पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड अनुदान

डिसी नेपाल
२८ पुष २०८१ १६:१०

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको जनाएको छ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मको नाम सार्वजनिक गर्दै १ खर्बभन्दा माथि अनुदान प्रवाह भएको जनाएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको जानकारी दिए।

प्रत्यक्षतर्फ कृषि सहकारी र समूहलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए।

उनले कृषि अनुदान दुरुपयोग गरिएको भेटिए कारबाहीको दायरामा ल्याइएको स्पष्ट पारे। मन्त्री अधिकारीले आम जनता, सञ्चार माध्यमलाई अनुदान रकमको प्रयोगका बारेमा खोज्न र जान्न पनि आग्रह गरे।

मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश र स्थानीय सरकारबाट वितरण गरिएका अनुदान रकम नपर्ने पनि उनले प्रष्ट पारे। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ। त्यस्तै उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ यसबिचमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए।

कृषि बिमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार, पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको पनि मन्त्रालयले जनाएको छ।

विगतमा फेज आउट भएका परियोजना मार्फत पनि अनुदान रकम प्रवाह भएको भेटिएको भन्दै मन्त्री अधिकारीले सोको विवरण पनि छिटै सार्वजनिक गर्ने जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *