ओलीलाई नै देउवाको साथ
काठमाडौं। सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच असन्तुष्टि बढ्दै गइरहेको र सरकार हेरफेरको चर्चा चलिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भने अहिले नै एमालेसँगको सम्बन्धविच्छेद गर्ने अवस्था आइनसकेको बताएका छन्।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार आफू निकटका नेताहरूसँगको छलफलमा देउवाले यस्तो बताएका हुन्। एमालेसँगको सहकार्य कुनै पनि हालतमा नतोडिने बताउँदै उनले सरकारलाई समर्थन रहने जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने नेताहरूको जिज्ञासामा देउवाले झोक्किँदै भने, ‘कसले ढाल्छ सरकार ? म ढाल्ने पक्षमा छैन । अब केपी ओलीको कुरा हो भने उनैलाई सोध्नुस् । सरकार अहिले नै ढल्दैन ।’
देउवाले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिप्रति आफू इमानदार रहेको पनि स्पष्ट पारेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिविपरीत २०८७ सालमा संविधान संशोधन हुने टिप्पणी गरेका थिए । एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले राष्ट्रिय सभा र प्रतिनिधिसभामा दुईतिहाइ नपुग्ने भएकाले संविधान संशोधन २०८७ सालमा हुने बताएका थिए ।
सातबुँदे सहमतिमा संविधान संशोधनको विषय पनि छ । तर, सहमतिविपरीत ओलीले अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरूले नै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूले समेत सातबुँदे सहमतिविपरीत गएर ओलीले अभिव्यक्ति दिएको भन्दै गम्भीर आशंका व्यक्त गर्दै आएका छन् ।
तर, देउवाले भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले अहिले संशोधनका लागि गृहकार्य गरिने हो र सबैको सहमति नजुटे कांग्रेस र एमालेको बहुमत आएपछि संशोधन गर्ने कुरा गरेको प्रस्ट पारेका थिए । ओलीले आफूले केन्द्रीय कमिटी बैठकमा बडो प्रस्टसँग कुरा राख्दा पनि आफ्नै नेताहरूले यो विषय बाहिर ल्याएकामा भने असन्तुष्टि पोख्ने गरेका छन् ।
अहिले ओली र देउवाबीच केही असमझदारी भएको भए पनि त्यसलाई छलफलकै माध्यमबाट टुंग्याउँदै अगाडि बढ्ने बताइएको छ ।
गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिदेखि लिएर राजनीतिक दल विभाजनका लागि ल्याउन लागिएको अध्यादेश, कुलमान घिसिङलाई हटाउन खोजिएको खेलसहित अन्तर्राष्ट्रिय सम्बन्ध गिजोलिएको विषय, मुलुकको आर्थिक अवस्थालगायतका ’boutमा छलफल गर्दै सहमतिमा पुग्ने बताइन्छ ।
देशीविदेशी शक्तिले अहिलेको गठबन्धन टुटाउन खोजेको र नयाँ गठबन्धनको गृहकार्य गरे पनि तिनीहरू असफल भएका छन् । देउवाले ओली सरकारलाई नै निरन्तरता दिन खोजेको र त्यसपछि आफू सजिलैसँग प्रधानमन्त्री बन्न खोज्ने रणनीतिमा रहेका छन् ।
कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन गर्दै अगाडि बढ्ने र सहमतिअनुसार सरकारको नेतृत्व गर्न देउवाले पालो पर्खिएर बस्ने नेताहरू बताउँछन् । कांग्रेसकै केही नेताहरूले सरकारको आलोचना गरे पनि देउवा अहिले नै ओलीसँग सम्बन्ध बिगार्ने पक्षमा छैनन् । उनले आफू निकटका नेताहरूलाई पनि सहमति पालना गर्दै अगाडि बढ्ने बताउँदै अहिले नै सरकार नढल्ने जनाएका हुन् ।
Facebook Comment