विपिन जोशी गाजामै रहेको इजरायली मिडियाद्वारा पुष्टि, छिटै रिहा हुन सक्ने
काठमाडौं । हमासले इजरायलबाट बन्धक बनाएर गाजामा लगेका नेपाली विपिन जोशी गाजामै रहेको इजरायली मिडियाले पुष्टि गरेको छ । इजरायलको प्रमुख अखबार टाइम्स अफ इजरायलले गाजामा ८ थाइ नागरिक, एक नेपाली र एक तान्जानियनलाई राखेको उल्लेख गरेको छ । यी एक नेपाली विपिन जोशी हुन् ।
समाचारका अनुसार गाजामा बन्धक बनाइएका विदेशीहरुमध्ये तीन जनाको मृत्यु भइसकेको इजरायलले घोषणा गरेको छ । इजरायलले मृत घोषित गरेका तीनमध्ये २ जना थाइ नागरिक र एक जना तान्जानियन नागरिक भएको रिपोर्टमा जनाइएको छ । यीबाहेक अन्य ६ थाइ र एक नेपाली नागरिक जीवितै रहेको अपेक्षा गरिएको छ ।
रिपोर्टका अनुसार हमासले आज ३ इजरायली बन्धकलाई रिहा गर्दैछ । यी तीन जना २९ वर्षकी अर्बेल यहुन, १९ वर्षकी अगम बर्गर र ८० वर्षका गादी मोजेस छन् । हमासले अहिलेसम्म २ चरणमा ७ इजरायली महिला बन्धकलाई रिहा गरेको छ । इजरायलले पनि ३ सयभन्दा बढी प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
हमासले इजरायली बन्धकबाहेक ५ जना थाइ नागरिकहरुलाई पनि रिहा गर्ने रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार इजरायलले ५ थाइ नागरिकको रिहाइ पनि पुष्टि गरेको छ तर उनीहरुको नाम उल्लेख गरेको छैन । हमासले आज ३ इजरायलीसँगै ५ थाइ नागरिक रिहा गर्न लागेकोले अर्को चरणमा बाँकी एक थाइ र नेपालीलाई पनि रिहा गर्न सक्ने अपेक्षा गरिएको छ ।
हमासले अर्को चरणमा शनिबार थप इजरायली बन्धकहरु रिहा गर्दैछ । शनिबार थप ३ इजरायली बन्धक रिहा गर्ने तालिका तय गरिएको छ । आज ३ इजरायली बन्धक रिहा गर्न ५ थाइ नागरिक पनि समावेश गरिएकोले शनिबार थप ३ इजरायली रिहा गर्दा यो समूहमा अन्य विदेशी हुन सक्ने अपेक्षा गरिएको हो । यसरी रिहा गरिने विदेशीमा हमाससँग प्रत्यक्ष दुश्मनी नभएका देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ ।
फेब्रुअरी ३ देखि युद्धबिरामको अर्को चरणमा वार्ता हुनेछ । यो वार्ताको उद्देश्य युद्धलाई सदाका लागि अन्त्य गर्नु हुनेछ । यो वार्तापछि दुवै पक्षको सहमतिमा बाँकी रहेका सबै बनधक र प्यालेस्टिनी बन्दहिरुको रिहाइ गरिनेछ । त्यसपछि मारिएका बन्धकको शव फिर्ता ल्याइनेछ । पछिल्लो चरणमा गाजाको पुनर्निर्माण समेत गरिनेछ । पुनर्निर्माणको चरण पूरा हुन भने धेरै वर्ष लाग्न सक्छ ।
Facebook Comment