संसद र देशभन्दा बाहिरबाट सरकार ढलाउने प्रयास कसले गर्दैछ?
काठमाडौं। गएको असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सहमति भएर साउनको पहिलो साा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकार अहिले ढल्ने जोखिममा छ।
पछिल्ला केही दिनयता एमाले र कांग्रेस दुवै दलका पहिलो र दोस्रो तहका नेताहरुले पटक-पटक सरकार ढल्दैन भनिरहेका छन्। र, उनीहरुको यही ‘सरकार ढल्दैन’ भन्ने एकोहोरो अभिव्यक्ति नै सरकार ढल्ने खतरामा छ भन्ने कुराको स्पष्ट संकेत हो।
पछिल्लो समय एमाले र कांग्रेसका उच्च तहका नेताहरु सबैजसोले हरेक कार्यक्रममा ‘सरकार ढल्दैन’ भन्न छुटाउँदैनन्। पछिल्लो पटक अर्थमन्त्री विष्णु पौडेलले पोखरामा सरकार कुनै पनि बहानामा नढल्ने बताए।
४ दिनअघि एमाले महासचिव शंकर पोखरेलले धनकुटामा पनि यस्तै भने। २ दिनअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लमजुङमा सरकारलाई घेराबन्दीमा पार्न खोजिएको स्वीकार गर्दै सरकार नढल्ने बताए।
सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुको पनि भनाइ उस्तै छ। बुधबार मात्रै कांग्रेस नेता शेखर कोइरालाले बिराटनगरमा सरकार परिवर्तन हुन्छ भन्नु भ्रम मात्र भएको बताए।
कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले पनि महेन्द्रनगरमा एक कार्यक्रममा सरकार कुनै पनि हालतमा नढल्ने अभिव्यक्ति दिए। कांग्रेस उपसभापति धनराज गुरुङले पनि स्याङ्जामा एक कार्यक्रममा सरकार नढल्ने दावी गरे।
सत्ता साझेदार दलका केन्द्रीय पदाधिकारी तहका अधिकांश नेताहरुले उस्तै किसिमका अभिव्यक्ति दिनुलाई संयोग मात्रै मान्न सकिन्न। सरकार ढलाउने प्रयास नै नभएको भए उनीहरुले यसरी पटक पटक सरकार नढल्ने स्पष्टीकरण दिइरहनु पर्दैनथ्यो।
नेताहरुका यस किसिमका अभिव्यक्तिले सरकार ढलाउने प्रयास भइरहेको स्पष्ट संकेत गरेका छन्। र, यो संकेतलाई प्रधानमन्त्री स्वयंले अझै स्पष्ट पारेका छन्।
सोमबार आफ्नो पार्टीको परराष्ट्र विभागको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारमाथि ढबाब बढेको खुलासा गरेका थिए। उनले भूराजनीतिक परिस्थितिबारे आफू जानकार रहेको बताउँदै सत्तामा रहनकै लागि जेसुकै गर्न आफू तयार नहुने बताए।
उनले भनेका थिए ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौं तर भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिनेजस्ता स्तरहीन काम गर्दैनौं।’
ओलीको यो भनाइले सरकारमाथि भूराजनीतिक दबाब रहेको प्रस्ट हुन्छ। विश्वकै शक्ति केन्द्र अमेरिकामा राजनीतिक समीकरण परिवर्तन भएको छ। डेमोक्रेटिक पार्टीलाई विस्थापित गर्दै हाउस र सिनेट दुवै सदनमा स्पष्ट बहुमतसहित रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति भएका छन्।
विश्व शक्तिको केन्द्र मानिने अमेरिकाको सत्ता समीकरण परिवर्तनले पूरै विश्वलाई प्रभाव पार्छ जसमा नेपाल अछुतो रहन सक्दैन।
अर्कोतिर दक्षिण एसियामा पनि समीकरण बदलिँदै गएको छ। परस्पर प्रतिस्पर्धी दुई शक्ति राष्ट्र भारत र चीनको बीचमा रहेको नेपाल यी दुई देशको स्वार्थका लागि अर्थपूर्ण छिमेकी हो।
यसबाहेक बंगलादेशको सत्ता परिवर्तन, श्रीलंकामा बामपन्थी शक्तिको उदय, बंगलादेश र पाकिस्तानबीचको बढ्दो सामिप्यता जस्ता कारकहरुले पनि नेपालको राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्छन्।
नेपालको सत्ता परिवर्तनका लागि प्रतिनिधि सभाभन्दा बाहिर र अझ देशभन्दा बाहिरबाटै प्रयास भइरहेको अनुमान यसकारण पनि गर्न सकिन्छ किनकि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुले सरकार परिवर्तनको प्रयास गरिरहेको कुनै संकेत देखिएको छैन।
प्रतिपक्षमा रहेका दलहरुबीच सहकार्यको एजेण्डामा छलफल भएको कुनै खबर आएको छैन। दलका नेताहरुबीच बाक्लो भेटघाट भएको पनि देखिएको छैन।
सरकार परिवर्तन गर्ने प्रतिनिधि सभाले हो तर प्रतिनिधि सभाको बैठक स्थगित भएको र राजनैतिक दलका शीर्ष नेताहरुबीच सरकार परिवर्तनको छलफल नभएको अवस्थामा सरकार ढल्ने चर्चा जुन किसिमले चलिरहेको छ यसले सरकारमाथि ढबाब रहेको स्पष्ट हुन्छ।
अर्कोतर्फ प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पटक पटक यो सरकार टिक्न नसक्ने बताइरहेका छन्। जुन आत्मविश्वासका साथ उनले यो अभिव्यक्ति दिइरहेका छन् त्यसले उनी सरकार परिवर्तन गर्न सक्रिय शक्ति केन्द्र र उसको प्रयासबारे जानकार रहेको स्पष्ट पार्छ।
Facebook Comment