लघुकथा : गरिबी
`सात-सात जना छोराछोरी कसरी हुर्काए हुँला? आफ्नो नाउँमा केही थिएन, ऐलानी जग्गामा सानो कटेरो हालेर बसेँ। मेलापात, दाउराघाँस, दु:ख र संघर्ष त कति हो कति?´ पुतलीले कमलीसँग दु:ख बिसाई।
कमली र पुतली सानैदेखिका मिल्ने साथी थिए। सँगै पढे, सँगै बढे। बिहेपछि उनीहरूको भेट भएको थिएन। लामो समयपछि आज संयोगले भेट भएको अवस्थामा उनीहरू दु:ख सुख साट्दै थिए।
पुतलीका कुरा सुनेपछि कमलीले उसको घाउमा मलहम लगाउने प्रयास गरी, `घरका लोग्ने मानिसले स्वास्नीको दु:ख नबुझेपछि आइमाईलाई बाँच्नै गाह्रो हुने रहेछ।´
`आफ्नो त लोग्ने भन्नु कि शत्रु? घरको केही मतलब राख्दैनथे। आफैं कमाउने आफैं रमाउने पाराका थिए। दिउँसै झ्याप हुने, कानो गोरुलाई औंसी न पुर्ने भनेजस्तो सम्झाएको नलाग्ने थियो। तिनको बानीले गर्दा नि होला, मलाई सबैले हेप्थे।´
कमलीले जिज्ञासा राखी, ` यसरी बिग्रेका लोग्नेलाई तैँले विदेश पठाइनस्? पसिना बगाउनु परेको भए चेत खुल्थ्यो नि!´
विगत सम्झिँदै उसले भनी, `छोराछोरी पनि सानै थिए। घरमा ऋण लागेर हैरान भएँ। यसै ऋण, उसै ऋण भन्ने लाग्यो अनि ऋण खोजेरै उनलाई कुवेत पठाएँ।´
कमलीले खुसी भएर भनी, ` बुझकी नै रहेछन् त! कमाइ पनि त पठाए होलान्?´
`लोग्नेसँगको विछोड भए पनि केही वर्ष त खर्च सजिलै भयो। केटाकेटी पनि अलअलि पढ्न पाए तर फर्किएपछि उही पुरानै चाला! सुध्रिने भएनन्। म के गरौँ?´
पुतलीको व्यथा सुनेर कमलीको मन भारी भयो। शब्दले सम्झाउन उसले हरतरहले प्रयास गरी।
पुतलीले भनी, `ल, बिदा मागेँ। मलाई पनि अस्पताल पुग्नु छ। एउटा धनाड्य व्यक्ति मृगौला फेल भएर आइसियूमा छ रे!´
उसले आत्तिएर सोधी , `के , किन?´
मलीन भएर पुतलीले भनी , `मलाई बाँच्नका लागि दुईवटा किड्नी किन चाहियो र? एउटै भए पुगिहाल्छ नि!´
गैंडाकोट ४, नवलपुर
Facebook Comment