लघुकथा : नाति
`अभावै अभाव भएपनि छोराछोरी हुर्काएको पत्तै भएनछ, बुढा! अर्काको काम, ज्याला, मजदुरी गरेर तिनलाई बढाउने, पढाउने तनावले बल्ल अब मुक्ति मिलेको छ।´ बुढीले बिगत कोट्याइन्।
बुढाले सही थाप्दै भने, `हो त नि! छोराछोरी पनि एक , दुई हो र? छ-छ जना थिए। मेरो इलम केही पनि थिएन। खेतीपाती, वस्तुभाउ बाहेक अरु काम गर्न जानेकै थिइनँ ।
फेरि पढेको पनि त होइन, म। कमाउन लाहुर जान पनि सकिनँ। हाम्रो न त इज्जत थियो, न त सम्मान! बाँच्नका लागि हाड मात्र घोटियो।´
` उज्यालो अनुहार लाउँदै बुढीले भनिन् , ` ऊ बेलाको गरिबी र अभावले त आज छोराछोरी खारिएछन् । हरेक दु: ख सहजै गर्न सकेका छन् । जस्तो परिवेशमा पनि सहजै घुलमिल हुन सकेका छन् ।´
पुराना कुरा सम्झिदै बुढाले भने, `हिजो हामीले गरेको दु:ख, संघर्षका ती दिन ओहो! बैराग लाग्छ। हामी नै हो त, भनेर अहिले आफूले आँफैलाई चिमोट्न मन लाग्छ।´
बुढीले थपिन्, `दु:ख गरेर पढाइएको थियो र त आज छोराछोरी कोही विदेशमा, कोही स्वदेशमै प्रगती गरेर बसेका छन्। हामी पनि सुखी भएका छौँ।´
बुढाले हाँस्दै भने , `त्यस्ता दिनदेखि यस्ता दिन पनि आउने रहेछन्। मैले त कल्पनासम्म पनि गरेको थिइनँ।´
बुढाबुढी गन्थन मन्थन गरिरहेकै बेला काखको नाति सुम्पिएर छोरा बुहारी काममा हिँडे।
बुढीले नाति खेलाउँदै भनिन् , `यसले नै गर्दा त घर उज्यालो भएको छ। साउभन्दा व्याजको माया भन्थे , हो रहेछ।
गैंडाकोट ४, नवलपुर
Facebook Comment