वैदेशिक रोजगारीमा जाने १८.६८ प्रतिशतले बढे, पाँच महिनामै सवा तीन लाखले लिए श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेसिक रोजगारमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा १८.६८ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर)मा कुल तीन लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको विभागको तयांकले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए।
अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ५१ हजार २९२ जना बढीले श्रम स्वीकृति लिएका हुन्। गत मंसिरमा मात्रै विभागबाट ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका छन्।
चालू आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०८०/०८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ र मंसिरमा ६८ हजार २०१ जनाले श्रम स्वीकृति लिएका थिए।
Facebook Comment