कांग्रेस-एमालेबीच शक्ति सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको हो : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकारभित्र कांग्रेस-एमालेबीचको शक्ति सन्तुलन हुनु आवश्यक रहेको बताएका छन्। कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति देउमाई नगर इलामले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।
‘एमाले नेतृत्वमा कांग्रेससहितको संयुक्त सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिड अनुसार चल्नसकेको छैन। यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन। कांग्रेस-एमालेबीच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा व्यक्त गर्नु भएको थियो। त्यस अनुरुप काम भएको देखिएन। दुई दलबीच देखिएको सन्तुलनलाई सन्तुलन गर्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो,’ महरले भने।
त्यसैले वर्तमान सरकारलाई सात बुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट् नभएको उनले औंल्याए। ‘कांग्रेस संसद्को ठूलो दलको हो। कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ। सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुनसक्छ,’ महरले भने।
कांग्रेस र सरकारलाई थप गतिशिलता बढाउनका यतिबेला कांग्रेस जनताको भावना बुझ्न १०० दिने अभियानका माध्यमबाट जनताको घर दैलोमा रहेको र पार्टीप्रति थुप्रै सुझाव तथा आसा पाइएको उनले दाबी गरे।
‘हामीले देशभर जनतासँग कांग्रेस, सरकार र विकासका बारेमा संवाद तथा समीक्षा गरेका छौं। १६ पुसमा कांग्रेसको १०० दिने अभियान सकिएपछि हामी सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्छौं,’ उनले भने, ‘हामी यो सरकारको प्रभाविता बढोस भन्ने चाहान्छौं। सरकारको प्रभावकारिता बढ्न सकेन भने कांग्रेसले निर्देशन दिनु पर्ने अवस्था आउन सक्छ।’
Facebook Comment