रविको बयानमा वकिललाई बस्न नदिएपछि…

डिसी नेपाल
११ पुष २०८१ २१:१५

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बिहीबार कास्की जिल्ला अदालतमा बयान सुरु हुँदै थियाे। यसअघि सोही प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी र लिला पछाईँको बयान लिइसकेपछि बिहीबार अपरान्ह रविको बयान लिन सुरु गरिएको थियो।

लामिछानेको बयान लिने भएपछि रविको पक्षमा वहश गर्ने कानुन व्यवसायी नारायण कँडेल इजलासभित्र पसे। उनी भित्र पसेपछि रविकै पक्षमा वहश गर्ने अर्का अधिवक्ता सुदिज्ञ पन्त पनि इजलासमा प्रवेश गर्ने तयारीमा थिए।

तर प्रहरीले उनलाई गेटमै रोक्दै एक जना भन्दा बढी कानुन व्यवसायी भित्र जान नपाउने बतायो। प्रहरीले पन्तलाई रोकेपछि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले त्यसको प्रतिवाद गरे। त्यसपछि तीनै जना अधिवक्ता इजलासभित्र छिरे।

इजलासभित्र प्रवेश गरेपछि इजसाल सहयोगीले न्यायाधीश आइ नपुग्दै रविसँग बयान लिन सुरु गरे। उनले संसदीय छानविन विशेष समितिको प्रतिवेदन भन्दै प्रतिवेदनमा हुँदै नभएको प्रश्न रविसँग गरेपछि सँगै रहेका अधिवक्ता सुदिज्ञ पन्तले मोबाइलमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन खोज्न थाले।

अधिवक्ता सुदिज्ञ पन्तले मोबाइलमा प्रतिवेदन खोज्न थालेपछि इजलास सहायकले मोबाइल प्रयोग नगर्न भने। उनले आफूले संसदीय छानविन विशेष समितिको प्रतिवेदन पढ्न खोजेको बताएपछि इजलास सहायकले तपाईंहरुले फोटो खिच्नुहुन्छ भन्दै मोबाइल प्रयोग गर्न दिएनन्।

त्यतिमात्रै होइन, इजलास सहायकले इजलासभित्र एकजना मात्रै कानुन व्यवासायी बस्न भने। उनले एक जनालाई इजलास बाहिर जान भनेपछि अधिवक्ता सुदिज्ञ पन्तले न्यायाधीशले भने मात्रै आफू बाहिर जाने बताए। पछि न्यायाधीशले पनि इजसलास सहायककै भनाइमा समर्थन गर्दै एक जनामात्रै इजसालमा बस्न भनेपछि अधिवक्ता पन्त इजलासबाट बाहिरिए।

न्यायाधीशले नै इजलासबाट कानुन व्यवासायीलाई बाहिर जानु भनेर न्यायालयको मानहानि गरेको भन्दै आलोचना भएको छ।

सो घटनापछि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले न्यायाधीशले इजलासमा नबस्ने रुलिङ गरेर न्यायालयको मानहानि गरेको टिप्पणी गरेका छन्। पन्तले सो विषयको जानकारी आफूले नेपाल बारका अध्यक्षलाई पनि गराउन खोजेको तर फोन सम्पर्क हुन नसकेको जनाए।

‘पञ्चायती व्यवस्थामा समेत पूर्व प्रहरी महानिरीक्षकसमेत संलग्न मुद्दामा बयानको क्रमदेखि नै कानुन व्यवासायी कृष्णजंग रायमाझीको इजलासमा उपस्थित भएको सम्झनाले तत्कालीन समयको इजलासप्रति सम्मान झन् बढायो,’ वरिष्ठ अधिवक्ता पन्तले भनेका छन्।

‘न्यायाधीशले त कानुन व्यवासायी छैन भने अवैतानिक कानुन व्यवसायीको व्यवस्था गर्ने हो चलन हुन्छ, तर यहाँ त इजलासभित्र बसेको कानुन व्यवासायीलाई नै बाहिर निकाल्ने काम भयो,’ वरिष्ठ अधिवक्ता पन्तले भने, ‘म इजसालमा थिइन अर्कै कोठामा बसेको थिएँ, घटना थाहा पाएपछि मेरो जिउ नै चिसो भयो, आँखाभरी आँशु आयो, एक थोपा आँशु भुइँमा खस्यो। ४६ वर्षको व्यावसायिक जीवनमा यस्तो पीडा कहिल्यै भोग्नु परेको थिएन। झण्डै व्यवसायिक आत्महत्या गर्ने अवस्थामा पुर्यायो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *