भक्तपुरमा बाबुछोरा मृत्यु प्रकरणमा जेठा छोरा पक्राउ, घटनामा संलग्नता स्वीकार

डिसी नेपाल
९ पुष २०८१ १२:४६

काठमाडौं । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार सूर्यविनायक नगरपालिका-२, बालकोटमा जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । कुलप्रसादका जेठा छोरा मिलन पनि त्यहाँ डेरा गरेर भाइ प्रविणसँगै बस्ने गरेको भए पनि शव भेटिँदा मिलन बेपत्ता थिए ।

कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या भएको विश्वासमा अनुसन्धान गरिरहेको प्रहरीले कुलप्रसादका जेठा छोरा मिलनलाई पक्राउ गरेको हो । स्रोतका अनुसार मिलनले घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

जुल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । सोमबार बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्तले बताएका थिए । आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो । शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *