सनी लियोनी र जोनी सिन्सको नाममा नियमित सरकारबाट पैसा लिने को हो ?
काठमाडौं । भारतको छत्तीसगढको भारतीय जनता पार्टीको सरकारको महत्वाकांक्षी ‘महतारी वन्दन योजना’ अन्तर्गत सन्नी लियोनी नामकी महिलालाई पनि मासिक एक हजार भारु पारिश्रमिक दिइँदैछ ।
राज्य सरकारको वेबसाइटमा रेकर्ड गरिएको विवरण अनुसार उनको आवेदन माओवादी प्रभावित बस्तर जिल्लाको तलुर आंगनवाडीमा दर्ता गरिएको थियो।
वेबसाइटमा रेकर्ड गरिएका विवरणहरूका अनुसार सन्नी लियोनीका पति जोनी सिन्स भएको उल्लेख छ । उनको आवेदनको दर्ता नम्बर एमभीवाइ ००६५३५५७५ आंगनवाड़ी र सुपरभाइजरद्वारा प्रमाणित गरिएको छ ।
यो रकम उनको स्टेट बैंक अफ इन्डिया खाता नम्बर xxxxx७६५३१ मा यस वर्ष मार्चदेखि जम्मा भइरहेको छ। यो महिना पनि उनको खातामा एक हजार रुपैयाँ जम्मा भएको छ ।
तर, भारतीय जनता पार्टीका विधायक तथा प्रदेश प्रवक्ता अजय चन्द्राकारले यसलाई कुनै पनि प्रकारको अनियमितता मान्न अस्वीकार गरेका छन् ।
उनले बीबीसी हिन्दीलाई भने, “यो बस्तरको परम्परागत नाम होइन। तर बस्तरमा धर्म परिवर्तन हुने गरेको छ। धर्म परिवर्तन भएकी महिलाको नाम सन्नी लियोनी हुनसक्छ। यसलाई कुनै प्रकारको अनियमितताका रूपमा हेर्न सकिँदैन।”
यो विवरण सार्वजनिक भएपछि कांग्रेसले प्रदेश सरकारको आलोचना गरेको छ ।
छत्तीसगढमा कांग्रेस पार्टीका प्रवक्ता सुशील आनन्द शुक्लाले बीबीसीलाई भने, “हाम्रो पार्टीले सुरुदेखि नै यो योजना भ्रष्टाचारको योजना हो भनेर भन्दै आएको छ। यस योजनाको फाइदा खाँचोमा परेका मानिसहरूसम्म पुग्दैन, तर भाजपाका मानिसहरूको खल्तीमा पुग्छ।”
उनले सरकारले हरेक महिना ७५ लाख महिलालाई बैंक खातामार्फत पैसा दिइरहेको दाबी गरे पनि २० देखि २५ लाख महिलालाई मात्रै पैसा दिइएको बताए ।
सुशील आनन्द शुक्लाले यो योजना भाजपा सरकारको सबैभन्दा ठूलो भ्रष्टाचार योजना बनेको बताए ।
महतारी वन्दन योजना के हो ?
यो योजना गत वर्ष भएको विधानसभा चुनावमा भारतीय जनता पार्टीको जितको प्रमुख कारण मानिन्छ । चुनावको समयमा नै भाजपाले महिलालाई ‘महतारी वन्दन योजना’ अन्तर्गत प्रत्येक विवाहित महिलालाई मासिक १ हजार रुपैयाँ दिने भनी फारम भर्न आग्रह गरेको थियो।
यसपछि गत अप्रिल महिनादेखि सरकारले विवाहित महिलालाई मासिक एक हजार रुपैयाँ दिन थालेको थियो । राज्य सरकारले मार्च २०२४ देखि डिसेम्बर २०२४ सम्म ७० लाख महिलाको खातामा ६५३०.४१ करोड रुपैयाँ ट्रान्सफर भएको दाबी गरेको छ।
Facebook Comment