भक्तपुरमा बाबुछोरा मृत्यु प्रकरणमा जेठा छोरा भन्छन्-बाबु र भाइलाई मुक्ति दिन मारेँ

डिसी नेपाल
९ पुष २०८१ १५:१५

काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र भाइको हत्या गरेमा संलग्न मिलन आचार्यले उनीहरूको मुक्तिका लागि मारेको स्वीकारेका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्यको शव सोमबार बालकोटस्थित आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनीहरूको हत्यामा कुलप्रसादका जेठा छोरा मिलन संलग्न रहेको पाइएको छ।

आज प्रहरी सम्पर्कमा आएका मिलनले बुबा र भाइको हत्या आफूले गरेको स्वीकारेका छन्। उनले बुबा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको बताएका छन्।

भक्तपुरको बिरुवा पुगेर सलको पासो बनाएर रुखमा झुण्डिएकोमा सल चुँडिदा आफू बाचेको उनले बयान दिएका छन्। प्रहरीका अनुसार उनको घाँटीमा चोटसमेत लागेको देखिन्छ।

उनले प्रहरीसँग प्रारम्भीक सोधपुछका क्रममा बुबा र भाइको मुक्तिका लागि हत्या गरिदिएको बताएका छन्। बुबा डिप्रेसनको बिरामी भएको र भाइले पनि पठाइमा मन नलगाइ कुलतमा फसेकाले हत्या गर्नुपरेको उनको भनाइ छ।

आफू पनि लोकसेवा परीक्षामा ६ पटकसम्म असफल हुँदा मानसिक तनावमा रहेको उनले बताएका छन्। ‘लोकसेवाको परीक्षा दिँदा सुब्बा, खरिदार कतै पास हुन सकिनँ। मेरो कारण परिवारलाई तनाव भए झै लाग्यो। मैले केही गर्न सकिनँ। योभन्दा बुबालाई पनि मुक्ती दिँदा ठिक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ। बुबा र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ। कुनै झगडा भएर हत्या गरेको होइन,’ उनले भनेका छन्।

आज मिलनले आफैँले प्रहरी वृत्त महाराजगन्ज पुगेर आत्मसमर्पण गरेका थिए। शनिबार बेलुका खाना खाएर सँगै सुतेका तीन बाबुछोरामा दुईको हत्या हुँदा कुलप्रसाद फरार रहेपछि प्रहरीले उनीमाथि नै हत्याको संका गरेको थियो।

कुलप्रसाद केही दिन अघिमात्रै भक्तपुर आएका थिए। जिल्ला हुलाक कार्यालय दिक्तेलका नायव सुब्बा कुलप्रसाद निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा थिए। हुलाक विभागमा काम छ भन्दै उनी काठमाडौं आएको पाइएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्,

भक्तपुरमा बाबुछोरा मृत्यु प्रकरणमा जेठा छोरा पक्राउ, घटनामा संलग्नता स्वीकार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *