निर्धारित समयमा इजरायल–हमास युद्धबिराम भएन, गाजामा आक्रमण जारी
काठमाडौं । इजरायल र हमासबीच आइतबारबाट सुरु हुने भनिएको युद्धबिराम निर्धारित समयमा हुन सकेन । सम्झौतामा आइतबार स्थानीय समयअनुसार साढे ८ बजे (नेपाली समय दिउँसो सवा १२ बजे) देखि युद्धबिराम हुने उल्लेख थियो । तर, हमासले सम्झौताको पालना नगरेको इजरायलले आरोप लगाएको छ ।
इजरायली डिफेन्स फोर्सका प्रवक्ता रियर एडमाइरल ड्यानियल हगारीले आइतबार बिहान निर्धारित समयमा युद्धबिराम हुन नसकेको घोषणा गरेका हुन् । हमासले आज रिहा गर्ने भनेका ३ जना बन्धकको नाम आफूहरुलाई उपलब्ध नगराएकोले सम्झौताअनुसार युद्धबिराम सुरु हुन नसकेको उनले बताए । सम्झौताअनुसार हमासले आज ३ जना बन्धकलाई रिहा गर्ने तय भएको थियो ।
यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले रिहा गरिने बन्धकको सूची उपलब्ध नगराउँदासम्म युद्धबिराम नहुने घोषणा गरेका थिए । हमासले बन्धकहरुको नाम उपलब्ध गराउन ढिलाइ हुनुमा प्राविधिक समस्या भएको बताएको छ । उसले तीन जना बन्धकलाई सुरक्षित ठाउँमा लगेपछि नाम उपलब्ध गराउने बताएको छ । हमासले आज ३ जना महिला सैनिकलाई रिहा गर्ने अपेक्षा गरिएको छ ।
Facebook Comment