लघुकथा : धन्यवाद

प्रकाशचन्द्र खतिवडा
२७ पुष २०८१ ७:०७

“हेल्लो,सुन्नोस त। तपाईंको घर कहाँ हो? तपाईं के काम गर्नु हुन्छ?” एक अपरिचत नारी स्वर थियो। म अलमलमा परें। “कस्लाई भन्नु भएको?” मैले प्रति प्रश्न गरें। “हजुरलाई नै भनेको।

कतै देखे जस्तै लागेर। परिचय भाको जस्तो हो कि लागेर।” उनले स्पष्ट पारिन्। मैले भनें “मेरो घर भोजपुर हो। म शिक्षण गर्छु।” “ए तपाई सङ्गठनको अध्यक्ष प्रकाश सर हो?” “हो त। तपाईंलाई चिन्न सकिन नि।” मैले भनें। “म पनि शिक्षणै गर्छु। भोजपुरको दक्षिणी क्षेत्र घोरेटार हो मेरो घर। म दमयन्ती राई।” उनले जवाफ फर्काइन्।

“केही समस्या छ कि?” मैले उनलाई सोधे। त्यस्तो समस्या त छैन। विद्यालय अलि घर पायक छैन। विद्यालय आउन जान समस्या छ। म पनि संगठनकै सदस्य हूँ।” उनले प्रष्टोक्ति दिइन्। “मलाई कहाँ देख्नु भएको हो त?” मैले प्रश्न गरें।

“संगठन विस्तारको क्रममा घोरेटार आएको बेला देखेकी थिएँ। परिचयात्मक कार्यक्रम पश्चात तपाईंको भाषण सुनेकी थिएँ।”

उनको जवाफले म अप्ठेरोमा परें। मैले उनलाई चिन्नै सकिन। मैले क्षमा माग्दै भनें “सरी मैले यहाँलाई वेवास्ता गर्न खोजेको हैन। मैले तपाईंलाई राम्ररी खुट्याउनै सकिन। एक पटक देखेको। लामो समय देख भेट नभएपछि यस्तै समस्या हुने गर्छ। मैले के सहयोग गर्न सक्छु त तपाईंलाई?”

उनले भनिन् “अहिले मेरो घर नजिकै विद्यालयामा एउटा शिक्षक दरबन्दी रिक्त छ। म त्यहाँ सरुवा आउन चाहन्छु। सकिन्छ भन्ने सहयोग र समन्वय गर्दिनु पर्‍यो। “हुन्छ, म कोशिश गर्छु।” मैले भनें उनको ठाउँ,ठेगाना र सम्पर्क नम्बर लिएँ।

“म जि.शि.अ. लाई भेटेर तपाईंको कुरा राख्छु” भनेर उनीसँग छुट्टिएँ। उनले पनि मेरो सम्पर्क नम्बर लगिन्। हाम्रो भेट इटहरीमा भएको थियो। म संगठनकै बैठकको सिलसिलामा इटहरी झरेको थिएँ। शिक्षक साथीहरुका समस्या थुप्रै छन्।

राज्य शिक्षाबाट पन्छिँदै गइरहेको छ। गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकार कमजोर बनाइएको छ। दुई खाले विद्यालय सञ्चालन गरेर राज्य द्वैध चरित्र प्रदर्शन गरिरहेको छ। ०३६ सालदेखि सरकार समक्ष राखिएका केही मागहरु अहिले सम्म पनि सम्बोधन भएका छैनन्।

म बैठक सकाएर भोजपुर सदरमुकामै गएँ। दमयन्ती मिसको सरुवालाई पहिलो प्राथमिकतामा राखेर अन्य समस्याहरु सहित समस्या समधानार्थ पहल गरि दिन भन्दै संगठनको तर्फबाट एक प्रतिनिधि मण्डल जि.शि.का. भोजपुरमा गई छलफलमा जुट्यो। १५ दिनपछि दमयन्ती मिसको फोन आयो।

“अध्यक्ष ज्यू मेरो सरुवा भयो नि। तपाईंको सहयोगप्रति आभार ब्यक्त गर्दछु।” मैले बधाइ ब्यक्त गरें। कमसेकम एक जना महिला शिक्षको समस्या त समाधान भयो। समस्या समाधान गराउन सकेकोमा मैले खुशी ब्यक्त गरें र जि.शि.अ. लाई धन्यवाद दिएँ।

सुन्दरहरैंचा-६ ,दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *