संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा छ : प्रचण्ड

डिसी नेपाल
१५ माघ २०८१ १७:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा उत्पन्न भएको बताएका छन्।

समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विषयक विचार सभामा बोल्दै प्रचण्डले प्राप्त अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको भन्दै त्यस्तो कदम आफूहरूलाई स्वीकार्य नहुनेसमेत बताए।

प्रचण्डले सरकारका विगत ६ महिनाका कदम हेर्दा प्रमुख दल र सरकार प्रतिगमनको यात्रामा देखिएकाले समाजवादी मोर्चालाई सशक्त नबनाइए देशलाई दुर्घटनामा पुर्‍याउन सक्ने उल्लेख गरे। उनले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याइएको आरोप लगाए।

माघ १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलको बैठक बसेर साझा धारणा बनाउने र त्यसै अनुसार सदनमा प्रस्तुत हुने उनको भनाइ छ।

उनले आफ्नाले जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने काम भएको समेत बताए।

प्रचण्डले समाजवादी मोर्चालाई गति दिने प्रयास र बिपक्षीहरुलाई उदेश्यमूलक ढंगले अघि बढाउने प्रयास देशप्रतिको चिन्तामा आधारित रहेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *