पाथीभारामा गोलीकाण्ड-केवलकारलाई
१५ बर्ष अघि माघ १७ गते ताप्लेजुङबाट स्थानीय जिप भाडामा लिएर पाथीभारा दर्शन गर्न गयौं। फेदीसम्म जाने सडकमा हिँउ परेको हुनाले ड्राईभरलाई एक नम्वर गियरमा सुस्त चलाउन आग्रह गरें।
फेदी पुग्ने वेलामा जिप चिप्लिएर दायाँ डिलतिर गयो। मैले मेरो ६ जनाको सैनिक टिमलाई शीघ्र उत्रिन इशारा गरें र उद्दारको धर्म अनुसार आफू अन्तिममा उत्रिएँ।
जिपको अवस्था हेर्दा एउटा चक्का भीरमा गइसकेको रहेछ। हामी सवै बालबाल धुलोपिठो हुनबाट बाच्यौं। मैले पाथीभारा चुट्टी तर्फ फर्केर दश औंला जोड्दै मातालाई पुकारें-
“माता, आशीर्वादले हामी धन्य बाच्यौं। मेरो बाँकी जीवन माताले आयु थपिदिएको दोश्रो जुनी ठान्ने छु र जीवनभरि माताको भक्ति गरिरहने छु। पुष माघ अत्यधिक चिसो र हिँउको कारण माताको शान्त ध्यान र तपस्याको समय होला। तथापि, हामी अन्तस्करणदेखि भक्तिले धूप बाल्न आयौं र चुपचाप धूप बालेर फर्किन्छौं।”
सुन्दर शान्त संरक्षण क्षेत्र, प्रकृति र संस्कृति, सह-जीवन र सहअस्तित्व जोड्ने भक्तजनका आस्थाका काँचो धागाका लहराहरुमा रमाउँदै हामी माताको मन्दिर पुग्यौं।
वरिपरि नेपाल भारतका हिमालले घेरेको पाथीभारामा ४-५ फिट वाक्लो हिँउले ढाकेको त्यो दृश्य पृथ्वीको अलौकिक स्वर्ग लाग्दथ्यो। धूप बाल्नलाई १ हात कठ्याङ्ग्रिएर सलाई कोर्न असम्भव भयो। माताको पूजा र आशीर्वादले मैले हम्मेहम्मे सलाई कोरें र धूप बालेर ढोगेर हामी फिर्ता भयौं।
संरक्षण हट्स्पट
मैले बाटोमा टोलीलाई ब्याख्या गरें- “यो लोठसल्ला, गोब्रेसल्ला, लालीगुँरास, चाप जस्ता मूल्यवान रुखहरुको प्राईमरी फरेष्ट हो। धेरै प्रजाति सुनगाभा, वाइल्ड पुष्प र जडिवुटीहरुको खानी हो। यी लाखौं लाली गुँरासका रुखहरुलाई विशाल वृक्ष हुन सय बर्ष समय लाग्छ। यो क्षेत्र रेडपाण्डा, हिमालयन ब्ल्याक बियर, कस्तुरी मृगलगायत धेरै दुर्लभ संरक्षित वन्यजन्तुहरुको वासस्थान पनि हो। ती सवैको संरक्षण पाथीभारा माता स्वयमले गर्नुहुन्छ भन्ने किंवदन्ती छ। प्रकृतिको खानीभित्र शक्तिशाली संस्कृति र धार्मिक पीठ भएको यस्तो विशिष्ट क्षेत्र विश्वमा होला नहोला एकीन भएन। साथै, यो कञ्चनजंगा संरक्षण क्षेत्रको मुटु (आत्मा) पनि हो।”
व्यापारको निसाना
मैले मेरा पर्याकवितामा कञ्चनजंगा संरक्षण क्षेत्रलाई पूर्वको अनमोल हीरा र पाथीभारालाई पूर्वको बहुमूल्य रत्न भनेर पुकारेको छु।
ठूलो भूराजनीतिक महत्वका ओजेलमा परेका कञ्चनजंगा र अपिनाम्पा संरक्षण क्षेत्र त्रिदेशीय पर्यटकीय, धार्मिक-सांस्कृतिक, ब्यापारिक विन्दु भएको भए नेपालको कायापलट हुने थियो र एकदिन दूरदर्शी राजनेताले मेरो त्यो कल्पना सपना पूरा गरिदिने छन् भन्ने आत्मविश्वास अझै पालेको छु।
दुर्भाग्य, यस्तो बहुमूल्य रत्न माथि व्यापारिक आँखा लाग्यो। व्यापारीहरुले पूर्वको दार्जिलिङ सिक्किम र दक्षिणको सिलिगुडी भारतलाई उल्टाएर ल्याउने र पैसा छाप्ने सपना बुने।
मैले मेरा त्रिवेणी केवलकार र पाथीभारा दर्शन केवलकार प्रालिका मित्रहरुलाई हात जोडेर पुकारें-“यो विशिष्ट प्रकृति र आस्थाको धरोहर शक्तिशाली संस्कृति मिच्ने मास्ने निल्ने दुर्भाग्य र दुर्नियत नराख, तिमीहरुको सत्यशान हुने छ।’
समय भनौ वा संयोग, द्रब्य मोहले अट्टेर गरेर जवर्जस्ती गर्दा ती मन्त्री र व्यापारी मित्रको त्यही संरक्षण क्षेत्रमा स्वर्गवास भयो। म स्तब्ध भएँ। त्यसलाई पाथीभारा संरक्षण समूहले आज र आजीवन दैवीश्राप भनेर भनिरहने छ। दैवीश्रापका प्रमाण र नजीर अरुपनि धेरै छन्।
यो व्यापारको लोभ पाप बन्द भएन। अर्को धनाढ्य तर दरिद्र चण्डाल समूहले पाथीभारा दर्शन केवलकार प्रालिको गोप्य डिपिआर जस्ताको तस्तै चोरेको स्थानीयको विश्वासलाई अन्यथा मान्न सकिँदैन।
जुन डिपिआरमा पाथीभारा माताको मन्दिर वरिपरि सुविधासम्पन्न बाटुले तारे होटेल र लज बनाउने र हाईएण्ड टुरिष्टलाई मनोरञ्जन गराउने विशाल पूर्वाधार निर्माणको गोप्य नक्शा छ।
१० हजार २ सय रुख काटने भनिएता पनि गत बैशाखमै मजवुत सुरक्षा घेराभित्र ५० हजार रुख काटिएको वातावरण र संरक्षण विज्ञहरुको अनुमान छ।
सम्पूर्ण कार्य पूरा हुँदा दुईदेखि ३ लाख रुख काटिने छन् र हालको सुन्दर हरित पाथीभारा प्लेटो उजाड् बाटुले घरै–घरहरुको झिलिमिलि नांगो व्यापारिक डाँडा भएर निवस्त्र उभिरहेको हुने छ।
२०५५ साल भाद्र २९ सम्म कञ्चनजंगा संरक्षण क्षेत्र भित्र सुरक्षित रहेको पाथीभारा मातालाई बद्नियतपूर्वक डिगजेट् गरेर विशाल क्षेत्र बाहिर पारेपछि स्थानीय भक्तजनहरु र संरक्षणप्रेमी समुदाय अत्तालिए। रोए कराए। सर्वोच्च अदालतको ढोका धाए।
व्यापारी बिचौलिया र दलालहरुले मुद्दा दर्ता गर्न अवरोध गरे। धम्की दिए। त्यो पीडादायी नाटक भनि-सुनिनसक्नु छ। ऐन विपरीत जैविक विविधता र साँस्कृतिक आस्थाको केन्द्रलाई कार्यविधिको खोस्टो बनाएर ४० बर्ष लिजमा दिने मिलोमतो उस्तै घिनलाग्दो र निन्दनीय थियो।
न वातावराण प्रभाव मूल्यांकन, न त संरक्षण परिषद् र केन्द्रका संरक्षण निकायहरुसँग समन्वय र परामर्श। त्यो व्यापारिक बल मिच्याइँले कानुनी राज्य र विधिको शासनको धज्जी उडाउनु उडायो।
पाथीभारा माताको शक्ति प्राप्त साहसिक भक्तजनले मात्र लड्न सक्ने मुद्दा थियो त्यो। सधैं झैं, प्रकृतिको अन्तिम रक्षाकवच सम्मानित अदालतबाट केवलकार नचलाउनु भन्ने अन्तरिम आदेश आयो।
व्यापारिक तिगडम् चूप लागेन। राजनीतिलाई लेपेटेर व्यापारिक रोडम्यापमा राजनीति हिँडायो। यो इगो र जुंगाको लडाईंमा चण्डाल स्वार्थ समूहले आज देशको सत्ता र शक्ति हात लिइसकेको देखिन्छ।
त्यसले पुग्दैन, सुरक्षा निकाय (सशस्त्र प्रहरी र जनपद प्रहरी) लाई पूर्ण निजी बनाएको भान हुन्छ। सुरक्षा निकायहरुको एकतर्फी दुरुपयोग गरेको देखिन्छ।
स्वार्थ समूहको त्यो ज्यादती र मानव अधिकार हननको सत्य तथ्य खोतल्न प्रकृति र संस्कृतिप्रेमी मानव अधिकारवादी र संचारकर्मीले निडर अविलम्व फिल्ड भिजिट गर्नु जरुरी छ।
सरकारी निरीहता
विश्व वन्यजन्तु कोषले नमूना व्यवस्थापन र संरक्षण गरेको यो पृथ्वी कै विशिष्ट क्षेत्रलाई सरकारले ठूलो उत्सव, हर्षबढाईं र गौरव गरेर स्थानीय समुदायलाई सुम्पिसकेको अवस्थामा ती स्थानीय मालिक र संरक्षकलाई पूरै बाईपास गरेर एउटा अमूक व्यापारीलाई काँध थाप्नु र आफू उसको पुच्छर हुनु कहाँसम्मको लज्जास्पद निरीहता हो।
स्थानीय सरकार, प्रदेश सरकारलाई गुमराहमा राखेर, पेलेर, ठोकेर व्यापारीको सपना पूरा गर्न लिति कसेर लाग्ने सरकारलाई गति-मति भ्रष्ट सरकार नभनेर के भन्ने? एउटा व्यापारीको स्थानीय विरोधी, प्रकृति र संस्कृति विरोधी, संरक्षण विरोधी निरंकुश रोडम्यापमा सरकार कम्मर कसेर एकाग्र भई लाग्नु दूर्भाग्य छ।
पाथीभारा माता आसिन प्राकृतिक र जैविक विविधतायुक्त क्षेत्रलाई डिगजेट् गरेदेखि ताप्लेजुङ उकुसमुकुस छ। भय र त्रासले छटपटाई रहेको छ। सत्ता र सरकार खोजिरहेको छ।
तर विडम्बना, अन्धो व्यापारले सरकारलाई टाढा जूनमा पुर्याइदिएको छ। तीन तहको संरचना कति प्रत्युत्पादक, घातक, विभेदकारी र विभाजित-विखण्डित छ पाथीभारालाई हेरे पुग्छ।
एउटा लोभी पापी व्यापारीको रोडम्यापमा हिँड्ने सरकारले बुझ्न जरुरी छ-त्यो केवलकार विकास होइन महाविनाश हो। प्रकृति र संस्कृतिमाथि एटम बम प्रहार हो।
त्यसले प्राकृतिक सांस्कृतिक सौन्दर्यता र सम्पदालाई समूल नष्ट गर्दछ। कहिले नपलाउने नउठ्ने गरेर। साथै, स्थानीय समुदायको रोजी रोटी खोस्छ र आस्थालाई ठुन्काइदिन्छ।
विकास भनेको विद्यमान सडकलाई ४ र ६ लेनको चिल्लो सुरक्षित सडक बनाएर आवत-जावत सरल सुलभ र सुविधायुक्त बनाउनु हो।
ठूलो जंगल मासेर पाथीभाराको कम्मरसम्म सडक खन्नु, काखमा विमानस्थल बनाउनु, तिनको स्तरोन्नति नगर्नु र ती विकास मारेर छातीमा फलाम ठोक्दै लठ्ठा हाल्दै कवाडी टिनका बट्टा गुडाएर त्यसलाई सभ्यता र विकास भन्ने दलाल पूँजीवाद परिभाषामा कोही लाटो सहमत हुने ठाउँ छैन।
अझ, सुन्दर वास्तविक विकास भनेको आत्मनिर्भरउन्मुख सुशासन हो जसको जग-छानो भत्काएर सरकार जग हँसाइरहेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबाट सरकार छिः छिः टाढा भएको छ। उसको जग–छानो र टेक्ने समाउने हाँगो तस्कर, दलाल, बिचौलियाको कालो पैसाको थैली भएको छ।
सुझाव
पहिलो, पाथीभारा गोली काण्डमा १३ गते गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नु पर्ने थियो। ६ वर्षदेखिको आन्दोलन, १२ गतेको गोली काण्ड र १५ गते देखिको बन्द आह्वान सम्वोधन गर्न निरीह, अधिकारविहीन, अज्ञात प्रदेश होइन, ताप्लेजुङका सांसद सिंहदरवार बोलाउने पनि होइन, गृहमन्त्री स्वयम् पाथीभारा जानुपर्दछ।
संघीय सरकारले फिल्ड भ्रमण गरोस् र हेरोस्- साँस्कृतिक र जैविक विविधता भित्रको एकता, सामाजिक सद्भाव र सहिष्णुता, वन जंगल जीवन जगतको अन्तर्सम्वन्ध, सौन्दर्यता र सार्वभौमिकतालाई लोभीपापी व्यापारीको दम्भी, स्वार्थी आरा, वञ्चरो र डोजर आतंकले कति छियाछिया र ध्वस्त पारेको छ।
पाथीभारा भरि पैसा छाप्ने मेशिन बिछ्याउँदै छ कि प्रकृति संस्कृति र भावी सन्ततिलाई पहिरो चलाएर खाल्डोमा पुर्ने धराप बनाउदै छ। साथै, गृहमन्त्रीले आन्दोलनकारी स्थानीय जनतासँग माफ माग्नुपर्दछ।
तामा तुलशी समातेर यो अपारदर्शी, विनाशकारी केवलकार अर्थराजनीति सधैंको लागि बन्द भएको संकल्प गर्नुपर्दछ। नत्र भनाई र गराई पृथक भएको छलकारी सरकारसँग स्वदेशी र विश्व समुदाय बारम्बार ठगिँदै आएको छ। पुनः ठगिने संभावना उच्च छ।
दोश्रो, स्वार्थसमूहको इच्छासिद्धि गर्न छलबाटो बाट झेली गरेर डिगजेट् गरि बाहिर पाथीभारा क्षेत्रलाई खुरुक्क पूर्व राजपत्रको संरक्षण क्षेत्र हैसियतमा फर्काउनुपर्दछ। लाज नमानिकन।
तेश्रो, स्वार्थ समूहको इशारा र बलमा प्राईभेट सुरक्षाबेस बनेर पवित्र स्थलमा जवर्जस्ती किल्ला खडा गरी प्रकृति संस्कृति माथि अन्धधुन्ध चरम बिगार, बिनाश गरिरहेको सुरक्षा बेसलाई तत्काल हटाउनु पर्दछ। सधैंको लागि। सुरक्षा निकायहरुले सुरक्षा फौज दुरुपयोग रोक्न कठोर हुन जरुरी छ। मुटु र मस्तिष्कमा भ्रष्टाचारी होइन जनतालाई राख्न जरुरी छ।
चौथो, ७ पुस्तालाई पापमुक्त गर्न र दोष कट्टी गर्न स्वर्गीय व्यापारीले १ अर्व र वर्तमान व्यापारीले २ अर्वको पाथीभारा संरक्षण अक्षय कोष स्थापना गरिदिनुपर्दछ। ता कि व्याजले नमूना संरक्षणका कामहरु सम्पन्न हुन।
पाचौं, स्थानीय समुदाय, स्थानीय सत्ता र पूर्व संरक्षण अगुवा विश्व वन्यजन्तु कोषले कञ्चनजंगा संरक्षण क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल र प्रयास गर्न वान्छनीय हुनेछ। त्यसपछि, त्रिदेशीय संगमस्थलको खाका बनाउन शुरु गरेर विपन्न जनता र पाथीभारा मातालाई न्याय दिनुपर्दछ। पूर्वको हीरा र रत्नको शोभा बढ्ने छ। त्यसपछि मात्र प्रकृति, संस्कृति र भावी सन्ततिलाई जितैजितको समृद्धि सुख र गौरव हात लाग्नेछ।
अन्त्यमा, राज्यले श्रोत साधन, शक्ति र लगानी लगाएर संरक्षण व्यवस्थापन गरिदिनुपर्ने विशिष्ट प्रकृति र संस्कृतिको रक्षा कल्याण स्थानीय जनताले स्वविवेकमा स्वस्फूर्त निःशुल्क गरेर कदरयोग्य काम गरेका छन्।
जनसहभागितामूलक कञ्चनजंगा संरक्षण क्षेत्रको परिकल्पना र अपेक्षा पनि त्यही थियो कि संरक्षण क्षेत्रको स्वामित्व स्थानीय जनताले लिदिउन्। राज्यको ठूलो अभिभारा निर्वाह गरिदिने ती संरक्षणप्रेमी स्थानीय जनतालाई सरकारले स्यावासी र पुरस्कृत गर्नुपर्दछ।
Facebook Comment