जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न ऊर्जा मन्त्रीको चुनौती
काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन्।
बुधबार काठमाडौंमा विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ गर्दै मन्त्री खड्काले केहि सञ्चारमाध्यमले आफुबिरुद्ध गलत समाचार प्रकाशित गरेको भन्दै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।
उनले उक्त प्रकरणमा सत्यतथ्य ल्याए पुरस्कार दिने भन्दै गलत सूचनाले देशलाई नै नोक्सान पुग्ने जिकिर गरे। जलविद्युत क्षेत्रमा सरकारको अरवौं लगानी भएपनि त्यसको प्रतिफल निकै कम देखिएको उनले बताए।
उनले बुढीगण्डकी, अपर अरुण लगाएतका ठूला जलाशययुक्त आयोजना अलपत्र परेको र यसका नाममा विदेशी घुम्ने र जागिर खाने ठाँउबाहेक अरु केही हुन नसकेको बताए।
मन्त्री खड्काले सवै आयोजनाहरुलाइ एकैसाथ अघि बढाउने गरि योजना तयार गरिएको जानकारी दिए। उनले विद्युत् क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्दै सहज रुपमा अघि बढ्ने वातावरण बनाउन प्रतिवद्ध रहेको पनि बताए।
मन्त्री खड्काले मुलुकको समृद्धिको आधार ऊर्जा क्षेत्र नै रहेकाले प्रयाप्त रहेका स्रोतको अधिकतम परिचालन गर्नुपर्नेमा जोड दिए। आयोगले सेवाग्राही निकायहरुका लागि प्रवाह गर्दै आएको सेवालाई प्रभावकारी बनाउन अनलान सफ्टवेयरमा आधारित प्रणाली डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको हो।
Facebook Comment