अस्ट्रेलियामा आफूलाई हिरासतमा राख्दा विषाक्त खाना दिइएको जोकोभिचको दाबी

डिसी नेपाल
२९ पुष २०८१ १२:२२

काठमाडौं । टेनिस खेलाडी नोभाक जोकोभिचले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा मेलबर्नको एक होटलमा हिरासतमा रहेका बेला आफूलाई विषाक्त खाना खुवाइएको दाबी गरेका छन् ।

तर, यो दाबीपछि जोकोभिचले अब आफू ‘टेनिसमा फोकस’ गर्न चाहेको बताएका छन् ।

अस्ट्रेलियन ओपन २०२५ को लागि मेलबर्नमा पत्रकार सम्मेलनको क्रममा स्थानीय पत्रकारहरूले जोकोभिचलाई यस विषयमा थप जानकारीको लागि सोधे तर उनी बीचैमा उठेर गए।

१० पटकका च्याम्पियन सर्बियाका टेनिस खेलाडी जोकोभिचको भिसा २०२२ मा कोरोना खोपको अभावका कारण रद्द भएको थियो । त्यसपछि उनलाई अष्ट्रेलियाको मेलबर्न सहरबाट देश निकाला गरिएको थियो ।

अस्ट्रेलिया सरकारले त्यहाँका जनताको स्वास्थ्यको कारण देखाउँदै नोभाक जोकोभिचको भिसा रद्द गरेको थियो ।

जोकोभिचले जीक्यु म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफूलाई विषाक्त खाना खुवाइएको बताए ।

उनले भने, “मैले महसुस गरें कि मेलबर्नको होटलमा मलाई विषालु चीज खुवाइयो। मैले वास्तवमा धेरै धातु खाएँ। मैले धेरै सिसा खाएँ।”

अष्ट्रेलियाको गृह मन्त्रालयले यस विषयमा बीबीसी स्पोर्ट्सलाई भन्यो, “गोपनीयताको कारणले गर्दा हामी त्यस्तो कुनै पनि व्यक्तिगत मामिलामा प्रतिक्रिया दिन सक्दैनौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *