नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ : डा. भट्टराई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताएका छन्। उनले बैठक सकारात्मक हुने विश्वास व्यक्त गरे।
मंगलबार रिपोर्टर्स क्लबले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषय रहेको सुनाए। यद्यपी उनले कतिपय विषय समाधानउन्मुख रहेका पनि जिकिर गरे।
उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको जनाए। उनले भने, ‘हाम्रो दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ। अहिले सघन कुराहरु हुन थालेका छन्। समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ।’
भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै उनले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित हुने बताए। उनले भने, ‘भारतसँग हाम्रो दुई तिहाईको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ। सीमा, डुबानलगायत १९५० को सन्धि र ईपिजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ। यो महत्वपूर्ण फोरम हो। हामीबीच रहेका सबैखाले समस्याहरुलाई कुटनीतिक पहलमार्फत समाधान खोज्छौं।’
उनले विगतका समस्याहरु समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरुमा अघि बढाएर अघि बढ्ने सुनाए। उनले भने, ‘वर्तमान सरकार त्यसतर्फ उन्मुख भएको छ।’ नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुने पनि उनले विश्वास दिलाए। भारतीय विदेशमन्त्री जयशंकर अनुभवी र कुटनीतिक करियरबाट आएकोले उनले सोहीअनुसार नेपाल–भारत सम्बन्धलाई सही र सकारात्मक दिशातर्फ डोर्याउनेपनि बताए।
भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) महत्वपूर्ण प्रयास र पहलकदमी भएकोले प्रतिवेदनमा आफूहरुले दुई देशबीचका महत्वपूर्ण विषयहरु समावेश गरेकोले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए।
‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ उनले भने, ‘भारतबाट यो प्रतिवेदन बुझ्ने काम हुनेछ भन्ने हाम्रो विश्वास छ।’ उनकाअनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाई गरेको हुनसक्छ। तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपिजीको प्रतिवेदन बुझ्नेमा आफू ढुक्क रहेको भट्टराईको भनाइ छ। उनले भने, ‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भिर रुपमा लिनुभएको छ। यसमा फरक मत छैन। त्यसैले प्रतिवेदन बुझ्दैनन कि भनेर आशंका नगरौं।’
भारतको कश्मिरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उनले हरेक घटनामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको टिप्पणी गरे। उनले थपे, ‘सबै विषयमा टिप्पणी गर्नुपर्छ भन्ने छैन।’
डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए। उनले भने, ‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ। औषधिको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो।’
उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे। उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए।
Facebook Comment