रविका वकिल भन्छन् –‘पुर्पक्षका लागि जेल नै पुर्याउने खतरा छ’, यसको प्रक्रिया के हुन्छ ?

डिसी नेपाल
३ भदौ २०७६ १२:२५

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा न्यायिक हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालत पेश गरिँदैछ । यसअघि उनीहरुलाई शुक्रबार अदालत पेश गरिएको थियो । शुक्रबार अदालतले ५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यो ५ दिनको अवधि हिजो सकिएपछि आज तीनै जनालाई अदालत पेश गरिएको हो ।

रविसमेत तीनै जनालाई आज पुनः अनुसन्धानको लागि म्याद मागेर न्यायिक हिरासतमै राख्ने प्रहरीको तयारी छ । यसका लागि सरकारी वकिलले त्यही अनुसार तयारी गरेका छन् । आज उनीहरुलाई अदालत पेश गर्ने तयारी भइरहँदा रवि पक्षका कानुन व्यवसायीले उनीहरुलाई जेलसम्म नै पुर्याउने तयारी भएको बताएका छन् । रविका वकिलले सकेसम्म दोषी प्रमाणित नै गरेर फसाउने नभए पनि कम्तीमा जेलसम्म पुर्याउने तयारी भइरहेको दावी गरेका हुन् ।

यसैको लागि आज अदालत पेश गर्नुअघि रविको बयान लिने काम अधुरै राखिएको उनको दावी छ । अर्कोतर्फ मृतक शालिकराम पुडासैनीकी पत्नी सम्झनाले पनि आइतबार मात्र किटानी जाहेरी दिएको अवस्थामा त्यसलाई पनि आधार बनाएर आज पुनः अदालतबाट म्याथ थप्ने सरकारी वकिल र प्रहरीको प्रयास रहेको उनको दावी छ । यसैगरी म्याद थप्दै रविलाई कम्तीमा जेलसम्म पुर्याउने प्रयास भइरहेको उनले दावी गरे ।

दोषी प्रमाणित नभए पनि रवि कसरी जेल पुग्छन् ?

कुनै पनि फौजदारी अभियोगमा पक्राउ परेको अभियुक्तलाई पक्राउ गरेको २४ घण्टामा (सार्वजनिक विदा परेको अवस्थामा बाहेक) अदालत पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । यसरी अदालत पेश गरिएको अभियुक्तको थुनछेकको बहसपछि अदालतले उसलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा न्यायिक हिरासतमा राख्ने आदेश दिन सक्छ । रवि लामिछानेको हकमा उनलाई अदालतले यसअघि नै ५ दिन न्यायिक हिरासतमा राख्न आदेश दिइसकेको छ ।

आजको सुनुवाइमा अदालतले पुनः म्याद थपको आदेश दिन सक्छ । प्रहरीले यसरी पटक पटक म्याद थपेर २५ दिनसम्म न्यायिक हिरासतमा राख्न पाउँछ । यदि त्यो अवधिमा पनि मुद्दाको अन्तिम फैसला हुन सकेन र अदालतले अभियुक्तलाई थुनामै राखेर मुद्दा अगाडि बढाउनुपर्ने मनासिब कारण देखियो भने अभियुक्तलाई पुर्पक्षको लागि कारागार चलान गर्न सक्छ । २५ दिनसम्म पनि फैसला नभएर फेरि थुनामा राख्न आदेश दिइएमा त्यसपछि अभियुक्तलाई प्रहरी कार्यालयको हिरासतमा नभइ जेलमै राखिन्छ । रविका वकिलले जनाएको आशंका यही हो ।

यसरी जेल पुगेका अभियुक्त अपराधी होइनन् । उनीहरुमाथि अभियोग मात्र लागेको हो र उनीहरु दोषी हुन् वा होइनन् भन्ने फैसला हुन बाँकी नै हुन्छ । यद्यपि यसरी जेल नै पुगेपछि सामाजिक रुपमा हेर्ने दृष्टिकोण केही बदलिने खतरा हुन्छ जसका कारण पछि निर्दोष प्रमाणित भएर आउँदा पनि उसको छविलाई समाजले दोषीको नजरले हेर्ने खतरा हुन्छ । रवि लामिछानेको हकमा पनि यदि उनी निर्दोष प्रमाणित भएर बाहिर आए पनि भोलि समाजले उनलाई हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ कि ? भन्ने खतरा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *