कथा : साहित्यकार दाइ
![कथा : साहित्यकार दाइ](https://www.dcnepal.com/wp-content/uploads/2024/12/6-9.jpg)
सहित्यकारहरु एक अचम्मकै मान्छे हुँदा रहेछन्। गम्भीर, संवेदनशील र एकोहोरो। सानो घटना भेट्ने वित्तिकै कथा, कविता, निबन्ध, नाटक र उपन्यासमा कसरी आकाश बनाएर फैलाउन सकेका होलान्।
तिललाई पहाड र पहाडलाई तिल बनाउने क्षमता देखेर म छक्क पर्छु। म त साहित्यकारहरुको बोली मात्रै सुन्दा पनि लट्ठिने गर्छु। रचना सुनेको दिन म साहित्यकारलाई शिर झुकाएर नमन गर्छु। कसरी लेख्न सकेका हुन्? दिमागमा कस्तो वस्तु होला? म सोचाइमा पर्छु। म कविता लेख्ने प्रयत्न गर्छु। तर निरर्थक। म लेख्नै सक्दिन।
भावना त छ तर व्यक्त गर्न सक्तिन। तथापि म साहित्यबाट प्रभावित छु। साहित्यकारहरुलाई आफू भन्दा एक खुड्किलो माथि राखेर आदर, सत्कार गर्छु। म साहित्यकारहरुलाई महान मान्छे ठान्छु।
साँच्चै साहित्यकारहरु कालीगढी हुन। युगान्तकारी तथा समय सापेक्ष रचना सिर्जना गर्ने खुबी सानो कुरा होइन। साहित्यकारहरु सिंगो संसार हुन्। जनताका धुकधुकी हुन्। युगका सारथी हुन्। परिस्थितिका वास्तविक चलचित्र हुन्।
तर दुःख लाग्छ। यी साहित्यकारहरुको हात मुख जोर्ने समस्या देख्ता। यो आर्थिक विपन्नता नै उनीहरुको जीवन हो त? यो समाज अनौठो छ। शब्दले पूजा गरेर साहित्यकारहरुलाई भोक भोकै तड्पाइ रहन्छ। तड्पिएर कति दिन बाँच्न सकिन्छ र? जस्तै कठिनाइ भोगे पनि साहित्यकारहरु कलम चलाउन व्यस्तनै छन्। यो उनीहरुको महानता हो। धन्य छौ प्रिय साहित्यकारहरु।
मेरो लागि यो बसाई अबिष्मरणीय भएको छ। एक जना साहित्यकार दाइ सँगको दैनिक उठ बस।जीवनको कुनै त्यस्तो साक्षात्कार भेट छ भने, यही साहित्यकार दाइ सँगको उठ बस हो। म बिर्सन खोजेर बिर्सन सक्तिन। कुनै पनि क्षण ती साहित्यकार दाइको दैनिक घटना क्रम सम्झन सक्छु।
म साहित्यकार दाइलाई सम्झने वित्तिकै उहाँले दिनु भएको कविता वाचन गर्दा गर्दै खिचेको तस्विरलाई श्रद्धाका साथ हेर्छु र सुम्सुम्याउँछु। म प्रफुल्लित हुन्छु। साहित्यकार दाइ मेरै कोठामा कविता वाचन गारिरहनु भएको छ। र म सन्तोषको लामो सास फेर्दै निमग्न भएर कविता सुनिरहेको छु।
आज दश वर्ष बितेछ। साहित्यकार दाइ सँगको उठ बस छुटेको। दश वर्षपछि साहित्यकार दाइको यादले सताएको छ। किन कि उहाँको उत्कृष्ट कविता सङ्ग्रह अभय शर्माकृत अग्नीपथ नामक पुस्तक मेरो हातमा आइपुगेको छ। म सङ्ग्रहलाई वर्काइ फर्काइ हेर्छु। माया गर्छु। रचनाहरु दोहोर्याइ तेहेर्याइ पढछु।
म जहाँ जाउँ त्यो कविता सङ्ग्रह झोलामा बोकेर हिडछु। परिचित भेट्ने वित्तिकै कविता वाचन गरेर सुनाउँछु। सासहित्यकार दाइको गुण,गान उहाँको जीवन यात्रा र आदत बताउन थाल्छु। अफिसका स्टाफहरु प्नि आश्चर्य चकित छन्।म किन यसरी एकोहोरिएको छु। म सोच मग्न हुन्छु। साँच्चै साहित्यकार दाइले मलाई ठूलै छाप छोडेर जानु भएछ। नत्र म कसरी साहित्यमा लीन हुन सक्थेँ र?
साहित्यकार दाइको र मेरो कोठा ओल्लो पल्लो हो। म प्रमाण पत्र तहमा अध्ययनरत थिएँ। साहित्यकार दाइ स्नातक तहमा अध्ययनरत हुनुहुन्थ्यो। पहिले त हाम्रो चिन जानै थिएन। म मेरै सुरमा हिड्थेँ। उहाँ उहाँकै सुरमा। म साहित्यकार दाइको साहित्य प्रतिभाबाट बञ्चित भइ रहेको रहेछु।
मलाई एक रति पनि थाहा थिएन। कि पल्लो कोठामा बस्ने दाइ सहित्यकार हो। उ कथा कविता र नाटक लेख्छ। यति चै थाहा थियो। उसको बानि व्यहोरा हामी साधारण मान्छेको भन्दा निकै फरक लाग्थ्यो। बोलिमा माधुर्यता थियो। म सोच्थेँ, यो मान्छे किन सधैं सधैं भावुक देखिन्छ।
अब हामी परिचित भइ सकेका छौ। हामी एक अर्कामा नजिकिएका हुन्छौ। म साहित्यकार दाइ नभएको रात खल्लो अनुभव गर्न थालि सकेको हुन्छु। म साहित्यकार दाइबाट धेरै प्रभावित भइ सके छु।
प्रिचयको क्रम कविता वाचन बाट नै भएको हो। एक दिन म कलेजबाट फर्केर अध्ययन गर्न व्यस्त रहेको थिएँ। कोठाको प्वालबाट यसो चिहाएर हेर्दा त्यो दाइ केही लेख्नमा व्यस्त देखिनु हुन्थ्यो। सोचे, कोषको नोट सारेको होला।
ठ्वाक,ठ्वाक मेरो कोठाको ढोकामा आवाज आयो। पढ्नमा व्यस्त रहेको बेला त्यो ठ्वाक, ठ्वाकले म तर्सिएँ आवाज आए तिर फर्केर औपचारिकता पूरा गर्दै गरुङ्गो स्वर पारेर सोधे “को हुनुहुन्छ?” “म क्या म, ढोका खोल्नोस् न। ढोका खोलेपछि मात्रै चिन्न सक्नु हुन्छ।”
म मन मनमा रन्थनिँदै कस्तो मान्छे, परिचय दिन पनि नजान्ने? कहाँको ठूलो भन्दै बेसोमति पाराले घ्वर्याक्क पार्दै ढोका खोल्छु। उफ! म अतालिन्छु। मेरो अनुहार डरले र शंकाले रातो, पीरो भएको अनुभव गर्छु। मुटु पनि एक तमासले उफ्रे जस्तो लाग्छ। “ए ! दाइ पो। मलाई माफ गर्नोस्। ढिला भयो।” म सन्तुलित हुने प्रयत्न गर्छु। “पढाइमा व्यस्त हुनुहुन्थ्यो क्यारे। खलबल्याएँ। क्षमा प्रार्थी छु।” भन्दै उहाँ कोठा भित्र पस्नु हुन्छ।
म सोचाइमा डुब्न थाल्छु। किन आज यो दाइ मेरो कोठामा आउँनु भयो? एक हप्ता सम्म हाम्रो बोलचाल भएकै थिएन। एक्कासी कसरी ढोका ढक्ढक्याउन सकेको होला? मेरो माफमा सोकार नै नराखी उल्टै किन क्षमा प्रार्थी छु भनेको होला? म त्यसै त्यसै छट्पटिन्छु।
“भाइ एउटा कविता सुनाउँ कि? साहित्यमा कतिको रुची छ ” अब भने मेरो मन शान्त हुन्छ। म सन्तोषको स्वास फेर्छु। म भित्र उब्जिएको शंका धुमिल भएर जान्छ। म उत्सुक्ताका साथ भन्छु “सुनाउनोस् न त। साहित्यमा रुची राख्ने नै गर्छु। ”
यसरी सुरु हुन्छ उठ बस एउटा साहित्यकार दाइ सँग। यो क्रम करिब एक वर्ष सम्म चालू रहन्छ। स्नातक तह सिध्याएर उहाँ जागिरको सिलसिलामा मा.वि शिक्षक भएर गाउँ तिर लाग्नु भएको छ। म प्रमाण पत्र तह सिध्याएर जागिर खाने सिलसिलामै ना.सु. को पदमा यहाँ आइ पुगेको छु।
अब दैनिक कविता सुन्ने, दैनिक कथा सुन्ने र दैनिक नाटक सुन्ने बानी बसी सकेकोले गर्दा प्रत्येक साझ साहित्यकार दाइको कोठामा म भित्रने गरेको छु। साहित्यकार दाइ मेरो इच्छा मुताविक उहाँको रचना सुनाई रहनु हुन्छ। म अघाएरै बाहिरिन्छु। म पनि भावनामा डुबेकीँ जस्तो लाग्छ। लाग्छ म पनि साहित्यकार बन्दै छु। उहाँले मेरो मन जित्नु भएको छ। म उहाँको नियमित निजि श्रोता बनेको छु।
तर साहित्यकार दाइको रचना जति मिठा हुन्थे। त्यति नै उहाँको जीवन तीतो थियो। बाँच्नको लागि प्रत्येक दिन विवशता जन्मने गर्थे। तर पनि उहाँ कहिल्यै हतोत्साही देखिनु भएन। यो नै एउटा उहाँको जीवन बाँच्ने आदर्श सिद्धान्त थियो। उहाँको बाँच्ने क्रम देख्दा मेरो आङ सिरिङ्ग हुन्थ्यो।
उहाँको लगनशीलता देखेर म आश्चर्य चकित थिएँ। अहिले पनि आश्चर्य मानिरहेको छु। त्याग र तपस्यामा नै उहाँका दिन रात बित्ने गर्थे। प्रत्येक दिन, प्रत्येक रात एक एक ओटा रचना सृजना गर्नु उहाँको दैनिकी नै हुन्थ्यो। साहित्यकार दाइ सुते पछि मात्रै सुत्न पर्ला भन् ठानेर एक रात अड्डी लिदां कसरी रात छर्लङ्गै कटाएको थिएँ। अहो सम्झदा मात्रै त म त्रशित हुन्छु। साहित्यकार दाइको रातको त कुरै नगरौं।
उहाँ अत्यन्तै दुब्लो र पातलो देखिनु हुन्थ्यो। बाइस वर्षको उमेरमा नै चार पाँँच ठाउँ गाला चाउरी परिसकेका थिए। झुस्स दाह्री थियो। ओठ माथि जुंगाका रेखाहरु कलिलै देखियेता पनि उहाँ बाइस वर्षे ठिटो नभएर चालिस वर्षे मान्छे जस्तो देखिनु हुन्थ्यो। उहाँ समय चिप्लिएको पत्तो नै पाउनु हुन्नथ्यो। उहाँलाई जैले पनि समय अपर्याप्त नै भइरहन्थ्यो। उहाँ जीर्ण रोगी जस्तो देखिनु हुन्थ्यो।
एक वर्षको अवधिमा उहाँका खुट्टामा मैले कहिल्यै पनि जुत्ता लगाएको देखिन। एक जोडी कपडाबाट अर्को जोडी कपडा फेरेको देखिन। बिछ्यौनाका कपडाको हकमा एउटा बाक्लो दरी, तन्ना, तकिया र एक पातलो सिरक बाहेक अन्य केही पनि थिएन। कोठाका भित्ताहरु पनि रित्ता थिए। भाँडा कुँडा पनि सामान्यै थिए। उहाँको बसाइ सुखद थिएन।
यो दुःखद परिस्थितिको प्रत्यक्षदर्शी भएरै पनि मैले साहित्यकार दाइलाई केही सहयोग गर्न सकेको थिइन। मेरो पनि आफ्नै बाध्यता थियो। म पनि बाँच्नलाई संघर्ष गरिरहेको थिए। मलाई थाहा छ। साहित्यकारहरु बढी नै भाबुक र चिन्तित हुन्छन। उनीहरुको हृदय अत्यन्तै कोमल हुन्छ। सानो कुरा पनि उनीहरुको सोचाइमा ठुलो भै दिन सक्छ।
किन अर्काको जीवनमा हस्तक्षेप गरुँ? साहित्यकारहरुको बाँच्ने शैली नै यस्तै पो हो कि? साहित्यकार दाइलाई जीवनको बारेमा केही सल्लाह दिदा उहाँको प्रतिष्ठामा चोट पो लाग्ने हो कि? यसरी म मौन बसेर एउटा साहित्यकारको भयावह जिन्दगी पढी रहेको थिएँ। म मा केही भन्ने साहस पलाएको थिएन। यो मेरो एउटा कमजोरी थियो। मैले म आफैंलाई नार्मद ठानिरहेको थिएँ। कति दिन हेर्नु यो कहाली लाग्दो जीवन?
एक दिन मुटु मिचेर हिम्मतका साथ साहित्यकार दाइलाई एकै श्वासमा भने “दाइ यसरी कति दिन बाँच्नु हुन्छ ? यो साहित्यले तपाईंलाई के पुरस्कार दियो? यसरी रात रात भरी लेख्नु हुन्छ। रचना प्रकाशन गर्ने कुरामा ध्यान दिनु हुन्न। लेख्दै थन्क्याउँदै यत्रो थाक भै सक्यो। अल्पायू मै जीवन किन सिद्धयाउन खोज्नु हुन्छ? भो अव छोडिदिनोस। तपाईलाई धनी र सुखी हुने मन छैन? यो सारा कसका लागि ? तपाई किन लेख्नु हुन्छ? तपाईं लेख्नु हुन्छ। म सुन्छु। हामी दुई मै सीमित हो त साहित्य?”
साहित्यकार दाइ एक चोटी उत्तेजित हुनु भयो। फेरि शान्त र नम्र। उहाँले एक चोटी नाक खुम्चयाउनु भयो। दाह्री मुसार्नु भयो। फेरि हँसिलो र निश्चल। उहाँले एक चोटि मेरो अुनहार नियाल्नु भयो र आफ्नै हात सुम्सुम्याउनु भयो।
म भने डरले ओइलाई सकेको थिएँ। अब के हुने हो? साहित्यकार दाइलाई बिना सित्तिमा कोट्याउने दुष्प्रयास गरें। उफ१ पिट्नु हुन्न होला नि। शब्दका पर्राहरुले मुख टालि माग्नु पर्ने त होला नि। धत्तेरिका, यो समय कसरी बित्ने हो ? कति खेर कोठाबाट भागूँ जस्तो लागेको थियो। हतासले म छट्पटिन थालि सकेको थिएँ।
तर म बिनासित्तिमा अतालिएको रहेछु। मेरो सोचाइ क्षण भरमा भताभुङ्ग हुन्छ। साहित्यकारहरुको धैर्यता बेजोड कै हुँदो रहेछ। स्वभाव पनि अनौठै हो। नौनीलाई आगो बनाउन र आगोलाई नौनी। साहित्यकार दाइले मलाई बस्ने संकेत गर्नु भयो।
म गम्भीर भएर बसे। साहित्यकार दाइ आफ्ना मनोभावनाहरु यसरी पोख्न थाल्नु भयो“ हेर्नोस कोमल भाइ तपाईका प्रश्नहरुले म एक चोटी झस्के। तुरुन्तै ठिकमा आएँ। तपाईंले एक हदसम्म ठिकै भन्नु भयो। मेरो जीवन कहाली लाग्दो नै छ। तर यो विचार गर्नु पर्छ कि जिन्दगी हेर्ने र बुझ्ने विभिन्न कोण हुन्छन्।
तपाईंले मेरो जिन्दगीलाई नब्बे डिग्रीको कोणबाट मात्रै हेर्नु भयो। तपाईं पचहत्तर डिग्राीको कोणबाट जिन्दगीलाई हेर्नोस त। तपाईं झन बिचलित हुनु हुने छ। जिन्दगीलाई एउटै कोणबाट मात्रै हेरेर हुँदैन। जिन्दगीको साङ्गो पाङ्गो बुझ्न त जिन्दगीलाई विभिन्न कोणहरुबाट हेर्नु पर्ने हुन्छ। अनि मात्रै बास्तविक जीवनको अर्थ लाग्न सक्छ।
जिन्दगी बाँच्ने भन्ने सबाल त कुवा भित्रको भ्यागुताको पनि हुन्छ। जन्मने र मर्ने क्रम चलि रहन्छ। मैले खोजेको समय जब सम्म प्राप्त हुँदैन। तव सम्म म लेखिनै रहने छु। साहित्य पुरस्कारको लागि लेखिदैन। म पुरस्कार पाउँला भनेर साहित्य लेखनमा लागेकै हैन। युगले के माग्छ, त्यो दिने हो। साहित्य त जनताको धुकधुकी हो।
युग र समय भन्दा मेरो अरु कुनै संसार छैन। रात त मेरो लागि छोटो समय हो। वर्षै वर्ष वित्नु पर्छ। जुन समय मैले परिकल्पना गरेको छु। रचना प्रकाशन गर्न पनि एउटा समय आउनु पर्छ। हेर्नोस् मेरो आर्थिक हैसियत कमजोर छ। म नाम चलेको साहित्यकार पनि हैन। मेरो रचनाहरु प्रकाशक बाट अस्वीकृत हुने गर्छन।
म कुनै त्यस्तो पहँुच वाला मान्छे पनि हैन। प्रयाश जारी छ। हेरौ कुनै न कुनै प्रकाशकले एक न एक दिन मेरा रचना प्रकाशन गर्ने नै छन्। त्यो पनि समय कै माग हो। लेख्दै थान्क्याउँदै गर्नु एउटा निरन्तरता हो। यो आउँदो पुस्ताको लागि हुने छ। सुरक्षित राख्नु मेरो नैतिक जिम्मेवारी हो।
सबै रचना उत्कृष्ट हुन्छन् भनेर दावी गर्ने पक्षमा म छैन। ती थाकबाट उत्कृष्ट ठहरिएका रचना मात्रै युग दर्पण हुने छन्। समय सापेक्ष हुने छन्। यो नै रचना मूल्याङ्कनको सूत्र हो। संसारमा अजम्बरी कसले प्राप्त गरेको छ र? हिजो पनि मान्छे मर्थे। आज पनि मरिरहेका छन्। भोलि पनि मर्ने नै छन्।
यो आदिम काल देखिको चक्र हो। न तपाई रोक्न सक्नु हुन्छ। न म नै रोक्न सक्छु। न अरु नै कोही? तर मृत्यु सँग जुझ्नु चै मानिसको कर्तव्य हो। रित्तो मृत्यु निरर्थक हुन्छ। केही छोडेर गएको मृत्यु सार्थक हुन्छ। मान्छे भएको नाताले मर्नु भन्दा अगाडि आउने पुस्तालाई केही उपहारहरु छोडेर जान सक्नु पर्छ।
कसैले लेख भन्दा लेख्ने र नलेख भन्दा नलेख्ने विषय साहित्य हुँदै होइन। साहित्यकारहरु स्वतन्त्र हुनु पर्छ। साहित्य कुनै ठेक्का पट्टाको विषय पनि होइन। न त साहित्य टेन्डर बढा बढा नै हो। गाँस छुटे मान्छे सिद्धिन्छ भने झै साहित्य बारालिए समय पनि बरालिन्छ।
समय बरालिदाँ समाज दिशाविहीन हुन्छ। विकास र प्रगति अबरुद्ध हुन्छ संसारमा धनी र सुखी हुने चाहाना कस्लाई नहोला र? तर तपाई यो मूल्याङ्कन गर्नोस कि, संसारमा कति प्रतिशत धनी मान्छेहरु होलान र कति प्रतिशत गरिब? मलाई त यस्तै जीवन ठिक लाग्छ। म धनाढ्य भएर नाम कमाउने धृष्टता गर्न सक्तिन।
साहित्य कुनै व्यक्ति विशेषका लागि लेखिदैन। यो सबैका लागि लेखिनु पर्छ। यो निजि हैन साझा हुनु पर्छ। साहित्य केन्द्रीकृत नभएर सबै स्तरलाई सुहाउँदो र बिकेन्द्रीत हुनु पर्छ। तव साहित्य कस्का लागि ? यो प्रश्न उठ्नै पाउँदैन। पक्कै पनि साहित्य सिमित घेरा भित्र अटाउने विषय होइन यसको क्षेत्र खुल्ला पटाङ्गिनी जस्तो हुनु पर्छ।
तपाईंहरु जस्तै चेतनाशील युवाबाट सारथीले रथ हाँके जस्तो साहित्य हाँक्दै कुना कुना पुर्याउनु पर्छ। म लेख्छु। तपाई सुन्नु हुन्छ। तपाईं अरुलाई सुनाउनु हुन्छ। अरुले अर्कालाई सुनाउँछ। माध्यम भनेको यस्तै त हो नि। एउटा विरुवा वयस्क हुन पनि विभिन्न चरण पार गर्नु पर्छ।”
म त्यस बेला अक्क न बक्क परेको थिएँ। अर्थात म अवाक बनेको थिएँ। साहित्यकार दाइको अभिव्यक्ति कला देख्दा र सुन्दा म विश्वका ठुला ठुला साहित्यकारको साहित्यिक भाषण सुनिरहेको छु जस्तो भान भइरहेको थियो। साहित्यकार दाइ साहित्यकार हो कि, कुनै नेता हो। म छुट्याउन कोशिस गरिरहेको थिएँ। लाग्थ्यो साहित्यकार नबोलेर एउटा नेता भाषण गरिरहेको छ।
अहिले साहित्यकार दाइको जीवन कसरी बितिरहको होला ? विवाह पनि गर्नु नै भयो होला। छोरा छोरी पनि भए होलान। छोरा छोरी, नर नाता, र कुल कुटुम्ब संग कस्तो वयवहार गर्नु हुन्छ होला? एक्लो पन कायमै छ कि? सबै सँग हिम चिम बढाउन सक्नु भयो वा भएन? आर्थिक विपन्नता कायमै छ कि? साहित्य लेखन कस्तो छ?
शिक्षण पेशा बाट आत्म सन्तुष्टि मिल्यो या मिलेन? धनी हुने सपना देख्नु भयो कि भएन? यावत प्रश्नहरु मनमा उब्जने गर्छन। साहित्यकार दाइको जीवन काहानीले मलाई पिरोलि रहेको छ। त्यो चाउरी अनुहार पक्कै पनि पोटिलो भएन होला। झन चाउरी परेर नचिनिने बुढो जस्तो भै सक्नु भयो होला। मेरो मुटु नमिठो पीडाले दुःखी रहेको छ। पीडाले चिच्याउन खोज्छु। साहित्यकार दाइ१ तपाईको मृत्यु कस्तो होला?
सुन्दरहरैंचा- ६,दुलारी मोरङ
Facebook Comment