निबन्ध : प्रत्येक दिन अन्तिम दिन हो
जीवनलाई हेर्ने दृष्टिकोण नै मानिसको सोचाइ, व्यवहार र अनुभूतिलाई आकार दिन्छ। ‘प्रत्येक दिन अन्तिम दिन हो’ भन्ने विचार गहिरो सत्यको प्रतीक हो, जुन हामीलाई वर्तमान क्षणको मूल्यलाई बुझ्न, सम्मान गर्न र यसको पूर्ण आनन्द लिन प्रेरित गर्छ।
हाम्रो जीवन समयको धारा हो, जहाँ प्रत्येक दिन एक पटकमात्र आउँछ। यो विशिष्ट र अविस्मरणीय हुन्छ। हामी प्रत्येक दिनलाई अन्तिम दिनजस्तो जब महसुस गर्छौं, तब हामीले जीवनको अनमोल क्षणहरूको महत्वलाई गहिरोसँग बुझ्न थाल्छौं। मानिस अक्सर भोलिको आशामा आजलाई गुमाउँछन्। भोलि कुनै निश्चितता होइन; निश्चितता छ त केवल आज।
कल्पना गर्नुहोस्, आज बिहान सूर्योदय हेर्दै गर्दा तपाईंले महसुस गर्नुभयो कि यो अन्तिम सूर्योदय हुन सक्छ। के तपाईंले त्यो सुनौलो रङ, त्यो मिठास भरेको शीतल हावा र त्यो प्रकाशको न्यानोपनलाई झन् धेरै महसुस गर्नुहुन्नथ्यो ? यदि यो अन्तिम पटक हो भने, तपाईंको हरेक इन्द्रीयले त्यो क्षणलाई अँगाल्न खोज्ने थियो।
यो विचारले हामीलाई सधैं सतर्क र सचेत राख्छ। हामीले जीवनका साना साना कुराहरूमा पनि आनन्द खोज्न थाल्छौं। हामी आफ्नो प्रियजनलाई अझ धेरै माया गर्छौं। उनीहरूको साथ, सहयोग र संगतलाई अझ धेरै सराहना गर्छौं।
‘प्रत्येक दिन अन्तिम दिन हो’ भन्ने सोंचले जीवनलाई एउटा उत्सव बनाउँछ। यो सोंचले हामीलाई हाम्रो कमजोरीलाई स्वीकार गर्न र गल्तीहरू सुधार गर्न प्रेरित गर्छ। यदि आज नै हाम्रो अन्तिम दिन हो भने, के हामी आफ्नो क्रोध, घमण्ड र द्वेषलाई बोक्न चाहन्छौं ? निश्चय नै होइन। त्यसैले यो विचारले हामीलाई क्षमा गर्न र प्रेमलाई प्राथमिकता दिन निश्चय पनि प्रेरित गर्छ।
जीवनको अनिश्चितता नै यसको सबैभन्दा ठूलो सौन्दर्य हो। यदि सबै कुरा निश्चित हुन्थ्यो भने, के जीवन यति रोमाञ्चक र प्रेरणादायी हुन सक्थ्यो ? जीवनको प्रत्येक दिन नयाँ अवसर र सम्भावनाको संसार हो। त्यसैले यो विचारले हामीलाई हरेक दिन उत्साहपूर्वक बाँच्न सिकाउँछ।
जीवनको यात्रामा हरेक दिन एउटा अन्तिम अध्याय हो। यो सोंचले वर्तमान क्षणको महत्व बुझ्न मद्दत गर्छ। ‘प्रत्येक दिन अन्तिम दिन हो’ भन्ने विचार आत्मसात गरेर हामी आफ्नो जीवनलाई अझ धेरै अर्थपूर्ण, सकारात्मक र उज्यालो बनाउन सक्छौं।
जीवनको गन्तव्य त अवश्यम्भावी मृत्यु हो। तथापि यो सत्यलाई हामी प्रायः नकार्दै, हर्ष र विषादको बीचमा रमाइरहेका हुन्छौँ। हरेक दिन नयाँ अवसर हो भने, हाम्रो दृष्टिकोण जीवनप्रति परिवर्तन हुन सक्छ। ‘प्रत्येक दिन अन्तिम दिन हो।’ भन्ने भावनाले हामीलाई असल मूल्य र समयको महत्वलाई बुझाउँछ।
कसैले भनेको छ, ‘यदि आजको दिन जीवनको अन्तिम दिन हो भने, के हामीले यसलाई इमानदारी र प्रेमका साथ बिताएका छौं ?’
हरेक दिन अन्तिम दिन हुने भावनाले हामी र हाम्रो समयलाई सावधानीपूर्वक विताउँछौँ।
अरूसँग समयको महत्व बुझेर र कृतज्ञता साथ। हामी यथार्थमा विश्वास गर्छौँ भने हरेक दिन अन्तिम दिन हो। हामी आफ्नो काम र उद्देश्यमा निरन्तरता ल्याउँछौं र हाम्रो जीवनलाई अर्थपूर्ण बनाउनको लागि साँचो प्रयत्न गर्छौं।
जीवनको एउटा भ्रामक पक्ष भनेको यसको अनित्यतालाई स्वीकार गर्न नसक्नु हो। हामी प्रायः भविष्यको लागि योजना बनाउँछौं। अनेकौं कार्य टार्न थाल्छौं। तर यौटा कुरा सत्य हो- हामीले आजको दिनलाई राम्ररी बाँच्नुपर्छ।
किनकि आजको बाँचाइ नै जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा हो। हरेक पल र हरेक दिनलाई एक अवसरको रूपमा बुझ्नाले हामीलाई जीवनको असली चमत्कारी पक्षको अनुभूति गराउँछ।
यसले हामीलाई आफूलाई र अरूलाई सम्झाउने अवसर पनि दिन्छ। हामी जति सानो कुरा गर्दैनौं, त्यसको असर ठूलो हुनसक्छ।
एक सानो मुस्कान, एक कृतज्ञ शब्द, वा साँचो ध्यानले जीवनको दुखलाई चमत्कारी तरिकाले हल्का पार्न सक्छ। हरेक दिनलाई अन्तिम दिनको रूपमा लिई, हामी आफ्नो लागि मात्र होइन, सबैका लागि पनि राम्रो कार्य गर्न सक्छौं।
यसैले यदि हामीलाई जीवनका सबै दिनलाई एक विशेष अवसरको रूपमा बाँच्न पर्छ। हामीले आफ्नो समय र ऊर्जा आफू र अरूका लागि अर्थपूर्ण र साकारात्मक कार्यहरूमा लगाउनुपर्छ। हरेक दिन अन्तिम दिन हो। त्यो क्षणको पूर्णता र महत्व बुझ्नाले हामीलाई जीवनको वास्तविक मायामा डुबाउँछ।
जीवनको यो यात्रा, अनन्त यात्रा हो। हामी जन्मन्छौं, बढ्छौं, बाँच्छौं। अनि अन्ततः यो संसारबाट सदाका लागि बिदा हुन्छौं। यो सत्यलाई हामी सबैले जान्दछौं। तर यही सत्यलाई दैनिक जीवनमा कतिले आत्मसात गरेका होलान् ?
कतिपय मानिसहरू जीवनलाई एक लामो यात्राको रूपमा लिन्छन्। उनीहरू भविष्यका सपनाहरू बुन्दै जीवन बिताउँछन्। भोलि के हुने छ भन्ने चिन्तामा आजको दिनलाई बर्बाद गर्छन्।
उनीहरूलाई लाग्छ कि उनीहरूसँग अझै धेरै समय छ। परन्तु सत्य यही हो कि कसैलाई पनि भविष्यको कुनै ग्यारेन्टी छैन। आज हामी छौँ, भोलि हुने छौँ भन्न सकिन्न।
त्यसैले हामीले प्रत्येक दिनलाई अन्तिम दिनको रूपमा लिनुपर्छ। आजको दिनलाई पूर्ण रूपमा जिउनुपर्छ। आजका कामहरू आजै सक्नुपर्छ। भोलिका लागि बाँकी राख्नु हुँदैन। आजका प्रियजनहरूलाई माया गर्नुपर्छ। आजका सपनाहरू पूरा गर्नका लागि प्रयास गर्नुपर्छ।
यदि हामी प्रत्येक दिनलाई अन्तिम दिनको रूपमा लिन्छौँ भने, हामी जीवनलाई अझ अर्थपूर्ण बनाउन सक्छौँ। हामी हतारमा काम गर्ने छैनौँ। हामी अनावश्यक चिन्ता गर्न छोड्ने छौँ। हामी जीवनका प्रत्येक क्षणको आनन्द लिन सक्ने छौँ।
यदि हामीलाई आज हाम्रो अन्तिम दिन हो भन्ने थाहा छ भने हामी कसैसँग झगडा गर्न चाहने छैनौँ। हामी कसैको मन दुखाउन चाहने छैनौँ। हामी सबैसँग माफी माग्ने छौँ। हामी सबैलाई माफ गर्ने छौँ।
मूलतः प्रत्येक दिन अन्तिम दिन हो भन्ने साेंचले हामीलाई जीवनका सकारात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। यसले हामीलाई जीवनका चुनौतीहरूलाई सजिलैसँग सामना गर्न सक्षम बनाउँछ।
अपितु यसको अर्थ यो होइन कि हामीले भविष्यको बारेमा सोंच्नै छोड्नुपर्छ। हामीले भविष्यका लागि योजना बनाउनुपर्छ। तर त्यो योजना बनाउँदा हामीले आजको दिनलाई पनि बिर्सनु हुँदैन।
वास्तवमा हाम्रो जीवन हाम्रो लागि अनमोल उपहार हो। हामीले यस उपहारलाई सदुपयोग गर्नुपर्छ। हामीले प्रत्येक दिनलाई अन्तिम दिनको रूपमा लिँदै जीवनको पूर्ण आनन्द लिनुपर्छ। जीवन छोटो छ।
त्यसैले हामीले प्रत्येक क्षणलाई खेर फाल्नु हुँदैन। हामीले आजलाई बाँच्नुपर्छ, भोलिको चिन्ता नगरी। प्रत्येक दिनलाई अन्तिम दिनको रूपमा लिँदा हामी हाम्रो जीवनलाई अझ अर्थपूर्ण बनाउन सक्छौँ।
Facebook Comment