प्रधानमन्त्री कप क्रिकेट: बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
फाप्ला। बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ।
आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो। जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन्।
बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन्। यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५ दशमलव ५ ओभरमा ४० रनमा अलआउट भयो । मधेसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बागमतीका लागि प्लेयर अफ द म्याचसमेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन्। यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ।
समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन्। माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ।
प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले रू तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रू २५÷२५ हजार पुरस्कार दिइनेछ।
Facebook Comment