कहिले फर्किएलान् बिपिन जोशी ? यस्ता छन् युद्धबिरामका शर्तहरू र यसरी हुनेछ कार्यान्वयन
काठमाडौं । अमेरिका र कतारले इजरायल र हमास गाजामा युद्ध रोक्न सहमत भएको घोषणा गरेका छन् । अब लडाइँ मात्र रोकिने छैन साथमा इजरायली बन्धक र प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरिनेछ।
१५ महिनाको युद्धपछि दुवै पक्षबीच भएको सहमतिलाई ठूलो सफलता मानिएको छ । यो युद्ध सशस्त्र प्यालेस्टिनी समूह हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो।
दुई पक्षबीच भएको सहमतिको विवरण अहिले सार्वजनिक गरिएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझै पनि धेरै नसुल्झिएका पक्षहरू रहेको जसलाई आफूले हेरिरहेको बताएका छन्। यस सम्झौता अन्तर्गत गाजामा युद्ध रोकिनेछ। त्यसपछि बन्धक र बन्दीहरूको आदानप्रदान हुनेछ।
हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि उसले २५१ जनालाई बन्धक बनाएको थियो। हमासले अझै ९४ जनालाई बन्दी बनाएको छ । यद्यपि इजरायलले ती मध्ये ६० जना मात्र जीवित रहेको विश्वास गर्छ। यीमध्ये एकजना नेपाली बिपिन जोशी पनि हुन् ।
यो सम्झौता अन्तर्गत इजरायलले बन्धकहरूको बदलामा करिब एक हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्भावना छ। तिनीहरूमध्ये केही धेरै वर्षदेखि इजरायली जेलमा छन्।
सहमतिको घोषणापछि यो युद्धविराम तीन चरणमा अघि बढ्नेछ । दुवै पक्षले यसमा सहमति जनाइसकेका छन्, तर इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले यसलाई अनुमोदन गर्न बाँकी छ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले यो सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेमा आइतबारदेखि सम्झौता लागू हुने बताएका छन् ।
बुधबार सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताए। बाइडेनले सम्झौता अन्तर्गत हमासले बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताए।
तर बाइडेनले हमासले कति जना बन्धकहरूलाई रिहा गर्नेछ भनेर स्पष्ट भनेनन्। यद्यपि कतारका प्रधानमन्त्री अल थानीले बुधबार साँझ पत्रकार सम्मेलनमा यो संख्या ३३ हुने बताए ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले यसअघि रिहा हुने सम्भावना रहेका ३३ बन्धकमध्ये बालबालिका पनि रहेको बताएका थिए।
एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार तीन जना बन्धकहरूलाई तुरुन्तै रिहा गरिनेछ र बाँकी बन्धकको प्यालेस्टिनी कैदीहरूसँग आदानप्रदान छ हप्तामा हुनेछ।
बाइडेनका अनुसार यस चरणमा इजरायली सेना गाजाका सबै जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ। साथै, प्यालेस्टिनीहरू पनि गाजाका सबै क्षेत्रहरूमा आफ्नो घर फर्कन सक्षम हुनेछन्।
इजरायली आक्रमणका कारण गाजाका करिब २३ लाख मानिस घरबारविहीन र विस्थापित भएका छन् । युद्धविरामपछि यी मानिसहरू आफ्नो घर फर्कन सक्नेछन्।
यस बाहेक गाजामा मानवीय सहायता पनि बढ्नेछ र त्यहाँ दैनिक सयौं ट्रकहरू सहायता सामग्री बोकेर पुग्न अनुमति दिइनेछ।
युद्धविरामको १६ औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता सुरु हुने प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताए। अमेरिकी राष्ट्रपतिले दोस्रो र तेस्रो चरणको वार्ता जारी रहेसम्म युद्धविराम जारी रहने बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ। यस चरणमा बाँकी बाँचेका बन्धकहरू र तिनीहरूको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ।
इजरायलले कुल एक हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न सहमत भएको विश्वास गरिन्छ। जसमध्ये करिब १९० जना १५ वर्ष वा सोभन्दा बढी कैद सजाय भोगिरहेका कैदीहरू छन् ।
एक इजरायली अधिकारीले बीबीसीलाई बताएअनुसार हत्यामा दोषी ठहरिएकालाई छुट दिइने छैन। यसका साथै गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती पनि हुनेछ।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण समावेश हुनेछ। यो काममा धेरै वर्ष लाग्न सक्छ। यस चरणमा हमासको हिरासतमा मारिएका बन्धकहरूको शव पनि इजरायललाई हस्तान्तरण गरिनेछ।
सम्झौताले स्पष्ट गर्न नसकेका विषयहरू
अहिले जे हासिल भएको छ त्यसका लागि धेरै महिनासम्म कठिन वार्ता भएको छ। सहमतिका लागि यति लामो समय लाग्नुको मुख्य कारण इजरायल र हमासले एकअर्कालाई पटक्कै विश्वास नगर्नु थियो।
हमासले बन्धकहरूलाई रिहा गर्नु अघि युद्धको पूर्ण अन्त्य चाहेको थियो। तर यो इजरायललाई स्वीकार्य थिएन। अब भने जबसम्म दुवै पक्षले युद्धविरामका शर्तहरूबारे वार्ता गरिरहेका हुनेछन् त्यो अवधिमा युद्ध पूर्ण रूपमा रोकिनेछ।
युद्ध सधैंका लागि समाप्त हुनेछ भन्ने बिल्कुल स्पष्ट छैन। इजरायलको युद्धको मुख्य उद्देश्य हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु थियो । इजरायलले हमासलाई ठूलो नोक्सान पुर्याएको छ तर पनि हमाससँग फेरि आफ्नो खुट्टामा उभिने क्षमता छ।
को बन्धकहरू जीवित छन् र को मरेका छन् भन्ने पनि स्पष्ट छैन। हमासको नियन्त्रणबाट भागेका वा हराएका सबै बन्धकहरूको बारेमा हमासलाई थाहा छ वा इजरायलले उनीहरूको खोजी गरिरहेको छ भन्ने पनि स्पष्ट छैन ।
हमासले आफ्नो तर्फबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ तर इजरायलले उनीहरूलाई रिहा नगर्ने बताएको छ। हमासले रिहा गर्न माग गरेका बन्दीहरूमा अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न अतिवादीहरू पनि समावेश भएको मानिन्छ।
बफर जोनको बारेमा पनि कुनै कुरा स्पष्ट छैन । इजरायल एक निश्चित समयपछि बफर जोनबाट बाहिर निस्कन सहमत हुनेछ वा बफर जोनमा इजरायली सेनाको उपस्थिति अनिश्चित कालसम्म जारी रहनेछ भन्ने स्पष्ट छैन ।
विगतमा पनि छिटपुट झडपपछि इजरायल र हमासबीचको युद्धविराम तोडिएको इतिहास छ । त्यसैले यो युद्धविरामको समयतालिका र यसको जटिलताको अर्थ हो – एउटा सानो घटनाले पनि फेरि युद्ध सुरु गर्न सक्छ।
सम्झौता कसरी कार्यान्वयन हुन्छ ?
अमेरिका र कतारले सम्झौताको घोषणा गरिसकेका छन् तर इजरायलको मन्त्रिपरिषद्ले यसलाई अनुमोदन गर्न बाँकी छ। यद्यपि, इजरायलमा दक्षिणपन्थी सत्तामा रहे पनि सम्झौता अनुमोदन गर्न कुनै समस्या नआउने विश्वास गरिएको छ । बिहीबार बिहान इजरायलको युद्ध मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक बस्ने भएको छ ।
सम्झौता पहिलो चरण सफलतापूर्वक पार गरेर दोस्रो चरणमा जानेबारे सोधिएको प्रश्नमा कतारका प्रधानमन्त्री अल थानीले आफूलाई यसमा पूर्ण विश्वास रहेको तर सबै कुरा दुवै पक्षमा भर पर्ने बताए । सम्झौता सफल बनाउन के गर्ने भन्ने प्रश्नमा उनले भने, ‘सम्झौता कार्यान्वयनमा अमेरिका, इजिप्ट र कतारले अनुगमन गर्नेछन् ।’
युद्धविराम पछि गाजामा कसले शासन गर्ने भन्ने सबैभन्दा ठूलो अनुत्तरित प्रश्न हो। बुधवार सम्झौताको घोषणा हुनुअघि प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाले प्यालेस्टाइनी प्राधिकरणलाई गाजामा कानून अनुसार शासन गर्ने अधिकार रहेको बताएका थिए।
इजरायलले हमासले गाजामा शासन गरोस् भन्ने चाहँदैन। तर इजरायल प्यालेस्टाइनी प्राधिकरणले गाजामा शासन गरोस् भन्ने पनि चाहँदैन। यो प्राधिकरणले इजरायलले कब्जा गरेको वेस्ट बैंकका केही भागहरू नियन्त्रण गर्दछ। इजरायल भने द्वन्द्व समाप्त भएपछि पनि गाजामा आफ्नो सैन्य नियन्त्रण हुनुपर्छ भन्ने चाहन्छ।
इजरायलले गाजामा शासन गर्नको लागि अस्थायी प्रशासन बनाउने योजनाका लागि अमेरिका र कतारसँग छलफल गरिरहेको छ। यो नयाँ संरचनाले गाजामा स्थायी सरकारको रूप लिन सक्छ।
Facebook Comment