ट्रम्पको शपथ आज : यसरी हुन्छ अमेरिकी राष्ट्रपतिको शपथ र पद हस्तान्तरण

डिसी नेपाल
७ माघ २०८१ १२:५५

काठमाडौं । डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् । गएको नोभेम्बर पहिलो साता नै निर्वाचित भएका ट्रम्पले निर्वाचित भएको २ महिनाभन्दा धेरै समयपछि अब मात्र राष्ट्रपतिको रूपमा काम सुरू गर्न लागेका हुन् ।

अमेरिकाको संविधानमा नै राष्ट्रपतिको निर्वाचनको मिति र शपथ ग्रहणको मिति किटान गरिएको छ । सोही व्यवस्था अनुसार हरेक ४ वर्षमा नोभेम्बरको पहिलो मंगलबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुन्छ र निर्वाचित राष्ट्रपतिले अर्को वर्षको जनवरी २० मा शपथ ग्रहण गर्छन् । ट्रम्पले आज राति नेपाली समय अनुसार करिब सवा १० बजे अमेरिकी संसदको क्यापिटल हिलमा सपथ लिनेछन् ।

डोनाल्ड ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा करिब ७०० अमेरिकीहरूको अगाडि अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई सपथ ग्रहण गराउनेछन्।

यस क्रममा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ। शपथ ग्रहण समारोहमा राष्ट्रपतिकी पत्नीको हातमा बाइबल हुने परम्परा छ। ट्रम्पको हकमा उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्। शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो यसअघिको कार्यकालको सपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए ।

सपथपछि क्यापिटल हिलमा कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने छ । तर, यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेकाले ट्रम्पको लागि कसले कला प्रदर्शन गर्ने भन्ने स्पष्ट छैन ।

कला प्रदर्शनपछि ट्रम्पले क्यापिटल हिलको सेट्युरी हलमा अमेरिकी सांसदहरूसँग लञ्च गर्नेछन्। लञ्चमा दिइने खाना प्रायः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट आउँछ। त्यसपछि अमेरिकी क्यापिटलदेखि ह्वाइट हाउससम्म र्‍याली निकालिनेछ । जसको नेतृत्व राष्ट्रपति ट्रम्प स्वयंले गर्नेछन् ।

राति ट्रम्पले आफ्ना नजिकका सहयोगीहरूसँग पार्टीमा भाग लिनेछन् । न्यूयोर्क टाइम्सका अनुसार यो पार्टी मेटा प्रमुख मार्क जुकरबर्गले आयोजना गर्नेछन्। जुकरबर्ग चुनावदेखि नै ट्रम्पसँगको सम्बन्ध सुधार्ने प्रयासमा थिए । बाइडेनको कार्यकालमा उनले ट्रम्पलाई फेसबुकमा प्रतिबन्ध लगाएका थिए।

बाइबलमा हात राखेर शपथ लिने परम्परा १७८९ मा जर्ज वाशिंगटनबाट सुरु भएको थियो। तर, त्यो संवैधानिक व्यस्था होइन, केवल परम्परा हो । अमेरिकी संविधानअनुसार नयाँ राष्ट्रपतिले सपथ मात्र लिनुपर्छ। बाइबल वा कुनै अन्य धार्मिक पुस्तकबाट शपथ लिने कुनै नियम छैन।

अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सीले संविधानमा हात राखेर शपथ लिएका थिए । थियोडोर रुजवेल्टले कुनै पनि पुस्तकमा आफ्नो हात नराखी शपथ लिएका थिए ।

अमेरिकामा शक्ति हस्तान्तरण प्रक्रिया पूरा गर्न ७२ देखि ७८ दिन लाग्छ। यसपटक अमेरिकामा सत्ता हस्तान्तरण हुन ७५ दिन लाग्नेछ । यसको पछाडि सबैभन्दा ठूलो कारण अमेरिका ठूलो देश हुनु हो ।

अमेरिका १७७६ मा स्वतन्त्र भयो । त्यतिबेला अधिकांश जनता दुर्गम क्षेत्रमा बस्ने गर्दथे । यातायातका साधन र सडक अत्यन्तै कम थिए । निर्वाचनपछि मतगणना, मतदाता भेला र भोट कांग्रेससम्म पुग्न निकै समय लाग्थ्यो । त्यसैले भोटिङ र सपथ ग्रहणबीच धेरै अन्तर राखिएको थियो । सुरुका दिनमा यो अन्तर ४ महिनाको थियो ।

१७८९ मा पहिलो राष्ट्रपतिको कार्यकाल अप्रिल ३० बाट सुरु भएको थियो। दोस्रो राष्ट्रपतिको कार्यकाल ४ मार्च १७९३ देखि सुरु भएको थियो र त्यसपछि यो चलन बन्यो । १९३३ मा राष्ट्रपति फ्रान्कलिन डी. रुजवेल्टको शपथ ग्रहण हुनु अघि संविधानको २० औं संशोधनमा जनवरी २० लाई नयाँ कार्यकालको सुरुवात मितिको रूपमा स्थापित गर्यो ।

अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरू उपस्थित हुने चलन छ। तर, पछिल्लो पटक ट्रम्प बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी भएनन् । अमेरिकाको १५० वर्षको इतिहासमा यसो गर्ने उनी पहिलो राष्ट्रपति थिए। ट्रम्पको अनुपस्थितिमा राष्ट्रपतिको जिम्मेवारी तत्कालीन उपराष्ट्रपति माइक पेन्सले निर्वाह गरेका थिए।

ट्रम्पको सपथ ग्रहण समारोहमा राष्ट्रपति जो बाइडेन, उनकी पत्नी जिल बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफ उपस्थित हुनेछन्। यस पटकको सपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्लु बुस, उनकी पत्नी लौरा बुस र बिल क्लिन्टन र हिलारी क्लिन्टन पनि उपस्थित हुने बताइएको छ । कार्यक्रममा मिसेल ओबामा उपस्थित हुने छैनन् ।

अमेरिकामा पदभार ग्रहण गरेपछि राष्ट्रपतिलाई ह्वाइट हाउसमा बस्नु आवश्यक छ। यो अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो। जर्ज वाशिंगटन एक मात्र अमेरिकी राष्ट्रपति थिए जो कहिल्यै ह्वाइट हाउसमा बसेनन्। वास्तवमा यसको निर्माण उनको राष्ट्रपतिको कार्यकाल समयमा १७९२ मा सुरु भयो। यसको काम १८०० मा पूरा भएको थियो। त्यतिन्जेल वाशिंगटनले कार्यालय छोडिसकेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *