बैंकहरुको कर्जा प्रवाहमा समस्या छ : अर्थमन्त्री पौडेल
काठमाडाैं। बैंकहरुको कर्जा प्रवाहमा समस्या रहेको उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
कृषि विकास बैंक लिमिटेडको ५८ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकहरुको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन नसकेको बताएका हुन्। अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैंकहरुले लगानी गर्नुपर्नेमा जोड दिए।
उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उदेश्य हासिल हुन नसकेको बताए।
उनले बैंकको क्षमता, सामथ्र्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीहरुलाई आग्रह गरे। बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनले बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए। यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उहाँले स्वीकार गरे।
“मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ। बाह्य क्षेत्रमा सन्तुलन छ। बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ। बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भने, “गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ। आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन। हाम्रा सकारात्मक पक्ष धेरै छन्।”
बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उनको भनाइ थियो। “अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ। यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ”, गभर्नर अधिकारीले भने।
कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताए। नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उनको भनाइ थियो। बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताए। वित्तीय समावेशीता प्रवद्र्धन, ग्रीन फाइनान्स, प्रविधिप्रयोग लगायतका विषयमा बैंकले राम्रो गरिरहेको उनले बताए।
Facebook Comment