बरसात : एक रोमहर्षक प्रियदर्शिनी रोमाञ्च

हृषीकेश ढकाल
५ माघ २०८१ ८:२८

श्रीराधा

बरसात अघिको मेघ गर्जन रोमाञ्च वृष्टिको घोषणा हो; ती जो श्यामलता मेघमाला छन् – रोमाञ्च मञ्चन अघि पूर्णरूपमा तयार गरिएको अँधेरो मञ्च झैँ।
अनि झिलिक्क-झिलिक्क चम्किरहेकी विद्युल्लताबाट मिलिक्क-मिलिक्क दर्शन हुन्छ बादलमा; गाम्भीर्यताको भावमुद्रामा रोमाञ्चकी प्रतिमूर्तिको।

ती विद्युल्लता उनका सखी हुन्, सङ्गिनी हुन्। विद्युल्लताले घुम्टो केही उघार्दिन्छिन्; विद्युल्लताको यो चम्काईबाट उनको निमिष-निमिषका लागि मात्र पाइने दुर्लभ दिव्य दर्शन हुन्छ।

आफ्ना चन्द्रमुहार तर्फ घुम्रिएका बाल झुलाउँदै, नजरहरू झुकाएकी छन् यिनी रोमाञ्चकी प्रतिमूर्तिले, विवाहमण्डपमा घुम्टोबाट चिह्याईरहेकी बेहुली झैँ। ती चम्काईबाट मिलिक्क दर्शन हुने बादलमा अन्तर्निहित त्यो प्रेमाकृतिमा सङ्गमर्मर वर्ण धारण छ।

र, अन्ततः मुहूर्तको घडी आउँछ र पोखिन्छ बादल बरसात भएर ! परम वेगवान् भावगतिमा मिलनका लागि बाटो छेकिरहेको पर्खाईलाई नै चरम वेगले तोडेर। अनि मञ्चन हुन्छ रोमाञ्चको दिव्य मञ्चन;

बरसात : एक रोमहर्षक रोमाञ्च !

प्रेमको मायालु प्रहार बरसात हो। एक बुँद माथको शिर्ष भागमा ठोक्किँदा परमानन्दी झल्कोको शीतल आध्यात्मिक चिकित्सा बरसात हो। सहस्रार चक्रको महानन्दी झिल्कोको आँकलन दिने प्रेमित ठोक्काई बरसात हो।

आनन्दमा डुबिरहन चाहने हृदय र प्रकृतिको आनन्दवृष्टि बिच प्यारको लडाँईँ बरसात हो। बरसात प्रेमको मिलन हो। प्रेम-प्रेमको मिलन हो। बरसात मिलनको प्रतीक हो। प्रेम-प्रेम मिलेर प्रेम स्वरूप हुनु बरसात हो।

शिरमा मायालु हिर्काई हिर्काएर हृदय जगाउनु बरसात हो, जसरी फूलले हिर्काएर प्रेम जाग्दछ यहाँ। हृदय प्रेममय रोमाञ्चक बनाउनु बरसात हो, रोमाञ्चको एक प्रतिमूर्ति- बरसात, बरसातले आफूमय बनाउनु बरसात हो। प्रेमको धारामा आफैँसँग बगाएर प्रेमसागरमा घोलिदिनु बरसात हो।

यहाँ बरसातको दर्शनले हृदयमा गीत फुर्दछ, बरसातमा भिज्दा सङ्गीत बज्दछ अनि प्रियाप्रियतम नाच्दछन्। अतः प्रेमको प्रतीक बरसात प्रेमको बहाना हो। बरसात प्रेमको माध्यम हो। बरसात स्वयम् प्रेम हो। पानीको खेल बरसात पिरतीको खेल पनि हो।

एक सुन्दर तालमा बर्सिरहेको पानी, पानी-पानी बिचको दिव्य श्रीमिलन हो, प्रेम-प्रेमको श्रीमिलन हो।

पानी पानीसँगै मिल्दछ। प्रेम प्रेमसँग मिल्न प्रेमस्वरूप नै हुनु पर्दछ। तालको पानीसँग मिल्न बादल बरसात नै हुनु पर्दछ। र त, पानी पानी मिलेर पानी नै हुन्छ। प्रेम प्रेम मिलेर प्रेम नै हुन्छ। जसरी भनिए झैँ एक एक मिलेर एकै भएको छ यहाँ।

ताल-तलैया, जलाशयहरूमा बर्सिरहेको पानी सङ्गीत हो। सङ्गीतको भ्रूण हो, प्रणव हो, प्रणवको उच्चार्यमाण हो। यसकै प्रेरणाबाट मानव सङ्गीतको उत्प्रेरणा लिन्छ। त्यो फेवा तालमा बर्सिरहेको बरसात प्रकृतिको गीत हो। हृदयको औषधी हो। प्रकृति हरबखत झुमेको छ यहाँ।

बरसातको बुँद जब तालको पानीमा ठोक्किन्छ तब यहाँ प्रेम कुरिरहेको प्रेम प्रकृतिको वातावरणमा रोमाञ्च भई विष्फोट हुन्छ र अमर हुन्छ। हर विष्फोट यहाँ खराब हुन्नन्। प्रेम विष्फोटको कहानी अर्कै छ। अनन्तमा घोलिनु प्रेम विष्फोट हो।

दुईको मिलनबाट एक हुँदा विष्फोट भई दुवै हराउनु प्रेम विष्फोट हो। यहाँ हराउनु अस्तित्व गुम्नु होइन। अस्तित्व भेट्नु हो, अस्तित्व पाउनु हो। एक मात्र अस्तित्व छ यहाँ; अनन्त। आफ्नो त्यही अस्तित्वको प्राप्ति गर्नु प्रेम विष्फोट हो।

बरसात : रोमहर्षक एक प्रियदर्शिनी – रोमाञ्चक एक नजारा !

सिमसिम सिमसिम पानीबाट जब बरसात जोडले बर्सन्छन् यस्तो लाग्छ प्रकृति बिस्तारै झुम्दै उठ्तै क्रमशः पूर्णतामा तरङ्गित हुन लागेकी छन् र आफू भित्र अन्तर्निहित अप्रतिम नृत्यलाई रोमरोम देखिको हर्षणबाट झङ्कृत हुँदै लास्यमय झुमेकी छन्।

यसरी प्रकृतिको प्रणय भावित बरसात सम्मोहक छ। बर्सिँदा सिङ्गो दृश्यपट नै धुम्म बनाई मोहनी लाउने सम्मोहक शक्ति छ बरसातमा।

कतै तड्पिएर प्रतिक्षा त कतै बरसाती रोमाञ्चमा उडान। लट्ठ्याएर हृदयहरूलाई यहाँ बरसातले अनेक लेखायो। कतै वियोग भएर लेखायो अनि कतै मिलन। कतै गीत, गजल, कविता, उपन्यास ? सबै लेखायो। किनभने बरसात यिनको आत्मा हो। रोमाञ्चको तत्त्व हो। आत्माको वरिपरि सबै घुम्दछ। तत्त्वबाट नै सबै प्रसारण हुन्छन्।

बरसात हुँदा पानी हैन प्रणय-रोमाञ्च बर्सिन्छ, पानी त बहाना हो, प्रकृतिले प्रेम बर्साउँछिन्। प्रकृति भरिएर प्रेमरूपमा अभिव्यक्त हुन्छिन् बरसातमा, पोखिन्छिन् अनि यस धरालाई प्रेमले लपक्कै पार्छिन्, निथ्रुक्कै पार्छिन्, रोम-रोम भिजाउँछिन्। बादल प्रेमले भरिएर प्रेम पोखिनु बरसात हो।

बादलले यस धरालाई प्रेमको अभिव्यक्ति दिनु बरसात हो। जसरी एक प्रियतम आफ्नी प्रियालाई फूल भेट गर्दछन्। यहाँ ‘भेट’ शब्द आफैँमा रोमाञ्चक छ; कसैलाई भेट-उपहार दिनु पनि भेट हो र भेट्ने काम, मिलन पनि भेट हो। बरसात प्रेमको भेट-उपहार हो, प्रेम-प्रेमको भेट-मिलन हो। बरसात दुवै हो।

धरतीमा बरसात ठोक्किँदा माटो र बरसातको यौगिकताले उठाएको सुगन्ध धरतीले अनवरत प्रसारण गरिरहेकी मातृवात्सल्य स्नेहको वर्षण हो। हररर। प्रेम प्रेमसँग ठोक्किएर प्रेम सुगन्धरूपमा वातावरण मगमगाउनु बरसात हो।

सूर्यको तापले तातेकी धरतीको बरसातसँगको मिलनबाट नीरव-शान्त-मन्द-धिमा भावगतिको बास्नारागरूपी प्रणय-प्रसारण हुँदा सूर्यलाई पनि जलन हुँदो हो, ईर्ष्या हुँदो हो, डाहा हुँदो हो।

बरसातमा सुख्खा धरतीमा, बोट-बालवृक्ष-जङ्गलमा, अझ नदी, ताल-तलैयामा बर्सँदै गरेको पानी, सुन्दा सामवेद हो, गन्धमा प्रकृतिको ताजगीयुक्त राग हो, दृश्यमा श्रीनटराजको आनन्द ताण्डव हो।

द्रष्टाको मनै हर्ने वर्षा, खुदमा एक सम्मोहक सङ्गीतिक घटन हो।

प्रेमानुभूति हुँदा नाच्ने हृदय झैँ बरसात नृत्यको प्रतीक हो।

फूलमा बरसात ठोक्किँदा फूलको लज्जाझुलाई, प्रेमानुभूतिको झुलन हो, नृत्य हो। प्रेमको सौम्य स्पर्शबाट हुने हृदयको रोमाञ्चकता हो।

बरसात मादक छ किनभने बरसात तरल छ। यहाँ तरलतामा ईश्वरले चरम मादकता अन्तर्निहित गरेका छन्। बरसात मदालसी मादकता हो।

जसरी एक चित्रकार आफ्ना चित्रहरूमा पानी रङ्ग भर्दछन् र तयार हुन पुग्दछ एक अमूल्य-अद्वितीय कला अनि पारखी आफ्नो दृष्टि अनुसारको पारख गर्दछन्, बरसात यही हो ! बरसातको पानी रङ्गले प्रकृति आफूमा रङ्ग भर्दछिन् र पेश गर्दछिन् एक रसिक द्रष्टालाई एक मदालसी मादकता !

अनि तयार हुन्छ त्यस रसिक द्रष्टाबाट कला; कतै सङ्गीत भएर त कतै रोमाञ्चक काउकुतीको गीत भएर, कतै कविता, कतै गजल भएर। अनि कतै उपन्यासहरूमा बरसातको जल प्रेमजल भएर। प्रेमरस भएर। कतै चित्र भएर त कतै बरसाती भावनाहरू मूर्तिकारितामा पोखिएर !

बरसात : प्रियदर्शिनी एक नजारा !

बरसातको सिञ्चनबाट प्रकृति हरित वस्त्राभूषण फेर्दछिन्, हरित स्त्रीभूषणमा आफूलाई सजाउँदछिन्, साउनमय हुँदछिन्, श्रीशिवमय हुँदछिन्। सिङ्गो प्रकृति शैवी हुन पुग्दछिन्। प्रणयिता बरसातसँगको प्रणयमा मुग्ध भएर प्रणयभावमा मुग्धा धरती प्रणयिनी स्वरूप हुन पुग्दछिन्।

हरियो रङ्ग वरसातको मायालु कोसेली हो। यस धराको वर्ण हो। एक स्पर्शले हिम वर्णी गालामा लाली चढे झैँ बरसातको स्पर्शले प्रकृति हराभरा-हरियाली, हरित भएर नाच्तछिन्। यसरी प्रकृति आफैँमा रमेकी छन्। प्रकृतिको आफैँमा मुग्धता एक द्रष्टालाई रम्यश्री अभिव्यञ्जना हो।

प्रकृतिको आफैँमा मग्नता द्रष्टाको हृदयको दैव्य रञ्जन हो किनभने आफूमा डुब्नु ईशत्व हो। आफूमा रम्नु स्वरूपानन्द हो। जसरी एक बालक ! एक बालकको आफैँमा मग्नता विचार्ने हो भने ईशत्वको प्रचुर करुणामय घनत्व स्पष्ट हुन्छ; ऊ धमाधम एक्लै खेल्दै हुन्छ, ऊ आफैँमा रमेको हुन्छ, ऊ आफैँसँग धमाधम खेल्दै हुन्छ।

ईश्वर पनि विवश छन् अबोध बालक स्वरूपको बहानामा खुलेर अभिव्यक्त हुन। स्वयम् साक्षात् परब्रह्म परमात्मा भगवान् श्रीकृष्ण पनि श्रीबालमुकुन्द-बालगोपाल स्वरूपमा लीला नगरी रहनै सक्नु भएन, बालस्वरूपमा हुँदा उहाँ पनि थामिनु भएन।

मिठो निद्रा दिने बरसातको धुन योगनिद्राको लोरी हो। मानौँ प्रकृतिले आफ्नो काखमा शिशुको शिर थपथपाउँदै छिन् र लोरी सुनाउँदै छिन् अनि बालक निश्चिन्त-निष्फिक्रि प्रेमनिद्राको वेदान्ती सुषुप्तिमा परमानन्दी पारलौकिक विचरणमा छ।

अद्भुत बरसात वेदान्ती छ, दैव्य छ। वेदान्ती बरसात दार्शनिक छ, साहित्यिक छ। कवितात्मक छ। कलात्मक छ। बरसातले यहाँ हृदयलाई कवि बनायो, बरसातको कविताले यहाँ हृदयलाई अमर तुल्यायो। बरसात एक अद्वितीय कवि हो।

छन्दले कविता सुशोभित भए झैँ, गजलले एक रसिकमा आनन्द झङ्कृत भए झैँ बरसातले जिन्दगीको अनुभूति रोमहर्षक तुल्याँदछ, जिन्दगी-दृश्य प्रियदर्शिनी स्वरूप हुन पुग्दछिन्।

बरसात : एक प्रियदर्शन

श्रीराधा
hrisheekeshdhakal@gmail.com

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *