निर्माण व्यवसायी महासंघको आन्दोलन घोषण, राजधानी प्रवेश गर्ने नाका ठप्ने पार्ने चेतावनी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाई नगरेको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले १४ बुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिँदै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो।
मागबारे माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धीत मन्त्री, प्रदेश मुख्यमन्त्रीलगायतलाई ज्ञापन पत्र बुझाइने महासंघले जनाएको छ।
माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतीघरमा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाका ठप्प पार्ने महासंघले चेतावनी दिएको छ।
त्यसपछि पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सवै खालका निर्माण कार्य ठप्प पारि आन्दोलनलाई शसक्त पार्ने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। उनले सरकारले नै प्रयाप्त बजेट बिनियोजन नगरेका कारण आयोजनाको म्याद थप गर्नुपर्ने अवस्था आए पनि त्यसको दोष निर्माण व्यवसायीलाई लगाउने गरेको धारणा राखे। त्यस्तै भुक्तानीका विषयमा रहेका समस्याका बारेमा पटक पटक आश्वासन आए पनि समधान हुन नसकेको उनले बताए।
गत पुस २७ गते राजधानीमा निर्माण उद्योगका विद्यमान समस्याबारेमा देशभरका निर्माण व्यवसायीको उपस्थितिमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले आन्दोलनका चरणवद्ध कार्यक्रम गर्ने निर्णय गरेको थियो।
बिनाकारण सिमेण्ट साथै डण्डीलगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानीको समस्या, सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता, निर्माण व्यवसायीलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयनलगायत विषयमा महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।
Facebook Comment