सामाजिक मनोवैज्ञानिक कथा कृति विशृङ्खलित सपना : गोपी मैनाली
आफ्नो पेशावृत्ति निजामती सेवा अंगालेका गोपी मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्। उनी निजामती सेवामा रहँदा सधैँ बेदाग रहेँ। राजनैतिक कार्यकारीहरुले उनको निष्ठा र वृत्ति व्यावसायीकतालाई मन नपाराएर दपेटिए पनि सधैँ जनतालाई गुणस्तरीय सेवा सेवा प्रवाह उनको प्राथमिकतामा रहन्थ्यो। सेवानिवृत्त जीवन पनि मैनालीको निकै सक्रिय छ। उनी कुशल प्रशासक मात्र नभएर कुशल साहित्यकार एवं वरिष्ठ समालोचक हुन्।
निजात्मक निबन्धमा त आफ्नो समयलाई प्रतिनिधित्व गरिरहेका छन्। २०३८ बाट फुटकर कविता, कथा र निबन्ध प्रकाशित गरेर उनले साहित्य यात्रा थालेका थिए। ‘आँखाभरि रमिता मनभरि वेदना’ (२०६३)’ शीर्षक यात्रानिबन्ध, ‘अपेक्षा र अनुभूति’ (२०७४), शीर्षक सामयिक विषयक निबन्ध र ‘घाउ आफैलाई दुख्छ’ (२०७८)’ जस्ता ललित निबन्धका कृति उनले प्रकाशनमा ल्याएका छन्।
उनका ‘सिद्धिचरण श्रेष्ठ : कृति र प्रवृत्ति विश्लेषण (२०६८)’ र ‘अभिव्यञ्जना यात्राप्रति’ (२०७९), ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’(२०८०) शीर्षक तीन समालोचनाका कृति प्रकाशित छन्। उनको एउटा समालोचनासंग्रह र एउटा निबन्धसंग्रह प्रकाशाधीन छन्। हालै कुशल प्रशासक र समालोचक गोपी मैनालीको विशृङ्खलित सपना कथा संग्रह बजारमा आएको छ। आज डिसी नेपालका लागि मैनालीसँग यज्ञराज जोशीले पुस्तक संवाद गरेका छन्।
कृतिबारे लेखकको अनुभूति बताइदिनुस् न?
म सानैदेखि कविता लेख्थेँ। जागिरको सिलसिलामा विभिन्न जिल्लामा र देशमा पुगेँ। त्यो समयमा मैले केही आफूले भोगेका कथा, जीवनमा देखेका पात्र, उनीहरूको संघर्ष, दु:ख, मानवीय कमजोरी, मानवीय शाहस डायरीमा संग्रहित गरेको थिएँ। यस्ता कुराहरु प्राय: लेखिँदो रहेन छ।
हामी अरूको दु:खको कुरा पढ्न रुचाउने र त्यसलाई कथा भन्दा रहेछौं। हाम्रै नजिक रहेका, हामीसँगै खेलेका पात्रलाई हामीले कथाको रूपमा पहिचान गर्दा रहेन छौं। जीवनकै पात्रलाई टिपेर कथा बनाउन भनेर मैले केही कथा लेखेँ।यसमा केही कथा मेरो परिवारसँग जोडिएका छन्।
आमा बिरामी हुँदाको संस्मरणात्मक कथा छ। मसँग काम गर्ने एकजना सक्षम महिलाले पारिवारिक वेभलेन्थ नमिलेका कारण ज्यान गुमाउनु परेको थियो। विवाह गर्दा एक जना साथीको श्रीमतीले कार किन, होइन भने म डिभोर्स दिन्छु भनेर सम्बन्ध विच्छेदको अवस्थामा पुगेको कथा छ। अन्नी भन्ने बच्ची बढ्दै जाँदा घर, समाजनाता, साथी संगातिबाट असुरक्षित भएको महसुस गर्छे।
उसको उमेर बढ्दै गएपछि, अनुहार सुन्दर हुँदै गएपछि असुरक्षा फराकिँदै गएको छ। मैले यसरी संग्रहित गरेका विषय यसमा समाविष्ट छन्। मैले आफैँलाई पात्र बनाएर काभ्रेपलान्चोककोरोशी खोला परिवेश बनाएर कथा लेखेको छु। रोशी खोलामा घट्ट थियो। २०२८ सालको कुरा हो। एक दिन खोलाले गाउँ, वस्ती सबै बगाइदियो। त्यो परिबेसको कथा छ। म निबन्ध बढी लेख्न रुचाउने व्यक्ति हुँ। कतिपयले कथामा निबन्धको पक्ष पनि समेटिएको बताउनु भएको छ। कतै फ्याक्चुअल कुरा हाबी छन्।
हामीले पारिजातका कथामा यो खाले शैली पाउँछौं नि है?
एकदमै हो। पारिजात दिदीको जस्तै गरी प्रयोग गरेको छु। मैले चार निबन्धका कृति लेखे। यो कथासंग्रह भो। एउटा उपन्यास पनि लेख्दै छु। मेरो समालोचनाको दृष्टिकोणमा कथा कस्तो हुनुपर्छ, कविता कस्तो हुनुपर्छ, उपन्यास कस्तो हुनुपर्छ भनेर मैले आफ्नो दृष्टिकोणमा निबन्धात्मक शैली प्रयोग गरेको हुँ।अहिले धेरै कथा सतही रूपमा आइरहेका छन्।
तपाईंले देशका कुना कन्दरा पुग्दा हृदयमा संग्रहित गरेका खजाना शब्दहारमा गुथेर बजारमा ल्याउनु भएको छ। यसमा गहकिला कथा छन्। यत्तिका गहकिला कथा लेख्न लेखकका लागि के चाहिँदो रहेछ?
मलाई यो कुरा सामान्य लाग्छ। मैले डायरी भरेको थिए। गुल्नारा अधिक मन पराइएको कथा हो। कज्जाक केटी जापानमा पढ्दाको मेरी साथी। गुल्नारा त्यति अंग्रेजी पनि बोल्न जान्दिनथिन। उनी रसिया टुक्रिसकेपछि काजकिस्तान आस्तानाकी युवती। उसको सिरियन केटासँग प्रेम हुन्छ।
केटा सिरियाको बनअधिकृत र युवती काजकिस्थानको करको डाइरेक्टर। भूगोलले नै उनीहरूलाई विवाह स्वीकृत दिँदैन। प्रेमले त्यो स्वीकृति खोज्दैन। उनीहरू सरुवा भएर एकअर्काको देश जान सक्दैनन्। दुवै मुस्लिम हुन्। सिरियामा कडा मुस्लिम कानुन छ। काजकिस्तानमा बुर्का पनि हाल्दैनन्।
यो प्रेमको एक्टिभिटी नजिकबाट हेरे। उनीले विवाह गरेर अर्को मुलुकको नागरिक, अर्को मुलुककी बुहारी भएर जीवनको अर्को मोड शुरु गरिन र पछि प्रेम सम्बन्ध विच्छेद भयो, उनको जीवन वर्वाद भो। मलाई यो घटनाले मन छोयो। कथा लेखेँ। अल्लारे निर्णय, अपरिक्वि निर्णयमा दुई मुलुकका नागरिक कति वर्वाद भए होलान। सम्झदा पनि कति नमीठो लाग्छ। मेरा सबै कथा यसरी नै नजिकबाट नियालिएका विषयवस्तु हुन्।
पछिल्लो समयका लेखकका धेरै कथा बनावटी छन्। पात्र बनावटी छन्। तिलस्मीपना, अक्षरका उरुंग जस्तो लाग्छ। जीवन भएको कथा लेख्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो। लेख्ने रहरले नै धेरै व्यक्तिहरु कथा लेखिरहेका छन्। कथा भुलेर कथा लेखिरहेका छन्। लेख्ने त उनीहरुको स्वतन्त्रता हो तर माझिएर, परिपक्व भएर, अक्षरमा जीवन भरेर कथा लेखे हुने भन्ने लाग्छ। मैले अलिकति प्रयोग जीवनमाथि रहोस् भन्ने मनसायका साथ कथा लेखेको छु। सबैसँग संवेग, आवेग र उत्तेजना छ। उही कुरा बाहिर ल्याउने माध्यम कथा रहेछ लागेर मैले मेरो कथामा त्यही प्रयोग गरेको छु।
तपाईंको कथा संग्रहबारे गहन समीक्षा भइरहेको छ, तपाईं आफैँ कुशल समीक्षक। आफ्नो कृतिबारे यस्तो खाले समीक्षा प्राप्त भइरहँदा कस्तो अनुभूति हुँदो रहेछ?
लोकार्पणकै दिनमाअब यो संग्रह मेरो रहेन भनेको थिए। लोकापैण भएपछि, प्रकाशन भएपछि सिर्जना सर्जकको भन्दा पनि पाठकको हुन्छ भन्ने मेरो मान्यता छ। मैले मेरो सिर्जनाको आफैँ समीक्षा गर्न भएन। कृतिमा १७ कथा छन्।
सबै कथा पढ्दा म पुरानै अवस्थामा पुग्छु, कथा लेखिएको सन्दर्भमा पुग्छु। त्यसैले मैले यसलाई आत्मप्रकाशनपनि भन्ने गरेको छु। हाम्रो समाजका कुरा इतिहासमा लेखिँदैन। समाजका कुरा राम्रोसँग आउँदैन। त्यसैले मैले भावना मिसाएर आफ्ना कुरा लेखेको छु। त्यहाँ जागिरको कुरा छ, मुगु र डोल्पाको कुरा छ। जापानको कुरा छ। घर परिवारको कुरा छ।
पछिल्लो समयका लेखकका धेरै कथा लेख्नका लागि लेखिएका जस्ता, बनावटी छन्। पात्र बनावटी छन्। घटना पनि अवस्तविक छन्। तिनले जीवन र यसको अनुभूत पक्षलाई स्पर्श नै गदैनन्। त्यस्ता कथालाई तिलस्वीपना जस्तै देख्छु। फ्यान्टास्टिक पनि होइन, स्वेरकल्पना पनि होइन।कल्पनाको पनि एउटा माधुर्य जीवनसँगको सान्निध्यता हुन्छ।मैनालीका कथामा जीवनसँगको दरो नाता पाइन्छ। हाम्र वरिपरिका पात्र र घटनावृत्ति टिपेर आख्यानीकरण गर्ने काम उनले गरेका छन्।
बिमारी आमासँग सम्वाद गर्न नपाएको देखि कार्यालय परिवेशका अनुभूतिका कुरा छन्।। साथी संगातिका कुरा छन्, त्रास सन्त्रासका कुरा छन्, खुसी दुखका कुरा छन्। मलाई कहिलेकाहीँ कुनै कथालाई बढी महत्त्व दिएर कुनै कथाको कम समीक्षा हुँदा यो कथा झन् राम्रो थियो नि भन्ने लाग्छ।
तपाईंका पात्रले तपाईंसँग साक्षात्कार गरेका छन्?
एउटा पात्रले गर्न पाएन। १७ कथा उसको पनि दसैं होला शीर्षकमा छ। म घरको कौसीमा बसेको थिए। पल्लो घरमा एक जना श्रमिक दाइ अग्लो घरेको गारोमा रंग लगाउँदै थियो। मेरी श्रीमती पनि साना बच्चा लगेर माइत गएकी थिइन्। ठूलो बाबु र म कौसीमा घाम तापिरहेका थियौं।
ऊ त्यो घरमा दसैंको समयमा बाहिरबाट ताला लगाएर भित्र रंगरोगन गर्दै थियो। त्यसरी काम गरेर घरमा दसैं मनाउने उसको धोको थियो। रंग लगाउँदै गर्दा तीन तलाबाट त्यो मानिस अचानक खस्यो खस्यो। रगत बान्ता गर्याे। भित्र गएर निकाल्न सकेनौं। विचरा बित्यो। त्यो पात्रसँग साक्षात्कार गर्न सकिनँ।
ऊ विदेश गएन। गाउँको मान्छे। श्रीमती र छोराछोरीको अनुहारमा खुसी छर्न दसैंको समयमा पनि बाहिरबाट ताल्चा लगाएर भित्र काम गरिरहेको थियो। तर, दर्दनाक मृत्युवरण भयो।सम्झदा पनि कति पीडावोध हुन्छ। अरु पात्रहरुसँग मेरो साक्षत्कार थियो।
तपाईंले वस्तुपरक कथा लेख्नु भएको छ, वस्तुपरक र कल्पना सिल कथामा के फरक हुँदो रहेछ?
हामीले वस्तुपरक कथामा केही कल्पनाशील मिथक थप्छौं। पूर्ण स्वेर कल्पना छैन। यसले वास्तविक जनजीवन उठाउँछ। यसले स्थानीय रंगलाई टिप्छ, स्पर्श गर्छ। पूर्ण कल्पनामा लेख्नुभन्दा भएकै घटनामा कथा लेख्नु राम्रो लाग्यो।
मैले गुरुप्रसाद मैनाली, पारिजात, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकलका कथा मन पराउँछु। यथार्थपरक धारामा नेपालमा विकल अगाडि, मनोविज्ञानमा विश्वेश्वरप्रसाद कोइराला हिँडेको र सानो घटनामा पारिजात डुबेको पाउँछु। मेरो कृति यी सबै कुराको मिश्रण हो। यो सामाजिक मनोवैज्ञानिक कथा हो।
तपाईं शिक्षा मन्त्रालयमा सचिव पदमा रहेर काम गरिसक्नु भएको व्यक्ति, नेपालको शिक्षा प्रणालीमा हाम्रो विषयवस्तु पढाउन सकेका छैनौं नि है?
म आफैँ शिक्षा सचिव हुँदा अमेरिका र अस्ट्रेलियामा नेपाली भाषा र संस्कृति थोरै भए पनि नेपाली समुदायमा पढाउनुपर्छ भन्न खोजेकोथिएँ। केही जागरुक साथीहरूको त्यसमा रुचि रहेछ। मैले त्यसमा नेपाल सरकारको तर्फबाट इनकरेज गरेँ।
नेपाली कथाहरू विदेशमा पढाइ हुन स्तरीय र अन्य भाषामा अनुवाद भएको हुनुपर्छ। हाम्रा कतिपय कथा, काव्य निकै उत्कृष्ठ छन्। केही समय अगाडि मल्ल बन्धुका कथा, मैनालीका कथा, पुष्कर शमशेरको कथा, रमेश विकलको कथा, मेरो दाजु युवराज मैनालीको पृथक बाटो लघुकथाले धारै फरक ल्याएको छ। कथा लेखनमा नयाँ प्रवृत्ति र धार दिएको छ।
उहाँहरू कथा विश्व बजारमा मूल्यांकन हुने सामर्थ्य राख्दछन्।यी नेपाली भाषामा छन्। यी कथालाई अन्य भाषामा प्रकाशित गर्दा हाम्रो बजार वृहत्त हुनेथ्यो। बाहिर रहेका नेपाली साहित्यकारले पनि नेपाली साहित्यलाई अनुवाद गरेर विश्व बजारमा पुगाउने प्रयास गर्नुपर्छ। यसले विश्वमा साझा साहित्य संस्कृति विकासमा टेवा पुर्याउँछ।
राज्यका निकायले पनि साहित्यमा राजनीति गर्नु हुँदैन। साहित्यिक संस्थालाई नियुक्ति खाने थलो बनाइएको छ। उपलब्धिपूर्ण काम निकै कम भएका छन्। राम्रा स्रष्टालाई प्रोत्साहन पनि छैन। मूर्धन्य कृतिको अंग्रेजी अनुवाद हुनुपर्छ।
त्यस्तो गरेमा साझा प्रकाशन जस्ता संस्थाहरू पनि घाटामा जानुपर्थेन नि है?
एकदमै हो नि। साझा विशुद्ध राजनीतिको कारणले डुबेको हो। विश्वमा अंग्रेजी भाषाले साहित्यमा राज गरिरहेका छ। त्यसैले नेपाली पन विस्तारमा सबैले ध्यान दिनुपर्छ।अन्य संस्थाहरु पनि राजनीतीकरण, अझ दलीयकरण भएका छन्।
साहित्यलाई पनि विचार आस्थामा कित्ताकाट गरिएको छ। नारा जस्ता, आग्रह जस्ता, अक्षरका भारीजस्ता सिर्जना नभए हुने भन्ने लाग्छ। सिर्जनाले विशुद्ध सिर्जना वा कला भएर रहन पाउनुपर्छ।समाजमा आदर्श नभएकाहरुले अन्तरवोध नगरी कथा, कविता लेखेका छन्।
साहित्य, कला सिर्जना गर्नेहरु आफ्ना पात्र, सिर्जना जस्तै आदर्श भए हुने नि भन्ने लाग्छ। आदर्श विषय आदर्श आदर्श शुद्ध भएर बाचोस। रहरलेभन्दा सामथ्र्यले, प्रतिभाले सिर्जना होस्। सर्जकहरूले धेरै अध्ययन गरुन जस्तो लाग्छ। अरुको केही नहेरेर आफ्नो स्थिति र स्तर पनि देख्न सकिँदैन। यो कति सम्भव छ? मेरो आग्रह नै कति पढ्लान् र?
Facebook Comment