निसमीक्षा : धुर मरदे, रजेशवा !

खेमराज पोखरेल
५ माघ २०८१ ७:१७

संयोग 

वरिष्ठ साहित्यकार राजेश खनालद्वारा लेखिएको संस्मरणसङ्ग्रह ‘घुरको धुवाँ’ भित्र छु यति बेला।

सम्झिरहेको छु, ‘घुरको धुवाँ’ शीर्षकको संस्मरणसङ्ग्रह प्रकाशित भएका खबरहरू सञ्जालमा आइरहन्थे। गइरहन्थे। कृतिशीर्षकभित्र रहेको ‘घुर’ शब्दले तानेको तान्यै गरेथ्यो। म नेपाल गएका बखत संस्मरणकार राजेश खनालसँग थेत्तर भएर मागेको मागै गरेँ ‘घुरको धुवाँ’।

हस्ताक्षरसहित पाएँ। पढेँ। पिरोल्नु पिरो। गर्नु गर्यो। मन मडारिएर आयो। लुटपुटिएँ ‘घुरको धुवाँ” को पुतपुतिएको चित्रभित्र। घरी त्यसभित्र हराएँ, घरी त्यसभित्रको चेतसँग डराएँ, घरी जीवन सम्झेर लरबराएँ। त्यसैले केही लेख्ने जमर्कोमा छु।

कृतिको आवरणमा घुरको धुवाँ पुतुताइ रहेको छ। पश्च भागमा काँस झैँ फुलेका छन् कृतिकार राजेश। कृतिको नोस्टाल्जिकपनमा मक्ख्रिएका छन् घागडान लेखक धीरेन्द्र प्रेमर्षि र श्रीओम श्रेष्ठ रोदन। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा २०८० सालमा प्रकाशित भएको यो कृतिमा आख्यान चुली डा. राजेन्द्र विमल ‘घुरको धुवाँ’ मा रङ्गमगिएको एउटा ‘म’ शीर्षकमा पोखिएका छन्।

यो भूमिकामा कृतिअन्तर्यको दर्शिएको छ। दर्शनसमेत खप्टिएको छ। किरण थापाको प्रकाशकीय पनि नोस्टाल्जिक छ। ‘मैले तापेको घुर’ शीर्षकमा कृतिको रचना गर्भलाई उदारेका छन् कृतिकारले। त्यसपछि अठार ओटा निबन्धको सूची राखिएको छ।

व्यक्तिकृति 

संस्मरणकार राजेश खनाल मेरा लगौँटिया यार होइनन्। बाल्यकालीन जीवनका जिजीविषाका जँघार सँगै तरेका होइनौ हामीले। उनी महोत्तरीको जलेश्वरमा जन्मे। सिराहाको भलुवाहीसँग सम्मोहित भए। म सप्तरीमा जन्मेँ। तर उनका र मेरा बीचमा अवसरका हिसाबमा धेरथोर फरक भए पनि जन्मेको, हुर्केको, बढेको, पढेको, देखेको भौगोलिक, सामाजिक, सांस्कृतिक चेत लगभग एकै खालको हो।

हामीले तापेको घुर एकै खालको हो। एउटै यामको पनि हो। त्यसैले ‘घुरको धुवाँ’ भित्र जब जब विगत सम्झेर राजेश नोस्टाल्जिक बन्छन्, म सँगैसँग नोस्टाल्जिक हुन्छु। मलाई लाग्छ, म त्यही राजेश खनाल हुँ। तर यथार्थ फेरि त्यो होइन। म चाहेर पनि राजेश बन्न सक्दिनँ। कृतिभित्रको त्यो नोस्टाल्जिक उचाइ छुन सक्दिनँ।

शीर्षक 

यो आलेखको शीर्षक ‘धुर मरदे, रजेशवा !’ ले त्यति स्तरीय अर्थ दिन्न। मैथली भाषामा यस्ता शब्द एकदम हियाउने अर्थमा प्रयोग हुन्छ। कि त लगौँटिया यारी दोस्तीमा प्रयोग हुन्छ। त्यस्तो यारीदोस्ती जहाँ यारका केही अवगुण देखिन्न। र, बोलीचाली सम्बोधन भने एकदम कृत्रिम हुन्न। साँच्चै यारले गर्ने गाली प्रिय हुन्छ।

बाल्यकालका साथीले नै यस्तो भाषाले सम्बोधन गर्छन्। तर म त राजेशको त्यो खालको यारदोस्त होइन। पछिल्ला कालखण्डमा औपचारिक मित्र भएका त हौँ हामी। तर जब म ‘घुरको धुवाँ’ पढ्न थालेँ, म नोस्टाल्जिक भएँ र मेरो आत्माले भन्यो “खेम ! तेरो जन्माइ, हुर्काइ, बढाइ आदि सवै कुरा प्राविधिक हुन्। परिवेशीय हुन्।

तर जब तँ ‘घुरको धुवाँ’ भित्र पुग्छस्, राजेशसँग समाहित हुन्छस् भने तँ कसरी राजेशको यारदोस्त होइनस् ?’। मेरै आत्माको यो आवाजले म वशीभूत भएँ र एकदम यारदोस्तलाई गरिने सम्बोधन ‘धुर मरदे, रजेशवा !’ शीर्षक छान्न पुगेँ। मेरो शीर्षक रखाइ हियाउने अर्थमा भने कीमार्थ होइन। यस दुस्साहसका लागि संस्मरणकार राजेश खनाललगायत सवै जनसँग क्षमा माग्छु।

‘घुरको धुवाँ’ भित्र अठार ओटा संस्मरणात्मक आलेखहरू सङ्गृहीत छन्। प्रधान रूपमा संस्मरणको कार्यपीठिका महात्तरीदेखि सप्तरीसम्म रहेको छ। सालाखाला २०३५ साल तिरको तराईमधेशको समययाम बोकेको छ। छिटफुट रूपमा काठमाडौँलगायतका अन्य ठाउँ पनि छन्।

महोत्तरीको जलेश्वरको घरमा जन्मे। भलुवाही सिराहामा रहेको मामलीमा हुर्कै। पिताको जागिर सरुवाका क्रममा त्यतै त्यतै पुगे। वर्तमानका दलानमा उभिएर तिनै बाल्यकालका दिमागभित्र बसेका पत्रे घटनाहरूलाई सम्झे। टिपे। लेखे। र, नोस्टाल्जिक भए। यही नोस्टाल्जिकपन नै कृतिको गुढ रहस्य हो। गुढ यथार्थ हो।

के हो नोस्टाल्जिया ?

सन १६८८ मा जोहान्स होफरले होमसिकले दिने प्रताडनाका लागि नोस्टाल्जिया शब्दको विनिर्माण गरेका थिए। आफ्नो ठाउँ छोडेर अर्काको मुलुकमा जाँदा हुने होम सिकका कारणले हुने मेन्टल डिजअर्डरका रूपमा भएको थियो। तर अब समयको विकासका सन्दर्भमा नोस्टाल्जिया भन्नु मेन्टल डिजअर्डर होइन।

विगतका घटनालाई सम्झना गर्दै सेन्टिमेन्टल हुनु नोस्टाल्जिया हो। नोस्टाल्जियाको प्रधान लक्षण रमाउनु हो। हो, यो कृतिभरि कृतिकार राजेश खनाल आफ्नो विगत सम्झेर रमाएका छन्। रमाउनु उनको प्रमुख अभिध्येय रहेको छ।

यसो भएपछि ‘घुरको धुवाँ’ भित्र कृतिकार राजेश खनाल हुर्केको खाँटी मधेशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, वालापन, मनोरञ्जन, खानपिन, रहनसहनका सुललित पुञ्ज प्रवाहित भएका छन्।

डिबिया संसकृति

राजेशले कृतिभित्र महोत्तरीदेखि सप्तरीसम्मको संस्मरणीय यात्रा गरेका छन्। त्यो बेलाको सामाजिक चेत, परिवेश, अवस्था तथा उपलब्धताको चित्रण गरेका छन्। तिनताक बिजुली बत्ती थिएन। डिबियाले काम चलाउनु पथ्र्यो। यो मधेसको कुरा हो। पहाडमा त अझ दियालोले काम चलाउनु पथ्र्यो। हो राजेश खनालको बाल्यकाललाई डिबियाकालीन भन्न सकिन्छ।

मट्टीतेलबाट बल्ने डिबियाको सलेदोबाट निस्कने बत्तीको प्रकाश र त्यसले फ्याँक्ने ध्वासेमोसो नाकभरि पसेर हैरान हुन्थ्यो। तर कसले गरोस् परवाह ! कसै कसैका घरमा लालटिन र कार्यक्रमहरूमा पेट्रोम्याक्स सभ्यता थियो। यसलाई कृतिभित्र सुन्दर र आकर्षक तरिकाले प्रस्तुत गरिएको छ।

मनोरञ्जन 

कृतिभित्रका संस्मरणभित्र तराईमधेशको तत्कालीन मनोरञ्जनका पाटाहरूलाई विशेषत उठाइएको छ। रामलीला, नौटङ्की, थेटर, टुरिङ टाकिजको कुराहरू परेका छन्, जहाँ राजेश खनाल मात्र होइन, मलगायत तराईमा त्यो बेला हुर्केका दामलहरूको संस्मरण सलल बग्छ। ती सवै सम्झिन्छन्।

अनुभूत गर्छन्। र, नोस्टाल्जिक बन्न पुग्छन्। यी कुराको संस्मरणले तत्कालीन समाजको मनोरञ्जनको अवस्थालाई मात्र उजागर गर्दैन, परिवेशीय चेतको पनि व्याख्या गर्छ। भारतबाट ल्याइएका र त्रिपाल तथा सामियानाभित्र सञ्चालन हुने टुरिङ थिएटरका कलाकार बाईजीका उत्ताउला नाच त्यो बेला कुर्कुरे बैँसका लागि मात्र होइन, वयस्कान्मुख व्यक्तिका लागि पनि कुत्कुत्याउने सामग्री थिए।

यी बाईजीका नाच हेर्न भने पैसा तिर्नु पथ्र्यो। खास गरेर नौटङ्की नै तत्कालीन तराईको मनोरञ्जनको प्रमुख आधार थियो। अल्लाह रुदल र तोता मैनाकी कहानी, रामायण, हरिश्चन्द्रका कथामा विशेष गरेर नौटङ्की देखाइन्थ्यो। रामलीला खुला चौरमा काठको चौकी जोडेर सानो मञ्च बनाएर देखाइन्थ्यो।

रामलीलाको अन्त्यमा आरतिको थाल घुमाइने र दर्शकले गच्छेअनुसार दान दिने गरिन्थ्यो। यसबाहेक माला उठाउने प्रचलन थियो। माला उठाउने व्यक्तिले एक दिनको खाना, खाजा तथा समग्र खर्चको व्यवस्था गर्नु पथ्र्यो।

नौटङ्कीका लागि नजिकै सीमावर्ती भारतबाट हिन्दी भाषामा लेखिएका नाटकहरू हुन्थे भने तिनलाई नेपालीमा अनुवाद गरेर भए पनि नौटङ्की देखाइन्थ्यो। कृतिभित्र उल्लेख भएका यी तथ्यले तराईमधेशको सभ्यता, संस्कृति तथा मनोरञ्जन प्रवाह गरको छन् र जसको अनुपस्थितिले आज समवयी दामल नोस्टाल्जिक बन्न पुगेका छन्।

त्यो बेला तराईको सभ्यतामा सिनेमा मोह पनि प्रवल थियो। सीमावर्ती भारतमा गएर सिनेमा हेर्नेदेखि लिएर मेला लागेका बखत तराईका गाउँले शहरमा टुरिङ टाकिज पुर्याएर सिनेमा देखाइन्थ्यो। सिनेमाका डायलग कण्ठ हुन्थ्यो।

यो कुरा भनेको तत्कालीन तराईको मनोरञ्जनका अवस्था प्रष्ट पार्नु हो। यसबाहेक संस्थागत रूपमा मन्दिर तथा घरमा गाइने भजन पनि मनोरञ्जनको साधन रहेको कुरा कृतिभित्र प्रष्ट पारिएको छ।

खैनी संस्कृति 

नेपालको तराई क्षेत्रले खैनी संस्कृतिका रूपमा पनि नाम कमाएको छ। सीमावर्ती क्षेत्रमा रहेको खैनी खाने अम्मलको प्रभाव नेपालको तराईमा हुनु स्वाभाविक हो। तिनताक खैनी माडेर नाकमा नस हाल्ने प्रचलन पनि थियो।

घरघरमा खैनी खाने, खैनी माड्ने, खैनी माग्ने प्रचलन भएको संस्कृति देखिन्छ। हजुरबाले राजेशलाई खैनी माड्न लगाउने गरेको संस्मरण र त्यसले बनाएको नोस्टाल्जिक वातावरण कृतिभित्र रहेको छ।

घुर संस्कृति 

राजेशले आफ्नो संस्मरणमा घुरलाई महत्त्वपूर्ण तरिकाले उठाएका छन्। तराईको सभ्यताको आधार स्तम्भका रूपमा घुर संस्कृतिलाई प्रष्ट पारेका छन्। आफ्ना घरआँगनअगाडि झ्यासझुस भेला पारेर बालिएको आगो, जसबाट धुवाँ पुतपुताइरहन्छ, त्यसलाई घुर भनिन्छ।

कृतिको आवरण पृष्टले घुरको आकृति प्रष्टसँग देखाएको छ। हरेक घरपरिवारका डेउडी याने दरबज्जामा कुनै भेदभाव नगरी घुर बालिन्थ्यो। यो घुर आगो ताप्ने एउटा मेलो पनि थियो। गाउँका मान्छे भेला हुने एक चौतारो पनि थियो।

देशविदेशका खबर सुन्ने-सुनाउने सूचनाकेन्द्र पनि थियो। रमाइलो त त्यसै पनि थियो, त्यसमाथि केटाकेटीहरूको ट्युसन केन्द्र थियो। गाउँको पञ्चेती गर्ने थलो पनि थियो। प्रमुख कुरा त घरभरिको झ्यासझुस, फोहोरफाहर, कसिङ्गर डढाएर खरानी बनाउने प्रविधि पनि थियो। राजेश खनालले यो कृतिका माध्यमबाट घुर तापे। हामीलाई पनि तपाए। समग्र तराईजनलाई घुर संस्कृतिको अनुभूत गराए। र, रमाए।

खानाखाजा 

कृतिभित्र तत्कालीन तराईमा प्रचलित खाजा प्रणालीलाई पनि मजाले उजागर गरिएको छ। कलौ यानी खाजाका रूपमा मडुवा (कोदो) को सुकेको रोटी, बासीभातमा करु तेल र नुन, प्याज मिसाएर खाने प्रचलन विशिष्ट थियो तराईमा। अन्धड (आँधीहुरी) ले झारेका आँपको टिकुला अर्थात् चिचिला आँपलाई अचार बनाउने संस्कृति तराईको मौलिक हो।

अन्धडमा झरेको टिकुला टिप्नेको भीडको चर्चा कृतिभित्र छ। टिकुला आपका खट्टाई, थेबे, खटमिट्ठी तथा फक्का अचारको महत्त्व निकै छ। आँपको याममा आँपकै खाज, खाना र फेरि खाजा भएको कुरा उल्लेख गरिएको छ।। आँप पाक्ने याम तराईमा एउटा हषर््ा, एउटा अवसर, एउटा स्वाद र एउटा जिन्दगी थियो। तराईको आँप महिमा वर्णन गरेर नै सकिन्न।

यसैगरी तराई क्षेत्रमा रहेका विशिष्ट खाद्य पदार्थ मुरही, कचरी, परोरको तरकारी, कुर्थी (गहत) को दाल,

घुग्नी, पुडी जिलेबी आदिको स्वादले तराई छोडेका म तथा राजेश जस्ता दामललाई नोस्टाल्जिक बनाउँछ। यो कुरा राजेशको कृति ‘घुरको धुवाँ’ मा अभिव्यक्त भएको छ।

शिक्षा

कृतिले तत्कालीन तराईमा रहेको शैक्षिक अवस्था र चेतको बारेमा पनि अभिव्यक्त गरेको छ। स्कुलमा सरहरूको ताडना छ। डर, त्रासको कहरको चित्र चित्रित भएको छ। राजेशसँग शिक्षा आर्जन गर्ने क्रममा मधेसको होस्टल बसेको अनुभव पनि छ।

तत्कालीन मधेसमा भारतका जासुसी तथा सामाजिक प्रेमिल उपन्याउस पढ्ने गरिने प्रचलनको प्रसङ्ग प्रस्तुत गरिएको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपले तराईमधेशका व्यक्तिलाई शिक्षा तथा साहित्यतिर डोर्याउने यिनै हिन्दी पत्रपत्रिका तथा साहित्य नै थिए।

दशैँ 

कृतिभित्र मधेसको दशैँको चर्चा छ। विशेष गरी सिराहाको भलुवाहीमा मनाउने गरेको दशैँको सम्झनाले कृतिकारलाई नोस्टाल्जिक बनाएको छ। दशैँमा भलुवाहीमा हुने लिङ्गे पिङको संस्मरण गरिएको छ।

दशैँका बखत स्थानीय तथा बाहिरका कलाकारबाट देखाइने नौटङ्कीको संस्मरण गरिएको छ। किनभने मधेशमा मूलतः पहाडे जनसमुदायले मात्र दशैँ मान्ने परम्परा भएकाले परम्परागत लिङ्गे पिङ दुर्लभ हुन्छ। त्यसैले उनको घर महोत्तरीको जलेश्वरमा पिङ हालेको सम्झना छैन कृतिकारलाई।

आफन्तको स्मरण 

कृतिकार कृतिभित्र आफ्नो वाल्यकालमा आएका सम्पर्क भएका आफन्त साथीभाइलाई अग्घोरै सम्झेका छन्। उनका मामाहरू प्रा.डा. अञ्जनीकुमार शर्मा, डा विमल शर्मालगायत सुन्दर मामालाई पनि अत्यधिक सम्झेका छन्। नौटङ्कीमा सँगै भाग लिएका साथीभाइलाई सम्झेका छन्। यस मामलामा उनको स्मरण शक्ति निकै तन्दुरुस्त भएको अनुभूत हुन्छ।

जनकपुर जयनगर रेलवे 

नेपालको तराई क्षेत्रमा जनकपुर बजारदेखि सिराहाको बोर्डर जयनगरसम्म चल्ने जनकपुर—जयनगर रेल्वे पनि तराईमा सम्झन योग्य कुरा हो। सिराहा तथा जनकपुरका वासिन्दाका लागि यो रेल्वे मिथक झैँ फैलिएको घटनाक्रम पनि हो। यससँग जोडिएर गरिएको सम्झना निकै सम्झन योग्य छ।

राजधानीमा डेरा सार्ने 

फेरि समयको फेर समाएर राजेश काठमाडौँ पुग्छन्। त्यहाँको अलग परिवेश, अलग सभ्यतामा रमाउन उनलाई निकै समय लाग्छ। राजधानीमा डेरा सार्ने समस्या भोगेका राजेश त्यसै त्यसै काठमाडौँसँग दिक्क मान्छन् र तत्क्षण तराईलाई सम्झन्छन्। तराईसँग नोस्टाल्जिक हुन्छन्।

विशेषता 

यो कृतिका विशेषता केलाउने हो भने यसलाई तराईमधेस दर्पण भन्न सकिन्छ। खासगरी महोत्तरी, जनकपुर, सिराहा, सप्तरीसँग आबद्ध भएर त्यस क्षेत्रको सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक परम्पराको दस्ताबेज भएर आएको छ कृति।

यसलाई कृतिको पश्च भागमा उल्लेख भएको धीरेन्द्र प्रेमर्षिको शब्द ‘सङ्ग्रहको प्रमुख वैशिष्ट्य यसको आञ्चलिकता हो। निबन्धहरूमा मिथिला—प्रदेशको सोच, शैली, संवेदनाको सुन्दर समन्वय पाइन्छ’ लाई सापट लिने हो भने कृतिको विशेषता प्रष्ट हुन्छ।

यसबाहेक कृतिकार राजेश खनालको विशेषता भनेको सभ्यता, संस्कृति तथा प्रचलनमा मात्र आञ्चलिकता होइन; उनको भाषामा पूर्ण रूपमा आञ्चलिकता पस्किनु हो। तराईमधेशमा पहाडे मूलले बोल्ने नेपाली भाषा (भाषिका) लाई जस्ताको तस्तै प्रयोग गर्नु उनको वैशिष्ट्य हो। अर्थात् कृतिको वैशिष्ट्य हो।

तराईमधेशमा विशिष्ट रूपमा प्रयोग हुने सांस्कृतिक शब्दहरूको चयन गरिएको छ। उनले प्रयोग गरेको भाषामा विशुद्ध अग्र्यानिकता, स्थानीयता तथा आञ्चलिकताको प्रयोग भएको छ। यो कुराले कृतिलाई पठनीय, स्तरीय तथा विशेष मात्र बनाएको छैन, नोस्टाल्जिक पनि बनाएको छ।

उपसंहार 

यो कृतिका माध्यमबाट संस्मरणका प्रभेदहरू छुट्याउन सकिन्छ। व्यक्तिको जीवनी संस्मरणमा कृतिकार प्रधान रूपमा रहन्छन्। यात्रा संस्मरणमा यात्रा प्रधान हुन्छ। त्यसैगरी घटना संस्मरणमा भने घटनाका पछिपछि कृतिकार कुद्छन्।

फरक पत्ता लगाउने यही एउटा तरिका हो। यो कृति राजेश खनालको जीवनी होइन। उनले भोगेको जीवनका ससाना घटनाहरूको संस्मरण हो। ती ससाना घटनाहरूका पछिपछि राजेश खनाल लुरुलुरु हिँडेका मात्र हुन्। फड्को मारेका मात्र हुन्।

अतीत प्रतिको सम्मोहनको दर्शन नयाँ होइन। हरेक मान्छेका अतीत हुन्छन्। र, ती अतीतमा ऊ रमाउँछ। अतीतमा भएको नराम्रो वा असफलतामाथि पनि ऊ आनन्दित हुन्छ। किनकि अब ती कहाली लाग्दा घटनाहरूले उसलाई केही लछापार्टो लाउँदैनन्। त्यसको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक मूल्य पनि चुकाउनु पर्दैन।

त्यसो भएकाले सक्कली संस्मरण इतिहासको दर्शनमा आधारित हुन्छन्। इतिहास हुन सत्य चाहिन्छ, सत्य नभई इतिहास हुन्न। इतिहासलाई प्रमाण चाहिन्छ। इतिहास तथा संस्मरण दुवैमा घटना तथा सो घटनाको सत्यतथ्य वयान हुन्छ। इतिहासमा प्रमाण हुन्छ। संस्मरणमा प्रमाण त हुन्न, तर अप्रमाणीय इतिहास हो। किनकि संस्मरणकारले उसको अनुभूतिजन्य सत्य मात्र लेख्छ। त्यसैले राजेश खनालको यो ‘घुरको धुवाँ’ तराईमधेशको तत्कालीन समयको अप्रमाणीय तर सत्य इतिहास हो।

म यसो किन पनि भनिरहेको छु भने समाजलाई ऐतिहासिक विकासवादी सिद्धान्तका आधारमा हेर्दा कुनै पनि समाज एकै नासले बसिरहँदैन। एउटै अवस्था तथा मान्यतामा अडिग रहन सक्दैन। त्यसैले एउटै समाजमा बसेका भनिएका अलग अलग पुस्तासँग अलग अलग अवसर, अनुभूति र अभिरञ्जना हुन्छ।

र, अघिल्लो पुस्ताले बेहोरेको सभ्यता, संस्कृति पछिल्लो पुस्तामा आइपुग्दा परिवर्तन भएर हराएर जान्छ। समाजको आवश्यकताले नयाँ दृष्टिोकोण बनाइ दिन्छ। नयाँ यथार्थले पुरानो मान्यतालाई प्रतिस्थापन गर्छ। यो चक्रका आधारमा हेर्यो भने अब राजेश खनालको नोस्टाल्जिया भएको गाउँमा नौटङ्की देखाइदैन।

बाईका नाच देखाइँदैन। व्यापक रूपमा धोतीकुर्ता लगाइँदैन। यस्तै उनले देखेको-भोगेको जीवन अब नोस्टाल्जिया मात्र भएको छ। तर म भने निकै नोस्टाल्जिक भएको छु। बाल्यकालीन जीवनलाई मष्तिष्कका पर्दामा राखेर सिनेमा हेरेझैँ लागेको छ मलाई ‘घुरको धुवाँ’।

राजेश यति नोस्टाल्जिक भएका छन् कि कृतिभरि बाढी जस्तै बगेका छन्। वर्षा झैँ पोखिएका छन्। त्यसैले उनको संस्मरणमा धेरै घटना तथा परिवेश दोहोरिएको, तेहरिएको छ। एउटै प्रसङ्ग लाई पनि धेरै पाठहरूमा अभिव्यक्त गरेका छन्। सामान्यतया संस्मरणात्मक निबन्धको यो आम दोष हो।

राजेश खनालको यो ‘घुरको धुवाँ’ यो दोषबाट मुक्त हुन सकेको छैन। यसैगरी कृतिकार राजेशले तराईमधेशमा भोगेका अन्य धेरै सांस्कृतिक, मनोरञ्जनात्मक परिघटनाहरू छन्। उदाहरणका लागि बहुरूपीया, भर्तृहरि, होली, सिरुवा, जुटशितल, सिराहामा रहेको सलहेस फूलबारी, रामजानकी बिबाह जस्ता तराईमधेशको सांस्कृतिक महत्त्वका विषयहरू त्यति परेका छैनन्।

यसो भएता पनि म ‘घुरको धुवाँ’ सँग लुटपुटिएको छु। नोस्टाल्जिक भएको छु। सम्झिरहेको छु म पनि आफ्नै सप्तरीलाई। राजेशले सप्तरीको कञ्चनपुरको मेलामा पुगेर टुरिङ टाकिजमा सिनेमा हेरेका छन्। मैले पनि सोही ठाउँमा पहिलो पल्ट सिनेमा हेरेको थिएँ।

त्यसैले अतैक त कह परते राजेशके। ‘धुर मरदे, रजेशवा ! कथिल्या हमरौ नोस्टाल्जिक बना देलिए।’

सान मार्कोस, अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *