संवाद कविता श्रृङ्खला- ४

प्रकाशचन्द्र खतिवडा
१९ माघ २०८१ ६:५४

१,

“हैन कवि जी
कविता त गज्जव लेख्नु भएछ नि
तहल्कै पो मच्चायो त
कसरी लेख्न सक्नु भा हो कविता?
दिमाग कस्तो छ हौ तपाईको त?”
“हो र भन्या
गज्जवकै भएछ त कविता?
तहल्का कसरी मच्चायो र?
अलि अलि हल्ला खल्ला त हुनै पर्‍यो नि
लेख्ने अभ्यास गरी रा छु
दिमाग त सामान्यै हो
औसत मान्छे भएर नै बाँच्ने कोशिश गरी रा छु।”

२,

“ओ, साधुराम जी
व्यापार पो गर्दै हुनुहन्छ रे त
जागिर छोड्नु भो कि कसो?
नाफा नोक्सान के हुँदै छ?
व्यापार राम्रै चलेको छ त?”
“खै चलेको भन्ने कि नचलेको भन्ने ?
बिक्री सिक्री खासै छैन
अलि अलि उधारोमा गा छ
नाफा नोक्सान के छ भन्ने?
नोक्सान मात्रै भा छ
जागिर सागिर छोडें मैले
कति गुलाम बन्ने?
हाकिम कहिल्यै खुसी हुन्न
जी हजुरी मै किन जीवन फाल्ने?”

३,

“ओ दिलमाया बैनी
कता हो त आज?
नारी मुक्ति कता पुग्यो?
चाल चोल केही छैन
युद्ध लड्छु भन्नु हुन्थ्यो
युद्ध लड्नु भो त?”
“यात्रा हाम्रो जारी नै छ
के भनौं र खै ?
कुरा बुझाउन गाहै्र पर्‍यो
आमा, दीदी बहिनीलाई
पुरुषवादी समाज हाम्रो
जालो च्यात्नै गाह्रो
युद्ध लड्नु ठट्टा हैन
हिम्मत कसी रा छु।”

४,

“हैन
चश्मा पो लाउनु भएछ त
आँखा कमजोर भो कि कसो?
मलाई त उल्ली बिल्ली पार्नु भा थ्यो
चश्मा लाउँदा खेरी
अहिले आफैँ लाउनु पर्‍यो
पश्चाताप छ कि?”
“ए …….
कवि जी पनि कुरै बुझ्नु हुन्न
आँखा कमजोर भएर नै
चश्मा लाको मैले
अल्लारे उमेर हेक्कै राखिएन
व्यर्थै जिस्क्याएँछु तपाईंलाई
अरु पर्ने खाडलमा आफैँ परि रा छु।”

५,

“हन कपाल त पूरै फुलेछ नि
कति बर्ष पुग्नु भो हौ ?
तपाई हामी एक दामले हैन?
मेरो पनि कपाल फुलेकै छ त”
“दुई बिस अठार भैयो
कपाल फुल्ने बेलै हो यो
तपाई हामी दामले नै हौँ
आफ्नो अनुहार ऐनामा हेर्नु हुन्न कि कसो ?
तपाईको पनि त कपाल पूरै फुलि सक्यो ।”

६,

“लठुठी टेक्दै कता हो नि ?
एक्लै किन हिँड्नु भा को ?
दशा बाजा नबजाई आउँछ
अबर पर्नु होला
होस्टे हैँसे कसले गर्छ ?
एक्लै नहिँड्नु न हौ बाजे
मेरो कुरा माने हुन्छ ”
“बैंक जान भनी हिँडेको नानी
वृद्ध भत्ता बाँड्दै छ रे
एक्लै हिँड्न रहर हैन
बाध्यता हो मेरो नानी
बाजा नबजाई आउँछ दशा
त्यो पनि त जानेकै छु
छोरो मोरो बिकामे भो
बुहारी त्यस्तै दुष्ट
नाति मोरो कुरै बुझ्दैन
आउँठो बाउँठो कुरा गर्छ ।”

७,

“हैन कवि जी
कति कविता लेख्ने ?
कथा लेख्ने गर्नाेस्
जो पनि कविता लेख्ने
कथा लेख्ने कल्ले ?”
“सुझाब त राम्रै हो पत्रकार ज्यू
कविता छोटो मिठो
कथा लेखौँ के बिषयमा ?
बिषय छनौट गाह्रो
पात्र चयन उस्तै कठिन
कथानक बनाउन नै साह्रो
कथाकारलाई कसले पुछ्ने ?
म त कविता नै लेख्छु
कवि जी लाई सबले चिन्छन्
कथाकारको छु मतलब भाको ।”

८,

“ए सुन्नोस त
तपाई विलाप जी नै हो त ?
कथा कविता लेख्नु हुन्न कि कसो ?
पत्र पत्रिकामा पढ्न पाइदैन त ”
“ए …….
गुणराज जी पो
संयोगले भेट भो आज
मन हर्षले चुमेको छ
कथा कविता फाट्ट फुट्ट लेख्दै छु त
पत्र पत्रिका को पढ्छ र अचेल ?
अनलाइनलाई पो दिने गरेको छु त ।”

९,

(मोबाइल वार्ता)
“ओ एन पि ए सर
सञ्चै हुनु हुन्छ ?
हिजो आज कता हो ?
के काम गर्दै हुनु हुन्छ ?
म एक चोटी राँची जानु पर्ने
के मलाई लगि दिन सक्नु हुन्छ ?”
“ए …………..
हेड सर पनि
सञ्चै छु त म त
काम त खास केही छैन
म त राँची तिरै पो बस्दै छु त
मामाकोमा बस्दै छु
अब नेपाल फर्कने बेला भा छ
तपाई राँची आउने भए
म आएको मौका पारी खबर गर्छु
म फर्कँदा लिएर आउँला
तपाई निश्चिन्त भए हुन्छ ।”

१०,

“डाक्टर साब
डाक्टर साब ,
म बाँच्न चाहान्छु
मेरो लागि तपाई भगवान
मलाई जीवन दान दिनु पर्छ
मारे पाप
बचाए पुण्य
तपाईंलाई जीवन सुम्पेको छु ”
“धत्तेरिका
नआत्तिनोस न तपाई
उपचार गरी रा छु
समय लाग्छ
ठिक हुन्छ भनेकै छु
डाक्टर भगवान हैन हजुर
तपाईं भ्रममा नपर्नोस त
भगवान सगवान कोही छैन
म त मान्छे नै हुँ
तपाईंलाई बचाउने कोशिश गरिरहेकै छु त । ”

सुन्दरहरैंचा-६ ,दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *