के हो सम्पत्ति शुद्धीकरण? 

डा. दामोदर रेग्मी
१६ माघ २०८१ ७:५४

गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य सम्पत्ति शुद्धीकरण हो।

गैरकानूनी रुपमा आर्जित आयलाई संकलन, कारोवार र संग्रहको  रुपलाई विभिन्न चरणमा परिवर्तन वा रुपान्तरण मार्फत वैध बनाउने प्रयास वा प्रक्रिया सम्पत्ति शुद्धीकरण हो।

सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो डरलाग्दो पक्ष हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी हैसियत दिने प्रयास गरिन्छ।

यसरी हुने आय आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको रुपमा प्रयोग हुने वा आतंकवादी क्रियाकलापमा भएको वित्तीय लगानीले आयको अर्को नयां श्रृंखला जन्माउन सक्दछ।

व्यक्तिगत वा सांगठनिक रुपमा हुने आतंकवादी क्रियाकलापहरुमा प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक सहयोग गर्ने कार्यलाई आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हो।राज्य संयन्त्रको  कमजोर पक्षलाई उपयोग गरी विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रिया मार्फत यस्तो कारोवार गर्ने गरेको पाइन्छ।

यस्तो क्रियाकलाप निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहीे राज्यको समग्र कानूनी, वित्तीय र सुरक्षा प्रणालीलाई कमजोर बनाई अपराध र अपराधीलाई नै शक्तिशाली बनाउँछ।

यसको अतिरिक्तले मुलुकको वित्तीय प्रणालीको सकारात्मक अन्तर सम्बन्ध, सन्तुलन तथा विकासमा नकारात्मक असर पुर्याई समग्र विश्व वित्तीय प्रणालीमा समेत गम्भीर असर पुर्याउँछ। यसै कारणले सम्पत्ति शुध्दीकरण नियन्त्रण सर्व सरकारहरुको साझा सरोकारको विषय हो।

सम्पत्ति शुद्धीकरण प्रभावकारी रुपमा नियन्त्रण नभएसम्म मुलुकमा स्थिरता, स्थायित्व तथा समुन्नती कायम हुन नसक्ने भएकोले विश्वका अधिकांश मुलुकहरुले यस सम्बन्धमा विशेष रणनीतिक रुपमा कानूनी, संरचनागत र अनुसन्धानात्मक व्यवस्था गरेका छन्। नेपालले पनि यस्ता अपराधहरुको प्रभावकारी निवारण गर्न रणनीतिक रुपमा निवारणात्मक, नियन्त्रणात्मक तथा दण्डात्मक व्यवस्था गर्दै आएको छ।

सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य क्षेत्रहरु

-आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी,

-लागू औषध कारोवार, भ्रष्टाचार,

-अवैध हातहतियारको कारोवार,

– मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी,

-सीमा तस्करी,चिठ्ठा ठगी,

-माफिया सञ्चालन,हुण्डी व्यापार,

– अपहरण र फिरौती,

– चोरी र डकैति (पाइरेसी),राजश्व छली

– कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने  कार्यहरु।

सम्पत्ति शुद्धीकरणका तहहरु

(क) गैर कानूनी रुपमा प्राप्त आयको संग्रह गर्ने

पहिलो चरणमा गैर कानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा हुने गर्दछ।

यस्तो रकम विभिन्न रुप खास गरी निक्षेप, मनी अर्डर, धनादेश, द्रुत संदेश, तार स्थानांतरण वा अन्य उपयुक्त विधिबाट बैंक तथा वित्तीय संस्थामा जम्मा हुने गर्दछ। सम्भावित आशंकावाट वच्नको लागि ठूल मात्राको रकमलाई खण्ड खण्ड गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने  र  आवश्यकता अनुसार प्रयोग गर्र्नेे गरिन्छ।

(ख) रकमको खण्डीकरण र तहीकरण गर्ने

दोश्रो चरणमा त्यस्तो रकमको स्रोत एवं उत्पत्तिको जानकारी मेटाउने वा आशंका उत्पन्न नहाृस भननाका लागि   थप अलग्याउने वा दूरी बढाउने प्रयास गरिन्छ। यसका लागि विभिन्न जटिल एवं बहु-चक्रीय वित्तीय कारोवारको सहारा लिने गरिन्छ।

यस अन्तरगत शेयर, डिवेन्चरको खरिद–विक्री गर्ने, देश भित्रै वा वाहिरका विभिन्न देशमा आफ्नो वा आफन्तको नाममा रहेका खाताहरुमा  दूरसंचारमार्फत रकम स्थानान्तरण गर्ने तथा अस्तित्वमा नभएका वस्तु तथा सेवाको भूक्तानी गर्ने जस्ता क्रियाकलापहरु देखाएर त्यस्तो रकमको तहकिकरण हुने  गर्दछ।

(ग) सम्पत्तिको एकीकरण  र मूलप्रवाहीकरण गर्ने

यस चरणमो विभिन्न क्षेत्रहरुमा छरेर राखिएको रकमलाई एकीकृृृत गरी बैधानिक क्षेत्रमा प्रवाह गर्ने  गरिन्छ। यस क्रममा घरजग्गा कारोवार, व्यापार व्यवसाय, स्थायी सम्पत्ति वा संस्थागत क्षेत्र आदिमा लगानी हुने  गर्दछ। यसरी पटक पटकको स्थानान्तरण र वैध बनाउने प्रयास बाट गैर कानूनी आम्दानीलाई शुद्ध सम्पत्तिको रुपमा रुपान्तरण गरी शुद्धीकरण गर्ने कार्य सम्पन्न  हुने गर्दछ।

सम्पत्ति शुद्धीकरण निवारण किन 

 

-सम्पत्ति शुद्धीकरण एक आर्थिक अपराध भएकोले त्यसलाई निरुतसाहित गर्न

-शंकास्पद कारोवार पहिचान गरी सम्भावित अभियुक्तलाई अनुसन्धान, तहकिकात एवं अभियोजन  गरी कानूनी दायरामा ल्याउन,

– सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने लगानीलाई नियन्त्रण गर्न,

– सम्पत्ति शुद्धीकरण गर्नेलाई कानूनको दायरामा ल्याई दण्ड सजाय गर्न,

– सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी हुने कार्यबाट आर्जित सम्पत्ति जफत गर्न,

– सम्पत्ति शुद्धीकरण निवारणमा राष्ट्रिय, क्षेत्रीय एवम् अन्तर्र्रािष्ट्रय सहयोगको विनिमय गर्न,

– भविष्यमो गैर कानूनी कार्यबाट सम्पत्ति शुद्धीकरण गर्ने गर्न नसक्ने वातावरण सिर्जना गर्न

– अर्थतन्त्रको स्वस्थ्य ढंगले विकास गर्न।

सम्पत्ति शुध्दीकरण नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहको भूमिका

-प्रवर्द्धनात्मक कार्य

– सचेतना कार्य

-नियमित अन्तरक्रिया

– जोखिमका क्षेत्रहरु पहिचान

– सुधारका कार्यहरु

-दानात्मक कार्य

-सूचना र उजुरी संकलन

– प्रारम्भिक अनुसन्धान

– विशेष अनुसन्धान

उपचारात्मक कार्य

– कानूनी परामर्श

– मुद्दा अभियोजन

– कारवाही

उपसंहार

सम्पत्ति शुद्धीकरण प्रभावकारी रुपमा नियन्त्रणका लागि हालको कानूनी, संस्थागत र प्रक्रियागत व्यवस्थालाई संघीय संरचना अनुरुप परिमार्जन गरिएमा संभावित अपराधहरुको प्रभावकारी रुपमा न्यूनीकरण र  निवारण गर्न सहयोग पुग्ने   र  राज्य संयन्त्रको साझा प्रयासवाट सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य समन्वयकारी र प्रभावकारी रुपमा अगाडि बढ्न सक्ने देखिन्छ।

( डा. दामोदर रेग्मी कुशल पूर्वप्रशासक, लेखक तथा गीतकार हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *