अदालतमा उपस्थित हुन बुटवल पुगे रवि

डिसी नेपाल
८ माघ २०८१ १७:०८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बुटवल पुगेका छन्। बुटवलकोको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल गएका हुन्।

लामिछाने त्रिभुवन विमानस्थल भएर भैरहवा हुँदै बुटवल पुगेका छन्। लामिछाने भोलि आफैँ अदालत उपस्थित हुने रास्वपाले बताएको छ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए। उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए।

आजै उच्च अदालत पोखराले लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ। न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो।

उक्त इजलासले लामिछाने लगायतका प्रतिवादीहरुलाई छाड्नुको ‘कैफियत प्रतिवेदन’ पेश गर्न पनि जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो।

सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेश बदर गरी लामिछाने लगायत सात जनालाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेर निवेदन दिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *