स्मरण : चेलीलाई परेको असजिलो
अहिले सम्झँदा ती चेलीलाई परेको असजिलो! अस्तिको दिन अर्थात् २४ गते बेलुका काठमाण्डौँ केटेश्वरबाट आफ्नो घरको लागि मोरङ पथरीसम्मको टिकट लिएर रात्रिकालीन यात्रा आरम्भ गरेँ। कलंकी पुगेपछि चढेका ४/५ मध्ये मेरो सिटको पछिल्तिर एकजना महिला आउनुभयो। उमेरले मभन्दा पाको लाग्ने।
न्यु डाइमण्ड नामको गाडी तुलनात्मक रूपमा निकै राम्रो र सुविधासम्पन्न रहेछ। यसमा सँगसँगै बसेको पुरुष सहयात्रीसँग अलिअलि असजिलो माने झैँ गर्दै हुनुहुन्थ्यो। निदाएपछि के के भयो थाहा भएन। मध्यरातितिर लाहान छेउछाउ पुगेपछि अलिक चिच्याउँदै दाइ दाइ यो गाडी रोकाइदिनुस् न! मानौँ केही घटना भए झैँ निकै छट्पटि पनि थियो उहाँमा यतिबेला! निन्द्रा खुल्यो, झसङ्ग भएँ। किन? के भयो र उहाँतिर हेर्दै प्रश्न गरेँ। अहँ, जवाफ आएन। शायद जवाफ दिन अफ्ठ्यारो लागेर होला। असजिलो मान्नुभएको थियो होला।
एकले अर्कालाई ठम्याउन नै मुस्किल पर्ने वातावरणले आकर्षित घना बाक्लो अँध्यारो, पूरै हुस्सुले ढोकेको अवस्था। यहाँ एकान्त होला भनेर गुहारेको, अलिक सजिलो होला कि भनेर यहाँ रोक्न भनेको नि दाइ। असह्य भयो, मेरो त फुट्न लाग्यो। कतिञ्जेल सहनु। मलिन अनुहारमा पोखिनुभयो।
कुन्नि! कतिञ्जेलदेखि उहाँलाई पिसाब लागेको रहेछ। भन्न पनि असजिलो! लाज र घीन मान्नुपर्ने- जहाँ पायो त्यहिँ पेशाव गर्न पनि असजिलो। केहीबेर कराएपछि गाडी रोकियो। उहाँभन्दा पहिल्यै केही पुरुष यात्रीहरू एकपछि अर्को गर्दै झर्नुभयो। चेलीलाई फेरि फसाद! ती पुरुष यात्रीको पछिपछि हिड्न पनि सकस भएको थियो उहाँलाई।
कुरोको चुरो पक्ष बुझ्दै जाँदा बल्ल अनुभूति गर्न सकेँ– महिलालाई शौचादिको समस्या व्यक्त गर्न, समयअनुसार शौच गर्न, ठाउँमै पिसाब फेर्न पनि कति धेरै असजिलो। तिनले नै जन्माएको पुरुषसँग नियमित हुने शारीरिक प्रक्रियालाई नियाल्न पनि लज्जित र त्रशित रहनुपर्ने।
बिडम्बना!
अझ सार्वजनिक यातायातमा त झन् कति गाह्रो। कति साह्रो। निर्धक्क स्वयंले भन्न नसक्ने र अरुले पनि सहजरूपमा ग्रहण नगरिदिने प्रकृति आफैंमा कति धेरै अप्रिय र बडो अचम्मको छ यहाँ।
मलाई लाग्यो-गाडीको चालक, सहचालक र अधिकांश यात्री हामी पुरुष नै। तिनै महिलाले कष्ट र साधनाका साथ जन्माएका, हुर्काएका, बढाएका, कखरा पढाएका हामी पुरुष। हामीबाट नै तिनले लज्जित, सशंकित र त्रसित रहनुपर्ने अवस्थाअन्त्य हुनुपर्छ। यस्तो असजिलो बेलाबखतमा हामी सबैले सहयोगी बनिदिनुपर्छ, भरसक सहजीकरण गरिदिनुपर्छ। हामी प्रत्येक वर्णित अवर्णित व्यक्ति स्वयंमा प्रत्यक्ष परोक्ष सहजकर्ता बन्नुपर्छ।
Facebook Comment