कोही किन रेट्छ आफ्नै र आफ्नाको घाँटी?

यज्ञराज जोशी
१० पुष २०८१ १३:४७

काठमाडाैं।

घटना नम्बर १ : धादिङ गजुरी गाउँपालिका-४ घर भई चन्द्रागिरि नगरपालिका-१० सतुगंल खरिबोट बस्दै आएकी १७ वर्षीया सरिता तामाङको ३ पुसमा शव फेला पर्‍यो। हत्या पाँच दिनअघि नै भइसके पनि सरिताका दाइ नवीन रुम्बा तामाङले १ पुसमा मात्रै प्रहरी वृत्त थानकोटमा बहिनी हराएको निवेदन दिए।

त्यसपछि प्रहरीले खोजी सुरु गर्‍यो। ३ पुस दिउँसो ३ बजे खरिबोटस्थित सरिता बस्ने घरको भुइँ तलामा उनको शव फेला पर्‍यो।

उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गर्‍यो।

आरोपित युवकले प्रहरी समक्ष सामान्य विवादमा सरिताले गाली गरेर हातपात गरेको र त्यसक्रममा आफूले कुटपिट गरेर हत्या गरी आफू सुत्ने खाटमुनि शव लुकाएको बयान दिएका छन्। पक्राउ परेका विश्वास मृतकका नातेदार पर्छन्।

घटना नम्बर २ :  दाउराले प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले ३ पुसमा एक जनालाई पक्राउ गर्‍यो। ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या अभियोगमा तुलसीपुर उपमहानगरपालिका–२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्रबहादुर बुढाथोकी पक्राउ परे।

उनले घरको बैठक कोठामा दाउरा प्रहार गरी हस्तीकुमारीको हत्या गरेका थिए। बुटाथोकी पनि यतिबेला प्रहरी हिरासतमा छन्।

घटना नम्बर ३ : श्रीमती २१ वर्षीया अंजली विकको हत्या अभियोगमा बुटवल उपमहानगरपालिका–११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विकलाई ८ पुस सोमबार दिउँसो प्रहरीले पक्राउ गर्‍यो। सागरले घरायसी विवादको क्रममा कुटपिट गर्दा अंजलीको घटनास्थलमै मृत्यु भएको थियो। उनी पनि यतिबेला प्रहरी खोरमा छन्।

घटना नम्बर ४ : जिल्ला प्रहरी कार्यालय काभ्रेले ७ पुसमा सासुको हत्या आरोपमा ज्वाइँलाई पक्राउ गर्‍यो। मण्डनदेउपुर नगरपालिका-२ का २८ वर्षीय सुकबहादुर तामाङले गत मंसिर ३० गते मण्डनदेउपुर-१ गैरीगाउँ घिसिङ टोल बस्ने ५२ वर्षीया तिनमाया तामाङको हत्या गरेका थिए।

हत्या गर्नुको कारण ठूलो थिएन। ज्वाइको प्रगतिहोस् भनेर सासु सम्झाइबुझाइ गर्थिन्। ज्वाइले सही बाटो समात्लान् भनेर कहिलेकाहीँ रिसाउँथिन् पनि। तर, सुकबहादुरलाई सासुआमाले काम नगर्ने भनी सधैँ गाली गरिरहेझै लाग्यो। र, उनले रिसको झोकमा टाउको थाममा ठोक्काई हत्या गरिदिए। उनी पनि प्रहरी रिरासतमै छन्।

घटना नम्बर ५ : ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा १० पुसमा प्रहरीले डडेलधुरा परशुराम नगरपालिका-११ घर भई च्यासल बस्ने हेमराज भट्ट र काभ्रे मण्डनदेउपुर नगरपालिका-११ घर भई च्यासल बस्ने जनक बहादुर तामाङलाई पक्राउ गर्‍यो।

उनीहरू क्याफेका कर्मचारी हुन्। क्याफेमा आएका सुनसरी इटहरी घर भई सातदोबाटो बस्ने नयन गुरुङसँग विवाद हुँदा भट्टले धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइते गुरुङको बीएण्डबी अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भयो।

घटना नम्बर ६ : बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ६ पुसमा गोली हानी हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटियो।

शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका-११ दुधौरा खोला नजिकै बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा पुरुषको शव भेटिएको थियो। घटनाको कारण र उनीमाथि कसले गोली प्रहार गर्‍यो खुल्न सकेको छैन।

घटना नम्बर ७ : भक्तपुरको बालकोटमा सोमबार ८ पुसमा बाबुछोराको शव फेला पर्‍यो। शनिबार राति नै उनीहरूको हत्या गरिएको भए पनि घटना सोमबार मात्र बाहिरियो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्यको आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनीहरूको हत्यामा कुलप्रसादका जेठा छोरा मिलन संलग्न रहेको पाइएको छ।

आफैँ प्रहरी सम्पर्कमा आएका मिलनले बुबा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको बताएका छन्।

मानसिक समस्या भएका व्यक्तिमा सानो कुरामा पनि झर्किने, धेरै सुत्ने वा कम सुत्ने, तोल तलमाथि हुनु, व्यवहारमा परिवर्तन हुनु, छटपटी राख्नु, चिडचिडापन हुने जस्ता थुप्रै लक्षण देखिन्छन्। उनीहरूले म मरे भने तिमिहरूले के गर्छौं वा मैले तिमिहरूलाई मारिदिए भने के हुन्छ जस्ता प्रस्न र लक्षण देखाउँदा सामान्य रुपमा लिन नहुने पनेरुको सुझाव छ।

उनले प्रहरीसँग प्रारम्भीक सोधपुछका क्रममा बुबा र भाइको मुक्तिका लागि हत्या गरिदिएको बताएका छन्। बुबा डिप्रेसनको बिरामी भएको र भाइले पनि पठाइमा मन नलगाइ कुलतमा फसेकाले हत्या गर्नुपरेको उनको भनाइ छ।

यी त एक सातामा घटेका केही प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो समय दिनहुँ हत्या जस्तो जघन्य अपराधका घटना बढ्दै गएका छन्। हत्याका घटनामा पनि नजिककै वा चिनजानकै मानिसको संलग्नता पाइने गरेको छ।

कोही किन गर्छ हत्या?

छोराले बुबालाई काट्ने, श्रीमतीको टाउकोमा प्रहार गर्ने, सासुलाई मार्ने, साथीलाई मारिदिने जस्ता निर्दयी घटना बढ्दै जानुले सुरक्षा चुनौतिसमेत थपिदिएको छ।

यस्तो अवस्थामा किन मान्छे यति निर्दयी, हिंस्रक र क्रुर हुन्छ? भन्ने प्रस्न उठ्न सक्छ। मनोविद् ग्रिष्मा पनेरु विभिन्न परिस्थितिका कारण मानिस हिंस्रक हुने बताउँछिन्।

‘मान्छे कसैको हत्या गर्न चाहँदैन। तर, उ विभिन्न कारणले त्यस्तो अवस्थामा पुग्न सक्छ। वायोलोजिकल कारण, हर्मोनल डिसअर्ड, महिलाहरूलाई प्रजनन् समयमा मनो सामाजिक समस्या देखिने हुन्छ,’ उनले भनिन्।

अर्को वातावरणले पनि प्रभाव पार्ने पनेरुको भनाइ छ। ‘कस्तो वातावरण पाइरहेको छ भन्ने कुराको पनि यसमा महत्त्व हुन्छ। उसलाई सुहाउँदो वातावरण नहुँदा पनि मनोसामाजिक समस्या निम्त्याउँछ। कतिपय अवस्थामा हार्मोनिक समस्याले पनि मनोविज्ञानमा प्रभाव पार्छ। थाइराइडलगायतका समस्या पनि मनोविज्ञानमा प्रभाव पार्ने तत्त्व हुन्,’ उनले भनिन्। सबैभन्दा धेरै मनोसामाजिक समस्या पैदा गर्ने कारण वातावरण नै भएको उनको भनाइ छ।

भक्तपुरमा छोराले बुबा र भाइको हत्या गरेको घटनाको उदाहरण दिँदै उनले युवकको प्रहरीसँगको बयानलाई विष्लेषण गर्दा मानसिक अवस्था नर्मल नरहेको पाइएको बताइन्।

मानिसमा तनावबाट मनोवैज्ञानिक समस्याको सुरुवात हुने भए पनि त्यसलाई नियन्त्रण गर्न नसक्दा विस्तारै त्यो जटिल बन्ने उनको बुझाइ छ। ‘भक्तपुरको घटनामा पनि युवक लामो समयदेखि मानसिक समस्यामा रहेको देखिन्छ। उनी समाजमा खुल्न नसक्ने र समस्या पनि व्यक्त गर्न नसक्ने अवस्थामा रहेको देखियो। जसले गर्दा उनले जीवनमा निराशा देख्दा गलत बाटो रोजेको हुन् कि भन्ने उनकै बयानबाट बुझिन्छ,’ उनले भनिन्।

मानसिक समस्या भएका व्यक्तिलाई के गर्ने?

मानसिक समस्या भएका व्यक्तिमा सानो कुरामा पनि झर्किने, धेरै सुत्ने वा कम सुत्ने, तोल तलमाथि हुनु, व्यवहारमा परिवर्तन हुनु, छटपटी राख्नु, चिडचिडापन हुने जस्ता थुप्रै लक्षण देखिन्छन्। उनीहरूले म मरे भने तिमिहरूले के गर्छौं वा मैले तिमिहरूलाई मारिदिए भने के हुन्छ जस्ता प्रस्न र लक्षण देखाउँदा सामान्य रुपमा लिन नहुने पनेरुको सुझाव छ।

मानिसमा मानषिक समस्या व्यक्त गर्नु हुँदैन भन्ने मनोभाव रहेकाले समस्या लुकाउने प्रवृत्ति रहेको र त्यस्तो नगरी उपचारमा आइदिन उनको सुझाव छ।

कुनै अपारधको मुख्य दोषी अपारधी हुने भए पनि त्यसको वरपरको वातावरणले पनि प्रभाव पार्ने उनी बताउँछिन्। ‘सिधा हेर्दा अपराधि मात्र भागिदार देखिए पनि त्यस्ता घटनामा परिवार, समाज र वरपरको वातावरण पनि उत्तिकै जिम्मेवार हुन्छ,’ उनले भनिन्।

मानिसले असहज व्यवहार देखाए त्यसलाई सामान्य रुपमा नलिएर त्यस्ता व्यक्तिलाई मनोपरामर्श दिने, आत्मबल बढाउने वा मनोचिकित्सकको सम्पर्कमा पुर्‍याउने काम गर्नुपर्ने उनको सुझाव छ।

‘मान्छेको स्वभाव हिंस्रक होइन। त्यही कारण मान्छे अरुको चोट, घाउ, रगत देख्दा समेत अत्तालिन्छ। डराउँछ। विभत्स दृश्य हेर्दा मान्छेको मुटु काँप्छ। तर, मानसिक समस्या भएका मानिसमा विस्तारै यस्तो करुणा भाव हराउँदै जान्छ। त्यस्ता व्यक्तिहरूलाई तिमिले केही गर्न सकेनौं। तिम्रो जीवन बर्वाद भयो। तिमि समाजको कलंक भयौं जस्ता कुरा गर्नु हुँदैन। त्यस्तो भनेमा उनी एक्कासी आवेगमा आउने र बदला लिन हत्याकै तहमा सम्म पुग्ने हुनसक्छ,’ उनले भनिन्।

मानसिक समस्या निको हुन कति समय लाग्छ?

मानसिक समस्या आफैँमा रोग होइन। यो एक प्रकारको चिन्ता र तनाव हो। मानिसलाई सही गाइडेन्स गरिएमा यस्तो समस्या निको हुन धेरै समय लाग्दैन। तर, समयमा उपचार नपाउँदा यसले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँदै लग्छ। र, पछि शारीरिक रुपमा पनि स्थिल तुल्याउँछ।

मनोविद् पनेरु समस्या कति जटिल छ भन्ने कुराले निको हुने समय निर्धारण हुने बताउँछिन्। सामान्य तनाव भएका मानिसलाई निको बनाउन धेरै समय नलाग्ने उनको भनाइ छ।

तर, वर्षौंदेखि समस्यामा रहेका मानिसमा औषधि र परामर्श सँगसँगै चलाउनु पर्ने भएकाले केही समय लाग्नसक्ने उनले बताइन्। ‘समय लागे पनि निको नहुने भन्ने हुँदैन। मानिसक मस्या भएका मानिस ठिक हुन्छन्। त्यसका लागि समयमै उपचारका लागि मनोपरामर्श विद्को सम्पर्कमा आउनुपर्छ। मानसिक समस्याका पनि थुप्रै डिसअर्डर छन्। त्यो हेरेर उपचार चलाउनुपर्छ’, उनले भनिन्।

मानिसमा मानषिक समस्या व्यक्त गर्नु हुँदैन भन्ने मनोभाव रहेकाले समस्या लुकाउने प्रवृत्ति रहेको र त्यस्तो नगरी उपचारमा आइदिन उनको सुझाव छ। समयमै ठिक उपचार पाउँदा व्यक्ति पनि निको हुने, अप्रिय घटनाको जोखिम पनि टर्ने र परिवारमा पनि खुसी छाउने भएकाले मानसिक समस्यालाई नलुकाउन उनको आग्रह छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *