नेतृत्व सशक्तिकरणः टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को नेतृत्व तालिम काठमाडौंमा सम्पन्न

डिसी नेपाल
८ माघ २०८१ ९:५८

काठमाडौं। टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को मध्य-वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डिएलटिपी) २०८१ बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा पौष २७ र २८ गते सम्पन्न भयो।

कार्यक्रममा नेपाल तथा भारतका डिस्ट्रिक्ट लिडरहरु र सदस्यहरूको सहभागिता रहेको थियो। नेतृत्व क्षमता, सहकार्यको महत्व र टोस्टमास्टर्सको मिशन-व्यक्तिहरूलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने उद्देश्यमा कार्यक्रम केन्द्रित रहेको थियो।

नेतृत्व र सहकार्यको आधारशिला

डिस्ट्रिक्ट ४१ की डिष्ट्रिक्ट  डाईरेक्टर मून प्रधानको सारगर्भित स्वागत मन्तव्यका साथ तालिमको शुरुवात भएको थियो। डाईरेक्टर प्रधानले साझा लक्ष्यहरु प्राप्त गर्न सहयोग र नवीनताको महत्वमा जोड दिएका थिए ।  निमिश जोसेफको प्रेरणादायक उद्घाटन सत्रले सहभागीहरुलाई उनीहरुको नेतृत्व यात्रामा आफ्नो लचिलोपन र वृद्धिलाई आत्मसात् गर्न उत्प्रेरित गरेको थियो।

सहकार्य, कार्यक्रमको प्रमुख विषय बनेको थियो। कार्यक्रममा रन्जीत आचार्यले सामूहिक सफलता हासिल गर्न टिमलाई सशक्तिकरण गर्ने सम्बन्धमा अन्तक्रियात्मक सत्र प्रस्तुत गर्नुभएको थियो। सन्दीप रतौरी र अनन्त कट्यानीले प्रतियोगिता व्यवस्थापनसम्बन्धी कार्यशाला सञ्चालन गर्नुभएको थियो, जसले टोस्टमास्टर्स प्रतियोगीहरूलाई व्यवस्थित गर्न आवश्यक भूमिका र जिम्मेवारीमा प्रकाश पारेको थियो।

क्लब ग्रोथ डाईरेक्टर श्वेताङ्क शर्मा र प्रोग्राम क्वालिटी डाईरेक्टर गौरव चौधरीले डिस्ट्रिक्ट ४१ ड्यासबोर्डको परिचय गराउनु भएको थियो। यसले क्लबहरूलाई डिस्टिङगुइस्ड क्लबको उपाधि हासिल गर्न लक्ष्य निर्धारण र ट्रयाकिङ गर्न सघाएको थियो। साथै, कम प्रदर्शन गर्ने क्लबहरूको सुदृढीकरणका लागि रणनीतिहरू र दीर्घकालीन उत्तराधिकार योजना बनाउने विषयमा सत्रहरू पनि समावेश गरिएको थियो

नेतृत्वका लागि प्रेरणा, विकास र सेवा

नेतृत्वको गहन अध्ययनमा केन्द्रित उक्त तालिममा टिम निर्माण र विवाद समाधानजस्ता विषयहरूमा विशेष सत्रहरू समावेश गरिएको थियो। सन्दीप रतुरीले टिम निर्माणका पाँच चरणहरुबारे विस्तृत जानकारी गराउँदै प्रभावकारी संवाद र आपसी सम्मान मार्फत कसरी चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई मार्गदर्शन गरेका थिए।

त्यस्तै विनय जैनको सत्रले नेतृत्वकर्ताहरूलाई उद्देश्य–प्रेरित सफलतामा ध्यान दिन प्रेरित गर्दै चुनौतीलाई प्रभावकारी परिवर्तनको अवसरका रूपमा लिन आह्वान गरेको थियो। उक्त तालिममा संगठनात्मक विकासका लागि नवीन रणनीतिहरूको विषयमा पनि छलफल भयो।

निमित मित्तल र राजु चौहानले टोस्टमास्टर्सका कार्यक्रमहरूलाई कर्पोरेट मूल्याङ्कन प्रणालीसँग जोड्ने र सञ्चार माध्यममार्फत उपलब्धीहरुलाई प्रचार गरी टोस्टमास्टरको दृश्यता र सदस्यता विस्तार गर्ने रणनीतिहरू प्रस्तुत गरे।

अनन्त कात्यानीले नेतृत्वलाई सेवाको रूपमा पुनर्परिभाषित गर्दै, जोन सी. म्याक्सवेलको “नो द वे, गो द वे, एन्ड सो द वे” को उदाहरण दिनुभयो। उनले सहभागीहरूलाई प्रभाव र प्रेरणा दिन सक्ने क्षमता राख्ने सहयोगपरक नेतृत्व शैली अपनाउन प्रेरित गरे। त्यस्तै रन्जीत आचार्यको सत्रले “एटमिक ह्याबिट्स” को अवधारणामा आधारित निरन्तर सुधार र लचिलोपनमा जोड दिंदै साना प्रगतिहरुमा ध्यान केन्द्रित गर्न आग्रह गर्यो।

भविष्यको लागि तयार नेतृत्वको विकास

कार्यक्रमको अन्त्यमा दीप्ती आचार्य र निमिश जोसेफले प्रस्तुत गरेको कार्यान्वयन योग्य योजना विशेष आकर्षण रहेको थियो। यी योजनाहरू सदस्यता वृद्धिका उपायहरू, नयाँ क्लब स्थापना गर्ने अवसरहरूको पहिचान, र जिल्ला स्तरीय प्रतियोगिता तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता प्रोत्साहित गर्ने विषयमा केन्द्रित थियो।

नेतृत्वका सदाबहार सिद्धान्तहरूलाई नवीन अभ्यासहरूसँग समायोजन गर्दै उक्त डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्रामले व्यक्तिगत र व्यावसायिक उत्कृष्टता प्राप्त गर्ने टोस्टमास्टर्सको उद्देश्यलाई थप सुदृढ बनाएको छ। सहभागीहरूले नेतृत्व क्षमता विकासको लागि नयाँ टुल्स, रणनीति र प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरे।

डिस्ट्रिक्ट ४१ को नेतृत्व विकास सम्बन्धी उक्त तालिमले टोस्टमास्टर्सको यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ, जसले डिस्ट्रिक्ट ४१ लाई मात्रै नभएर समग्र टोस्टमास्टर्स समुदायलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *