सुशील र रविनको ‘बादशाह जुट’ कात्तिकमा
काठमाडौं। चलचित्र ‘बादशाह जुट’ले प्रदर्शन मिति घोषणा गरेको छ। गत वर्ष नै प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारण देखाउँदै चलचित्र पछि सरेको थियो।
अब यो चलचित्र आउँदो कात्तिक १ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको हो।
सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र रविन तामाङ फिचर्ड छन्। ‘बादशाह जुट’लाई जोनी सिंह राणाले निर्देशन गरेका हुन्। चलचित्रमा उनकै कथा छ। चलचित्रमा सुशील र रविनका अलावा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगायत प्रमुख भूमिकामा छन्।
अभिनेत्री प्रियंका कार्की अतिथिको भूमिकामा छिन्। गतवर्ष नै ‘काफल पाक्यो’बोलको गीत सार्वजनिक गरिएको थियो। जसमा प्रियंका, सुशील र आमिर फिचर्ड छन्।
एच एण्ड बी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हर्क बहादुर कुवँर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)को लगानी छ। राजु कार्कीको छायांकन, राजकुमार उप्रेतीको एक्सन, कृष्ण भारद्धाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन छ।
चलचित्रले आफूलाई बादशाह सम्झने दुई युवाको कथा बोल्छ।
Facebook Comment