‘लास्ट क्रिसमस, आइ गेभ यू माई हार्ट…’
But the very next day, you gave it away…..”
“Love one another, but make not a bond of Love:
Let it rather be a moving sea between the shores of your souls.”
-खालील जिब्रान
उपक्षेप :
छैनन् जोर्ज माइकल र छैनन् ती अतीत पनि यो वर्तमानमा, छैनन् नै ती अतीत पनि त्यै अतीत झैँ यी यथार्थतामा! छन् त केवल यो वर्तमानमा, ती अतीतहरू, केवल स्मृतिस्वरूपमा! कडक मिठो स्मृतिस्वरूपमा – चिरिक्क अमिलो साथैमा! इमलीको खट्टामिठा चटनी झैँ बिराएर समयका प्रहरहरू; जब उठ्तछन् स्मृतिका लहरहरू, अनि उही चटनी स्मृतिका हरेक सिलसिलाहरूमा।
छन् त जोर्ज माइकल आज पनि स्मृतिका तिनै सिलसिलाहरूमा र ती अतीत पनि! अनि, अतीत पनि …
उनी प्रति भावपूर्ण श्रद्धाञ्जली!
क्रिसमसको समय छ आज, जोर्ज माइकलको क्रिसमस ‘लभ एन्थम’ पृष्ठभूमिमा बजाई यस कथाको यो प्रणयिता आफ्नी प्रणयिनीसँगै, जीवनको लामो यात्रामा आज अति जीर्ण बुढ्यौलीमा आइपुगेर चाउरिएका-कमजोर-जीर्ण नै आफ्ना हातका पौँजाले बुढ्यौलीको मन्द जोडबल लगाई उनका पनि पौँजा अँठ्याउँदछन् र बुढी औँलाले उनका चाउरिएकै हत्केलाको पार्श्वक्षेत्र मन्द जोडले थिच्तछन्! थिच्तछन् र कहालीलाग्दो त्यो विगत सम्झन्छन् : मायाँले कत्रो परीक्षा लियो! यही गीत उनको जीवनमा पनि नाटकीय स्वरूपमा लगभग ठ्याक्कै चरितार्थ हुन थियो!
यति लामो यात्रा जिन्दगी नामको ‘रोलरकोस्टर’को, त्यो मायालु थिचाईबाट उनको उनी पनि बुझिहाल्दछिन् – “…र, आएको छ याद फेरि पनि! ती विस्मृत हुनै नसक्ने स्मृतिका अनवरत ठोक्काई आज यो क्रिसमसमा पनि! पुनः! फेरि पनि!”
अहिले श्रीमान् स्वरूपमा भएका सम्झन्छन् उस बखतका यी प्रणयिता त्यो ‘रकिङ्ग चेयरमा’ सुस्त हल्लिँदै शिर पछाडि अड्याएर मन्द मुस्काउँछन्! उनको मन्दी मुस्कानलाई देखेर अहिले उनकी श्रीमतीस्वरूप हुन पुगेकी उनी पनि उसरी नै माथ अड्याउँछिन् पछाडि त्यो रकिङ कुर्सीमा-दुईका समरूप प्रणयतरङ्गको अधिरोपणबाट परिणामात्मक बृहत्तरकरणमा एकाकार भएकी उनी पनि मन्द मुस्काउँछिन्!
घरको ‘फायर प्लेस’ अघिल्तिर बसिरहेका दुवै – प्रेमिका बुझ्दछिन् अनि प्रेमी सम्झन्छन् झललल, लामो समय देखि दुवैको सङ्गत र उनका प्रेमसाक्ष्य भई दुःख-सुखमा आसरा स्वरूपको यो घर पनि बुझ्दछ खुब दुईका भाव जसरी छेवैको मायालु कुकुर पनि बुझ्दछ र उनीहरू झैँ ऊ पनि आगो तर्फ मुख फर्काई तापमा रापिएको आनन्दी बुझाईमा आराम गरिरहेको छ।
प्रणयिता-प्रणयिनी घोरिन्छन् आफू अघिल्तिर दन्किरहेको आगाका लप्कामा! ती लप्कामा हुन्छन् चित्रित; ती अतीत। मनश्चित्रबाट आगोको लप्कामा प्रक्षेपित छ त्यो अतीतको चित्रण! अनि ती लप्कामा चित्रित झललल चित्रहरू फर्किएर दुवैका स्मृतिपटलमा विराट स्वरूपमा मञ्चन हुँदै; यस्तो देखिन पुग्छ; अब आगो सानु हुँदैछ, उनीहरू सहितको त्यो ठूलो बैठक सानु हुँदैछ, घर सानु हुँदैछ अनि निस्किएर बाहिर आकाशमा समृतिका मनश्चित्रहरू विराट स्वरूपमा मञ्चन हुँदैछन्….
मञ्चन :
दौडँदै प्रणयिनी ती राता बुथका समीपमा पुग्थिन् होला, हिउँ फुरुरु छ! परेको छ बुरुरु! ढकमक्क! दिउँसै जुनेली रात झैँ धपक्क! लगभग पुरै बुथ नै पुरिन खोज्थे होलान् हिमवृष्टिले! सम्झन्छन् प्रेमी! सम्झेर रोमाञ्चित हुन्छन्- दूरदराजबाट उनले हानेका फूल कोही उनका माथमा त कोही गालाप्रदेशमा, लाग्थे होलान् उनीलाई हिमको गुच्छास्वरूपमा – ‘पुक्क’! ‘पुक्क’! लागिरहेछन्। “हो! लाग्यो! पुक्क!” उनको अबोध अनि उनी पनि अबोध मै स्विकारिरहेछिन्!
ती अविस्मृत स्मृतिहरू :
समय – सन् १९९०, महिना फेब्रुअरी, तारिख १४
स्थान – पाश्चात्य एक देश, पश्चिमी एकादेश!
विषय – एक प्रेम कथा…
मुख्य पात्रहरू – प्रणयिता (प्रेमी) र उनकी प्रणयिनी (प्रेमिका)
हिमवृष्टि!
वरिपरि कपास थुपारे झैँ कोमल बनाइदिएका छन् यी प्रेमीले आफ्नी यिनी प्रेमिकालाई, हिँड्नका लागि धरती मुलायम पारिदिए झैँ!
मायाँ थियो दुईको हद नाघेर! सारा हद फरालेर!
कथाको उस भागमा यी प्रेमी त्यस्तै रातो बुथमा काँध अड्याई घरी घरी नाडीको घडी हेर्दै-कुर्दै गरी छट्पटाएको एक घण्टा बढी भो! कथाको यस भागमा प्रेमिका ‘फर’ वाला ओभरकोट हतारहतारमा पहिरिएर दौडँदै बुथ समीप पुग्थिन् होला।
फोनमा प्रेमवार्ताको लागि तोकिएको समय एक घण्टा बढी गुज्रिसकेको थियो! गोडामा लामा-लामा काला बूट। दौडेकी थिन् उनी पुग्न बुथसम्म – हिउँ मर्याक मर्याक पार्दै; एक फूलले कपासको गलैँचा कुल्चेको थियो यहाँ! र, बजेको थियो मायाँको एक व्याकुल गीत।
‘ब्लन्ड हेयर’ फरर, जसका रङ्ग उनका आफ्ना प्रणयीको केश झैँ रङ्गिएका! मायाँमा एकै त हो सबै! मायाँको उचाइमा पुगे पछि मायाँको रङ्ग एकै त हो सर्वत्र! र, यहाँ केशरङ्गमा पनि! एकै थियो।
दौडँदै प्रेमिका ती राता बुथका समीपमा पुगेकी थिइन् अक्सर झैँ, आज पनि।
रातो फ्रेममा शीशाका भित्ता भएका रातै बुथ भित्रको रातै फोन, बुथ बद्ध मानव पाङ्क्तमा देख्थिन् होला अनि आफ्ना पालाका लागि छट्पटाउँथिन् होला! पालो आयो! हतार हतार छिर्थिन्! भित्र मुलायाम ‘फर’ भएका, बाहिर लामा सलक्क परेका केही फिक्का खैरो पन्जा खोली हतार हतार नै फोन उठाउँथिन् देब्रे हातले र देब्रे कानतिर अनुहारमा टाँस्दथिन् अनि दाहिने हातका लामा सलक्कै परेका औँलाले हावामा एक सम्मोहक नृत्य गरे झैँ नम्बर थिच्न थाल्थिन्-रातै फोनको सेता नम्बरवाला बटन! पन्जा खोल्नुको अर्थ थियो टाढा रहेका उनलाई नम्बरबाटै औँलाले नै भए पनि मन्द ‘पोक’ गरौँ र बिथोलिरहौँ उनलाई अर्को फोनवार्ता सम्मलाई! ओह्हो!
मायामा ध्यान मायातिर नै हुन्छ! बाँकी तिर त सुद्धि हराउँछ अक्सर! पिरतीको गोपनीयताको आवाज छेक्ने बुथको शीशावाल ढोकाले उनी पनि पछाडि पङ्क्तिमा रहेकालाई छेक्न बिर्सिन्थिन्! नम्बर थिच्ता थिच्तै झसङ्ग सम्झिन्थिन् र देब्रे पट्टि शिर ढल्काई काँधमा फोन च्याप्दै पछाडि फर्केर औपचारिकताको पाश्चात्य मुस्कानमा ढोका लाउँथिन्!
रिङ जान्छ टुर्र… टुर्र!
उता पट्टी पनि रातै छ बुथ! अक्सर प्रेमव्याकुल रहिरहने एक साथीको सङ्गमा मात्रै छ आज यताको यो रातो बुथ पनि; बुथको ती साथी यिनै प्रेमी! दुई हात बाँधी अगाडि छाती माथि, तल एउटा खुट्टा अर्कोमाथि, उभिएका छन् यिनी गल्दा खुट्टा फेरी फेरी, काँध बुथमा अड्याई प्रणयिनीको कल्पनामा! मन पगाल्ने ती माधुर्य सङ्गीत भरे कोकिला आवाजहरूका पर्खाईमा! यिनी पग्लन आतुर छन्।
परिरहेको हिउँले बिच्छ्याएको श्वेत गलैँचामाथी उभिई उनकै फोन कुरिरहेका प्रणयिता भन्ने एक मौन प्रेमीसँग मौन नै खडा छ त्यो रातो बुथ पनि!
रातो बुथ!
यस रातो बुथ ती व्यग्र प्रेमीसँग धैर्य साट्न खोज्छ; केही बोल्न खोज्छ! तर हाय! प्रेमी बोल्न त व्यग्र छन् तर बुथसँग हैन! बुथकै फोनबाट प्रेमिकासँग! आफ्नो प्रेमालाप बुथलाई नै सुनाउँदै बोल्न त चाहन्छन्, तर बुथसँग हैन।
बुथ वाक्क थियो! सुरुसुरुमा! तर अब ऊ बानी परेको छ, ऊ एक बुथ सोच्तछ – “परिवर्तनशील यी दृश्यहरूमा अनवरत मञ्चित यी दुःख स्थायी कदापी हैन रहेछन् किनभने अगि दुःखी भएर गएको एक मनुवा फेरि एकैछिनमा सुखी हुँदै फुरुङ्ङ आउँछ र फोनमार्फत बुथलाई नै सुनाउँदै उस पार सुख साट्छ!”
यी सबका साक्ष्य ऊ! यो चक्र उसले अनवरत देखिरहेको साक्षात्! उसले यस प्रेमीलाई सम्झाउन खोज्छ – “नआत्त!” तर हाय! सुनोस् कसले! संसारमाया कडा जो छ! मोहको घोल सम्मोहक जो छ! अति कडा छ! सबै घोल्दिन्छ! सबैको दुःख-सुखमा साथी ऊ अनवरत – ऊ!
एक रातो बुथ, ऊ नै पछाडि धकेलिँदा फिस्स हाँसोले अब संसारको साक्ष्य एक सन्त झैँ संसार मैं रहेर तर बाहिरिया भएर हेरिनै मात्र रहन थालेको छ -संसारमायाको दुःख-सुखको अनवरत-अनन्त चक्र! ऊ अब अभ्यस्त भैसकेको छ, त्यसैले बोल्न चाहने आफ्नो मन पछाडि धकेल्दै सहानुभूतिमा यस बुथ मौनताबाटै त्यस प्रेमीलाई मन्दमुस्कानका साथ धैर्यताको तरंग पनि पठाउँछ! तर ?! तर हाय! फेरि पनि! सुनोस् कसले ?! संसारघोल कडा जो छ! सबै घोल्दिन्छ! जे आउँछ! सबै! जो आउँछ सबै!
फोन बज्छ ट्रिङ्…. ट्रिङ्!
हतार हतार बुथको ढोका खोलेर प्रेमी फोन उठाउँछन्। आसपास कोही मानव आकृति छैनन् यहाँ! दूरदराजको एक गाउँमा। गोपनीयता बनाउने आवश्यकतै रहन्नन्! घरी हर्ष त घरी रोदन! वार्ताहरू प्रेमका अक्सर, एकनासे रहेनन्! र, यहाँ पनि! बुथ यी तड्पनवार्ता-प्रेमवार्ताहरूका साक्ष्य छ। वार्ता सकिन्छन्, ढोका लगाई प्रेमी बुथबाट बाहिर लम्कन्छन्।
हिमगलैँचामा मर्याक् मर्याक् टाढिँदै गरेको त्यस प्रेमीको आकृति तर्फ यस बुथ निर्भाव घोरिइरहन्छ –
“दुःखमा त आत्तिएको नै छ यहाँ मान्छे,
सुख सुन्न पनि झन् आत्तिएको छ यहाँ मान्छे!
एक मान्छे!
हर मान्छे!”
यस्तै सोचाइ मेट्दै कसैलाई बिदाई गरेर कसैले ढोका बन्द गरी निर्भाव रूपमा परेला झुकाउँदै शिर निहुर्याई, आफ्नो कोठाभित्र फर्किए झैँ यस दृश्यबाट त्यस प्रेमीको आकृति बिलाए पछि, यस बुथ पनि परेला झुकाई, शिर निहुर्याई आफूमा फर्कन्छ! ऊ दृश्यपटबाट बिलाउँछ!
फोनको! यो क्रम चलिनै रहन्छ। कहिले हप्तामा पूर्वनिधारित समयानुसार एक पल्ट त कहिले दुई पल्ट। गोपनीयता जो राख्न खोजिएको थियो।
पत्रहरू पनि आदानप्रदान हुन्थे। एक अर्काका नाचेका अक्षर देख्ता मन नाच्तथ्यो अनि कतै अक्षर मरक्क मर्केको देख्ता मन पनि रोमाञ्चमा मर्कन्थे! तड्पाउनलाई कहिले जानीजानी नै अक्षर मर्काइन्थे! कहिले धेरै मर्काइन्थे त कहिले थोरै मर्काइन्थे! तर, धेरै तड्पाउनलाई अक्सर थोरै मर्काइन्थे! जसरी उनको कम्मर मर्केको देख्ता उसको मन मरक्क मर्के झैँ!
मायाँ कहिले फोनबाट आवाज भएर साटिन्थे त कहिले मौनी रोमाञ्च भएर पत्रबाट एकोहोरो एक अर्काका आवाजमा सुनिन्थे! दिन, हप्ता अनि महिना यसरी नै बित्दो थियो।
जाडो अब गुज्रेको थियो गर्मी ल्याएर। ‘समर’ बिदामा उनकी उनी घर आउने कुरो साटासाट भएको थियो। र, उनी आएकी पनि थिइन्। तर उनी आइनन्! उनकामा उनी आइनन्! उनी घर आए पनि उनी उनलाई भेट्न आइनन्! प्रणयिता बिस्मातमा थिए! “किन नआएकी ?”, उनी भर्खर आफ्ना अघिल्तिर आइपुग्दा साथै केही चिढिएर हठात् सोधे झैँ उनलाई अघिल्तिर कल्पिएर मनको उदासी र व्याकुलताप्रोक्त मौनी भाषामा सोधेका थिए!
केही दिन बित्छ, तड्पनमा! एक अन्दाजी साठी वर्षकी झैँ देखिने महिला मातृवात्सल्यप्रेम भरे निगाहहरूले ती प्रणयितालाई एक पत्र थमाउन घरै आइपुग्छिन्! प्रणयिता हठात् पत्र खोलेर हेर्छन्! पत्रमा लेखिएको थियो-
“प्रिय प्रणयिता,
म यसपाली आउन सकिनँ! केही कार्यव्यस्तताले मलाई निस्सास्यायो। ‘फल’ आउँदैछ। हामी फलमा अवश्य भेट्नेछौँ! आगामी फोन या पत्रहरूमा म सङ्केत गर्ने नै छु।
उही तिम्रै!
प्रणयिनी।”
पत्र पढेर केही दुःखी भए पनि, “बाआमाकी एक्ली सन्तान उनी, सायद बुवाको व्यापारमा सहायताको कार्य व्यस्तताले थिच्यो”। यस्तै सोची पत्र होसले पट्याउँदै जतनसाथ हृदयमा टाँसिएको सर्टको गोजीमा थन्क्याउँछन् – उनी नभए पनि उनको पत्र उनीस्वरूप हृदयमा भएकी उनीलाई नै उनको कोसेली उनको सहेली झैँ बनाएर, साथी! किनभने उनी टाढा एक्ली थिइन्।
प्रणयिताबाट अनुरोधित चिया-कफीलाई उदास आँखा, निन्याउरो अनुहारले प्रेमित अस्विकारोक्तिमा पत्र ल्याउने ती बुज्रुग महिला बिदा हुन्छिन्! ती महिलाको गाडीले उडाएको धुवाँमा बिलाउँदै गरेको उनको गाडीतर्फ घोरिँदै प्रणयिता केही बिस्मातमा गम्दछन्- “उनको व्यस्तता भयो होला ठिक छ तर यिनको गहले आँसु किन बोल्दो छ?!”
पुनश्च फोन र प्रेमपत्रबाटै गहिरो मायाँ आदानप्रदानको चक्र सुरु भएर चलिरहन्छ। एकातिरबाट कहिले रिसाइन्छ त अर्कोतिरबाट मिलाइन्छ! प्रेमवार्ता चलिरहन्छ।
‘फल’ आइसकेको थियो।
पिरतीको बहार छर्दै सुनौला सूर्यकिरणमा रङ्गिएका चित्रपटमा ‘म्यापल’का पातहरूको वर्षण भएर! पिरतीको मौसम भएर! पिरतीको मौसमको अर्थ भएर! अनि पिरतीको मौसमको व्याख्या भएर! उदाहरण भएर।
सानै देखि उनलाई हुर्काएकी उनकी आमाकी सहयोगी, आमा झैँ घरकी एक कर्मचारी जो यी प्रेमीलाई चिट्ठी पुर्याउन गएकी हुन्छिन् उनैबाट प्रेमिकाले थाहा पाउँछिन् – उनी ‘समर’मा घरै हुँदा केही फुत्किएको संकेत बाको जो प्राप्त भएको थियो तिनै बुज्रुग महिलाबाट – पूर्वनिर्धारित कार्य-योजनानुसार अनुसार उनका बा केही काम विशेषले देश बाहिर छन्!
हतारिँदै रातो बुथमा उसरी नै उनी पुगिन् एक गर्मीको शीतल साँझमा! सधैँ विवशताले गालेर संक्षिप्तता मै विस्तीर्ण सघनताले गाँजिएको थियो यो प्रेम! पुगेकी थिइन् हतार मै आज पनि बुथमा।
रातो बुथमा! उडाएका थिए फरर बदमास हावाले ती सुनौला केश समुद्रको छाल झैँ लहराउँदै, अग्ली कदकी उनी एक नदीकी रोमाञ्चक बगाई झैँ हिँडाई! आफ्नो पालोमा बुथमा पस्छिन् र गफ गर्न लाग्दछिन्। “पछाडि मान्छेलाई धेरै कुराएँ होला”! प्रणयिनीलाई झसक्क हुन्छ र उही औपचारिकताको हाँसोमा मिलिक्क हेर्छिन् – तर आज दृश्य केही अजिब लाग्यो;
एउटा मुस्टन्डे व्यक्ति कालो सुटमा, धुम्म दिनमा पनि कालै चस्मामा बाहिर लाइनमा खडा छ! फर्किएर पुनश्च फेरि फोनमा – भोली साँझ नै दुवैको भेट्ने तय हुन्छ! फोन घड्याप्प राखी ढोका नलाई यता प्रेमी घरतिर लम्कन्छन्! भेटको समय र स्थान तय गरेर फोनवार्ता छोट्याई प्रेमिका बाहिर निस्कन ढोका खोल्छिन् यता।
भेटको खुसीमा फोन राखेर बाहिर निस्कँदा ठ्याक्कै आफ्नो पालो पछिको अगिको अजिब व्यक्ति त्यहाँबाट हराइसकेको हुन्छ! प्रेमिकाको खुसी अलमलिन्छ! उनी अचम्मित हुन्छिन् – “फोन गर्न आएको व्यक्ति, उसको आफ्नो पालो आउँदासम्म ऊ नै हिँडिसकेको थियो! केही अत्यावश्यक परी गयो होला!”, यस्तै सोची उनी आफ्नो प्रेमयात्रा सम्झी त्यहाँबाट रोमाञ्चको काउकुतीमा हतारिन्छिन्।
तर! तर, आज जीवनकथा टीठलाग्दो कहालीको मञ्चनका लागि बाटो ढुकेर बसेको थियो! कतै त्यही अजिबोगरीब व्यक्ति झैँ! दुवैको तक्दिर रक्ताम्य हुने गरी क्रुर भञ्जनको मुङ्ग्रो लिएर बाटो ढुकेको थियो, एक दुर्योग! त्यही विचित्र मानव झैँ! नियतीको खेल! नियतीलाई संसारी कसले बुझ्न सक्यो र! बाहेक निस्तीर्णहरूले!
यात्रा लामो छ! निस्किहाल्नु छ!
प्रणयिनी हतार हतार ब्रिफकेसमा लुगा फ्याँक्छिन्! प्रणयीले भेट गरेको गाढा खैरो-सेतो रङ्गको छिर्केमिर्के मुलायम स्कार्फ ब्रिफकेसबाट बाहिर चिहाउँछ! यो हतारमा पनि प्रेमी प्रेमिकालाई जिस्क्याउँछन्- स्कार्फको अट्टेरी चकचक भएर! आखिर स्कार्फ उनकै त उपहार थियो। प्रेमित चकचक पनि उनकै प्रकृति, उपहार स्वरूप साथैमा आएको थियो। उनी स्कार्फमा हरपल उपस्थित थिए! उनको उनीसँग। स्कार्फ भएर! मन्द मुस्कानमा मायालु धकेलाईले स्कार्फलाई भित्र धकेल्छिन् र ब्रिफकेस बन्द गर्छिन्। गोधूलिको झिसमिसेमा सिँढीबाट तल हतारिँदै बाहिर पार्क गरी राखेको गाडी तिर दौडिन्छिन्!
एल्भिस प्रेस्लीले एक गुलाफी ‘क्याडिल्याक’ कार प्रयोग गर्दिए पछि यो कार विश्व चर्चित भएको थियो। एल्भिस प्रेस्लीकै ‘डाइ-हार्ड फ्यान’ उनी, बच्चै देखि, उनले पनि त्यस्तै एक कन्भर्टिबल क्याडिल्याक कारको ‘फ्यान्टसी’ पालेकी थिइन्, बच्चै देखि।
एक अति सम्पन्न बाकी छोरी उनी! बाले पनि उनलाई यस्तै एक प्रख्यात ‘सिलेब्रिटीको’ हल्का गुलाफी रङ्गको ‘क्याडिल्याक सीरीज ६२ कन्भर्टिबल’ – एक ‘भिन्टेज’ कार लिलामीबाट लिई छोरीको जन्म दिनमा उपहार भेट गरेका थिए!
उनका लागि यो कार अति नै प्रिय थियो र उनका लागि बाले घरमा खटाएका स्टाफ झैँ उनको सेवामा हरदम हाजिर रहन हरपल उद्यत रहन्थ्यो! आज पनि सदा झैँ बाहिर माथि रुखबाट झरेका सुन्तला रंगका केही ‘म्यापल लीफ’ आफूमा धारित-स्वागत गर्दै उनको सेवामा चिहाउँदै हुन्छ, एक बुके लिएर स्वागतमा कोही खड़ा झैँ, उनको यो अतिप्रिय कार।
हतार हतार पन्छाएर हातले स्वयम्, एक सुन्दर फूल स्वरूप ती ‘प्यारका तोहफा’रूपी पातहरूलाई, स्विकारोक्तिमा मन्द मुस्कानले अभिवादन फर्काउँछिन्! दृश्य अद्वितीय थियो- कारको हल्का गुलाफी रङ्गको पृष्ठभूमिलाई गोधूलिका सुनौला किरणले थप रोमाञ्चक रङ्ग भरेका थिए अनि ती उपर सुनौलै रङ्गका केही ‘म्यापल’का पात बिच्छ्याइएका! ओह्हो!!! अनि ती उपर बिदाईमा बादलले पठाएका फूलको वर्षण स्वरूप फाट्टफुट्ट पानीका थोपा! फूलका पत्रहरूमा छरिएका पानीका बुँद! वाह!
आकाश तर्फ हेर्छिन् – खासै बादल छैन। पानी नपर्ला!
ढोका खोली कार भित्र उनी पस्छिन् ड्राइभर सीटमा, ढोका लाउँछिन्, चाबी घुमाएर गाडी स्टार्ट गर्छिन्। अगाडि ‘विन्ड स्क्रिन’मा ‘वाइपर’ बिदाईका ती वर्षणका बुँदलाई स्विकारोक्तिमा पन्छाउन तल्लीन हुन थाल्छन्। झमक्क साँझ परिसकेको हुन्छ। हेडलाइटको बत्तीले अगाडि सुनौला म्यापलका केही पात ओच्छिएका सफा भैँ टल्काउँछ, र साइलेन्सरबाट निस्किएको थोरै धुवाँ पनि सानु मुस्लो झैँ देखिन्छ, बत्तीको उज्यालोमा। गाडी मोडेर अगाडि हतारमा दौडन खोज्दा टायर ‘स्क्रिचिङ्ग’को आवाजसँगैसँगै गाडी दौडन्छ – पिरतीको राजमार्गमा! यी गाडीका चक्का घुमाई नै मोहक हुने! त्यस्तै पछाडि मोह छर्दै चक्का अगाडि तर्फ हतारिन्छ।
यहाँ पछाडि छुटेको थियो त केवल थोरै धुवाँको सानु मुस्लो, दृश्यमा। दृश्य स्पष्ट हुँदासम्म गाडी हराइसकेको थियो, दृश्यबाट। छोडेर गएको थियो त गाडीले केवल टायरका मन्द डोबहरू। अनि छोडेरै गएकी थिइन् उनले ती डोबसँगसँगै आफ्ना पर्खाईका तड्पन! बेचैनी! छट्पटी! ती सबै!
त्यो खाली दृश्य, टायरका डोब र यी व्याकुलतासँग एक साथ पछाडि छुटेर खाली भएको थियो। शून्यतामा शून्य भरिएर खाली भए झैँ!
त्यस समयमा पाश्चात्य देशहरूमा थोमस एन्डर्सको मुख्य आवाज अनि सहायक गायन र गीटारमा डीटर बोलेनको ‘सीन्थ पप’, ‘युरो डान्स’, ‘युरो डिस्को’ विधामा ‘मोडर्न टकिङ्ग’ नामक जर्मन सांगीतिक ‘डुओ’-समूह भर्खर सुरु हुँदाहुँदै लोकप्रियताको उत्कर्षमा पुगिसकेको थियो, यिनी प्रणयिनीको अति प्रिय! रमिरहने, खुस मिजाज रहिरहनु पर्ने उनी, उनको प्रिय क्याडिल्याक यिनै सङ्गीतमा उनी साथ हुँदा सँगै झुम्दथे! दुवै। उनले यात्राभरका लागि ‘मोडर्न टकिङ्ग’को साङ्गीतिक सिलसिला सुरु गरिन् – सिलसिला सुरु भयो –
“यो’र माई हार्ट, यो’र माई सोल,
आइ कीप इट शाइनिङ्ग एभ्रीह्वेर आइ गो..” बोलको डान्सिङ्ग नम्बरबाट; गाडीसँगसँगै दौडेको मन, गीतमा पियानोको मनै हर्ने ‘इन्ट्रो’सँगै दौडिरह्यो –
“डीप इन माई हार्ट, द्यर्स अ फायर, अ बर्निन्’ हार्ट…”
यता प्रेमी रातभर निदाउन्नन्! मिलनका घडी पुग्न यी ‘फगत’ समयका लामा घडीहरू तेर्सिएका जो छन् अघिल्तिर टड्कारो भएर। तर, समयको आफ्नै गति छ! सुत्न खोज्छन्, निद्रा आउँदैन। आनन्दको निद त उनको उनीले साथमा लिएर आइपुग्नै जो बाँकी छ।
उठेर ओछ्यानबाट कोठा भित्रै ओहोरो-दोहोरो गर्न लाग्दछन्-ओछ्यानबाट भित्तातिर, अनि भित्ताबाट फर्किएर फेरि ओछ्यानतिर! खेलाई मनमा रोमाञ्चले निथ्रुक्क भिजेका घरी काउकुति त घरी बेचैनीयुक्त खयाली विचारका सर्दामहरूलाई उनी मिलाउन थाल्छन्, भोली साँझका लागि कल्पँदै; केही दूर एकान्तमा, आकाशगंगाको विचित्राद्भुत खुला छाना तल, अनि छेउमै ठड्याई बालिएका दाउराबाट पिरतीको न्यानो-एक न्यानो, पिरतीको रोमाञ्चक आगोको तापबाट प्रणयको राप प्रसारण भैरहेछ! दाउरा चिटिक-चिटिक, पट्याक्, पड्याक् पड्किँदै छन् आगामा।
मनमोहक तालतिर फर्किएको एक टेबल ‘बूक’ गरिएको छ। टेबल मास्तिर पुष्पगुच्छाहरूले हृदयको आकृति बनाइएको छ र मसिना रङ्गीचङ्गी प्रकाश जडित छन्। यस रङ्गीचङ्गी प्रकाश जडित हृदयको आकारबाट सिङ्गो ताल नै हृदयस्वरूपमा दिव्यदर्शन हुनपुग्दछ! ओह्हो! अनि ती पुष्पगुच्छाबाट मदालसी अत्तरका रागहरू प्रसारित छन् हररर। पिरतीको सुवास भएर।
वरिपरि कलात्मक ल्याम्प पोस्टबाट सुनौला प्रकाश प्रसारण गरिरहेका बत्तीहरू अनि पर-पर ठूलाठूला गोलाकार सेता चहकिला बत्तीहरू! लाग्ने यस्तो कि पूर्णिमाको रातमा, जुनेली नै चहकमा, ताराहरू पनि ओर्लिएर जोडीजोडी भई शालीन ‘बलरूम’ नृत्यमा मग्न छन्! र, यस नृत्यलाई घटित गराएको छ पृष्ठभूमिमा बगिरहेको एक स्याक्सोफोनको रोमाञ्चक सङ्गीतले। अनि यो सङ्गीत बगेर अगाडि तलाउमा गई प्रेमाकार भएको छ।
हर बत्तीका जोडीहरू देखि केही मानव जोडी अनि यी दुई हृदयहरू पनि एक अर्काका आँखाका सागरमा हराएका छन् र यिनका तन चाहिँ रोमाञ्च भरिएका ‘बलरूम डान्स’मा मग्न! रोमाञ्च भरिएका नृत्य हलुकै भए पनि सघन हुन्छन्। त्यस रोमाञ्चयुक्त सघन नृत्य पछि सुस्ताउँदै अलिक पर डाँडामा बसेका यी दुई, शिर एक अर्कामा ढल्किएर अड्याई, त्यो अद्भुत आकाशगङ्गाका रहस्यमयी दृश्यमा ताराहरूका जन्तीबिच एकान्त आकाशमा जो हराउनु थियो।
यसरी हराउँदा पनि “उनका बुवाका कोही ‘सेनामेना’ पछिपछि त छैनन्” ?! सजगता पनि बराबर जरुरी थियो। अनि रात धेरै छिप्पिनु अगावै उनलाई घर चाँडो फिर्ति गराउनु पनि जिम्मेवारी जो प्रेमीको थियो।
यो अत्यन्तै छोटो तर पिरतीको यात्रामा प्रचुर घनत्व बोकेको मायालु मिठासको साक्षात्कारवाला रोमाञ्चक भेटघाटको कल्पनामा ओछ्यानमा चटरपटर गर्दा गर्दै उनी एकछिन थाकेर थिग्रिन पुग्छन्! झपक्क निद लागेछ! छ्याङ्ङै उज्यालो हुन्छ। वर्कशप देखि कोठासम्म यत्रतत्र छरिएर रहेका अपुरा उनका काष्ठ मूर्तिहरू उनको शीघ्र फिर्ती पछि पूर्णतामा स्थित हुन व्यग्र थिए!
यिनी हतारहतार तिनलाई “पर्सी फेरि भेटौँला है!” भन्ने मौन विदाईमा बाहिर आफ्नो अति प्रिय गाडीतिर हतारिन्छन्। आफ्नो आम्दानीबाट जोडेका थिए यिनले; देख्दै आलिसान देखिने – एक ‘लिङ्कन कन्टिनेन्टल’ कार। पछाडि सीटमा उनले ज्यादै मेहनत र प्रेमले लामो समय लगाई तयार गरेका प्रेमकी देवीकी एक अति सुन्दर मूर्ति होसले राख्तछन्। यो उनको उनीलाई एक विशेष प्रेमोपहार! र, गाडी घुमाई हुइँकिन्छन्!
हुइँकिएको त्यस लिंकन कार पछिल्तिर दृश्यमा बाआमा छोरोको ‘रोमियो’ रवैयामा रम्दछन्! “म भरे केही अबेर आउनेछु!” छोरोको आवाज हुइँकिँदै गरेको उनको गाडी पछाडि बाहिर पोर्चमा उभिइरहेका बाआमा सम्म पुग्दानपुग्दै उनीबाट पनि टाढिँदै गरेको घरको सो दृश्य उनको गाडीको ऐनाबाट टाढिँदै दृश्यबाट बिलाउँछ, गाडी मोडिएसँगै। आँखासम्म आइपुग्ने सलक्क परेका सुनौला केश कानतिर नपुगे पनि त्यतै सिउरिन पन्छाएको प्रयासमा गाडीको ऐनामा मुस्कुराउँदै बाआमालाई हेर्छन् र अगाडि हाँक्न केन्द्रित हुन्छन्।
एउटै सन्तान! “बिस्तारै जाउ!”, आमाको तिखै आवाज टाढिँदै गरेको त्यो चम्किलो कालो मोहक कारमा मन्द आई पुग्न चैँ भ्याएकै थियो।
क्षितिजमा हराउँदै गरेको छोरो बसेको गाडीमा रमेर घोरिएका उनका बाआमा आफ्नो एक्लो सन्तानको शैशव देखिको कला प्रेम अनायासै मनश्चित्रमा देख्न थाल्छन्; ग्यारेज मै आफ्नो वर्कशप स्थापना जो गरेका थिए उनले। बच्चै देखि काष्ठ शिल्पकारितामा लगाव उनको, बच्चै देखि नै भविष्यमा यसमा सिद्धि प्राप्त गर्ने सपना उनको! बच्चै देखि नै उनले अद्वितीय भविष्यको छनक देखाइनैसकेका थिए!
उमेर बढ्दै गयो, कलेजमा आफ्नै रुचिको शिक्षादिक्षा सँगसँगै घरमा पनि रुचि अनुसारको माहौल बनाइराख्न बाआमाले बच्चैबाट नै कुनै कस्सर बाँकी राखेका थिएनन्। बुवाको फर्निचरको व्यवसाय जसलाई आमाले पनि दिलोज्यानले साथ दिएकी थिइन्।
बाआमाकै कर्मबाट अघि बढेर छोराको काष्ठशिल्पविद्यामा भक्ति जागृत भएको थियो! कलेजको उमेर आइपुग्दासम्ममा छोरा आफ्ना अद्वितीय शिल्पविद्याका कारण गाउँ देखि नजिकको शहरमा पनि राम्रो चिनिन थालिसकेका थिए!
यता यी प्रेमी र प्रेमिकाको भेट तय भएको थियो शहर बाहिर एक स्थानमा अवस्थित एक कफी शपमा। कफीशपका ‘ओनर’ यी प्रेमीको अति मिल्ने साथी डेभिड थिए। त्यहाँबाट जानु थियो हिजो बेलुकी यिनै प्रेमीले कल्पिएका त्यही एक रेस्टुरन्टमा जुन केही पर सुन्दर तलाउ छेउ, प्रकृतिको काखमा अवस्थित थियो! प्रकृति र प्रेम एक अर्काका पर्याय हुन्।
त्यस तलैयाको बिचमा एक रातो छाना भएको सुन्दर सेतो चर्च छ; यस्तो लाग्थ्यो त्यस शान्त तलाउको बिचमा उक्त चर्च नीरव तैरिरहेको छ जसरी संसार देखि निस्फिक्री सदा प्रकृतिकै परमानन्दी जलाञ्जलीमा एक रातो कल्की भएको अति सुन्दर एक दुर्लभ राजहाँस धीमा तैरँदै छ।
यो राजहाँस जो प्रकृतिको विषेश रचनास्वरूपमा छ, स्वरूपानन्दमा मग्न छ। दुईएक डुङ्गाहरूमा नाभिक प्रकृतिका रसिकहरूलाई तालमा विचरण गराउन तल्लीन छन्। केही उपद्रव छ त मायालु-मिठो – पानीमा डुङ्गा खियाउने क्षेपणिकाले खियाउँदा छप्ल्याक्क आएको पानीको आवाज र डुंगा हठात् अगाडि बढ्दा त्यो उपद्रव पछाडि छुट्ताको त्यो आवाज, पुनः छप्ल्याक्क! त्यै आवाज पछिपछि छुटेका छन् श्रुतिमा हठात् बिलाइहाल्ने जसरि तुरुन्तै मेटिजाने तालमा डुङ्गाका क्षेपणिकाले पानीमा कोरेर पछाडि छोडिएका तरङ्गहरू झैँ! जसरी उनीसँगको मिलनमा अब हठात् छुटिजाने छन् पर्खाईका तड्पनवाला डोबहरू!
मुख्य पात्रहरू : प्रणयिता (प्रेमी) – ओलिभर, प्रणयिनी (प्रेमिका)-भ्यालेन्टिना
केटाहरू मायाँमा बढी आत्तिन्छन् कसो यी प्रणयिता पनि पहिल्यै पुग्छन् र कफीशप केही वर उनको उनीको आगमनको दृश्य दृश्याङ्कनका लागि छट्पटाउन थाल्छन्। केही बेरमा त्यस प्रेमीको बागवानको फूलको आगमन हुन्छ- एक मन्द गुलाफी गाडीमा सवार एक गुलाफ छ, छर्दै मुस्कानहरू, जसरी छर्दै एक गुलाफले बास्नाहरू!
दुवैको खुसीको सिमा थिएन। दौडँदै प्रेमी गाडीतर्फ दौडन्छन्, उनै तर्फ दौड कम गर्न खोज्दै आइरहेको गाडीतर्फ! गाडी रोक्किन पनि नपाई अति व्याकुलताको प्रणयी ‘शिष्टाचार’ हुन पुगे आलिङ्गनमा! बग्छन् अश्कहरू प्रेमका! अनि बग्छन् अश्कका प्रेमहरू! बाँधेर अंकमालले एक अर्कालाई, छोड्न चाहन्नन् दुवैलाई! निकैबेर! टाढा टाढै हुँदा, भरिएर भावले अगिसम्म। मेटिएर दूरी अब त अङ्कमालमा, भावातीत-भावशून्य! महाशून्यमा प्रेमको महाशान्ति! निकैबेर! ढुकढुक, ढुकढुक, ढुकढुक!
छट्पटिएका धड्कनहरू अगिसम्म, अब त आनन्दमा मन्दमन्द! धक्… धक्… धम्… धम्… निकैबेर! प्रेमी आफ्नो गाडीको अगाडि सिटबाट निकालेर प्रेमकी देवीकी अप्रतिम मूर्ति उनीलाई भेट गर्छन्! उनको उनीप्रतिको अपरिभाषित सघनताप्रोक्त प्रेम प्रचुर अभिव्यक्त त्यस प्रेममूर्तिमा देखी यी प्रणयमूरत भावविह्वल हुन्छिन् र प्रेमित अश्कहरू पग्लिएर आएका हृदयस्वरूप फेरि एक-अर्काका बडेमानका धड्कनहरू सुन्दै आलिङ्गनमा फर्किएर टाँसिइन्छन्!!!
ट्याँट्! ट्याँट्! नगिचैबाट गुज्रिएको गाडीको हर्नले दुवैलाई संसारमा फर्काउँछ! प्रेमाश्रु पुछ्दै “म कफी लिएर आउँछु”, हाँस्तै उनी भन्छिन्। खुसीमय स्विकारोक्तिमा “जो मर्जी!”, प्रेमी जवाफ फर्काउँछन्। प्रणयिनी कफीशपको ढोकाबाट भित्र बिलाउँछिन्।
जब मायाँको हुन्छन् साथ, कफी पनि तब-तब हुन्छन् केही खास! एकैछिनमा प्रणयिनी दुवै हातमा एक-एक कफी लिएर आइपुग्छिन्। कफी पिइन्छ साटेर, मायाँ साटेर! मायाँमा समय छिटो चल्छ रे! दौडिन्छ रे! यत्तिकैमा घडीले ४ बजेको देखाइसकेको थियो! केही परै पुग्नु थियो। लगभग दुई घण्टाको यात्रा। प्रणयी कफीशपको पार्किङ्गमा गाडी भोलीसम्मलाई थन्क्याउँछन् र, प्रणयिनीको गुलाफ सरी त्यो मिठो क्याडिल्याकमा सवार हुन्छन्, ड्राइभर सीटमा!
‘इराधा’हरू अक्सर आवारा हुन्छन्! मन झैँ! त्यसैले मनबाट निस्किएका ‘इराधाहरू’ पनि आवारा! आवारा! ‘इराधा’हरू! आवारा! र, यहाँ पनि त्यही नै थिए। आवारा! गाडी हुइँकिन्छ।
आवारा मनकै दौडमा! मौसम ढलेको छ-पिरतीको मौसममा! सूर्यका किरणहरू अब कलिला भएका छन् अब; मन्द। किरणका घोचाईहरू धीमा। एक रेशमी स्पर्श झैँ! यी काञ्चन रश्मिले रङ्गिएर बाटाहरू पनि सुनौला पोतिएका झैँ! छरिएर रश्मिहरूले रङ्गिएर आकाश पनि गुलाबी नै। छरेर मधुरिमा वातावरणमा, सिङ्गो चित्रपट नै चढाई मुहारमा लालिमा!
‘हाइवे’ छेउ सुनौला रङ्गमा नुहाएका ‘म्यापल’ वृक्षका लावालस्कर! ताँती! लाग्थ्यो यी दुई युगल जोडीका लागि सिङ्गो प्रकृतिले नै नियतिका अन्य ‘बिजनेस’लाई ‘भीटो’ लगाएर रोकेकी छन् र सबै रोमाञ्च यतै बर्साएकी छन्!।
सायद रोमाञ्चको अर्थ नै यही हो, बुझाउन खोजेकी छन्! यी दुईलाई। यस्तो लाग्थ्यो यी दुईलाई प्रेम गर्न नै पठाइएको। पुरै म्यापल वृक्ष सयपत्री रङ्गमय, बाक्लाबाक्ला सयपत्रीकै ठूलाठूला मालाहरू लिएर दुईका स्वागतार्थ लामै समयदेखि खडा झैँ! बर्साउँदै सयपत्री ‘पंखुडी”हरू! छर्दै सयपत्रीका हररर बास्नाहरू!!!
प्रेमिका ‘विन्डस्क्रीन’ तिर ‘ड्याशबोर्ड’मा नाजुक गोडा तेर्स्याउँछिन्, एक माथि अर्को । मायाँको राज अब सुरु जो भएको थियो! विस्तारै! मन्द। यहाँ देखि अब अगाडि जीवनमा पनि! र, जीवन भनेको भविष्यमा पनि।
गाडी हाँकिरहेका प्रणयिता उनीतर्फ हेर्दै मुस्कुराउँछन् र फेरि हाँक्नमा केन्द्रित हुन्छन्। छाना खुल्ला भएको कन्भर्टिबल, शिर केही ढोका माथि खुला झ्यालबाट बाहिर निकाली बन्द केश खोल्दछिन् प्रेमिका, खोल्दछिन् र लहराउँदछिन् मन्द-मन्द, विस्तारै! फूल झैँ त्यो उनको माथ हल्लाएर।
मौका छोपी बसेको, बाटो ढुकेको, आवारा हावा, बदमास! ऊ पनि लहराई दिन्छ ती बुलबुले, बाबरी जुल्फीलाई झन् थपेर! बढाएर-चढाएर, फरर्र उडाएर! माथबाट जसै खुलेर घुल्दछन् हावामा जब ती केशतरङ्ग मानौँ तरल केही चिजमा तरल नै अर्को प्रवेश गरेको छ र त्यो दैव्य ज्यामितीय दृश्य, वातावरणलाई नै टुनामुनामा द्रष्टाको दृष्टिलाई लट्ठ- कालाजादू गर्दैछ!
दुवैको गन्तव्य दूरदृष्टिमा नियतिले सन्दर्शित गर्न लाग्छिन्! प्रणयिताको बढ्दै गएको रोमाञ्चले शिखर चुम्न लाग्छ! प्रणयिनीको पनि बढिरहेको रोमाञ्च अगि आकाशको अरुणिमाबाट उत्रेर उनको श्वेत गालाप्रदेशमा केन्द्रित भए झैँ ताताम्मे राताम्मे हुन लाग्छन्! केही झमक्क साँझ! गाडी रीसोर्ट बाहिर पार्किङतर्फ मोडिँदै गतिमा धीमा ओर्लन्छ।
गाडीको वेग मन्द हुन थाल्दा हावाले पनि आफ्नो वेग सम्हाल्छ र आवारा बदमास हावा अब मन्द शीतल बतासको भद्र रोमाञ्चकारी स्वरूपमा धारित हुन पुग्छ। हेडलाइट बलेको गाडी पार्किङमा इन्जिन बन्द भएसँगै निभ्छ। प्रणयिनी “म केही पेय लिएर आउँछु!”, भन्दै गाडी रोक्किनासाथ ढोका खोली भित्र रेस्टुरन्टतर्फ दौडिन्छिन्। प्रणयिता बाहिर देख्दै आह्हा लाग्ने सेता र राता रङ्गका मनमोहक टेबलमेचका खाली जमात बिचमा सुस्ताउन लाग्छन्; एक रोमाञ्चक मन अनेक खयालमा!
कालो सुट, कालै चस्मा, ठूलो ज्यान, अग्लो कद! एक व्यक्ति ती प्रेमी अघिल्तिर टुप्लुक्क देखा पर्छन् अकस्मात्! प्रेमीलाई ठूलै परिमाणमा जटिल मेहनत लाग्ने विभिन्न रूपस्वरूपका मूर्तिहरू आफूलाई चाहिएको जसका लागि उनी नै सुयोग्य रहेको भनी आफ्नो ‘ठूलो बिजनेस डील’ स्वीकार गरिदिन अनुरोध गर्न लाग्छन् र केही पर अर्को मेचटेबल तर्फ देखाउँदै त्यहाँ आफ्ना सहकर्मीहरू रहेको कुरा इङ्गित गर्दै त्यता आइदिन अनुरोध गर्छन्।
सुरुमा त प्रणयिता मान्दैनन् र सुन्दर समय व्यतित गर्न आफू यहाँ आएको बेलामा अन्य गफ भन्दा भोली आफ्नै वर्कशपमा आई यसबारे विस्तृत गफ उचित होला भनी पन्छाउन खोज्छन्।
तर, कार्यव्यस्तताको कारण ती व्यक्ति र उनका टीमका अरू कोही आउन असमर्थ रहेको बिन्ती अनि ज्यादै अनुरोध र उनकी प्रणयिनी पनि आई हाल्न समय लाग्ने संकेत ठानेर उनी त्यता तर्फ लाग्छन्। कुरा सकेर प्रेमी आफ्नै यथास्थानमा फर्कन्छन्। यो हुँदासम्म लगभग आधा घण्टा बितेको थियो। प्रणयिनीको अझै आउने छाँटकाँट देखिएको थिएन।
केही बेर भो! थप पन्ध्र मिनेट गुज्रियो। पैँतालिस मिनेट! उनी आइनन्! “फ्रेश हुँदै होलिन्। आईहाल्छिन् नि!”, उनी आफूलाई सम्झाउँछन्। घडी नहेरेरै अर्को निकैबेर पनि गुज्रियो उनी आइनन्! अब त एक घण्टा बढी गुज्रियो! उनी आइनन्। अब प्रेमी केही चिढिन लाग्छन्! साँझ झमक्कबाट बढेर रातै परेको थियो।
उनी आइनन्! अब उनी केही रिस मिस्सिएको विस्मातले रेस्टुरन्ट भित्र लम्किन्छन्। भित्र ‘ओनर’लाई सोध्छन्, ओनरले एक फोटो सहितको पत्र उनलाई थमाउँछन्! र, भन्छन्; “तपाइँलाई हात लगाइदिनु भनिएको थियो!” उनी छक्क पर्दै फोटो हेर्छन्- अरू कोहीको अङ्गालोमा उनकी उनी मुस्कान सहित! उनी छाँगाबाट खसे झैँ हुन्छन्! जिउ काँप्छन्, जमिनहरू हल्लिन्छन्, मुटु छातीबाहिर उछिट्टिन खोज्छ अनि पुरै श्वासै सहित दुइटै फोक्सो पनि! र, फोक्सो पनि।
उनलाई उनको त्यो हाँसो कृत्रिम लाग्छ! उनी विश्वास गर्दैनन्। मानौँ दबाबमा बल गरेर हाँसिरहेकी! उनी मान्दैनन्।
पत्र खोल्छन् र हेर्छन् – लेखिएको थियो;
“मलाई खोज्ने प्रयास नगर्नु, भेट्ने छैनौ महोदय!
म ऊसित चाँडै विवाहबन्धनमा बाँधिदैछु!
र, तिमीलाई यही भन्न आएकी थिएँ।
हाम्रो भविष्य छैन, केही लामो जस्तो देखिने त्यो छोटो विगतमा म दिग्भ्रमित भएकी थिएँ। र, अहिले वर्तमानमा भ्रमबाट सम्हालिएकी छु।
हामी बिच केही थिएन र छैन। केही थियो देखि छसम्मको भ्रमबाट म पनि निस्किएकी छु र तिमी पनि चाँडै निस्किनु।
तिमीलाई तिम्रो जीवनको शुभकामना।
बिदा!
भ्यालेन्टिना।”
पहिलो कुरा त उनी अगि सम्म मेरी प्रणयिनी थिइन्, अहिले औपचारिक नाममा फर्केकी थिइन्। र, सम्बोधनमा “महोदय”! यसले झन् घाउमा नुनखुर्सानी दलेको थियो! जसरी नामले नामीमा पुर्याउँछ त्यसरी नै नामबाट उनको हृदयमा अनि हृदयबाट प्रेमको विराट तत्त्वविषयमा लैजाने नियतिको नियममा हर कोही बद्ध झैँ, उनी पनि बद्ध थिए त्यसरी नै।
तर, अब यहाँ भैरहेको थियो उल्टो, हृदयबाट नाममा फर्किरहेको थियो परिस्थिति र नामबाट बाह्य संसारमा हुत्याइएर डङरङ्ङ बजारिएको अवस्थिति! फोटो भैँमा झर्छ, अरूसँग बाँधिएकै भएपनि प्रेमी त्यस फोटोलाई टेक्न सक्तैनन्!
फोटो छेउ मै। हेर्दै फोटोतिरै उनी थचक्क बस्छन्, भुइँमै! पहिरन उनकी उनीलाई नै मन पर्ने विशेष नै पहिरिएका उनले आज, अब त्यसको अर्थ रहेन अब! अगिसम्म नयाँनयाँ मन फुरुङ्ङ, अब त त्यो नयाँ मन पनि झुत्रो भएको छ! ती नयाँ लुगा झुत्रो प्रतीत भए झैँ! मायाको ‘क्लाउड नाइन’मा उडेका उनी अगिसम्म अब क्षणभर मैँ बादलुबाट भैँ कै धुलो सरी सोतर भई भैँमै बजारिएका थिए। यति खेर उनलाई आँसु आउन्नन्।
भक्कानो फुटेर गह भरिई भित्र प्लावन भएको भएकै छ तर पनि आएनन् आँशु! उनी चकमन्न भएका थिए। निस्पट्ट – कालो अँध्यारो! आफू भित्र पनि र बाह्य दृश्य जगत् भरी! अगिसम्मको रोमाञ्चक चित्रित अगाडि बत्तीको झिलिमिली उजेली अब उनलाई एक निमिष मै निस्पट्ट अन्धकारमा रूपान्तरित थियो।
मान्छेहरूको मन्द गाइँगाइँ गुइँगुइँ अब उनको कानमा एकोहोरो चुइँयमा बदलिएको थियो। पिरतीको हुरी अगिसम्म भावनाहरूमा, अब भावनाहरू नै भावशून्य भएका थिए! उनी चेतमै अचेत भएका थिए! गोडा लगलग कामिरहेका थिए। यो बिल्कुल अनपेक्षित थियो! सबै राम्रै त चलिरहेकै थियो! अनि यो किन अकस्मात्! आखिर किन ?! मायाँ यदि थिएन भने यहाँ सम्म किन ?! अनि … यस्तै-यस्तै!
केही घडी घोरिए पछि अब उनी पोखिन्छन् – अगि फुटेको भक्कानो, भरिएर गह, आँखाबाट बलिन्द्रधारा धररर, अश्कहरू पनि उनका आँखा छाडी अब त आआफ्ना बाटा लाग्न लाग्छन्! उनी बिल्कुल एक्लिन्छन्। अब त उनी बिल्कुल रित्तिँदै थिए आफैसँग पनि – उनका आँसु पनि उनीबाट पर, निकै पर बसाइँ सर्दै थिए!
उनले च्यात्न सकेनन्, चिट्ठी! कोसेली अन्तिम त्यै त थियो! मायाँको! मायाँको कोसेली! या ‘टोकन अफ लभ’। चैन र रातको मिठो सपनीवाला निदुली बनेर आउँछिन् भनी कल्पिएका उनी यहाँ भएको थियो उल्टो!
अनिद्रको सिलसिला अब लामै चल्ने छनक जो देखिएको थियो! त्यो पत्र! त्यो पत्र हत्केला मुट्ठी पर्दा कच्याक् कुचुक् भएको थियो। त्यो चिनोलाई बन्द गरेको मुट्ठी घोप्टिएको उनको अनुहार तिर पुग्छ अनायासै र आँसु बगिरहेका आँखाका बन्द ढकनीलाई मन्द थिच्छ।
पछिपछि आई उनको बगलमै खडा भएर यो सब देखिरहेका रेस्टुरन्टका बुज्रुग ओनर कुराको गहिराई सजिलै भाँप्न सक्छन्! उनका लामा सेता दारी र खुइलिएको तालु! यी दुवै क्रमशः यत्तिकै सेता रङ्गिएका र खुइलिएका थिएनन्! बुढेसकालसम्म गईपुग्दा धेरै खपिइन्छ नै।
बुढेसकालमा पनि ट्याट्टु भरिएको ती ओनरको विशालकाय-‘ज्याक’ ज्यान जिन्दगीभर धेरै खपेर झन् खँदिलो देखिन्थ्यो! भैँमै टुक्रुक्क बस्छन् ती ओनर पनि अनि भैँमै थेचारिएका प्रेमीलाई काँधमा थपथपाउँछन् र सोध्छन्;
“प्रिय मित्र! तिम्रो नाम के हो ?”
मलिन स्वरमा प्रेमी जवाफ फर्काउँछन्; “ओलिभर।”
उनको अवस्थामा मर्माहत ओनर उनलाई मल्हमपट्टी गर्न लाग्छन्,
“यसलाई सहजै लिने प्रयत्न गर प्रिय मित्र ओलिभर! यी घडीहरूमा तिमीले बलियो हुनै पर्छ र यस कष्टको गर्तबाट बाहिर निस्कनै पर्छ। मायाँ साँचो थियो तिमी दुईको त एक अर्काको साथले तिमीहरू एक अर्कालाई प्रेमको त्यो सर्वोच्च शिखरमा पुर्याउँथ्यो नै तर यहाँ अब कष्टको साथले पनि तिमीलाई त्यहीँ पुर्याउनेछ नै! खेर यहाँ केही पनि छैन! हर बाटाहरू जीवनको बोध मै नै जानेछन्! यो अवश्यम्भावी हो। तर, यी सबका लागि यो टुटाईबाट बाहिर निस्के पछि प्रेम नै छान्नु फेरि पनि!
र अब, भो! जान्छिन् भने जान देउ उनलाई। छोड्देउ! म आज अलिक व्यस्त छु। तिमीलाई अन्तिममा उही सनातन सत्य फेरि पनि भन्दैछु – उनी आफ्नो इच्छाले गएकी छन्, मायाँ थियो भने आउनेछिन्, सायद उनलाई परिस्थितिले अहिले केही विवश गर्यो होला!
मायाँ थिएन भने आउँदिनन्! यो स्विकार्नै पर्छ! विकल्प छैन। यो कष्टलाई बल बनाउ महोदय! र अन्त्यमा, म जानु भन्दा अघि फेरि पनि उही कुरा दोहोर्याउँछु – यो टुटाईबाट बाहिर निस्के पछि प्रेम नै छान्नु फेरि पनि! अब घर जाउ ‘विकेन्ड’को समय छ, आफ्ना परिवारहरूसँग जाउ!”
यति भनी रेस्टुरन्ट ओनर विकेन्डको समयका आफ्ना ग्राहक ‘अटेन्ड’ गर्न भित्र फर्कन्छन्।
धेरै बेर झोक्राएपछि, रात निकै हुन्छ। सबैतिर चकमन्न शान्ति! छ त केवल बत्तीको झिलिमिलि। न सङ्गीत न अरू कुनै मानव आकृति। ओलिभर उठ्तछन् बल्लतल्ल र लडखडाउँदै बूक गरिएको टेबलको मेचमा गई फ्याँकिन्छन्! छेवैमा अगि बलिरहेको आगो ती दुईको पर्खाईमा अझै दनदन छ र यिनको हृदयमा पनि!
तर, यो दुई बलाई एक अर्कामा नित्तान्त विपरित हुन पुगेका छन् केही निमिषको अन्तराल मै! बाहिरको आगोले दुईलाई कुरिरहेको थियो तर यिनको दिल भित्रको आगो धोकाको इन्धनले दन्किरहेको! घोरिँदा घोरिँदै बाहिरको आगो कति खेर निभ्छ कतिखेर ?!
आगो दन्काइरहेका दाउराहरू सेता खरानीमा सोतर थिए भैँमा थाकेर! निदाइसकेका थिए। तर यिनी भित्रको आगो थाक्ने नामै थिएन! आकाशगङ्गाका ताराहरू बिच प्रणयिनीसँग रमाउने सपना बुनेका उनी, ती ताराहरू त त्यहीँ थिए नै तर कुर्या कुरै रहे।
टेबल अगाडिबाट हृदयस्वरूपमा देखिने ताल पुष्प निर्मित हृदयाकारको ढाँचाबाट देखिँदा अन्धकारले निस्पट्ट छ तर कतैकतै चैँ बत्तीले उराठलाग्दो टल्काईमा छ एक्लै। बास्ना हररर छर्दै बत्तीको झिलिमिलिमा रोमाञ्चित तुल्याउने त्यो हृदयाकारको ढाँचा पनि अब बास्नाहीन प्रतीतिमा लाग्न लाग्यो, यसैमा जोडिएको रङ्गीचङ्गी बत्ती श्यामश्वेत लागे झैँ!
घोरिँदा घोरिँदै उज्यालो हुन्छ। परबाट आवाज आउँछ! उनी झस्किन्छन्! देख्छन् – उनै बुज्रुग रेस्टुरन्ट ओनर। “तिमी अहिले सम्म यहीँ छौ ? मैले हिजै घर जाउ भनेको हैन ?” “मसँग गाडी पनि छैन अहिले”, साह्रै मसिनो, मन्द स्वरमा प्रणयिता शून्य भावमा हेरिरहन्छन् अगाडि।
ओनरले आफ्नो एक कर्मचारीलाई गाडीमा राखी ओलिभरलाई घर पुर्याइदिन अह्राउँछन्। ओलिभर गाडीमा बस्छन्। ड्राइभर सीटका आफ्ना स्टाफतिर ओनर निहुरिएर फेरि भन्छन् – “उसलाई घर नै पुर्याएर आउनु! अन्त हैन!” त्यसपछि ओनर ओलिभर तिर हेर्छन् र भन्छन्-“जाउ! घर जाउ!”
कर्मचारी गाडी ‘ब्याक’ गरी घुमाउँछन् र अगाडि बाटातिर सोझिन्छन्। रेस्टुरन्ट ओनर कराएको आवाज मन्द दुवैको कानसम्म आइपुग्छ – “घर जाउ! घर। अन्त नजाउ!”
एक नदेखिएको गाडी आउँदै गरेको दृश्य बाआमा देख्तछन्। अगाडि आँगनमा आई गाडी रोकिन्छ! छोरा देखेर आमा खुसीमा भन्छिन् – “आयौ ?!
हिजै बेलुका आइपुग्ने भन्या हैन ? राती कहाँ थियौ ? गाडी खोई ?! यो कसको गाडी हो ? अनि ऊ को हो ?” मलिन अनुहारमा छोरो गाडीबाट निस्कन्छन् र “गाडी डेभिडको कफीशपको पार्किङ्गमा छ”, यत्ति मात्रै बर्बराउँदै सिधै आफ्नो कोठातिर सोझिन्छन्! छोरो पुर्याउन आएको गाडी मोडिएर फर्कँदै आफ्नो बाटो लाग्छ।
“के भयो ?”, आमा आत्तिँदै पछिपछि लाग्छिन्। यो सुनेर बा पनि दौडिँदै आइपुग्छन्। छोरो चुपचाप कोठा भित्र पसी ढोका लाउँछन्। बाआमा बन्द ढोका बाहिर चकित! ढकढक ढकढक ढोकामा कयौँ पटक हुन्छन्! “मलाई डिस्टर्ब नगर्नु!”, भित्रबाट धमिलो आवाज आउँछ।
“केही गडबड छ! कुरा बिग्र्यो क्या हो ?!”, बाआमाले केही आँकलन गर्छन्। न भोक न निँद! न खाना न पहिलेको जस्तो छोरोको खुसमिजाजी मिजास! दिइएको खाना पनि जूठो मात्र हालेर छोड्ने, रुन्चे-मलिन अनुहार! कहिले आँसु नै धरर! आमाले सम्झाउन खोज्छिन्, बाले पनि। तर सब व्यर्थ। दिन बिते, हप्ता! मायाँमा परेपछि झन् चिटिक्क रहन थालेको ऊ अब पहिले भन्दा बिजोक भएको थियो! दाडी झ्याम्म, कपाल जिङरिङ्ङ! लुगा मैँला, झुत्रेझाम्रे!
उनका ती मूर्तिहरूले पनि उनको मायाँ पाउन छाडिसकेका थिए अब जसरी उनको उनीले उनलाई छाडेर गएको त्यो काहालीलाग्दो दिन देखि! मूर्तिलाई छाड्दै नछाड्ने उनी ती मूर्तिहरूलाई “चाँडै फेरि भेटौँला है!” भनी गरेका वाचा पनि अब उनको उनीले तोडे झैँ त्यही रात देखि टुटेका थिए। उदासी उनीमा थुप्रिएर उनी झुत्रिए झैँ पर्खाईको तड्पन मेटेर पूर्ण भई नयाँ हुनुको उल्टो ती मूर्तिहरू धूलोमा पुरिँदै झुत्रिँदै थिए क्रमशः! उनी झैँ।
एक दिन अचानक छोरो कोठा बाहिर निस्कन्छ! देखेर बाआमा चकित हुन्छन् – छोरा पहिले झैँ चिटिक्क छ, लुगा चिटिक्क छ, दारीजुँगा सिनित्त छ – लेदरको ज्याकेट, जीन्स अनि बूट! आमा पहिले खुसी हुन्छिन् र आमा पछिपछि बा पनि – “ओह्हो छोरो अब चोटबाट आरोग्यमा स्थित भयो!” तर, छोरोको साथमा एक बडेमानको हेर्दै भारी झोला छ!
आमा आत्तिँदै सोध्छिन् -“कहाँ जान लाग्यौ ? अनि यत्रो झोला के हो? यसमा के छ ?” “उनले आउने भनेकी छन्।”, छोरोले जवाफ फर्काउँछ। “कसले ?”, आमाले प्रतिप्रश्न गर्छिन्। “भ्यालेन्टिना!”, छोरोले उज्यालो मुहारमा जवाफ फर्काउँछ।
बाआमा चकित हुन्छन्! न कोही त्यस्तो खबर लिएर आएको छ घरमा, न कसैको त्यस्तो पत्र नै आएको छ! ‘मेल बक्स’ बाहिर रित्तै जो छ। अनि न छोरो हप्तौँ घरबाट बाहिर निस्केको छ। खबर चैँ कसरी आयो ?! बाआमा आत्तिए! छोरोलाई यो के भयो अब ? झन् ठिक भयो होला मनको घाउ भनेको त तर यहाँ कुरोले अर्कै सङ्केत गर्दै थियो! ऊ गाडीको चाबी माग्छ बासँग, बाले अन्कनाएर दिन्छन् र ऊ गाडी तिर लम्किन्छ!
पछाडि सीटमा झोला जतनले राख्छ गाडीमा बस्छ र गाडी हुइँक्याउँछ! आमा बालाई कराउँछिन् -“छिटो जानुस्! कहाँ हिँडेको हो ?!” लुगा पनि फेर्न नपाएका बा आत्तिँदै पाइजामा मै चप्पलमा खुट्टा घुसार्न खोज्छन्। बल्लतल्ल चप्पल लाग्छ अनि गाडीमा बसी गाडी हुइँक्याउँछन्। आमा आत्तिँदै बाहिर पोर्चसम्म आएर दृश्यबाट हराउँदै गएको श्रीमान् को गाडीतर्फ आत्तिएकै ढुकढुकीले नजर फ्याँकिरहन्छिन्।
छोरा त्यही रेस्टुरन्टमा पुग्छन्! त्यही टेबल देखिने तालको पर एक किनारमा बस्छन्, घरबाट साथैमा ल्याएको टेन्ट हाल्छन्, सकिनसकि ल्याएको झोला खोल्छन् र मायाँका सुरुवाती दिनबाट कुँद्न थालेका भ्यालेन्टिनाको पूर्णकदको मूर्ति तालतिर हेर्दै, आकाशगङ्गाका तारातर्फ हेर्दै कुँद्न थाल्छन्! त्यसपछि एक्कासी टेन्ट भित्र गई पिलपिल रोदनमा गुडुल्किन्छन्;
“फेस-अन लभर विथ अ फायर इन हिज हार्ट,
अ म्यान अन्डर कभर बट यू टोर हिम अपार्ट..”! बलिन्द्र धारा बग्दै उनलाई अचेल आँसुले पनि छाड्दै हिँड्दै गरेका ती धोकेबाज आँसुका साटो साथी भएका थिए यस गीतका यी पङ्क्ति। यी टुटेर छरिएका पलहरूमा!
यो सब देखिरहेका बा चकित हुन्छन्! केही पर रेस्टुरन्ट भित्र गई ओनरसँग कुरा बुझ्छन्। यो सब सुनेर बा पनि टुट्छन्। बा रातभर केही पर छोरो तर्फ घोरिँदै अनिँदै बलिन्द्र धारा आँसुमा, अनि पर आफूले कुँद्दै गरेको प्रियको मूर्ति छेउ गुडुल्किएको छोरा त्यस्तै बलिन्द्रै धारा आँसुमा! छोरो कसैको प्रेममा टुटेको थियो, बा छोराका प्रेममा!
बाको अनिँदै उज्यालो हुन्छ! छोरो अपुरो मूर्ति त्यो ठूलो झोलामा प्याक गर्छ, लगाएको टेन्ट खोली प्याक गर्छ, टेन्टको झोला बोकेर लगी गाडीको डिकीमा हुत्याउँछ, पछाडि सीटमा भ्यालेन्टिनाको निर्माणाधीन मूर्ति भएको ठूलो झोला बड़ा जतनले राख्छ, गाडीमा बसी गाडी हुइँक्याउँछ! बा पछिपछि हुइँकिन्छन्।
छोरो त्यो मूर्ति भएको झोला सकिनसकि बोकेर नबोली फेरि कोठा भित्र पसी ढोका लाउँछ! फेरि दिन बित्छन्, हप्ता! अब सम्म त अलिक ठिक भो कि बाआमा आँकलन गर्दै हुन्छन्। तर फेरि एक दिन अस्तिकै पारामा छोरो कोठा बाहिर निस्कन्छ! लुगा चिटिक्क त्यही, दाडीजुँगा फालेर फेरि चिटिक्क नै मुहार!
अनि झोला बडेमानको भीमकाय त्यही! अब बाआमा धेरै नै आत्तिएका थिए! चाबी बासँग लिई गाडीमा बसी छोरो फेरि हुइँकिन्छ! बा उसरी नै पछिपछि! फेरि त्यही रेस्टुरन्ट! त्यही टेबल देखिने तालको पर एक किनारमा छोरो बस्छ, टेन्ट लाउँछ, सकिनसकि ल्याएको झोला खोल्छ र बनाउन थालेका भ्यालेन्टिनाको त्यही पूर्णकदको मूर्ति तालतिर हेर्दै, आकाशगङ्गाका तारातर्फ हेर्दै कुँद्न थाल्छ! त्यसपछि एक्कासी आफ्नो टेन्टभित्र गई गुडुल्किएर उही पिलपिल रोदन!
अनि बिहान टेन्टबाट निस्की टेन्ट खोल्ने, प्याक गर्ने, गाडीको पछाडि डिकीमा टेन्ट हुत्याउने, पछाडि सीटमा मूर्ति राखिएको झोला मिलाएर राख्ने र गाडीमा बसी घरतर्फ हुइँकिने! बा पछिपछि। अनि फेरि चकमन्नतामा केही दिन बित्छ अनि फेरि त्यही..यो चक्र चल्दै रहन्छ!
एकदिन बाले घरमा मनोचिकित्सक लिएर आउँछन्। छोराको ढोका ढकढक्याउँछन्। सुरुमा ढोका खोल्न नमानेको छोरो चिकित्सकको मिठासयुक्त अनुनय विनयले बल्लतल्ल ढोका खोल्छ। कोठाभित्र छोरासँगमात्र गफिएर डाक्टर बाहिर निस्कन्छन्!
“केही ठुलै गडबड भएको हो कि ?”, बाहिर बा अत्तालिँदै सोध्छन्। आमा पछिपछि। “हैन त्यस्तो केही डराउनु पर्दैन! ऊ टुटेको छ। उसको मन भाँचिएको छ। मनहरू पलाउन ठुटा मनले अक्सर केही समय त लिन्छन् नै! तर पलाउँछन् नै! समयले सबै कुरा निको गर्छ। उसलाई समय दिनुहोस्। उसलाई साथ दिनुहोस्। समय र साथहरूले मनहरू पहिले भन्दा शक्तिशाली जुर्मुराएर उठ्तछन्!”, यति भनी डाक्टर बिदा हुन्छन्।
आशाका किरणहरू भरिएको डाक्टरको ‘ब्रह्मवाक्य’ले बाआमाको निन्याउरा अनुहारमा आशाकै किरण छरिएका थिए थोरै भए पनि उज्यालो भएर! त्यस पछि पनि छोरोलाई पुनश्च समय-समयमा डाक्टरसँगको नियमित भेटघाटमा राखिन्छ नै। बिस्तारै छोरो बाआमासँग अलिक खुल्न लाग्छन् र एक दिन भ्यालेन्टिना हराएकी हुँदा प्रहरीको सहायतामा खोजीमाग्न अनुरोध गर्छन् बाआमा सामु। बाआमा भक्कानिन्छन्!
र, प्रहरीकहाँ पुगी व्यथा चित्रित गर्दछन्। छोरालाई बाहिर पर्खन अनुरोध गर्दै प्रहरी पनि बाआमालाई जवाफमा पीडा छुटिहाल्न सक्ने सङ्केत दिन सक्तैनन् र उही व्यथा दोहोरिन सक्ने सङ्केत उल्टो थप्छन् – “कुनै कस्सर नराखी हामी उनलाई खोज्ने भरमग्दुर प्रयास त गर्ने नै छौँ तर यदि उनी स्वेच्छाले गएकी हुन् भने सर्वप्रथम तपाइँहरू नै सम्हालिनु पर्छ र छोरालाई बलियो बनाउन तिर लाग्नु पर्ने हुन्छ! बाँकी अरू केही नयाँ आए-नआए हामी निरन्तर सम्पर्क मै रहने नै छौँ।”
केही दिन बित्छ। एक दिन प्रहरी ओलिभरको घर पुग्छन् र भ्यालेन्टिना स्वेच्छाले नै बहिर्गमन भएकी हुन् भन्ने कहालीलाग्दो खबर बाआमालाई दिन्छन्! छोरोलाई यस सत्यको आत्मसाथ गराउँदै यो गर्तबाट निकाल्न बाआमाले मिलाएर सम्झाउन खोज्छन् तर यो धारिलो खबरले उनी झन् टुट्न पुग्दछन्।
एकदिन छोरो फेरि कोठा बाहिर निस्कन्छ, उही लुगा, उस्तै चिटिक्क, उही झोला! चाबी मागी हुइँकिन्छ! बा पछिपछि। तर, त्यस सुन्दर तालछेउको त्यो रेस्टुरन्ट पुग्नु अगावै एक मिलिक्क दृश्यले हँकाईतर्फको उसको ध्यान पुरै भताभुङ्ग पारिदिन्छ- बाटोको अर्को लेनमा विपरित दिशाबाट उनकी प्रणयिनी मिलिक्क पास हुन्छिन्!
उही गाडी, गाडीको रङ्ग उही, अनुहार त्यही, केश त्यही, केशको रङ्ग त्यही! यहाँसम्म कि उनले भेट गरेका त्यो स्कार्फ बाँधिएको उनको कपालमा त्यही! उनले केही सोच्नै सक्दैनन्! “भ्यालेन्टिना!” विस्मात् र अकस्मात् खुसी भरे मन्द आवाज स्वस्फूर्त उच्चरित हुन पुग्छ उनी भित्रैबाट मुखमा आइपुगी! हठात् गाडी मोड्छन्!
पछाडि तीव्र गतिमा आइरहेको दमकलको बत्ती र साइरन त्यो चोट खाएको मनले विस्मात् र होसको तादात्म्यता मिलाउन तत्क्षण सक्दैन! जे नहुनु थियो त्यही नै भयो! गाडी कच्याक्कुचुक् घिस्रिँदै उछिट्टिएर आगाको झिल्काको लहर उठाउँदै निकै पर पुगेर थचारिन्छ! उनको अति प्रिय त्यो चम्किलो मोहक कालो लिङ्कन कार पनि अब टुट्छ उनको मन झैँ!
यहाँ शहरमा लागेको आगोको लप्काले यति परसम्म आइपुग्न भ्याएर यो ‘पागल प्रेमी’लाई पनि अब लपेटेको थियो! यस ‘दिलजले’को दिलको दनदन आगो र शहरको आगो दुवै मिलेर फेरि आज उनलाई जलाएका थिए!
उनी अभागी थिए या प्रेमपरीक्षाले लायक ठानिएको भाग्यमानी ? आगोले गालेर अकबरी सुन बनाउन चाहेको थियो या राक-खरानी ? कतिपय जटिल प्रश्न साह्रै टड्कारो! अनुत्तरित नै यो अस्तित्वमा आई जरा गाडेर बसिदिन्छन्!
कानमा श्रुति चुइँय…दिमागमा विचारशून्य, हृदयमा भावशून्य! दृश्यमा जिन्दगी उनको ‘फ्ल्याशब्याक’मा जान्छ;
समय : सन् १९८८, महिना डीसेम्बर, तारिख २५ – क्रिसमसको दिन।
क्रिसमस कै दिन थियो! अब जिन्दगीले मोड लिने वाला रहेछ! ओलिभर आफ्नो वर्कशपमा एक मूर्तिलाई पूर्णता दिन तल्लीन थिए। प्राण मात्र भर्न बाँकि झैँ उनका मूर्तिहरू! नभए त ती बोलिनै पो हाल्छन् कि झैँ लाग्ने!
ओलिभरका ती अप्रतिम मूर्तिहरूमा अब साँच्चै प्राण भर्न नियतिले अर्को एक सचल मूर्तिको आगमन त्यहाँ गराउन पुग्दछिन् जो कालान्तरमा ओलिभरको प्रणयमूरतमा रूपान्तरण हुनेवाली थिईन् – भ्यालेन्टिना! एक आलिसान कारमा आएकी उनको कार पछिल्तिर अर्को एक कारमा दुई सुकिलामुकिला सुटेडबुटेड मान्छे हुन्छन् – गम्भीर मुद्रामा! उनीहरूतिरै हेर्दै!
छेउमा पाखुरासम्म सुनौला लामा-लामा सागरका तरङ्ग झैँ तरङ्गिएका केश! ठूलाठूला आँखा, एक नदीकी नाजुक मोड झैँ आँखीभौँहरू, सलक्क परेको केही साँघुरो नाक, अति सुन्दर मुहार।
लाग्थ्यो पुरानो समयका फेरि नजन्मिने एक दुर्लभातिदुर्लभ कलाकारले पूर्णतामा अवस्थित एक अद्वितीय सङ्गमर्मरकी प्रेममूर्ति यस जगलाई उपहार छाडिदिएर गएका छन् जसको दोस्रो प्रति कहिल्यै बन्न सकेन!
निगाहहरू बाँधिएका थिए, समय रोकिएको थियो, टक्क अडिएको थियो, क्रिसमसकै समय दुई आँखा चार भएका थिए! दुई मन एक भएको थियो अनि दुवै मुटु एकैसाथ धड्किएको थियो! पहिलो नजरमै प्यार भएको थियो, ‘इकरार’ भएको थियो र निकट भविष्यमै हुनेवाला ‘इजहार’ पनि भएको थियो!
सबै एकैचोटि भएको थियो! उनी हाँसेकी थिइन् अनि उनको मुस्कान देख्ता ओलिभरका निदाउन लागेका झैँ मसिना आँखा हाँसेका थिए! र, हाँसेका आँखाले अनुहार नहसाउने सवालै थिएन! अनुहार नामको तालाको चाबी आँखा जो हो! ओलिभरलाई आफ्नै हाँसिरहेका आँखाले हाँस्न विवश, हँसाएका थिए!
झुकेर ती नजर, खुलेर दन्तेलहर, हाँसेर अधर… उनी हाँसेकी थिइन्। देख्ता यो मधुरिमा ओलिभर पनि हाँसेका थिए। उनी हाँसेकी थिइन्, उनी हाँसेका थिए।
क्रिसमसमा उपहार खरिद्न भ्यालेन्टिना त्यहाँ पुगेकी थिइन्! ओलिभरको चर्चा उनको पनि कानमा ठोक्किन पुग्नाले। खरिदको काममा यहाँ ‘चोरी’ टप्किएको थियो – एक अर्काका दिल जो चोरिएका थिए! “किन खरिदिरहन पर्यो र ?! उपहारै दिहाल्छु नि!” अब हाँसेका ओलिभरका आँखा दिलमा मिल्नका खातिर उत्रिएर तीव्र धड्कन स्वरूप स्वस्फूर्त मौन बर्बराउन लागेको थियो! बोल्नु अगावै निगाहले सबै बोलिसक्छन् यहाँ! त्यही भएर प्रेमको कुनै भाषा हुन्न भनिएको होला! यहाँ भएकै त्यही थियो! “नबोली नै मायाँ गरिरहुँ!”, ओलिभर नबोली नै भविष्यमा हुनेवाला भावनाको संसारमा मायाँको सागर झैँ विराट हुन सुरु भएका थिए! बोल्न थाल्दा त यहाँ औपचारिकता सुरु हुन्छ। “फगत बोलीहरू!”, ओलिभरको मन बोल्दै थियो।
तर, बोल्नै पर्यो! चिनजानको बहानामा प्रेमको मौनी सागर तर्फको सिलसिलेवार यात्रा सुरु जो गर्नु छ! कम उमेर मै ओलिभरको त्यत्रो क्षमतामा उनी आफ्नो अस्तित्व कै गहिराईबाट प्रभावित भएकी थिइन्! उनले बडो सजगताले मूर्तिहरू हेर्छिन् र दुइटा अति सुन्दर मध्ये कै छान्छिन् र खरिद गर्छिन्। “नलिउँ पैसा पनि त उपाय छैन!”, ओलिभरको मन अब बोल्न रोक्किने छाँटकाँट थिएन। सुरु मै “प्रेमोपहार ?! कसरी भनिहाल्न मिल्ला र ?!” उनी अकमकिएका थिए! ओलिभर मूर्तिलाई ‘प्याक’ गर्न थाल्छन्, बाहिर कारमा देखिएका दुवै व्यक्ति आइपुग्छन्; केही नबोली दुवैले एक-एक मूर्ति बोक्छन् र अघिअघि लाग्छन्! भ्यालेन्टिना झट्ट आफ्नो कार तिर उनीहरू पछिपछि दौडिन्छिन्! फेरि खरिद्न आउने बोलीको छोटो औपचारिकता देखिने तर गहिरो सङ्केतमा!
केही दिन बित्छ। भ्यालेन्टिना फेरि प्रकट हुन्छिन्! उसै गरि बाहिर अर्को कारमा उनै दुई व्यक्ति! मूर्ति खरिद्छिन् प्रेमयात्रामा गफको अर्को इँटा थप्छिन् र बाहिर आफ्नो गाडी तिर हतारिन्छिन्! यो क्रम चलिरहन्छ। क्रम चल्दाचल्दै प्रेम गहिरिन थालिसकेको थियो! ओलिभरको मन घरी मिठास अनि घरी उनको पर्खाईको बेचैनी भरे शब्दको प्रेमपहाडमा थिच्चिएको थियो।
एक दिन भ्यालेन्टिना उसै गरी आइपुग्छिन् तर एक्लै! उनी अति उदास थिइन्! कारण ? कारण थियो देशको उस पार एक नामी विश्वविद्यालयमा उनका बाले उनलाई पढ्नलाई नपठाई नछोड्ने अडान कसेका थिए! बाको दबाब अघिल्तिर उनको वश चलेको थिएन।
र, त्यहाँ पुग्दा उनलाई केही स्वतन्त्रता दिइने छनक उनका बाले दिएका थिए। त्यही प्रलोभनमा पनि उनी राजी हुन करै लागेको थियो । कमसेकम यहाँ हुँदा बाले खटाएका एउटै गम्भीर भावका संवेदनाहीन ती क्रुर झैँ लाग्ने ‘बडीगार्ड’बाट स्वतन्त्रता जो मिल्नेवाला थियो!
सुनको पिँजडा झैँ जिन्दगीबाट स्वतन्त्रताको आकाशमा एक आम मानव झैँ उडान। र, उनी बिदा हुन आएकी थिइन् तर प्रेमयोग मै रहने वाचाको उपहार लिएर! अब बल्ल यहाँ उपहारको सिलसिला सुरु भएको थियो! अनि, अनि त झन् घनिष्ठ प्रेमको पनि!
मायाँ बढ्छन् उपहार साटिँदा पनि! त्यसपछि कहिलेकाहीँ दूरीले मायाँ झन् बढाउँदो हो पनि! दूरी बढ्ने हुँदा उनी भक्कानिइन् र ओलिभर पनि! दुवैका आँसु बगेका थिए! बग्ने आँसुको धर्म नै हो बाँध्ने कसो! दुवैका आँसुले दुवैलाई एकअर्काको अङ्कमालमा पहिलो पल्ट बाँध्यो! यो बँधाई सधैँलाई हुनु थियो ?!
उनी मनैमनमा आत्तिइन्! आज बल्लतल्ल उम्केर आएकी, कतै बाका मान्छे पछिपछि त आइ पुगेनन् ?! बाहिर हेरिन्। ढुक्क भइन्। केही गडबड हुनु अगावै गडबड हुन नदिन उनी बाहिर गाडी तर्फ दौडिइन्। बाँधिएका औँलाहरू फैलिएका हातबाट छुटेका थिए!
ओलिभर दौडँदै पछिपछि गाडी सम्म पुग्नु अगावै “म तिमीलाई लेख्नेछु!” गाडी तर्फबाट आवाज धमिलो हुँदै ओलिभरको कानमा गुञ्जेको थियो! गाडीको निस्तेज हुँदै गरेको आवाज र दृश्यमा बिलाउँदै गरेको गाडी सँगसँगै! र, गाडीले उडाएको धूलोले केही निराशायुक्त ठूलो तड्पन अगि उनीबाट प्राप्त उपहारमा थपेर छोडेको थियो। यो कस्तो तड्पनवाला मिठो प्रेम ?!
प्रश्नसँगै उनी अब दुर्घटनाले निम्त्याएको अचेतमा अवस्थित भइसकेका थिए! गाडीबाट उनलाई हतार हतार उद्धार गर्न थालिन्छ। भ्यालेन्टिनाको निरमाणाधीन मूर्ति गाडी मै रहन्छ! यी सबका प्रत्यक्षदर्शी पछिपछि आएका उनका बा त्यहीँ मूर्छा पर्छन्। यो कस्तो नियतिको प्रहार ?!
दृश्यमा छोरोको मूर्छाको प्रहारले लिएर आएको प्रश्नको प्रहार दोहोरो बज्रपात झैँ बाबुका हृदयमा। बाबुलाई जेनातेना थम्थम्याइन्छ। छोरालाई अस्पताल दौडाइन्छ। बाबुले आमालाई खबर गर्छन्! खबर सुन्दै मूर्च्छित् आमाका अस्पतालमा पनि विलौना भरे मूर्च्छाको सिलसिला चलि नै रहन्छ। घण्टौँ लामो शल्यक्रियाबाट जेनातेना नियतिले उनलाई कालको मुखबाट जोगाई निकालेकी चैँ थिइन्! पहिले बाटै मन टुटेका उनी अब उनको टुट्ने सिलसिला शरीरमा आई असरल्ल छरिएको थियो।
यो तोड यहीँ रोकिनलाई नै यहाँसम्म उनलाई हानिँदै ल्याइएको थियो या अझै तोड्न उनलाई बाँकी नै थियो ?! त्यो अचेतावस्थामा उनले के सोच्ता हुन् र ?! तर अचेत अवस्था दिएकी नियति त केही सोच्ती हुन् ?!
भोलिपल्ट साँझ उनको होस आउँछ र मिहिन सुस्केरामा झस्कन्छन् -“भ्यालेन्टिना!” अचेतबाट चेतमा झस्कँदा असह्य पीडा भरे शरीरले असह्य टुटेर छरिएको मनतिर सोझ्याउँछ! त्यो कहालीलाग्दो दुर्घटना- उनी उनको झिलिक्क दर्शन भएको दृश्यको दृश्याङ्कन मिलिक्क देख्तछन्; मन दुख्छ असह्य वेदनामा र शरीरका चोटले अझ थप्तछन्। त्यो दृश्यको दर्शनमा थोरै मुस्कुराउँछन्।
बाबुआमा बगलमा देखेर दुःखको आँसु बगिरहेकै आँखा अब मनैबाट मन्द मुस्काएकै भाव चेहरामा आइपुग्दा दुःखी आँसु खुसीमा रूपान्तरण हुन्छन्। आँखा उही, चेहडा उही अनि आँसु ? आँसु पनि उही त हो! खुसीमा पनि दुःखी हुँदामा पनि आँसु उही त हो! तर, त्यही आँसु भाव अनुसारले गुरुत्वयुक्त भैदिन्छन् – सुखमा पन्छी झैँ आकाशीय उडान र दुःखमा गह्रौँ असाध्यै गुडुल्किएर धरतीमै! निर्णायक त भाव रहेछ!
केही दिन बित्छ। उनलाई जनरल क्याबिनमा सारिन्छ। ओलिभरको शैय्याको बगलमा भ्यालेन्टिनाको निर्माणाधीन-अपूरो मूर्ति खडा थियो! जसरि उनलाई बनाउनेवालाको प्रेम जसरि।
अकस्मात् एक साँझ!
एक साँझ अकस्मात् उनलाई राखिएको क्याबिनको ढोका खुल्छ – भ्यालेन्टिना!
“यो के हुँदैछ ?!”, बाआमा असमञ्जसमा पर्छन्! तर, प्रेम एकचोटि जो भयो सो भयो! सक्किने रहेनछ कहिल्यै! निराशा हुँदै दुर्घटनाबाट निस्कँदै गरेका ओलिभर अब मनको घाउबाट पनि निस्कँदै थिए। शिथिल भावमा हेरिरहन्छन् त्यस जानपहिचानको आकृतितर्फ।
त्यस आकृतिमा घोरिईरहेपनि उनको मन आफ्नो हृदयमा केन्द्रित थियो- धड्केको थियो बद्मास मुटु फेरि पनि उसै गरी! ढुढुढुढु…ढुकढुक ढुकढुक ढुकढुक… ढोकामा उभिएकी छोराकी उनीलाई बाआमा छोराको धोकाको प्रतिमूर्तिरूपमा दृशयाङ्कन गर्दै चिढिन्छन्। तर, दर्दनाक अवस्थाबाट निस्कँदै गरेको छोराको खातिर सम्हालिन्छन्। ओलिभरलाई यस बिस्मातको घडीमा प्रिय जोर्ज माइकलको ठ्याक्कै चरितार्थ गीत झलल हुन्छ…
“Once bitten & twice shy
I keep my distance
But you still catch my eye
Tell me baby do you recognize me
Well its been a year it doesn’t surprise me….”
भ्यालेन्टिना भक्कानिएर दौडँदै त्यो अर्धचेत शरीरलाई आलिङ्गन गर्छिन्! “मलाई माफ गर!”, उनी ठूलो स्वरमा रुन लाग्छिन्। उनलाई देखेर रिसाएका बाआमा छोराको अवस्थाका कारण उल्टै भ्यालेन्टिनालाई पो सम्हाल्नु पर्ने, सम्हाल्न लाग्छन्।
प्रेमी खुसी प्रधान भएको, विस्मात् पनि र केही रिस अनि अति संवेदनशीलताको मिश्रित अश्रुयुक्त फुङ्ङ भावमा हुन्छन्! “यो के हुँदैछ हे ईश्वर, हे विधाता ?!”, उनी भित्र भित्रै बोलेका थिए तर बाहिर एक चैनको सुस्केरामा लामो श्वास फेरेका थिए। मुटु बिस्तारै सामान्यावस्थामा सुस्तिएको थियो। आफ्नै सचल मूर्ति अघिल्तिर देख्ता त्यो अचल-अपूरो मूर्ति पनि अब पूरा नै नभई प्राण भरिएर आधिकारिक रूपमा पूरा हुने विश्वस्ततामा मुस्काएको भान हुन्थ्यो!
अगाडि राखिएको त्यस समयको डल्लो कलर टिभीमा समाचार दौडँदै हुन्छ ; ” ‘बिजनेस टाइकून’को छद्मभेषमा रहेका सबैभन्दा ठूला माफिया बोस पक्राउ!”
टिभी स्क्रीन तिर हेर्दै भ्यालेन्टिना भन्छिन् – “उहाँ मेरा बा हुनुहुन्छ!
तिमीलाई कफीशपमा बाहिर अल्झाउनेले मलाई विश्वविद्यालय देखि नै पिछा गरिरहेको रहेछ! त्यसै व्यक्तिलाई फोनको बुथ बाहिर तिमीसँग एकदिन फोनमा कुरा हुने क्रममा मेरो पालो पछि देखेको थिएँ। ऊ त्यही व्यक्ति नै थियो। म बाहिर निस्कँदासम्म ऊ पहिले नै गायब भैसकेको थियो!
मेरा बुवाले हाम्रो नज्दिकी र बढेर झाङ्गिँदै गरेको सम्बन्ध प्रति आफू भित्रभित्रै ठूलो आपत्ति पाल्नु भएको रहेछ! राम्रो विश्वविद्यालय त एक बहाना मात्रै रहेछ; दूरीले हाम्रो मायाँ धमिल्याउने, पातल्याउने अनि मेटाउने।
वातावरण बदलेर मनमा बदली ल्याउने। उहाँ-त्यति टाढासम्म पुग्दा पनि ममा निगरानी, छोडिएको रहेनछ! सायद तिमीमा पनि निगरानी थियो, उनीहरूले तिम्रो सबै जानकारी आफूसँग भएको कुरा व्यक्त गरेका थिए!
रेस्टुरन्टमा पेय लिन जाँदा मलाई बाका अन्य मान्छेले सौदाको प्रस्ताव तेर्स्याए! उनीहरू त्यहाँ पहिल्यैबाट ढुकेर बसिरहेका रहेछन्! मलाई अलग्गै लगियो, सौदा तेर्स्याइयो र पत्र लेख्न लगाइयो! तिम्रो जीवनका लागि मैले नलेखी उपाय थिएन
। लेखेँ। ‘समर’मा घर पुग्दा मलाई बुवाले एक युवकसँग विवाहको दबाबमा घेर्नु भएको थियो। म बद्ध थिएँ, बन्द थिएँ। मसँग उपाय थिएन। मर्दा प्राण निस्किए झैँ, कष्ट-क्रन्दन र चित्कार मेरो हृदयको मृत्युमा एक कृत्रिम हाँसो स्वरूपमा अनुहारमा प्रकटिकरण गराइएको थियो। त्यो फोटो मेरो हृदयको त्यही मृत्युको उपज थियो! तर, मेरो हृदयले आफूलाई मृत ठाने पनि म मरिसकेको रहेनछु। अझै बाँकी रहेछ! पुनर्जन्म प्राप्त आज तिम्रो जीवन्त दर्शनमा म फेरि जन्मिएकी छु र मेरो हृदय फेरि जन्मिएको छ।
हरपल निगरानी अनि यो-त्यो, आदि-इत्यादि क्रूर शासनका जञ्जीरहरू! बाको सुनको पिँजडामा आक्रान्त म बच्पन देखि नै निस्सासिएकी थिएँ! क्रिसमसको त्यो दिन तिमीलाई देख्ता जीवनको पहिलो ताजगीयुक्त श्वास फेरेकी थिएँ! कति मिठो ताजगी!
ओह्हो! मूर्तिमा जीवन्त हृदयको प्रेम पोखिने तिमी, प्रेम स्वरूप तिमीमा स्वतन्त्रताको जीवन्त प्रतिमूर्ति जीवनमा पहिलो पटक चित्रित पाएँ। तोडेर सिक्रिहरू अनि फुटाएर ती मूल्यहीन सुनका पिँजडाहरू, म उड्न चाहन्थेँ! प्रेमको सत्तामा एक स्वतन्त्र प्रेमित उडान! मैले मेरो उडानको पँखेटा तिमीलाई पाएकी थिएँ!
भरिएका गह, बगेका आँशु धररर, लेखिसकेर पत्र, भारी मनले आफ्नो गाडीमा गई बसेँ। उनीहरूले गाडी हुइँक्याए र घर पुर्याइयो। विवाहका लागि मलाई तयार रहन निर्देशन दिइयो त्यही जबर्जस्ति फोटो खिच्न लाइएका व्यक्तिसँग! घरमा केही दिन पछि प्रहरी पनि आइपुगेका थिए! सोधपुछ गरे मसँग! मैले जे सौदा गरेकी थिएँ तिम्रा जीवनका लागि त्यही दोहोर्याएँ! प्रहरी फर्किए।
केही समय पछि शहर देखि देशविदेशका विभिन्न ठेगानाहरूमा ठाउँठाउँमा प्रहरीले व्यापक छापा मारेको समाचार टिभीमा आउन थालेदेखि असाध्यै चिन्तित देकिनुहुने बा प्रायः घरमा रहन छाड्नु भएका हुनाले ममा विवाहको दबाब रोक्किएको थियो र केही चैनको श्वास फेर्न पाएकी थिएँ।
तर पनि ममा कडा बन्देज र निगरानी छोडिएको थिएन। केही दिन अघि बा आउनु भएकै बेला घरमा प्रहरीले ठूलो छापा मार्यो अकस्मात्! म तर्सिएकी थिएँ! बालाई घरबाटै प्रहरीले गिरफ्तार गर्यो र उहाँका सबै सहायकलाई पनि। मलाई पनि दुईएक दिन अनुसन्धानमा राखियो! मलाई बाका कार्यसँग लेनादेना थिएन न राम्रो जानकारी नै थियो, न कहिले उहाँले जानकारी दिनु नै भएको थियो। म निर्दोष थिएँ। मलाई स्वतन्त्र छाडियो।
छुट्नासाथ म तिमीलाई भेट्न दौडेकी थिएँ। घरमा कोही थिएनन्! यहाँ यो सब वज्रपात गुज्रिसकेको रहेछ! फेरि पुनः पुनः घर पुग्दा छिमेकीबाट सब थाहा भयो! अनि म दौडँदै यहाँ आइपुगेकी थिएँ! तर भित्र आउन मलाई आँट भएन। धेरै दिन अक्सर क्याबिन बाहिर सम्म आईपुगी फर्किएँ। मेरो गल्ती सिधै त थिएन तर मेरा कारण तिमीले यो सब भोग्नु पर्यो!
मलाई तिमीलाई भेट्न पूर्ण बन्देज गरिएको थियो! त्यो रात म खुद गएकी थिइनँ! मलाई लगिएको थियो! बाहिर तिमीलाई काष्ठ मूर्तिको ठूलो ‘बिजनेस डील’को बहानामा अल्झाई, भित्र मलाई ‘उसलाई छाडी यहीँबाट घर तिर लाग्ने या उसलाई यहीँ गोलीले ढेर भएको देख्ने ?’; यिनै दुई विकल्प दिइएको थियो। मैले तिम्रो जीवन रोजेँ! तिम्रो जीवनसँग तिमीसँगको विछोडको कष्ट साटेर लिएको थिएँ। यो वियोगको कष्ट आफूलाई पारी तिम्रो जीवनका लागि सौदा गरेको थिएँ। मलाई माफ गर!”
यो सुन्दासम्म बाआमा अझै धेरै ती प्रणयिता भन्दा अश्रुमय भएका थिए! न गलती थियो यहाँ न कसैको, थियो त थियो, खेल थियो, यो सब नियतिको!
प्रणयिता भयानक दुर्घटनाबाट जोगिएको अति जीर्ण शरीरको बल पुर्याईनपुर्याई समातिरहेको प्रणयिनीको हत्केलाको पार्श्वक्षेत्र बुढी औँलाले बल नआए पनि पुरै बलका साथ थिच्तछन्- थिचिइन्छ मन्द! पौँजा कस्सिन्छन्, हत्केला गाँठिन्छन्।
अब कस्सिएको थियो गाँठो, पिरतीको गाँठो! बाटो खुलेको थियो अनि परीक्षा सक्किएको थियो! अग्निपरीक्षा! नियतिको क्रुर खेलको परीक्षा! प्रेमपरीक्षा! आँसुहरू बगेका थिए। सबैका आँखामा। प्रेमको नियति नै सनातन देखि यस्तै हो कि ?! डुबाएर अश्रुसागरमा प्रेमको एक अपरिभाषित परमानन्दी विचरण ?!
उपसंहार :
आगाका लप्का अब साना भएका छन्। अनि साना नै भएका छन् विराट स्मृत्याकाशमा चित्रित ती चित्रहरू मनश्चित्रबाट ‘फायर प्लेसका’ आगाका लप्कामा फर्कँदा! गाँठिएका दुईका पौँजा त अब अहिलेसम्म अङ्कमालमा पो रूपान्तरित भैसकेछन्!
आफ्ना प्रियजनका भावहरू नै झललल चित्रित देख्न सक्छन् जनावरहरू पनि! ईश्वरको प्रेमायामको जनावर स्वरूपको अभिव्यक्ति – छेवैको कुकुर जुरुक्क उठेर पुच्छर हल्लाउँदै आई लाडिएर दुवै बिचमा अभिव्यक्तिकरण हुँदै गरेको थोरै मायाँ आफूलाई पनि माग्दछ!
दुवै हाँस्तै कुकुरको माथ, गर्दनको पछाडि मुसार्न लाग्दछन्। कुकुर खुसीले दुवैसँग लुटपुटिँदै खुब खुसीमा नाच्न लाग्दछ। दुवैका आँसु बलिन्द्रधारा तप् तप् चुहुन लाग्दछन् कुकुर मुसारिरहेका दुवैका आआफ्ना हत्केलाको पार्श्वभागमा। हर्षाश्रु! प्रेम चित्रित झलमल्ल आँसु हत्केलामा टिलपिल टिलपिल!
आँसु!
“दुःख मै बगेका थिए आँसु। अहिले खुसीमा पनि बग्दैछन् आँसु। खुसीले भरिएको आँसुले यस वर्तमानरूपी त्यस अतीतको भविष्यबाट फर्किई पुनश्च त्यही विगतमा हेर्दा अहिले मिठो ज्ञानानुभूतिको प्रेमानुभूति दिने ती दुःखयुक्त आँसुको नै मायाँ लाग्दछ।
अमूल्य मायाँ बोकेर आएको आँसु नै अमूल्य लाग्दछ, अमूल्य मायाँ बोकेर आएको आँसुको नै मायाँ लाग्दछ! अमूल्य ती अनुभवले यी हर्षाश्रु बगाइदिई फर्किएका ती दुःखी आँसु नै ज्ञानी लाग्दछ। ती दुःखी आँसुलाई धन्यवाद अहिले खुसीको आँसु जो दियौ…” दुवै सोच्तछन् ॥
“If you’re seeking closeness to the Beloved,
Then love one another.
Whether in their presence or absence,
See only their good.
With life as short as a half taken breath,
Don’t plant anything but love.”
– जलालुद्दिन रूमी
श्रीराधा
hrisheekeshdhakal@gmail.com
Facebook Comment