शेख हसिनाका कारण बेलायतकी मन्त्रीले आफ्नो पद किन गुमाइन् ?

डिसी नेपाल
२ माघ २०८१ ११:२४

काठमाडौं । बंगलादेशमा आफुमाथि लागेको भ्रष्टाचारको अनुसन्धानका लागि बढ्दो दबाबका कारण बेलायती सरकारकी मन्त्री ट्युलिप सिद्दिकले राजीनामा दिएकी छन् । उनी अर्थ मन्त्रालयमा ब्रिटिश फाइनान्सियल सर्भिसको जिम्मेवारीमा थिइन् ।

सिद्दिकको स्थानमा अब एम्मा रेनोल्ड्सलाई यो मन्त्रालयको जिम्मेवारी दिइएको छ । गत वर्ष बंगलादेशको प्रधानमन्त्री पदबाट हटाइएकी शेख हसिना ट्युलिप सिद्दिककी ठूली आमा हुन् ।

बेलायती प्रधानमन्त्रीका सल्लाहकार सर लोरीले सिद्दिकको मुद्दामा आफूले ‘अनियमितताको प्रमाण’ फेला नपारेको बताए। तर, आफ्नी ठूली आमासँगको सम्बन्धका कारण सिद्दिक आफ्नो प्रतिष्ठामा पर्न सक्ने जोखिमप्रति बढी सचेत नहुनुलाई उनले ‘खेदजनक’ भनेका छन् ।

सिद्दिकले भनेअनुसार उनले आफ्नो पदमा निरन्तरता दिनुले सरकारको लागि “कठिनाई सिर्जना गर्नेछ”। तर उनले आफूले कुनै गल्ती नगरेको दाबी गरेकी छिन् ।

सिद्दिकको राजीनामा स्वीकृत गर्दै बेलायती प्रधानमन्त्री कियर स्टारमरले उनको लागि ढोका सधैं खुला रहने बताएका छन् ।

मन्त्री पदमा रहँदा ट्युलिपको काम युनाइटेड किंगडम (बेलायत) को वित्तीय बजारमा भएको अनियमिततालाई सम्बोधन गर्ने पनि थियो । गत महिना ट्युलिपको नाम अनुसन्धानमा आएको थियो जसमा उनको परिवारले बंगलादेशका पूर्वाधार परियोजनाहरूबाट ३.९ बिलियन पाउण्डसम्म हिनामिना गरेको दाबी गरिएको थियो।

ट्युलिप शेख हसिनाकी बहिनी रेहानाकी छोरी हुन् । शेख हसिना बंगलादेशकी पूर्व प्रधानमन्त्री र अवामी लिगकी प्रमुख हुन्। तर गत वर्ष पदबाट हटाइएपछि उनी देश छाडेर भारत आएकी थिइन् ।

सिद्दिक लण्डन ह्याम्पस्टेड र हाईगेट सीटबाट लेबर पार्टीकी सांसद हुन्। यसअघि शेख हसिनासँग सम्बद्ध व्यक्तिहरूले लन्डनमा सम्पत्ति प्रयोग गरेकोमा उनीमाथि पनि कडा छानबिन भएको थियो।

फाइनान्सियल टाइम्सले एक रिपोर्टमा शेख हसिनाको सरकारसँग सम्बद्ध व्यक्तिले सिद्दिकलाई किंग्स क्रस क्षेत्रमा सम्पत्ति दिएको दाबी गरेको थियो ।

तर, गत हप्ता मेल अनलाइनको रिपोर्ट अनुसार सिद्दिकले सन् २०२२ मा यो फ्ल्याट उपहारस्वरूप पाएको दाबीलाई अस्वीकार गरेकी थिइन् । सिद्दिकले यो फ्ल्याट उनका आमाबुवाले किनेको बताएकी थिइन् । सिद्दिकले पत्रिकाले समाचार छापे कानुनी कारबाही गर्ने धम्की समेत दिएकी थिइन् ।

तर लेबर पार्टीसँग सम्बद्ध स्रोतहरूले पत्रिकालाई बताएअनुसार यो फ्ल्याट सिद्दिकलाई उनकी ठूलीआमासँगको सम्बन्ध रहेका सम्पत्ति विकासकर्ताले पहार दिएका थिए ।

सिद्दिकले यस विषयमा छानबिनको जिम्मेवारी प्रधानमन्त्रीका सल्लाहकारलाई दिएकी थिइन् । यसपछि सर लौरीले आठ दिनसम्म यस विषयमा अनुसन्धान गरे।

आफ्नो रिपोर्टमा लौरीले भनेका छन्, “सिद्दिकले लामो समयसम्म उनलाई किंग्स क्रसमा उनको फ्ल्याट कसको हो भनेर थाहा नभएको स्वीकार गरिन् । यद्यपि त्यो समयमा उनले आफूलाई उपहारको रूपमा दिइएको जग्गाको रजिस्ट्री फारममा हस्ताक्षर गरिसकेकी थिइन् ।”

उनले भने, “सिद्दिकलाई उनका आमाबुवाले यो फ्ल्याट पहिलेको मालिकबाट किनेर उपहार दिएका थिए भन्ने लागेको थियो ।” पत्रमा लौरीले सञ्चारमाध्यममा आएका सबै समाचारको विस्तृत छानबिन गर्न नसक्ने लेखेका छन् ।

उनले लेखे, “यद्यपि, लन्डनमा सम्पत्तिको स्वामित्वको सम्बन्धमा सिद्दिक वा उनका पतिले गरेको काममा मैले अनियमितताको प्रमाण फेला पारेको छैन, जुन विषय प्रेसको केन्द्रबिन्दु बनेको छ।”

टुलिप सिद्दिक सन् २०१५ देखि लेबर पार्टीको सांसद हुन् । यसअघि उनी ह्याम्पस्टेड र किल्बर्नबाट सांसद थिइन् ।

गत वर्ष बेलायतमा लेबर पार्टीले सरकार गठन गर्दा सिद्दिकलाई अर्थ मन्त्रालयमा इकोनोमिक मन्त्रीको जिम्मेवारी दिइएको थियो । बेलायतको वित्तीय क्षेत्र यस मन्त्रालयको जिम्मेवारीमा आउँछ।

जनवरी १४ मा राजीनामा दिनुअघि सिद्दिकले आफूले जे गरेकी थिइन् त्यो सार्वजनिक भएको र आफ्ना अधिकारीहरूको सल्लाहमा गरेको बताएकी थिइन् ।

सिद्दिकका बुबा बंगलादेशको राजधानी ढाका विश्वविद्यालयका प्राध्यापक थिए। उनकी आमा र शेख हसिनाकी बहिनी रेहाना शेखलाई उनी सानै छँदा बेलायतले शरण दिएको थियो।

सिद्दिकका आमाबुवाले लन्डनमा भेटे र त्यहीँ विवाह गरे। पछि दुवै जना परिवारसँग ह्याम्पस्टेडमा बस्न थाले। सिद्दिक बाहेक उनका एक दाजु र कान्छी बहिनी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *