धर्ममा व्यापार र राजनीति छिर्दा एक अर्कालाई फुटाउने तत्त्व बनिरहेको छ : हरिप्रसाद सोडारी
धर्म ज्ञान हो। यसभित्र विज्ञान पनि हुन्छ। धर्मलाई समाजको आधार स्तम्भ मानिन्छ। विश्वका प्रत्येक मानिसले कुनै न कुनै धर्म अंगालेका हुन्छन्। धर्मभित्र सामाजिक रीतिरिवाज, चालचलन, परम्परा र विश्वास पर्छन्। धर्मको उद्देश्य शान्त रहनु, अहिंसा गर्नु, लोभ र क्रोध मुक्त हुनु हो।
धार्मिक मानिस उदार हुन्छन्। सहयोगी भावका हुन्छन्। तर, पछिल्लो समय धर्मका नाममा विभिन्न विकृति भइरहेका छन्। धर्मकै नाममा हत्या, हिंसा र आतंक भइरहेका छन्। धर्म परिवर्तनको लहड विश्वमै फैलिँदो छ।
आखिर धर्म के हो र कस्तो हुनुपर्छ? आज डिसी नेपालले यही विषयमा केन्द्रित रहेर हिन्दु धर्मको महत्त्व दर्साउने चार वटा पुस्तकसमेत प्रकाशन गरिसकेका हिन्दु धर्म गुरु हरिप्रसाद सोडारीसँग संवाद गरेको छ।
तपाईं अध्यात्मको श्रीवृद्धिमा क्रियाशील हुनुहुन्छ। जीवन, दर्शन र अध्यात्म के हो जस्तो लाग्छ?
हाम्रो भूमि नै आध्यात्मिक छ। हामी जुन परिवार, संस्कार र समाजमा हुर्कियौं त्यो आध्यात्मिक छ। हामी हरेक कुरामा देवी देउताको स्मरण गर्छौं। खाना खाँदा, साइतमा, बिहान उठ्ने क्रममा, बेलुकी सुत्ने क्रममा देवी देउताको स्मरण गर्दछौं।
त्यसैले हामी अध्यात्ममा जोडिँदासम्म समाजमा भाइचारा थियो। समाजमा आत्मीयता थियो। परम्पराप्रति मानिसमा श्रद्धा थियो। परिवारमा भ्रातृत्व थियो। त्यसैले हाम्रो परिवार, समाज अध्यात्मसँग अभिन्न छ। मानिसलाई अध्यात्मसँग छुट्याइदिँदा अपांग हुन्छ।
आजभोलि समाजमा विकृति छ। पारिवारिक सद्भाव भाँडिएको छ। राष्ट्रियतामा खलल आएको छ। अध्यात्मसँग नजोडिएको कारण यस्तो भइरहेको छ। यहाँ न जीवन जोडियो, न समाज जोडियो, न परिवार जोडियो। त्यसैले अध्यात्मबाट जीवन र जीवनबाट अध्यात्म भनेको मुटुबाट प्राण अथवा प्राणबाट मुटु हराए जस्तै हुन्छ। त्यसैले यो अभिन्न छ।
के पछिल्लो समय अध्यात्मतर्फ कम आकर्षण भयो, यसले भाइचारामा ह्रास आयो र देशमा अस्थिरता पैदा भयो भन्न खोज्नु भा हो?
हो। अहिले राजनीतिक कर्मी हुन् वा विभिन्न संघ संस्थामा आबद्ध कर्मचारी। ती परिवार र समाजका उत्पादन हुन्। हिजो हामीले समाजमा सद्भाव, आत्मीयता सिर्जना गर्न सकेको भए अहिले कर्मचारी, राजनीति, सामाजिक तन्त्र अथवा विभिन्न संघ संगठनहरूले समाजलाई जोड्ने थियो। हाम्रो एकतालाई घनिभूत बनाउने थियो। यस्तो हुन नसक्नु भनेको भनेको हामीले पछिल्लो पुस्तालाई अध्यात्मसँग जोड्न सकेनौं भन्ने हो।
यहाँले शिवलिंगभित्रको विज्ञान नामक आध्यात्मिक पुस्तक बजारमा ल्याउनु भएको छ। यसअघि यहाँका तीन पुस्तक बजारमा आइसकेका छन्। तपाईंले दर्जनौं पुस्तकको सम्पादन गर्नु भएको छ। तपाईंका यी चार कृतिबारे बताइदिनुस् न?
मेरो पहिलो कृति के ईश्वर छ हो। म कमर्सको विद्यार्थी हुँदा दाउरा सुरुवाल लगाएर गएको मलाई प्रत्येक विद्यार्थीले पण्डित बाजे भन्थे। उनीहरूले मलाई ईश्वर छ भने देखाऊ भन्थे। यस्तो भनिरहँदा मलाई ईश्वरप्रतिको चासो र जिज्ञासा बढ्यो। र, ईश्वर छन् भनेर प्रमाण जुटाउने इच्छा भयो।
२०६७ सालमा मैले के ईश्वर छ पुस्तक बजारमा ल्याएको हुँ। त्यसले मलाई लेख्ने थप ऊर्जा दियो। यसका पनि पाठक रहेछन् भन्ने जानकारी दियो। हामी हिन्दु धर्म, परम्परा र रीतिरिवाजको विस्तार भएको भूमिमा जन्मिएका मान्छे। यस्तो भूमिमा जन्मिएको मान्छेले अध्यात्मका बारेमा केही गर्नुपर्दो रहेछ भन्ने चेत परमात्माले घुसाइदिनु भयो।
हाम्रो सबै अनुष्ठान विज्ञानसँग जोडिएका छन्। विज्ञान भन्ने बित्तिकै हामी मोबाइल, ल्यापटप, जहाज सम्झन्छौं। अथवा हामीले भौतिक संरचनालाई मात्र सम्झन्छौं। हाम्रो विज्ञान दृश्य र अदृश्य दुई वटै छ। यो बुझिसकेपछि मैले धर्मभित्रको विज्ञान भनेर अर्को पुस्तक लेखेँ। त्यसले थप प्रेरणा जागृत गर्यो।
मेरा परात्स्मरणीय गुरु काले राई जसले म कमर्स र सोसोलोजीको विद्यार्थीलाई यतातिरको यात्री बनाउन प्रेरित गर्नुभयो। मैले उहाँको जीवनी लेखेँ। काले राईबाट स्वामी प्रपन्नाचार्यसम्मको जीवन यात्रा अथवा प्रपन्नाचार्य बन्नका लागि गर्नुपरेको तपस्या, त्याग, समर्पण र समाजले गरेको तिरस्कारबारे किताब लेखेँ।
चौथो कृति यो शिवलिंगभित्रको विज्ञान हो। अहिले शिष्ट मानिस, आमा, दिदीबहिनीका बीच शिवलिंग शब्द उच्चारण गर्न नमिल्ने अवस्थामा पुग्यो। यो ज्ञानको पुञ्ज हो। संस्कृतिको उद्गम स्थल हो। यसलाई अपव्याख्या गरिरहँदा मलाई भित्रबाट दुख्यो, पोल्यो। जुन समाज र परिबेसमा म हुर्किए, आज बसिरहेको छु।
त्योमाथि नग्न प्रहार भएको देख्दा मेरो मन रोयो। र, लिंगभित्रको विज्ञान लेखेँ। शिवलिंग ज्ञानको पुञ्ज हो। विज्ञानको केन्द्र हो। संस्कृतिको मूल प्रवाह भन्ने उद्देश्यले यो काम गरेको हुँ। मेरो माटोलाई विभूति बनाएर लगाउँदा हरेक ढुंगालाई शिवलिंगको स्वरूपमा देख्ने गर्छु।
हाम्रा नदीहरूलाई देवीको अथवा अमृतको रूपमा नदेख्नाले, बनसपतिलाई ऋषिमुनिको स्वरूप नबुझ्नाले हामी अहिले शिक्षा र संस्कारबाट विमुख भइरहेका छौं। परिवार, समाज हुँदै दशैबाट विमुख हुने अवस्था छ।
हाम्री आमा आधुनिक रूपमा सजिन जान्नु भएन भन्दैमा अर्काकी सजिएकी आमालाई ढोग्ने, आफ्नी आमालाई नमस्कारसमेत नगर्ने प्रकारले बाहिर भड्किरहेका छौं। विज्ञान त यही छ। हाम्रो घरमा पाकेको खिरलाई छोडेर भिक्षाटनको यात्रा गर्नु हुँदैन भनेर मैले यो पुस्तक लेखेको हुँ।
अध्यात्मलाई चेतनाको उच्चतम बिन्दु भनिन्छ। अध्यात्म प्रेरित व्यक्तिमा क्रोध, लोभ हुँदैन भनिन्छ। पछिल्लो पुस्ताको अध्यात्मप्रति आकर्षण पाइँदैन। अर्को कुरा नयाँ पुस्तालाई अध्यात्मतर्फ आकर्षित गर्न के गर्नुपर्ला जस्तो लाग्छ?
पहिलो कुरा आध्यात्मिक र धार्मिक व्यक्तिबीच हामीले अन्तर देखाउन सकेनौं। धार्मिक व्यक्ति पूजापाठ केन्द्रित हुन्छ। तर, अध्यात्म भनेको आत्म केन्द्रित हो। संसार आत्ममा अडेको छ। आत्मागामी हुनु भनेको अध्यात्मवादी हुनु हो। त्यहाँभित्र ज्ञान छ, त्यहाँभित्र विज्ञान छ। त्यहाँभित्र जीवन र दर्शन छ।
यो कुरालाई हामीले प्रयोगात्मकरुपमा बुझाउन सकेनौं। हाम्रो सन्तानलाई बिहान टिका लगाएर तुलसीको मठ वा देवी देउताको फोटो अगाडि पढ्यौं भने तिम्रो पढाइ राम्रो हुन्छ। तिमिलाई ऋण उठ्दैन भन्ने ज्ञान दिन सकेनौं।
हाम्रा ऋषिमुनिले जंगलमा बसेर कुनै प्रविधि प्रयोग गरेनन्। आकासिए पिण्डका बारेमा अध्ययन गरेर ज्योतिष शास्त्र तयार गरे। तन्त्र शास्त्रको उच्च तहसम्म पुग्न सके। त्यो प्रविधि नभई प्रकृतिको माध्यमबाट प्राप्त सफलता हो।
अध्यात्मको फैलावटका लागि तीन तत्त्वलाई सक्रिय गर्नुपर्छ। पहिलो कुरा परिवार हो। पहिले ऋषिमुनि, ध्यानी, ज्ञानी र सन्त आउँदा श्रद्धा गर्थे। अहिले बच्चा भुलाउँदा जोगी बलाइदिऊ भन्छन्। यसले धर्मप्रति विमुख बनाउने अवस्था आएको छ। परिवारमा अहिले एसइई दिनुपर्ने छ।
होमर्क सकेको छैन जस्ता बहाना बनाएर मन्दिर ढोग्नबाट वञ्चित गराइन्छ। टिका लगाउनबाट विमुख गराइन्छ। हाम्रा सामाजिक चाड पर्वमा गरिने कर्मले संस्कार सिकाउने काम गर्थ्यो। यसले भूमि, आफ्नो कुल र मूललाई बुझ्ने अवसरबाट वञ्चित गराएको छ। यसरी समाजबाट सिकाउनु पर्ने कुराबाट पनि विमुख गराइयो।
अर्को शैक्षिक संघ संस्थाहरू र हाम्रा पाठ्यक्रममा विदेशका गल्ली, विदेशका टावर, विदेशका नदी, विदेशका प्रविधिको पठाइ हुन्छ। हाम्रो शिक्षाले गौतमबुद्ध, अरनीको चिन्दैन। सगरमाथा बुझ्दैन। पाथीभराको बयान पाइँदैन। बौद्ध गुम्बाबारे बुझ्दैन। मुन्दुङ, त्रिपिटक र वेद चिन्दैन।
यसले गर्दा शिक्षा पद्धति फेर्नुपर्छ। हाम्रो आफ्नो पनको बारेमा शिक्षाले जानकारी दिनुपर्छ। सञ्चारमाध्यमले पनि चाहिने नचाहिने कुरालाई ठूलो हेडलाइन दिन्छन्। धर्म, संस्कृतिलाई स्थान दिँदैनन्। सबै कुरामा सुधार भएमा नयाँ पुस्तालाई धर्म, संस्कृतिप्रति आकर्षित गर्न सकिन्छ।
यहाँले यसरी व्याख्या गरिरहँदा धार्मिक असहिष्णुता पाइन्छ। धर्म परिवर्तनको लहड फैलाइएको छ। तपाईंले यसलाई कसरी लिनु भएको छ?
धार्मिक मानिसले द्वेष भाव फैलाउँदैनन्। अहिले धर्ममा व्यापार र राजनीति छिरेको छ। त्यसपछि धर्म धर्म जस्तो नभएर एक अर्कालाई फुटाउने तत्त्वका रूपमा रह्यो। बौद्ध धर्मावलम्बीको बज्र यान, हीन यान, मान यानका व्यक्ति छन्। त्यही बौद्ध छ, त्यही हिन्दु र किरात छ। कति मिलेर बसेको समाज थियो।
सबै धर्मको आफ्नै गन्तव्य थियो। उनीहरू सबै आफ्नै तरिकाले अगाडि बढेका थिए। २०६२/६३ को आन्दोलनपछि धर्ममा राजनीति पस्यो। धर्मका नाममा विभिन्न संगठन खुले। उनीहरूले सम्बोधन गर्नुपर्ने समूहलाई सम्बोधन गर्न सकेनन्। राजालाई गाली गर्ने नाममा हिन्दु धर्म सिध्याउन अर्को जत्था लागिपर्यो। उसले वेद, आफ्ना ऋषिमुनि, शास्त्र, नाग बुझेन। र, हाम्रो सिंगै भूमि बुझेन। यसरी विचलन आएको हो।
शिवलिंगभित्रको दर्शनका बारेमा पनि प्रकाश पारिदिनुस् न? शिवत्व के रहेछ?
२०६८ सालमा मेरा प्रात्स्मरणीय गुरु डा. स्वामी प्रपन्नाचार्यले ६४ शिवलिंग घुमिसकेपछि हरिप्रसाद मैले यसमा धेरै काम गर्न सकिनँ। तिमिले यसमा कि पिएचडी गर कि यसको खोजलाई अगाडि बढाउ भन्नु भएको थियो। मैले त्यसैलाई पूरा गर्छु भनेर अगाडि बढेँ। पछि ६४ शिवलिंगका बारेमा धेरैले अध्ययन गरिसक्नु भएको रहेछ।
तर, शिवलिंग के हो भनेर गम्भीर अध्ययन भएको रहेन छ। त्यसैले गुरुको आज्ञालाई शिरोधार्य गरेर यो काम गरेको हुँ। शिवलिंग परमात्माको मूर्ति रहेछ। यसलाई दर्शन, तन्त्र र वेदले हेर्ने दृष्टिकोण फरक रहेछ। शिवलिंगमा तीन भाग छन्। माथिल्लो भागलाई महादेव भाग भनिन्छ। बीचको भागलाई विष्णु भाग भनिन्छ।
र, त्योभन्दा तलको भागलाई ब्रह्म भाग भनिन्छ। यसरी ब्रह्मा, विष्णु र महादेवको एकै ठाउँमा पूजा गर्नुपरेमा शिवलिंग रहेछ। त्यो मात्र नभएर आकासिए ऊर्जा, पृथ्वी ऊर्जा र त्योभन्दा तलको ऊर्जालाई पूजा गर्नु परेमा शिवलिंगमा पूजा गर्नुपर्दो रहेछ। शिवलिंग मूर्ति पनि हो, यन्त्र पनि हो।
ऊर्जा बाँड्ने कुरालाई आधार बनाउँदा यो यन्त्र हो। सबै देवी देउताको सार तत्त्व खिच्ने हो भने यो मूर्ति हो। शिवबाट नै सबैको सृष्टि भएको छ। शिव निराकार हो। अमूर्त आकारलाई हामीले मूर्त रूपमा देखाउने काम गरेको नै शिवलिंग हो।
पहिलो मूर्ति शिवलिंग हो। शिवलिंगपछि विकास भएको मूर्ति अर्धनारेश्वरको हो। शिवलिंगमा दुई भाग छन्। जलहरी एउटा हो। यसलाई अपव्याख्या गर्नेहरूले भग भन्छन्। महादेव भागलाई लिंग भनेर अपव्याख्या गर्छन्।
अनेकौंका दृष्टिमा राष्ट्र निर्माता नामक विषत पुस्तकको सम्पादन पनि गर्नुभएको छ, यहाँ यो पुस्तक सम्पादन गर्दै गर्दा पृथ्वीनारायण शाहलाई कस्तो पुरुषका रूपमा पाउनु भयो?
मलाई पृथ्वीनारायण शाहप्रति अगाध श्रद्धा छ। म नेपाली भएकाले तीन महापुरुषलाई कहिले भुल्दैन। गौतमबुद्ध, पृथ्वीनारायण र राजा महेन्द्र। म कुनै पार्टीको मानिस होइन। तर, यी तीन पुरुषलाई भुल्दा यो माटोले श्राप दिनेछ। पृथ्वीनारायणका सालिक ढालिँदै गर्दा, दिव्योपदेश च्यात्तिँदै गर्दा ज्ञानेन्द्रलाई हेरेर गरिएको थियो।
ज्ञानेन्द्र र पृथ्वीनारायणको पाटो फरक छ। उहाँ नभएको भए हामी नेपालमा बसेर अहिले यसरी संवाद गर्न सक्ने थिएनौं। पृथ्वीनारायण शाह नजन्मेको भए नेपाल आजसम्म भावनात्मक रूपमा यसरी एक हुने थिएन।
अन्त्यमा तपाईंले धर्मभित्रको विज्ञान पुस्तक प्रकाशन गर्नु भएको छ, तपाईंको नजरमा धर्मभित्रको विज्ञान के रहेछ?
हाम्रो हरेक अनुष्ठानमा धर्म छ। पूजा गर्दा हालिने रेखी भनेको एक प्रकारको यन्त्र हो। रेखीलाई सिधा तान्दा मन्दिर बन्छ। थ्याच्च राख्दा यन्त्र बन्छ। हामीले युवाहरूलाई धर्मभित्र विज्ञान र ज्ञान छ भनेर बुझाउन नसक्दा धर्म रुढीवाद र पाखण्डको रूपमा व्याख्या भइरहेको छ। यो किताबले त्यो भ्रम चिर्न हो।
प्रस्तुती: यज्ञराज जाेशी
तस्बीर : अनिल पाेख्रेल
Facebook Comment