अन्तर्वार्ता

मधेशी जनताका अधिकार सुनिश्चितताका लागि एक ठाउँमा उभिँदै छौं : सुरेश मण्डल

यज्ञराज जोशी
२६ पुष २०८१ १४:५३

नेपाली राजनीति बेला बखत तरंगित भइरहन्छ। नेपालमा विभिन्न राजनीतिक दल टुटफुटको अवस्थाबाट गुज्रिरहेका छन्। त्यसबाट मधेश केन्द्रित राजनीतिक दल पनि अछुतो रहन सकेका छैनन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले दुई दशक लामो सफर गर्दा ६ पटक फुटको नमिठो स्वाद चाखिसकेको छ।

यसरी राजनीतिक दल फुट्दा जनताका आवाज ओझेलमा पर्दै गएका छन्। र, मधेशी दललाई सत्ता केन्द्रीत भएको आरोप पनि लाग्ने गरेको छ। यहीबीच टुक्रियका मधेशवादी राजनीतिक दल एक ठाउँमा आउने गरी संवादमा छन्। आज यी र यस्तै विषयमा केन्द्रित रहेर डिसी नेपालका लागि यज्ञराज जोशीले जसपा नेपालका सचिव एवं पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख सुरेश मण्डल संवाद गरेका छन्।

स्कुल विभाग पार्टीको महत्त्वपूर्ण विभाग हो । तपाईं स्कुल विभाग प्रमुख चयन हुनुभा’छ । जसपा नेपाल अब नेपाली राजनीतिमा कसरी अगाडि बढ्छ ?

म सक्रिय राजनीतिमा आएको दुई दशक भइसक्यो। विद्यार्थी राजनीति हुँदै म पार्टीको राजनीतिमा आएको हुँ। पार्टीको केन्द्रीय सदस्य हुँदै अहिले सचिवको जिम्मेवारी सम्हालिरहेको छु। मैले मधेश प्रदेशमा सांसद र मन्त्री भएर काम गरेँ।

मेरो रुचीको विषय अध्ययन, अनुसन्धान पनि हो। म विद्यावारिधी गर्दै छु। राजनीति गर्ने मान्छे अध्ययनशील हुनुपर्छ भन्ने मेरो मान्यता छ। राजनीति समाजसेवा र समर्पण हो। २१औं शताब्दी प्रविधिमैत्री हो। हामी राजनीति गर्ने व्यक्ति समयानुकूल डल्न र चल्न सक्नुपर्छ। यतिबेला म पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख छु। म आफ्नो इच्छाले यो विभागमा गएको हुँ। महाधिवेशनपछि पार्टीले सबै साथीहरूलाई जिम्मेवारी बाँडफाँड गर्‍यो।

सुरुमा सदस्यको रूपमा यो विभागमा आएको हुँ। विभागमा हामी १७ जना छौं। १७ जनाकै सहमतिबाट म प्रमुख चयन भएको हुँ। हाम्रो विभाग पार्टीको मस्तिष्क हो। अरु विभाग शरीरका अन्य बडिको रुपमा काम गर्छन्। यसले पार्टीको पहिचान र दर्शन तय गर्छ।

कार्यकर्तालाई कसरी अनुशासित तुल्याउने, जनताप्रति जिम्मेवार कसरी बनाउने, चेतना स्तर कसरी उकास्ने, जनताप्रति समर्पित कसरी बनाउने भन्ने काम गर्छ। पार्टीको नीति तथा कार्यक्रम, एजेन्डामा हामीले काम गर्नुपर्छ। यो ठूलो जिम्मेवारी भएकाले हामीले सोही अनुरुप काम गर्नुपर्छ।

तपाईं जत्तिको बुझेको युवा यो जिम्मेवारीमा आउँदा के-के काम गर्नुहुन्छ?

हामी निकै पुरानो राजनीतिक दल हौं। २०६३ को मधेश आन्दोलनले हामीलाई स्थापित गरिदिएको हो। यो दुई दशकमा हामीले संगठित पार्टी बनाइसकेका छौं। पार्टीलाई जिवन्तता दिन नियमित प्रशिक्षित गर्दै जाने गर्नुपर्छ। विश्व राजनीतिमा के भइरहेको छ भन्ने कुरा सबै नेता कार्यकर्तालाई बुझाउनुपर्छ। र, सोही अनुरुप चल्नुपर्छ।

हामी १७ जना बसेर पहिलो चरणको योजना बनाएका छौं। हामी १७ जनालाई सिनियर नेता र विभिन्न विज्ञबाट विविध क्षेत्रको एक सातासम्म प्रशिक्षण कार्यक्रम चलाउने योजना बनाएका छौं।

किनकि हामीले देशका विभिन्न भूभागमा पुगेर कार्यकर्तालाई विविध विषयको ज्ञान दिनुपर्ने हुन्छ। हामीले प्रशिक्षकहरूको रोस्टर बनाउने र आवस्यक पर्दा उनीहरूको विज्ञता सदुपयोग गर्ने योजना बनाएका छौं। प्रशिक्षक पार्टीभित्र र बाहिरका विज्ञ रहनुहुने छ।

टुटफुटको राजनीतिले थिलथिलो भएका मधेशवादी राजनीतिक दललाई सत्ता र शक्ति केन्द्रीत मात्रै भएको आरोपले लेखेटि राख्छ नि है!

नेपाली राजनीति सफरिङ अवस्थामा छ। एमाले, माओवादी, राप्रपा फुटेका छन्। यो समस्या सबै राजनीतिक दलमा छ।

त्यसो भए अरु फुट्दा हामी पनि फुट्नुपर्छ भन्ने हो?

त्यसो होइन। राजनीतिमा यो स्वाभाविक कुरा हो भन्ने खोजेको हुँ। नेपाली राजनीतिमा बाह्य चलखेल बढी हुन्छ। कमजोर धरातलमा देशको राजनीति छ। फुट नहुनु पर्ने हो। तर, यस्तो अवस्थामा धेरै अस्वभाविक पनि मान्नुपर्दैन। यहाँ थोरै पार्टी मात्र सिद्धान्तको आधारमा फुटेका छन्। बाँकि अवसरकै लागि फुटेका छन्। मधेशी दल पनि यही नेपालको भएकाले अन्य राजनीतिक दलभन्दा फरक छैन।

यसले त मधेशी जनताका आवाज मुखरित गर्न र तपाईंहरूलाई उद्देश्यमा पुग्न गाह्रो होला नि है?

पार्टी फुट्नु नकारात्मक नै हो। यसलाई दुखद् भन्नुपर्छ। पार्टीमा एक जना व्यक्तिको सधैँ हालिमुहाली भइराख्नुपर्ने चरित्रका कारण फुट हुन्छ। हामी त्योबाट परेसान थ्यौं। अब हामी नयाँ ढंगले जाँदै छौं। जनतासँग जसपा नेपाल अभियान चलाइरहेका छौं।

हाम्रो पार्टी फुट्दा अंक गणित र प्राविधिक रुपमा केही असर पुगेको हो। संख्या गए पनि हामी जनता गएका छैनन्। जिल्ला कार्यसमितिको एक जना अध्यक्ष वा प्रदेश समिटी अध्यक्षले पार्टी परित्याग गर्नु भएको छैन। त्यसैले पार्टी हामीसँग छ। केही सांसद फुटेर गाएका हुन्।

कुनै समय उपेन्द्र यादव भनेपछि मधेशी राजनीतिको मियोकै रुपमा बुझिनुहुन्थ्यो, कहिलेकाहीँ हामी यतिधेरै क्षयीकरण भयौ भन्ने लाग्दो हो। तपाईंहरूबीचमा त्यो चर्चा हुन्छ कि हुँदैन?

इमान्दारिपूर्वभन्दा यो छैठौं पटक पार्टी फुटेको हो। तर, ६ पटक पार्टी फुट्दा चोइटिएका साथी कहाँ छन् भनेर समीक्षा हुन्छ। सुरुमा भाग्यनाथ गुप्ता फुट्नु भयो, उहाँ राजनीतिमा हुनु हुँदैन। अमर यादव फुट्नु भएकोमा उहाँ पनि राजनीतिमा हुनुहुन्न। जयप्रकाश गुप्ता फुट्नु भयो, उहाँ पनि राजनीतिमा हुनुहुन्न।

विजयकुमार गच्छदार फुट्नु भएकोमा उहाँ राजनीतिमा हुनु नहुनुको कुनै अर्थ छैन। अंश, भागबन्डा र मधेशलाई क्षति पुर्‍याउने गरी फुट्दा जनताले साथ दिनुहुन्न। फुट्नुको कारण नेपाली राजनीतिको धरातल कमजोर हुनु, बाह्य हस्तक्षेप हुनु नै हो। उपेन्द्र यादव अहिलेको अन्य पार्टीको नेतृत्वभन्दा अध्ययनशील हुनुहुन्छ।

उपेन्द्र यादवलाई सत्ता केन्द्रित मात्रै भएको आरोप पनि लाग्छ नी? त्यसले मधेशका एजेन्डा ओझेलमा परे भनिन्छ?

हाम्रो पार्टी मधेश विद्रोहबाट आएको हो। हामी जन्मले मधेशी हो। त्यसकै आधारमा हामीलाई मधेशी पार्टी भनिन्छ। पार्टी मधेशी हो कि पहाडी हो भन्ने कुरा त मुद्दाले तय गर्छ नी। अहिले देश हाम्रै रोड म्यापमा चलेको छ। संघीयता, समानुपातिक समावेशीता हामीले ल्याएका हौं।

आरक्षण हामीले ल्याएका हौं। यी सबै कुराको अभ्यास देशमा भइरहेको छ। त्यसैले हामी राष्ट्रिय पार्टी हौं। हाम्रो अध्यक्ष राष्ट्रिय पार्टीको अध्यक्ष हो। उपेन्द्र यादव मधेशीको छोरा भएकै कारण यो मधेशीको पार्टी भनेर गलत रुपमा अर्थ्याइँदै छ। पहिला नेपालमा मधेशी भनेपछि हेपिन्थे। अहिले पहिचान भएको छ। गर्वको विषय भएको छ।

अहिले मधेशी आयोग बनेको छ। यति हुँदा पनि हाम्रो माग पूरा भएको छैन। राज्य पुनर्संरचना हुँदा सुरुमा हामीले एक मधेश एक प्रदेश भनेका थियौं। पछि संघीयता विज्ञसँग बुझ्दा धेरै ठूलो भेग हुने भएकाले दुई टुक्रामा नारायणी पूर्व झापासम्म नारायणी पश्चिम महाकालीसम्म दुई मधेश प्रदेश बनाइनुपर्छ भन्ने हाम्रो भनाइ थियो।

२०७२ को संविधानपछि ९ सरकार फेरिए। त्यसका लागि सरकारको स्थायीत्व आवश्यक छ। कमसेकम पाँच वर्ष टिक्ने सरकार बनाइनुपर्छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ। हाम्रो निर्वाचन प्रणाली निकै खर्चिलो छ। यसमा पुनर्विचार गर्नुपर्छ।

मधेशी राजनीतिक शक्ति एक ठाउँमा आउने सम्वाद भइरहेको छ, के त्यो सम्भव छ?

समग्र नेपाली राजनीति नैराश्यताबाट गुज्रिरहेको छ। देशका ठूला राजनीतिक दलका नेताहरूबाट परिवर्तन सम्भव छैन। शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै वरपर सत्ता घुमिरहेको छ। उहाँहरूबाट जनताले परिवर्तन महशुस गर्न सक्नु भएको छैन। देश साधारण खर्च धान्ने अवस्थामा छैन।

अब यी नेता राजनीतिक रिङबाट बाहिर जानुपर्छ। हाम्रो सवालका कुरा गर्दा मधेश अपहेलित छ। उपेक्षित र विभेदमा छ। समथर मधेश सम्भावनाको खानी हो। मधेशी आन्दोलनले संघीयता पायो। तर, हाम्रा अधिकार सुनिश्चित हुन सकेनन्। मधेशी पार्टीका बीचमा कुराकानी हुन थालेको छ। यो सकारात्मक हो।

हामीबीचमा पानी बाराबारको स्थिति थियो। अन्तर पार्टी समन्वयका लागि विभिन्न दलले समिमित बनाउनु भएको छ। ठूला राजनीतिक दलले संविधान संशोधनको कुरा गर्दा हामीलाई एक ठाउँमा ल्याइ पुर्‍याएको छ। हामी टुक्रिएर अधिकार सुनिश्चित गर्न दवाव दिन सकिँदैन भन्नेमा हामी सचेत छौं।

निर्वाचन आयोगले पुरानै ३ प्रतिशतको थ्रेस होल्ड राखेर गृहमन्त्रालयमा पठाएकोमा गृहले त्यसलाई थपेर ५ प्रतिशत बनाएको छ। गृहले त्यो कानुन मन्त्रालयमा पठाएको छ। कानुनले त्यसलाई सहमति दिएमा विधेयक भएर जान्छ।

त्यसमा अल्पसंख्यक, पीडितले न्याय पाउँदैनन्। त्यो पाँच प्रतिशत हुँदा हामी नै राष्ट्रिय पार्टी रहँदैनौं। त्यो हुँदा तीन पार्टी बाहेक राष्ट्रिय राजनीतिमा रहँदैनन्। त्यो आवश्यक भएमा गम्भीर छलफल गर्नुपर्छ। यी र यस्तै परिस्थितिले हामीलाई एक ठाउँमा उभ्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *