सामाजिक संस्था हेल्प नेपालको २० वर्षे यात्रा, २० औं वार्षिकोत्सव मनाउँदै
काठमाडौं। समाजसेवामा सक्रिय सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले स्थापनाको २० औं वर्ष मनाउने भएको छ। नेटवर्कले आउँदो अक्टोवर महिनामा काठमाडौंमा यस संस्थाको २०औं वार्षिकोत्सब मनाउने तयारी गरेको छ।
यसै क्रममा हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाले संस्थाको २०औँ वार्षिकोत्सव सिड्नीमा मनाएको छ। गएको शनिबार सिड्नीमा आयोजित कार्यक्रममा साउथवेल्सका बहुसाँस्कृतिक राज्य मन्त्री जोन सिदोतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा हेल्प नेपालले धुलिखेलमा सञ्चालन गर्दै आएको बालिकाहरूको आश्रयस्थल बालगृहमा इ–लाइबेरीको व्यवस्थापनका लागि हेल्प नेपालको अस्ट्रेलिया शाखाले ५ हजार डलर प्रदान गरेको थियो।
कार्यक्रममा दोलखामा निर्माणाधीन राजकुलेश्वर स्कूलका लागि १० देखि १५ हजार डलरसम्म प्रदान गरिने हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाका संयोजक हर्ष गौतमले जानकारी गराएका थिए।
सिड्नीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जोन सिदोती, कार्यक्रमका लागि सिड्नी पुगेका नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेत, हेल्प नेपालका अस्ट्रेलिया संयोजक हर्ष गौतम, डा. राजु अधिकारी, इन्द्रा वनलगायतले बोलेका थिए।
कार्यक्रममा हेल्प नेपालले गरेका कामहरूलाई समेटेर तयार पारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो। यो हप्ता मेलवर्न र क्यानवेरामा पनि हेल्प नेपालको वार्षिकोत्सव सम्वन्धी कार्यक्रम हुने जनाइएको छ।
२० वर्ष अघि सन् १९९९मा स्थापित हेल्प नेपालले शिक्षा, स्वास्थ्य तथा दैवी विपद्का बखत सहयोग गर्दै आएको छ। विदेशमा बस्दै आएका नेपालीहरूले नेपालका लागि थोरै मात्र भएपनि सहयोग गर्नसके नेपालमा धेरै सहयोग पुग्ने हेतुले नै यो संस्थाको स्थापना गरिएको हो।
प्रारम्भमा हेल्प नेपालले विदेशबाट सहयोग स्वरूप आएको ६२ हजार र काठमाडौंका परोपकारी मन भएकाहरूबाट उठेको ५ हजार रुपैयाँबाट डोल्पाको एक विद्यालयलाई सहयोग गर्दै यो संस्थाको काम शुरु गरेको हो।
परोपकारका क्षेत्रमा बितेको दुई दशकदेखि सक्रिय हेल्प नेपाल नेटवर्कले दर्जनौं विद्यालयहरूको भवन निर्माण तथा मर्मतमा सहयोग गरिरहेको छ भने मुगु, सर्लाही र अछाममा स्वास्थ्य चौकी सञ्चालनमा सहयोग पनि गर्दै आएको छ।
भूकम्प, बाढी, पहिरोजस्ता प्राकृत्तिक विपद्का बेला तत्कालै सहयोगमा जुट्दै आएको हेल्प नेपालले मुलुकका दर्जनौं विद्यालयहरूमा इ–लाइब्रेरीको परिकल्पनालाई मूर्तरुप दिँदै पुस्तकालय स्थापना गर्दै आएको छ।
Facebook Comment