ने यस्तै आकस्मिकता याने ‘एक काज दो पथ’ को सुसंयोग जुरेको छ सन २०२१ को नोबेम्बर महिनामा। मेरा माताश्री तथा पिताश्री दसैँका मुखमा नेपालबाट अमेरिकाको बाल्टिमोर आउनुभएकाले दसैँ मान्न पुगेका छौँ सपरिवार।
त्यही सिलसिलामा मेरी श्रीमती सुशाले आफ्नो भदाहाभाइसँग तिहार मान्न न्युयोर्क जाने तम्तयार योजना सुनाइन्। म पनि उनको फेर समातेर न्युयोर्क आइपुगेको छु। मेरो ध्येय न्युयोर्क घुम्नु नै हो। यद्यपि न्युयोर्क घुमेर घुमिसकिने सहर होइन। मैले नेपालमा बसेर कल्पना गरेकोभन्दा हजारौँ गुणा वृहत् छ न्युयोर्क।
बसौँ लगाएर घुमे पनि सबै दृष्टिबाट अवलोकन गर्न सकिन्न। त्यसैले केही ठाउँ छान्नु वाध्यता छ मेरो। यो पल्ट मैले न्युयोर्कको टाइम स्क्वायरलाई छानेको छु। टाइम स्क्वायरलाई रात्रीकालीन समयमा अवलोकन गर्दाको रोमाञ्चक क्षणको अनुभूति गर्न खोजेको छु।
त्यहाँको रात्रीकालीन दृश्यका बारेमा धेरै कुरा सुनेको हुनाले त्यसले सम्मोहन गरेको छ मलाई। भनिन्छ संसारको सबभन्दा धनत्व तथा भूगोलका हिसाबमा ठूलो न्युयोर्क सहर हो र सम्भवत संसारकै धेरै पैदलयात्रु हिँड्ने चोक टाइम स्क्वायर हो। त्यस कारण मान्छेले बनाएको मान्छेकै जिजीविषा टाइम स्क्वायरमा नै पुगेर हेर्ने मेरो चाहना चरम चुलीमा छ।
दिन नोभेम्बर २०, २०२१ को। नोवेम्बर महिना भएकाले जाडो त छ, तर उत्पात भने होइन। नत्र त हिँउद याममा न्युयोर्कको चिसोले मजस्तो नेपालमा तराईको भुक्तभोगी र अमेरिकामा टेक्ससजस्तो गर्मीपुञ्जमा बसेको मान्छेलाई त हावाकावा खेलाइ हाल्छ नि।
न्युयोर्कको रोबिन्स म्युजियम दिनभरि अवलोकन गर्दा झमक्क साँझ परिसकेको छ। यही साँझ यामलाई सदुपयोग गर्दै म, मेरी वामाङ्गी सुशा तथा सारथी भदाहासालो सुमेश भट्टराई टाइम्स स्क्वायर अवलोकन गर्न पुगेका छौँ। किनभने टाइमस्क्वायर हेर्ने नै राति हो।
सुमेशलाई मैले सारथी किन भनेको भने उनी न्युयोर्क मुकामको घर र इन्जिनियरिङको घुमन्ते जागिर भएकाले खग्गु हुन्। प्रदर्शक सारथी बन्न तुलनात्मक रूपमा सजिलो छ उनलाई।
बाटामा रहेको पार्किङ स्थल सबै खचाखच भरिएका छन्। तर संयोग एउटा गाडी फुत्त निस्कियो र हामीले सो ठाउँमा पार्किङ गर्याैं सुमेश मलाई भन्दै छन्- भिनाजु लकी हुुनुहुन्छ। तुरुन्त पार्किङ पाइयो। त्यो पनि टाइम्स स्क्वायरकै नजिकै।
मैले बुझेकै कुरा हो कि अमेरिकाको सबैभन्दा ठूलो बजार म्यानहटनको व्यापारिक, पर्यटकीय तथा मनोरञ्जनको केन्द्र हो टाइम स्क्वायर। हजारौँ हाइराइज बिल्डिङले सिँगारिएको पृथ्वी हो न्युयोर्क र न्युयोर्कको म्यानहटन। मान्छेको घनत्व बसोबासको केन्द्र हो म्यानहटन।
संसारभरिका धनाढ्यको आकर्षण र गौरव हो म्यानहटन। होमोसेक्सुअल समाजको स्वर्ग हो म्यानहटन। संसारभरिका पर्यटकको सपना हो म्यानहटन। पैदलयात्रुको लागि सुन्दर ठाउँ हो म्यानहटन। र ती सबैको केन्द्रमा रहेको झिलिमिली टाइम स्क्वायर।
गाडी पार्किङ गरेर हामी हिँडिरहेका छौँ सडकका पेटीबाट। सडकका पेटीमा मान्छे कुँडुलो परेर ओहोरदोहोर गरिरहेका छन्। तर अचम्म नेपालमा जस्तो बाटो हिँड्ने विपरीत लिङ्गीलाई कुइनाले ठेल्ने र नजानिँदो पाराले ढेस्सिने चलन छैन यहाँ।
आफ्नो समुहबाहेक अरूलाई छुनु पनि असभ्य मानिँदो रहेछ। यात्रुलाई बाटो छोडिदिने चलन पो रहेछ। मैले काठमाडौँका सडक पेटीमा अर्कालाई बाटो नछोड्ने, ढेप्पिने, धकेल्ने नियति भोगेकै हो। त्यही सम्झे यति बेला।
अनि त्यो पेटीमा हिँडिरहेको भिडले अचिनारुलाई नछोई हिँड्ने संस्कृति देखेर नै गजब लाग्यो मलाई। त्यसो त नेपाली संस्कृतिका हिसाबमा लबस्तरो मानिने बाटैमा म्वाइँ खाने दृश्य त आम नै हो यही पेटीमा।
हामी टाइम स्क्वायर पुगेका छौँ। रातको समय भएकाले टाइम स्क्वायरको टलक टल्किरहेको छ। खासमा टाइम स्क्वायर रातको समयमा जानुको प्रधान उद्देश्य पनि त्यही टलक हेर्नु थियो। त्यसको टहक परपरसम्म पुगेको छ।। नियोन लाइटले प्रकाशको पुञ्ज प्रवाह गरिरहेको छ।
डिजिटल बिलबोर्डमा कुदेका अक्षरहरू तथा तस्बिरहरू कोसौँ टाढाबाट देखिँदै छन्। ती अक्षर तथा तस्बिरमा व्यापार प्रवर्धनका लागि विज्ञापनहरू कलात्मक तरिकाले प्रस्तुत गरिएका छन्। यसले व्यापार प्रवर्धन मात्र गरेको छैन; सौन्दर्य पनि थपेको छ।
प्राय सबै अग्ला हाइराइज व्यापारिक बिल्डिङअगाडि ठूलाठूला बिजुलीले चम्किरहेका डिजिटल बिलबोर्डहरू लगाइएका छन्। रातको बेला भए पनि दिउँसो जस्तै उज्यालो छ। वास्तवमा लोडसेडिङको मार खेपेर अभ्यस्त भएको मजस्तो नेपाली मानसिकतालाई पहिलो झमटमा यही नियोन लाइट तथा बिलबोर्डले फ्याकेका प्रकाशपुञ्ज नै उदेक लाग्ने छन्।
म बिजुलीबिनाको बिजुलीको पैसा तिर्न सकस परेको दिनको याद गर्दै छु। कोठामा जिरो पावरको गुलुप राख्दै हिँड्ने आफ्नै मानसिकता सम्झँदै छु। त्यसैले एकाएक मेरा दिमागमा एउटा जिज्ञासा आइहाल्यो -आम्मामा ! यी प्रकाश पुञ्जले कति पैसाको बिजुली खाँदा हुन् ?
प्रकाशपुञ्जका बारेमा भनिन्छ कि यो टाइम स्क्वायरमा झलमल भएको बिजुलीज्योति चन्द्रमाबाट पनि देखिन्छ रे। हो कि होइन भनेर पर्गेल्नतिर पनि लागिनँ। अर्कोतिर मान्छेको कुँडुँलो नै आश्चर्यका छन्। ती मान्छेमा संसारभरका छन्। विविध पोसाकका छन्। अहो ! मान्छे त कति कति ? भनेर नै साध्य नहुने रहेछ।
हामी टाइम स्क्वायरकै फुटपाथमा हिँडिरहेका छौँ। झण्डै टाइम स्क्वायरसँगै जोडिएको एउटा बडेम्माको घरलाई देखाउँदै सुमेशले भने — भिनाजु ! यो ब्रोड वे थिएटर हो र यसमा विश्व प्रसिद्ध सिनेमा लाइभ देखाइन्छ।
यो सुनेर म अचम्मित भएँ। किनकि सिनेमा पनि सधैँ लाइभ देखाइने ? याने कि कलाकारले सिनेमाको दृश्य निर्माण गरेर अभिनय गर्छन् रे। एक प्रकारले भन्ने हो भने नाटक जस्तो। त्यसो त टाइम स्क्वायर साहित्य, फिल्म, भिडियो गेम, म्युजिक भिडियो तथा टेलिभिजनका लागि पनि प्रसिद्ध रहेछ।
खुला आकास तर घरैघरले भरिभराउ टाइम स्क्वायर स्वतन्त्रताको अनुभूति गर्ने ठाउँ हो। मान्छे आफ्ना सबै घेराबार नाघेर उन्मुक्त हुने ठाउँ हो। तर न्युयोर्कको आतङ्ककारी आक्रमणपछि भने सुरक्षा धेरै बढाइएको रहेछ। घरीघरी घुमिरहने पुलिसका भ्यानहरूले यही कुरा सङ्केत गरिरहेका छन्।
कुरा सुनेर अचम्म लागेको छ कि विश्वको यति व्यस्त सहर र त्यो टाइम स्क्वायर चोक इतिहासको एक बेला खुला मैदान थियो। न्युयोर्कको त्यो भीमकाय म्यानहटनमा सबैभन्दा पहिले बसोबास डचले गरेका थिए रे।
मैले इतिहासमा पढेकै-पढाएकै कुरा हो कि उपनिवेश बनाएर आफ्नो उत्पादनको बजार खोज्ने युरोपियनहरूले आफ्नो उपनिवेश बढाउने क्रममा भारतमा झैँ अमेरिकामा लामो समय शासन गरे। यही क्रमका युरोपियनमा डच एक थरी थिए।
हालको टाइम स्क्वायरले बुझाउने भूमिको नाम त्यो बेला केही थिएन। पछि बेलायतीको यो क्षेत्रमा प्रवेश भएपछि वर्तमान टाइम स्क्वायर क्षेत्रलाई लङ एकर भन्न थालियो। लङ एकर बेलायतको म्यानचेस्टरमा रहेको एउटा सानो सहर हो। त्यसैका नाममा यो क्षेत्रको नाम लङ् एकर राखिएको थियो।
अमेरिकामा धेरै सहरहरू यस्तै युरोपीय तथा बेलायती ठाउँका नामबाट राखिएको छ। बेलायती योर्कमा न्यु शब्द थपेर न्युयोर्क भएको हो भने न्युजर्सी, न्युह्याम्पसायर आदि जस्ता नाम पनि बेलायती हुन्।
म्यानहटनमा बस्ती बसेपछि वर्तमान टाइम स्क्वायर त्यो बेला घोडाले सामान बोक्ने उद्योग तथा घोडाको व्यापारिक केन्द्रका रूपमा थियो। याने कि यो चौक स्थापना हुँदै व्यापारिक केन्द्रका रूपमा जन्म्यो। स्वाभाविक छ कि घोडाको व्यापारको सिलसिलामा त्यहाँ अन्य व्यापारिक क्रियाकलाप सुरु भएको थियो।
यही व्यापारको परिणतिले आजको यो अचम्म लाग्दो टाइम स्क्वायरको जन्म भएको हो। त्यस कारण जन्मदै वैश्ययुग बोकेर जन्म्यो टाइम स्क्वायर। वैश्य युग भन्नु नाफा कमाउने युग हो।
तर इतिहासले लङ एकरको नामलाई सोही रूपमा रहन दिएन। सन १९०४ मा न्युयोर्क टाइम्स पत्रिकाको मुख्यालय यहाँ आएर बसेपछि जनजिब्रोले लङ् एकरको नाम टाइम्स स्वायर भन्न थाल्यो। ठ्याक्कै नेपालको न्युरोडस्थित रोयल नेपाल एयरलाइन्स कर्पोरेसनको अफिस बसेपछि त्यो क्षेत्रको नाम नै आरएनएसी रहन गयो।
यस बीचमा रोयल शब्द हटेर नेपाल एयर लाइन्स रहे पनि जनजिब्रोले अझै आरएनएसी नै भन्दछ। क्रान्तिकारीले रत्नपार्कको नाम शङ्खघर राखे पनि जनजिब्रोले रत्नपार्क नै भन्छ। त्यसैले जनजिब्रो जब्बर नै हुन्छ। यस प्रकार लङ एकरको नाम टाइम्स स्क्वायर रहन गयो।
त्यसैले जनजिब्रोले राखेको नाम हो टाइम्स स्क्वायर। तर अचम्म के छ भने यसको नाममा स्क्वायर भए पनि यसको स्वरूप स्क्वायरमा छैन। बो टाइ आकारमा छ। चोक जुनसुकै आकारमा होस् संसारभरिका मान्छे यसलाई टाइम स्क्वायर नै भनेर चिन्छन् र सहरी पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा ठान्छन्। भौतिक मान्छेको पर्यटनको भौतिक सोचाइको पराकाष्टाको गन्तव्य हो टाइम स्क्वायर।
टाइम स्क्वायरको मुटुमै उभिएर हामी मान्छेको भीडलाई हेरिरहेका छौा। चम्किरहेका बिजुलीबत्तीका टहकमा प्रस्ट देखिने बिलबोर्डहरूले बताइरहेका छन् कि म्यानहटनको केन्द्रमा रहेको यो टाइम्स स्क्वायर उच्च तथा निम्नस्तरको मनोरञ्जनका लागि प्रख्यात छ। यहाँ हाई राइज बिल्डिङ छन्। ती बिल्डिङमा थिएटर छन्।
सिनेमा हल छन्। यो टाइम स्क्वायरमा सन १८९५ मा प्हिलो थिएटर ओलम्पिया स्थापना भयो। यो थिएटरको स्थापनाकर्ता जर्मन नागरिक ओस्कार ह्यामर्सन थिए। उनले थिएटर खोलेर ओपेरा संस्कृति अमेरिकामा भित्र्याए।
ओपेरा हाउस खोले। उनी अमेरिकाको प्रसिद्ध चलचित्र लेखक, गीतकार ओस्कारका हजुर्वा थिए। यो तथ्यलाई हृदयाङ्गम गर्दा टाइम स्क्वायरको एउटा महत्त्वपूर्ण विशेषता थिएटर, ओपेरा तथा सङ्गीत हो।
मैले सुमेशलाई सोधेँ- सुमेश बाबु ! यो टाइम स्क्वायरको मुख्य आकर्षण के हो ?
उनले उत्तर दिए- भिनाजु ! टाइम स्क्वायर धेरै कुरामा विश्वमै प्रख्यात छ। तर मुख्य गरी हरेक नयाँ वर्ष मनाउने बल ड्रप कार्यक्रम चाहिँ विश्वमै अनुपम हो। यही बल ड्रप हेर्न संसारभरिबाट मिलियनौँ मान्छे यही चौकमा ओर्लिन्छन्। त्यो बेला त यहाँ पाइला हाल्न पनि पाइन्न। यसबाहेक अमेरिकन चाडहरू हलोविन, भ्यालेन्टाइन डे आदिको दिन पनि यहाँ मनाइने र देखाइने नृत्य तथा मनोरञ्जन विश्वमै उम्दा मानिन्छ।
म सम्झिरहेको छु। दुई वर्ष पहिला पनि म न्युयोर्क पुगेको थिएँ। संयोगले त्यो नयाँ वर्षको दिन परेको थियो। तर त्यो दिन न्युयोर्कको तापमान माइनस २० डिग्री सेल्सियस थियो।
हामी घरभित्रै हिटिङले नपुगेर चलानी अग्गेठ बालेर आगो ताप्दै ह्विस्कीको तातोमा रमाउँदै थियौँ। टेलिभिजनले टाइम स्क्वायरको नयाँ वर्षको बल ड्रप कार्यक्रम देखाइरहेको थियो।
आम्मामा त्यस्तो चिसोमा गायक त.हाफ सर्ट लगाएर गीत गाइरहेका थिए। मैले सोधेको थिएँ- यस्तो कसरी सम्भव हुन्छ ?
उत्तरमा सुमेशले नै भनेका थिए – पहिलो त गीतकै रन्का हो भिनाजु। दोस्रो खुला ठाउँमा भए पनि त्यो स्टेजलाई कृत्रिम तरिकाले तताइएको हुन्छ।
हामी टाइम स्क्वायरमा हिँडिरहेका छौँ। किनकि त्यहाँको विशेषता भन्नु नै पेटीमा हिँडेर झिलिमिली हेर्नु हो। चौकमा ४ जना गोरी महिलाहरू त्यो मान्छेको भिडमा टलक्क टल्किए। तिनीहरूले टाउकामा मजुरको प्वाखजस्तो देखिने क्राउन लगाएका छन्।
उन्नत वक्षस्थलको केन्द्रीय भाग निप्पललाई अलि ठूलो रङ्गीन टीकोले छोपेका देखिन्छन्। नाभीस्थलभन्दा तलतिर नाममात्रको धरोले गुप्तांग छोपेका छन्। बाँकी शरीर सर्वाङ्ग नाङ्गो छ। उनीहरू त्यही भिडमा यता र उता गरिरहेका छन्। नोबेम्बर महिना भएकाले जाडो पर्याप्त छ। हामीले त जाडोले गर्दा भित्री र बाहिरी दुवै कोट लगाएका छौँ। मान्छेहरू ५-१० डलर दिँदै ती महिलाहरूसँग अँगालो मारेर फोटो खिच्न व्यस्त देखिन्छन्।
म आफू आफ्नै वामाङ्गीसँग भएकाले त्यसरी पैसा खर्च गर्न हुने कुरा होइन। पैसाकै कुरोभन्दा पनि आफ्नो उमेरले सरम दिएको थियो। दामली साथमा भएकोभए अर्कै कुरा हुन्थ्यो होला। तर यत्तिकैमा सारथी सुमेशले मलाई जिस्क्याएर भने- भिनाजु ! लौ फोटो खिच्नु यिनीहरूसँग।
मैले लाजगाल ‘नाईँ’ भनेँ। उता मेरी वामाङ्गीको त्यो दृश्य देखेर सातो गयो। यो दृश्य उनको कल्पनाभन्दा बाहिर थियो। उनी भन्न थालिन्-के हेर्नु परेको यो हरिविजोग ? भयो जाऊँ।
यही बेला सुमेशले भने-भिनाजु ! यिनीहरू यौनकर्मी होइनन्। जुन बेला यो स्क्वायरको निर्माण भयो, त्यो बेला यो चौकमा यौनकर्मी महिला खुला रूपमा किनबेच हुन्थ्यो रे। त्यसैको सिम्बोलका रूपमा यो प्रथा चलिआएको छ।
म अचम्ममा परिरहेको छु। यो अमेरिकालाई कस्तो कस्तो इतिहासलाई सिम्बोलिक रूपमा जिउँदै राख्नु पर्ने होला। मेरो नेपालमा भएको भए राष्ट्रलाई निर्माण गर्नेको सालिकलाई त ढुङ्गामाटो पार्छन् भने यस्तो लबस्तरो परम्परा जोगाउने सिम्बोललाई त जिउँदै आगो लाउने थिए बुद्धुवीरहरूले।
यही सिम्बोलको सिलसिलामा सन २००२ को कुरा सम्झेँ। त्यति बेला एउटी अमेरिकन यौनकर्मी महिलाले मलाई भन्थिन् – यो वैश्य युग हो। आफूसँग जे छ त्यही बेच्ने हो। जे बिक्रि हुन्छ त्यही बेच्ने हो। यो अचम्मको कुरा नै होइन। हेराइ मात्र अचम्म हो।
मेरो दिमागमा भने नेपालको चलन घुमिरहेको छ। मेरी फुपूले मरेका श्रीमान्को नाममा बालविधवा भएर जुनी बिताइदिनु भयो। अर्कातिर आफू यौनकर्मी नै भए पनि शुद्धताको बयान गरिरहन्छन् नेपालमा। यौन अड्डा चहारेर हिँड्ने पुरुष भर्जिन सभ्यतामा रमाउँछ र खोज्छ।
मनमा यस्तै यस्तै झट्का लागिरहेको छ। हामी हिँडि नै रहेका छौँ। हामीभन्दा केही कदमपछाडि मेरी वामाङ्गी छन्। चम्किरहेको बिलबोर्डतिर मेरा आँखा पुगे। त्यो गोगो बार थियो। एक जना साथीले सुनाएको थियो कि गोगो बार भनेको लगभग नाङ्गै भएर सेवा प्रदान गर्ने बार हो।
त्यही परतिर सेक्स सप देखियो। त्यहाँ सेक्स टोय तथा पोर्नोग्रफीका सामानहरू पाइने रहेछ। यसकै हारमा पिप सो हुने ठाउँ आयो। पिप सोका बारेमा सुनेको त थिएँ। तर लाइभ सेक्स देखाउने सोको नाम पिप सो भन्ने थाहा थिएन। यही चोक ट्रिपल एक्स मुभी बनाउने प्रमुख ठाउँ पनि पो रहेछ।
अब भने मेरो अचम्मको सीमा रहेन। आफ्नो खुइँलिँदै गरेको बैँस र मैले बैँसका बारेमा बोकेका मान्यताहरूलाई सम्झेँ। मेरो बैँस खहरेजस्तो तर अनावश्यक अनुशासित भेल भएर आयो र शनैशनै सुक्न थालिहाल्यो। त्यो आउँदा पनि कठोर अुनशासनमा पर्यो बिचरा। अहिले पनि त्यो अुनशासनमा बाँधिएर मर्नु न बाँच्नुमा श्वास फेर्दैछ। तर म भने बैँसको निथारमा पनि एक पल्ट जबान भएको अनुभूत गर्न थालेको छु।
म त्यही बैँसालु रन्कामा छु। सुमेशले हाइराइज बिल्डिङका केही फ्ल्याटमा बत्ती नबलेको तिर सङ्केत गर्दै भनेका छन् — त्यो बत्ती नबलेका फ्ल्याट मान्छेले किनेर बुढेशकालका लागि छोडेका हुन्। संसारभरका धनाढ्य मान्छेहरू यो चौकको वरिपरि फ्ल्याट किन्छन्। यो फ्ल्याट किन्नु धनाढ्यको सान हो। धनाढ्य हुनुको प्रमाण पनि हो।
मैले ‘कोरोनाकालमा यो टाइम स्क्वायर कस्तो भयो ?’ भन्ने जिज्ञासा राखेँ। सुमेशले भनेका भन् -यो चोकमा पैदल हिँडेर रमाइलो गर्नकै लागि एकै दिनमा लाखौँ नयाँ मान्छे आउँछन्। कोरोना कालमा यो टाइम स्क्वायर पनि प्रभावित भयो।
पर्यटकको सङ्ख्या घटेर लगभग एक तिहाइ भयो होला। केही होटेलहरू बन्द पनि भए। तर यो चोक शुन्य भएन। अमेरिकाले वैधानिक रूपले बन्द नगरेकाले यो चोकको गतिविधि पूर्ण रूपमा रोकिएन।
अब हामी घर फिर्नेतिर लाग्यौँ। हाम्रो गाडीले तुफानी रफ्तार लिएको छ। तर म भने उही टाइम स्क्वायरमा देखिएका दृश्यमा घुमिरहेको छु। मान्छे कति स्वतन्त्र हुन चाहन्छ कुन्नि ? मान्छेका आवश्यकता र चिन्तनको क्षितिज कति उचो होला? यही चोकमा मान्छेले उन्मुक्त हुन खोजेका छन्।
यही चोकबाट गिर्जाघरका आवाजहरू सुनिन्छ। यही चोकमा लगभग नाङ्गो सौन्दर्यसँग फोटो खिचाइ हुन्छ। व्यापार उन्नतिलो छ। सेक्स सप, पिप सो जस्ता यौनका पराकाष्टा मनोरञ्जन यही चोकमा छन्। टाइम स्क्वायरले मेरा मनमा कहिल्यै नबिर्सने गरी टहकको टाँचा पनि लगाइदिएको छ। तर म भने ‘घरभरि कपडा वीरे नाङ्गो’ को मानसिकतामा मुकामतिर फर्कँदै छु।
Facebook Comment