अबको चुनाव देउवाको नेतृत्वमा हुन्छः उपप्रधानमन्त्री सिंह
बागलुङ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन्।
मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए। विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए।
त्यस्तै, अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि पुनः प्रष्ट पारेका छन्। सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस–एमालेबीच सत्ता सहयात्रा अघि बढिरहेको दाबीसमेत गरेका छन।
‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थिर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ। सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ।’
कांग्रेसको स्वभाव नै सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए। बागलुङमा रहँदा सिंहले बुधबार बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागी हुनेछन् भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरिक्षण गर्नेछन्।
Facebook Comment