बाघ र वनलाई गाली, विज्ञको ताली
कोप-२९ को विश्व जलवायु सम्मेलनमा नेपालको हिमाल मुद्धा जोडदार उठान भएको सुन्न पाइयो। राष्ट्रपति स्वयमको सहभागिताले नेपालको उपस्थितिलाई गरिमामय वनाएको थियो।
त्यसअघि युएन मुख्यालय न्यूयोर्कसम्म आफैं पुगेर प्रधानमन्त्रीले विश्व समुदायलाई हिमाल बचाउन गरेको आह्वानले साना देश र हिमालको साझा पीडालाई सही सम्वोधन गरेको थियो।
गत वर्ष युएन नेतृत्व सशरीर विश्वसम्पदा सगरमाथा र विश्वप्रशिद्ध पदयात्रा गन्तव्य अन्नपूर्णको बेसक्याम्पमा पुगेर गरेको हिमाल वचाउ अभियानले विश्वको ध्यान नेपालमा खिचेकै थियो।
पूर्व आइयुसिएन क्षेत्रीय पदाधिकारीको पृष्ठभूमि र ज्ञानको जगमा परराष्ट्रमन्त्रीले भ्याई नभ्याई लगत्तै अन्तर्राष्ट्रिय अदालत समक्ष पुगेर सुनाएको निर्दोष हिमाल र हिमाली जनताको पीडा तथा मागेको जलवायु न्याय र जलवायु वित्तले हिमालको साझा समस्या थप मुखरित भएको थियो। विश्व मञ्चमा विश्व संरक्षण समुदायमाझ नेपालको राष्ट्रिय उपस्थिति, प्रस्तुति, पहल र प्रयास ठीक नजर आइरहेको थियो।
तर दुर्भाग्य , युएन महासचिवदेखि राष्ट्रिय उच्च पदस्थ अधिकारीहरुले श्रोत, साधन, स्वास्थ्य जोखिम मोलेर हालेको जग र उठाएको संरक्षण घरमा छानो हाल्ने, बिट मार्ने र कोप-३० को पानी ओत्ने समीक्षावैठकको संरक्षण छानो भत्कियो। बाघ र वन विरोधी अभिव्यक्तिले हंगामा मच्चियो। संरक्षणमा अपूरणीय क्षति पुग्यो।
कसरी भत्कियो संरक्षण छानो
यो ज्यादै महत्वपूर्ण र सम्वेदनशील प्राज्ञ, विज्ञ, विश्व समुदाय उपस्थित वैठकमा विज्ञहरुले प्रधानमन्त्रीलाई गलत सूचना दिएर, उचालेर, निर्धारित समयभन्दा धेरै ढिलो पुर्याए।
र, प्रकृतिप्रेमी, बाघप्रेमी, संरक्षणप्रेमी राष्ट्रिय बाघ समितिका अध्यक्षलाई बाघ र वनको आलोचना गर्न लगाए। आफूहरु दर्शकदीर्घामा बसेर गललल हाँस्दै, ताली पड्काउँदै, प्रधानमन्त्रीलाई खिल्ली उडाए।
नितान्त असान्दर्भिक बाघको संख्या, मिति, तिथि, प्रस्तुति झुटा थियो। दुर्लभ बाघ र बाघको सानो घर वनको अवशेष हटाउ घटाउ भन्ने गाली साच्चिकै निरर्थक र हास्यास्पद थियो।
ज्ञात हो वा आवेग र अज्ञातवस आफू, आफ्नो सरकार, देश र देशवासीको खुट्टामा बञ्चरो हान्ने नकाम भयो। किनभने, हिजो राष्ट्रिय संकल्प गरेर, राष्ट्रिय संरक्षण अभियान पुनर्जागरण गरेर द्वन्द्वले पत्तासाफ गरेका बाघ र वनको पुनर्भरण गर्दा निर्धारित समयभन्दा छिटो बाघ दोब्बर गर्ने नेपाल विश्वको पहिलो राष्ट्र थियो।
हिजो विजयोत्सव मनाएको, अन्तर्राष्ट्रिय ताली, सम्मान र पुरस्कार पाएको विश्वकै नमूना प्रकृति संरक्षणको मोडल देशले एक्कासी बाघ र वनलाई धिक्कार्नु, किन चाहियो घटाउ भन्नु राष्ट्रिय संरक्षण छवि र गौरवको बिपरीत थियो। राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वाभिमान माथि नाङ्गो खुकुरी प्रहार थियो।
विश्वप्रिय र विश्वको आइकन बाघलाई विम्ब वनाएर ठूला राष्ट्र र दातृ राष्ट्रहरुलाई घोचपेच गाली गर्न त्यो निम्छरो मञ्च उपयुक्त थिएन। शीघ्र लोपको संघारमा रहेको अवोध बाघ र वनलाई गरेको गालीको निशाना थियो निरीह वन तथा वातावरण मन्त्रालय र कोप-२९ मा जाने नेपाली प्रतिनिधिमण्डल।
निशानाको छर्रा लाग्यो सबैलाई। बाघ र वन संरक्षणमा जीवन वलिदान दिने नेपाली सेनाका ११६ संरक्षणकर्मी, उल्लेख्य संख्याका पार्ककर्मचारी, वनकर्मी र स्थानीयकर्मी जस्ता संरक्षण सहीदहरुको चिहानमा ठूलो पराकम्प आयो।
अंगभंग भएका घाइते संरक्षणकर्मीहरुको संरक्षण त्यागको स्वभिमानमा तुषारापात भयो। बाघको आक्रमणबाट अभिभावक गुमाएर बाघ संरक्षणमै लागिरहेका तिनका परिवारको हौसला मर्यो।
भोक-निद, बिपद्, परिवार नभनी अहोरात्र बाघ संरक्षणमा खट्टिने नेपाली सेना, निकुञ्ज र वन कर्मचारी, प्राविधिक, राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघ-संस्थाहरु र स्थानीय समुदायको संरक्षण त्याग र समर्पणको शिरछेदन भयो। चोरीशिकारी, अवैध ब्यापारी र तस्करहरुलाई प्रेरणा र प्रोत्साहन भयो।
विश्व सन्धि, महासन्धि, पक्षराष्ट्रको हैसियतले पूरा गर्नुपर्ने संरक्षण प्रतिवद्धताको बर्खीलापमा अभिव्यक्ति आउदा विश्व संरक्षण दायित्वलाई धज्जी उडाउने अट्टेर भयो।
बाघ संरक्षणलाई राष्ट्रिय अभियान र विश्व अभियान मान्ने छिमेकी भारत लगायत १३ देश र विश्व संरक्षण समुदायको संरक्षण अस्मिता र प्रयासलाई चुनौती दिने अप्रिय भाषा भयो। नेपालमा बाघ भएनभने छिमेकी देश भारतको बाघ संरक्षण अभियानलाई ठूलो चुनौती आइपर्छ।
१ वर्ष देखि बाघ शिकार गरेर समृद्धिमा पुग्नुपर्दछ भन्ने पूर्व मन्त्रीको जग हँसाउने अहंकारलाई अनुमोदन गर्ने अभिब्यक्ति आएकोले गलत सूचनाले दिमाग भुट्ने एउटै मान्छे हो भन्ने अनुमान लाउन कठिन भएन।
प्रधानमन्त्रीलाई जसले कान भर्यो, उचाल्यो र सम्वेदनशील मञ्चमा असंबेदन भएर बाघ र वनलाई गाली गर्न लायो, त्यसले ठूलो बिगार गर्यो।
मुलुकको उज्यालो र उच्च प्रकृति संरक्षण छवि धुलिसात् भयो। राष्ट्रिय संरक्षण संकल्प झुठो सावित भयो। शंकाको घेरामा रहेका विश्व दातृ निकायहरुलाई बिच्कायो। छिमेकी र विश्व संरक्षण सम्वन्ध, सहकार्यमा कुठाराघात भयो। भूराजनीतिक, कुटनीतिक सम्वन्धमा दरार पैदा भयो।
प्रधानमन्त्रीको यो अकल्पनीय र अनपेक्षित अभिव्यक्तिलाई लिएर विश्वभरि आलोचना भयो। मुलुकभरिका प्रकृतिप्रेमी, वातावरणप्रेमी, संरक्षणप्रेमी, पर्यटनकर्मी, उद्यमी, व्यवशायी, संरक्षणकर्मी, स्वयंसेवी सारालाई स्तब्ध बनायो।
अभिव्यक्ति ठीक मञ्च बेठिक
भलै प्रधानमन्त्रीको अभिव्यक्ति वेठिक थिएन। त्यही अभिव्यक्तिलाई युएन महासभामा कठोर भएर यसरी राखिदिएको भए नेपाल हीरो हुने थियो। त्यसलाई टापु र साना देशबाट अनुमोदन गराउन प्रधानमन्त्री आफैं कोप–२९ बाकुमा जानु बान्छनीय हुने थियो।
“भूपरिवेष्ठित पीडा सहेर भोको पेटका हामी सानो बिकट राष्ट्रले विश्वको दुर्लभ अग्लो चुचुरो सगरमाथा र असंख्य जलशिखरहरु जोगाइदिएका छौ।
बिपन्नका घरआँगनमा भोको नांगाे ज्यानको बाजी लगाएर विश्वका दुर्लभ बाघ, हात्ती, गैंडा लगायत जैविक विविधताको भण्डार पनि जोगाइदिएका छौं।
यो अति जटिल तर महँगो विश्व सम्पदाको जिम्मेवारीलाई थप पीडादायी बनाउन तापक्रम बृद्धिको महाकाल विना शर्त, विना संकोच, आजैबाट रोक्न शुरु होस्। भोलिबाट परिणाम देख्न सुन्न भोग्न पाइयोस्।
विश्वसम्पदा सगरमाथाको चुचुरो र विश्व शान्तिदूत गौतम बुद्धको जन्मस्थलबाट हामी शंखनाद गर्दै विश्वलाई आह्वान गर्न चाहान्छौं-आजैबाट युद्धबिराम गर। युद्धसामाग्री उत्पादन भण्डारण बिक्री वितरण र प्रयोग बन्द गर। शान्ति शताब्दी घोषणा गर। र, विपन्न देश नेपालको जस्तै विश्वको सेनालाई एकसय बर्षसम्म प्रकृतिको पुनर्भरण पुनस्र्थापना जिम्मेवारीमा लगाउँ। जल थल आकाश सफा गर्न लगाउँ।”
स्वदेशमा यही भनाइ कठोरसँग राख्न बाघ संरक्षक प्रधानमन्त्रीले राष्ट्रिय बाघ समितिको छुट्टै बैठक बोलाएर चावी मार्न सक्थे – “बाघ मानव द्वन्द्व शून्यमा झार्नु। अव बाघ नबढाउनु।”
बाघ अनुगमन व्यवस्थापन र संरक्षण चुस्त दुरुस्त हुने थियो। बाघ व्यवस्थापन नमूना हुन जरुरी थियो। विश्वलाई दमदार संरक्षण सन्देश जाने थियो।
ब्यापारी कराउनु बाघ हराउनु
प्रकृति र संस्कृतिको धनी देश नेपालको प्रकृति संरक्षण छवि विश्व प्रशिद्ध छ। विश्वले नमूना मानेको छ। विश्वले सम्मान गरेको छ।
पर्यटनको मुख्य आधारशीला पनि सेता हिमाल र ती हिमालको जग र जरा जल-जंगल र बाघ नै हो। बाघ संरक्षण भनेको सम्पूर्ण जीवजन्तु, जलजंगल र स्वस्थ पारिस्थितिकीय प्रणालीको रक्षा हो। त्यसैभित्र पर्छ सुक्ष्म मानव जीवन रक्षा।
बाघ संरक्षण भनेको चुरे संरक्षण पनि हो। जहाँ बाघ छन् त्यहाँ चुरे भर्जीन छ। बाँकी चुरे चरम दोहनले चकनाचुर भएको छ। विश्वलाई कुदाउने, रमाउने, कमाउने अब बाघ पर्यटनले हो।
त्यसैले गोकर्ण र चन्द्रागिरी पछि बाघ सहितको वन सित्तैमा ब्यापारीलाई उपहार चाहिएको छ। उपहारको अन्तर्यमा सुन्दर ब्यापार छ। ब्यापारीको स्वार्थअनुकुल निकुञ्ज निजीकरणको ऐन संशोधन र प्रमाणीकरण भईसकेको छ।
त्यसको बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। पुष २४ गतेको सुनुवाई मितिलाई प्रभाव दवाव दिन सुनियोजितरुपमा यो ब्यापारिक अभिव्यक्ति आएको सर्वसाधारणको दावी छ।
संयोग नै भन्नुपर्छ सवैभन्दा धेरै प्रधानमन्त्री भइसकेका र पुनः पालोमा बसेका पूर्व बाघ संरक्षक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट समेत लगत्तै बाघ विरुद्ध आगो ओकल्ने काम भएको छ।
बिपक्षी दल र नेता प्रचण्ड सधैं बाघ र वातावरण बिरोधी दर्ज थिए। तिनलाई जित्ने गरेर कांग्रेस एमाले नेतृत्व बाघ र वन बिरुद्ध खनिनु विकासका नाममा प्रकृतिलाई थोकमा बिक्री गरेर ब्यापारीको पक्षपोषण गर्नु हो भन्ने विज्ञहरुको दावीलाई अन्यथा मान्न सकिँदैन।
सत्य के हो ?
बाघ बढेको सत्य हो। बाघ र वन बढी भएको असत्य हो। ध्रुवसत्य हो-मान्छे बाघको आहार होइन। बाघ ज्यादै लजालु, अनुशासित, स्वाभिमान, चामत्कारिक विश्व आकर्षण हो। करिब ४ प्रतिशत बाघ स्वभाविकरुपमा उमेरले बृद्ध र जुधेर बिरामी, घाइते, अशक्त भै समस्याग्रस्त हुन्छन्।
क्षमताभार (क्यारिङ क्यापसिटी) बढी भयो भन्ने ब्यापारी र विनाशकारी भाष्य सरासर गलत छ। क्षमताभार कहिँ पनि नाघेको छैन। गलत भाष्य निर्माण गरेर स्थानीयलाई उचाल्ने, उग्र बनाउने, ऐन कानुनको उल्लंघन गर्न भड्काउने तत्वलाई संरक्षणप्रेमी स्थानीय समुदायले शान्तपूर्वक ब्यवस्थापन गरेका छन्।
बाघ पीडितका परिवार कट्टर बाघ संरक्षण अभियन्ता बनेका छन्। स्थानीयहरुको संरक्षण सहनशीलता, सहिष्णुता, सहअस्तित्व, सहभागिता, सहकार्य विश्व मै नमूना छ। बफरजोन अवधारणा बाघ, वन र स्थानीय दुबैलाई जितैजितको वरदान सिद्ध भएको छ।
प्रकृति संरक्षणलाई भूअखण्डता, सम्प्रभुता, विश्व सम्पदा रक्षाको मूल कडी मानेर सामरिक, आर्थिक, सामाजिक, साँस्कृतिक महत्वको त्यो पवित्र र धार्मिक अराजनीतिक जिम्मेवारीको लागि नेपाली सेनाले सगर्व १० प्रतिशत करिव ८ हजार फौज छुट्याएको छ।
जुन फौज उच्चहिमाल देखि तराईसम्म बिकट र विपतलाई पर्यटन र उद्दार साथी भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रकृति संरक्षण र उद्दार सहयोग र सहकार्य उस्तै अतुलनीय छ। यसकारण बढेको हो बाघ र वन।
२०८०-८१ साउन देखि कार्तिकसम्म ४ महिनामा राजधानीमा १८ जनाको हत्या भएको छ। मृत फेला परेका १३ जनासहित ३१ जनाको ज्यान गएको छ। मुलुकभरि १९२ जनाले अकालमा ज्यान गुमाएका छन्।
आत्महत्या गर्नेहरुको संख्या झनै कहालिलाग्दो छ। शर्पदंश र विपद्मा ज्यान गुमाउने संख्या उस्तै धेरै छ। कुपोषण, भोक, रोगले धेरैको ज्यान गइरहेको छ।
१० बर्षमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या २४ हजार ९५ पुगेको छ। ५० हजार बढी गम्भीर घाइते छन्। २०८०-८१ मा मात्र सडक दुर्घटनाबाट २ हजार ३ सय ६९ जनाले ज्यान गुमाइसकेका छन्। सडक दुर्घटनाबाट मात्र दैनिक ७ जनाको मृत्यु हुने भयावह तथ्यांक छ।
जब कि बाघको आक्रमणबाट १ वर्षमा ७ जनाको ज्यान गएको बिरलै रेकर्ड भेटिन्छ। त्यो पनि ९० प्रतिशत घटना अट्टेर भई ऐन कानुन मिचेर बाघको बासस्थान भित्र जवर्जस्ती जादा भएको तथ्यांक छ।
बाघ बोझ कि बरदान?
सशस्त्र द्वन्द्वपछि बाघ लोप हुने अवस्थामा पुगिसेको थियो। निकुञ्जहरुमा एक र मुलुकमा २ डिजिट संख्यामा बाघ घटिसकेको थियो। पर्सा, शुक्ला, बर्दिया र मुलुकमा क्रमशः ४, ८, १८ र ९८ को तीव्र ह्राशलाई बाघ विज्ञहरुले बाघ लोप अवश्यम्भावी छ भनेर घोषणा गरेका थिए।
बाघ विज्ञहरुको भविष्यवाणीलाई इष र मार्गदर्शन मानेर फिल्डमा संरक्षणकर्मीहरुले ब्यापक र समन्वीकृत ढंगबाट सहकार्य गरेको परिणाम थियो शून्य शिकार उपलब्धि।
जसले संयुक्त पहल र प्रयास गरेर बाघ सजिलै पुनर्भरण गर्दै दोब्बर भन्दा बढी बनाए। नमूना विश्व संरक्षण छवि, शान, मान, नाम, कमाए। बाघ हेर्न नेपाल जानु भन्ने पर्यटन नारा पर्यटकहरु आफैंले विश्वभरि फैलाए।
तसर्थ, तल बाघ र निकुञ्ज, माथि हिमाल र हिंउ चितुवा यो देशलाई बरदान हुन्। विश्व र भावी सन्ततिलाई युगयुगसम्म दिगो ब्यवस्थापन र संरक्षण गर्नै पर्ने विश्व सम्पदा हुन्। जीवित हीरा हुन्। राष्ट्रिय प्रतीक र राष्ट्रिय गौरव हुन्।
सुझाव
राजनीतिलाई प्राकृतिक विज्ञानको ज्ञान र संरक्षणभाव भरिदिने पहिलो दायित्व, परम कर्तब्य र परमधर्म वन तथा वातावरण विज्ञ र वाघ विज्ञहरुको हो। कसैले राजनीतिज्ञ र नीतिनिर्मातालाई भ्रम सिर्जना गरेर राजनीतिलाई विचलित बिखण्डित गरिदिनु राष्ट्रघाती दुष्कर्म हो।
बाघ र वन दुवै प्रकृतिका निःशुल्क उपहार हुन्। अग्रजहरुले हामीलाई हस्तान्तरण गरेका अमूल्य सम्पदा हुन्। दुःखी तनावग्रस्त होइन, स्वस्थ खुशी सुखी बाघ, वन र वन्यजन्तु भावी सन्ततिलाई हस्तान्तरण गर्नु हाम्रो स्वधर्म हो।
बाघ सहितको सजीव वन जंगल र हिंउचितुवा सहतिको सेतो सजीव हिमाल हाम्रो विपन्नताभित्रको सम्पन्न प्रकृतिप्रधान गौरवमय संस्कार हो।
यो वर्ष गैंडा र अर्को बर्ष बाघको राष्ट्रिय गणना हुँदै छ। बाघ ब्यवस्थापन, र संरक्षण चुस्त दुरुस्त बनाउन जरुरी छ। मानव– वन्यजन्तु द्वन्द्व शून्यमा झार्न अपरिहार्य छ। जुन संभव छ।
बाघको बासस्थानमा अवैध घुसपैठ र अतिक्रमण शून्यमा झार्नु, चोरी शिकार र वनयजन्तुको अवैध ब्यापारको जरा नसा काटेर शून्यमा झार्नु, बाघ र वन्यजन्तु खुशी सुखी राख्ने रामवाण मन्त्र हुन्।
समस्याग्रस्त ४ प्रतिशत (१४) बाघलाई खुला बाघ सेन्चुरी बनाएर सजिलै व्यवस्थापन गर्न र त्यसलाई अध्ययन अनुसन्धान, पर्या–पर्यटन विकासमा जोड्न सकिन्छ। जरुरी छ केवल राजनीतिक ईच्छाशक्तिको। र, अराजनीतिक संरक्षण चरित्र, त्याग र समर्पणको।
यो तपोभूमिमा मानव-वन्यजन्तु सह-अस्तित्व अभ्यास परापूर्वकालदेखि आज पर्यन्त विश्वलाई रोचक, रमाइलो, अध्ययन–अनुसन्धानयोग्य रहिआएको छ। झापाको बाहुनडाँङ्गी र बर्दिया सहअस्तित्वको प्राकृतिक पाठशाला बनेका छन्।
उज्यालो नेपालले सिकाएको सहअस्तित्व पाठ सर्वत्र फैलाउन जरुरी छ। स्थानीयलाई बिमामा अनिवार्य आवद्ध गर्ने, क्षतिपूर्ति राहत शीघ्र दिने, जति बाघ प्रोत्साहन स्वरुप त्यती करोड रुपैया स्थानीय विकास र समृद्धिलाई विनियोजन गरेर बाघको स्वामित्व स्थानीय जनतालाई सुम्पने हो भने द्वन्द्व शून्यमा झर्ने निश्चित छ।
मुलुकको पूर्व प्रशासक, प्राविधिक, संरक्षणकर्मी, प्राज्ञ, विज्ञ, थिंकट्यांक, नागरिक, सुरक्षाविद्, वातावरणविद, वातावरण पत्रकार पर्यासाहित्यकार संरक्षण छातामुनि एकढिक्का भएर गोलबद्ध हुन र प्राकृतिक सम्पदाको रक्षामा जुट्न बिलम्ब भैसकेको छ।
राजनीति, कुटनीति, अर्थनीति, सुरक्षानीतिलाई प्राकृतिक सम्पदाको रक्षा महत्व बुझाउन जरुरी छ। साथसाथै, भूराजनीतिक, विश्व कुटनीतिक सन्तुलन विगार्ने र व्यापार विकृतिको पक्षपोषण गरेर मुलुकलाई असफल राष्ट्रको भीरमा धकेल्न गलत सुझाब दिने अराष्ट्रिय तत्वको पहिचान र परास्त गर्न यो प्रबुद्ध समुहको भूमिका अपेक्षित र बान्छित छ।
अन्त्यमा, प्रधानमन्त्रीद्वारा शीघ्र राष्ट्रिय बाघ संरक्षण समितिको वैठक बोलाई बाघ विज्ञहरुको राष्ट्रिय गोष्ठी आयोजना गरेर बाघ व्यवस्थापनको विश्वासिलो कार्ययोजना तर्जुमा र चुस्त कार्यान्वयन गर्ने गराउने काम होस्।
आफैंले हिजो विश्व समुदाय समक्ष सन् २०३० सम्म ३० प्रतिशत संरक्षण क्षेत्र वनाउने र सन् २०५० सम्म कार्वनशून्य गर्ने सुन्दर र गौरवशाली संकल्प पूरा गर्ने आधार तयार गर्न बिलम्ब नहोस्।
Facebook Comment