‘कम्युनिष्ट नेताहरू निष्ठाको आदर्शप्रति समर्पित हुनुपर्छ’

डिसी नेपाल
३ माघ २०८१ १९:३५

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरुको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण मुलुक अग्रगमनतर्फ उन्मुख हुन नसकेको बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा विकृति, विसंगति बढेको र जनता असन्तुष्ट भएको धारणा राखे। राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो।

कम्युनिष्टका नाममा राजनीति गर्नेले कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए। उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत बिचार समूहसँग सहकार्य गर्न सकिने उल्लेख गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले  देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे।

पार्टी उपाध्यक्ष गंगालाल तुलाधरले पार्टीले राष्ट्रिय राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे। पार्टी सचिव एवं प्रदेश ईन्चार्ज सावित्रा भुसालले जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *